जन्मभूमिको त्यो देउसीभैलो

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

मैनाली नेपाल सरकारका सचिव हुन् । 

आनन्द मानिसको एक मात्र चाहना हो । आनन्दका स्रोत र आनन्द दिने विधि भने फरक होलान् तर मानिस सधै आनन्द प्राप्तिको यात्रामा भौतारिइरहेको हुन्छ । 

जब म पूर्वतिरको यात्रा गर्छु, मेरो मनमा एक किसिमको आनन्द स्वतः भित्रिन्छ । धुलिखेलबाट जब पूर्व लाग्छु, चेहरामा आएको उन्मुक्त खुशी जो कुनैले नियाल्न सक्छ ।


Advertisement

काशीखण्ड बेसीबाट खरदारपाटी हुँदै कान्पुर वा कटुन्जे हुँदै रोशी लाग्छु, चेहरामा खुशीको सञ्चार हुन्छ, आनन्दको जरुवा फुट्छ । कान्पुर मेरो जन्मस्थल, रोशी मेरो बाल्यकर्मस्थल । 

कसैमा स्वयमेव खुशीको अनुभूति किन हुन्छ ? जन्मभूमिमा के त्यस्तो ताकत छ र खुशीको जरुवा फुट्छ ? मलाई मात्र हो कि अरुलाई पनि ? मानिसमा एकै मनोविज्ञान र आनन्द प्राप्तिको चाहना हुन्छ । उसो भए जन्मभूमि र व्यक्ति एकत्वको धागोमा कसिलो बाँधिएका हुन्छन् ।


Advertisement

जन्मस्थानमा पुग्दा जो कुनै एकपटक पुनः बाल्यकालमा फर्किन्छ, बालसुलभ नटखटेमा उन्मुक्त हुन खोज्छ । प्रकृतिमा डुबुल्की मार्न, लडीबडी गर्न र आफैंलाई भुल्न खोज्छ । त्यो प्रकृति र परिवेश उसैको हो, त्यहाँ रम्दा रमाउँदा कुनै वार–बन्देज र सीमाहरू रहँदैनन् । दुःख, मृत्यु, पीडा, अभाव सबैबाट पर, आफैंबाट बेपर्वाह ।

जन्मस्थान अञ्जान बालकले चिनेको पहिलो भूमि हो । जन्मस्थानले मातृत्व दिएको हुन्छ । मातृत्व स्वतन्त्रता र खुशीको स्रोत हो । त्यसैले मातृभूमिप्रति जो कुनैको अगाध, स्नीग्ध र अव्यक्त मायाप्रेम हुन्छ । आकर्षण र सम्बन्ध हुन्छ । जन्मभूमिबाट नै उसको पहिचान र व्यक्तित्व विस्तार हुन्छ र परसम्म फैलिन्छ ।

आमाको काखमा हामी पूर्णतः स्वतन्त्र हुन्छौं । स्वतन्त्रता र खुशीमाथि मातृत्वले बन्देज गर्दैन । सम्पूर्ण आनन्द व्यक्तिको उन्मुक्ततामा हुन्छ । त्यसैले स्वतन्त्रता प्रकृति हो, स्वतन्त्रता मातृत्व हो, त्यो जन्मभूमि हो । जन्मभूमिबाट चाहेर पनि कोही अलग्गिन सक्दैन । जन्मस्थानका सजिव, निर्जिव, चराचर सबैसँग उसको नाता हुन्छ । त्यो नाता निश्छल र निःस्वार्थ हुन्छ । त्यो नातामा बन्धन र वार हुँदैन । त्यसैले जब रोशीखोला नजिक पुग्छु, म त्यसै–त्यसै रमाउँछु । त्यो रमाइको ऊर्जा मनभित्रको कुनै तत्वले, मस्तिष्कको अव्यक्त तहले र हृदयको ढुकढुकीले त्यत्तिकै उमारेको हुन्छ ।

जन्मभूमिको अपनत्वबोध खुशीको अजस्र स्रोत हो । हो जन्मस्थानमा सुख, समृद्धि, वैभव र सुविधामा सीमितता थियो । समथल भूभाग र आधुनिक सुविधा थिएनन् । तर त्यो खुशीको पौल हो ।

रोशीखोलको सग्लो पानी तिमी मजस्तै सग्लो बन भन्छ । पानीको धारले माझिएका बगर र गेग्रानले तिमी यसैगरी माझिएर स्नीग्ध बन भन्छ । खोला किनारका जलुको, बैंस र मोथेका झाङहरूले समृद्धि, पहिचान र सत्कर्ममा लहलह बन, झाँगियौं भन्छ । रोशीखोलामाथिको धारिलो धारेबाटोले तिमीप्रति धार देखाउनेप्रति अर्चाप्पीयौं भन्छ । बहादुरे चौतारो र फूलपाती भञ्ज्याङले मन बहलाउने चिसो हावामा उन्मुक्त हँुदै उद्देश्यको क्षितिजमा फराकियौं भन्छ । हो मेरो मनभरि रोशीखोलादेखि कान्पुर हुँदै तिमाल फूलपाती भञ्ज्याङसम्मको सरल रेखा कोरेको छ । रेखामा रहेका असंख्य विन्दुहरू मेरा जीवनका मोड–घुम्टी, उत्साह, ऊर्जा, आकांक्षा, आवेश र दुःखसुखका अनुभूति हुन् । गाउँको चोखो प्रकृतिले हुर्काएको गाउँले केटो शहर बजारबाट बिटुलिनु हुँदैन । तिमी हाइब्रिड होइन, आफ्नै मौलिकताको अग्र्यानिक चोखोपन देउ भन्ने प्रेरणा दिन्छ । त्यसैले त्यो गाउँ मेरो मुटु हो, त्यो माटो मेरो मुटु हो । माटो र मुटु छुट्टिन सक्छ र ? जीवन रहेसम्म असम्भव ! 

निर्माण, परिश्रम र संघर्षका कथाहरू त आप्रवासनमा पनि भोग्न सकिन्छ, बसाइ सराइँमा पनि भोग्न, गर्न सकिन्छ । भौतिक समृद्धिको अथाह पौल भेट्न सकिन्छ । रोजगारी, पैसा, पढाइ, परिश्रम त भोगाइका बाध्यता, जीवनका उपाय न भए । जहाँ पनि पाउन सकिन्छ । तर मेरो चारसय फाँटको खेतले परिश्रम यसरी गर कि मेहनतले सबै झारपात, उखडावखड सबै निमिट्यान्न मिहिन बनाउँछ भनेर सिकाएको छ । आहा चारसयको रोपाइँ ! रोपाइँको हिलो छ्यापाछ्याप, पञ्चेबाजाको धुन र ब्याडको भकारीमा पैसा हाल्ने रमाइलो ! धान काट्ने दिनको रमाइलोमा रोशीखोलाले दिएको अकण्टक सुसेली गुञ्जन ! यी घटना र खेती किसानीले काम नै प्रेरणा हो, कर्म नै मनोरञ्जन हो भन्ने सिकायो । के हातहरूले कर्म नगरे कुँजा हुन्छन् र काम विनाको मन आलस्य र विकृतिको कारखाना हो भन्ने सिकायो । सलल्ल बगेको रोशीले समय बचत गर्न सक्दैनौं, बगेर खेर जाला, मजस्तै गतिशील बन भन्ने सिकायो । रोशीखोलामा मिसिने माकलखोला, क्यौरानीखोला र धार्सिङखोलाले ससाना कामपछि ठूलो उपलब्धि बन्छ, कर्मशील बन सफलता तिमीसँगै छ भनिरहेको छ, दुःखमा पनि छङछङाउ भनिरहेको छ ।

जब सम्झन्छु मेरो जन्मस्थान, मेरो मन कति चङ्गा हुन्छ । कुन शक्ति छ त्यो रोशीदेखि फुलपाती भञ्ज्याङसम्मको सम्झनामा । किन मन त्यत्तिकै फुरुङ्ग हुन्छ ?

त्यो रोशीमा कति डुबुल्किए, कतिपटक लडायो, कति बगायो, घुमाउनेमा कति खाँद्यो पनि । कति डुबेर पानी खुवाएको छ । गाउँवेसी गर्दा धारे र ओम्बोटेमा कति ढुन्मुनिए, पाइतालामा छुरो रगत पनि बग्यो, राता माटो र सजिउनको चोपले रगत पुछें । पातलको रुखबाट कति पटक लडें । जुकाले कति डसे । सिस्नोले कति पोल्यो कति, सर्पले कति टोक्यो, बिच्छीले डस्यो, चितुवाले लघार्‍यो पनि । गोठालो जाँदा टिमुर र ऐसेलुको काँडाले कति कोपर्‍यो तर ज्यानै जाने गरी दुःख दिएनन् । बरु संघर्षका पृष्ठ ऊर्जामा ती घटनाले शिक्षा र सीप दिन पुगे । आमाले गालामा चड्कन लगाउँदा माया मिसिए जस्तै ! त्यो रोशीको बगाइ क्रूर थिएन, मायाको थियो । पातलमा लड्नु, सर्पले टोक्नु, बिच्छीले डस्नु सबै संघर्षका लागि बाह्रखरी थिए । तिनले ज्यान लिएनन्, जिउन सिकाए । जसरी आमा थप्पड दिँदै, गाला चड्काउँदै आफ्ना अबोध सन्तानलाई जीवनको शिक्षा दिइरहेकी हुन्छिन् । जन्मभूमि आमा हो । मैले शुभम र सुव्रतलाई काखमा खेलाएझै कान्पुर र रोशीले काँखमा राखेर सुम्सुम्यायो, पुलपुल्यायो । आमाको वक्षस्थल बिजाए पनि सिमलको भुवाझै नरम लाग्छ । आमाको चड्कन पनि माया मिसिएको हुन्छ । 

साथीसंगीको संगत त शहर बजार, देश परदेश जहाँ पनि छ । तर जन्मभूमिको संगत सम्झन्छु, कति चोखो र स्वच्छ थियो । साथीहरू निरक्षर थिए तर निश्छल र निःस्वार्थ । वाङ्गेल, विर्तान, चम्फा, कान्छा, पिङ्गाई, बाटुली, इनाम, काउचे, लाटो, ङेमा, उत्तम, बद्री, रामकृष्ण, बाले, अष्टमान, काजीमान सवै निस्वार्थ थिए, रोशीखोला जस्तै स्वच्छ पनि । ईष्र्या, ईख र तछाडमछाड होइन, हार्दिकता थियो । मन साटिन्थ्यो, मन पूरै उघारिन्थ्यो । झगडा गर्दा पनि मज्जाले कुस्ती खेलिन्थ्यो । थप्पड हान्दा पनि कान नै रनक्क तात्ने गरी । तर कपट, ईख, डाढ र ईष्र्या पटक्कै थिएन । शहरका साथीमा विद्वता, सम्भ्रान्तता र वैभवता होला तर मेरो जन्मभूमिका दर्जनांै साथीहरूमा रहेको शालिनता, स्वच्छता, विनय, संयम र चोखोपना काठमाडांै, न्यूयोर्क, क्यालगेरी, टोकियो, लण्डन, पेरिसका साथीहरूमा कहाँ पाउन सकिन्छ ? जागिरे र व्यापारी साथीहरूमा कहाँ पाउन सकिन्छ र ? औपचारिकताले हार्दिकतालाई कसरी विस्थापन गर्न सकोस् ! साथी त, साथित्व दुःखको साथ हो । शहरले सुख र जन्मस्थानले दुःखमा साथ दिन्छ । त्यसैले सिद्धार्थ गौतम पनि भीडभाडबाट अलग्गै सारनाथको जंगलतिर बुद्धत्व खोज्दै पुगेथे । हो सबैलाई जन्मभूमिले सत्कर्म सिकाउँछ । शालिनता र स्वच्छता सिकाउँछ । धनी शहरमा परेकी चेली विपन्न माइतीमा पुग्दा मनैदेखि कति खुशी हुन्छिन् । खुशीको संस्कृति यसरी नै धानिने त हो !

मेरो जन्मस्थान साहित्य, संस्कृति र संगीतको अजस्र खानी हो । पहरो, भीर, पातलका रुखहरू र ठाडो खोलका झरनाहरू मौलिक धुनका नादहरू गुञ्जाइरहेका हुन्छन् । सिरिर्र हावामा रुखका पातहरू झ्याली र झ्याम्टाझै सुरेल्छिन् । घाँस, गोठाला र मेलापातमा गुञ्जने च्याङ्वा र माइच्याङका तामाङसेलो र ‘घासको डोकोमाथि ...’ झ्याउरेले मौलिक संगीतलाई जीवन्त पार्छ । पसिना पुछ्दै गाएका गीतले गीत संगीत हृदयबाटै फुर्नुपर्छ भन्ने सन्देश दिएको छ ।

‘लहर पहर लहर पहर पहराको देश’मा सायद मेरै गाउँ उतारिएको छ । प्रकृतिको संगीतमा हृदय पोखिएका गीत बजेका छन् । अरुको गायनमा रेमिक्स र र्‍याप होइन, प्रकृति र पातलको गीतले मौलिकता बचाइरहेको छ । धन्य संस्कृति धान्ने मेरो जन्मस्थान ! निरक्षरहरू मेलापात र रोपाइमा आफ्नै मुनामदन र शाकुन्तलका महाकाव्य रचिएका छन् र श्रुतिमा नै जीवन पाएका छन् । थाङ्का र ओममणिपद्मे चौतारो र काकालिङभरि कोरिएका छन् । 

पुरस्कारको प्रतिस्पर्धा पनि छैन, स्रोता र दर्शकको वाहवाही पनि चाहिएन । विशुद्ध प्रकृतिको साहित्य मेरो रोशीखोला, मेरो कान्पुर ! लाग्छ यो प्रकृतिको विशाल साहित्य संगीत र कलाको संग्राहलय हो ।   

जन्मभूमिको दशैं, तिहार, लक्ष्मीपूजा, भाइटीका, माघे संक्रान्ति, साउने संक्रान्ति पनि कति रमाइला ! वास्ना आउने नयाँ लुगा लगाएर लिङ्गे पिङमा मच्चिनुको मज्जै अर्को ! हजुरबुवाले लस्करै राखेर ‘आयु द्रोणसुते ...’ को श्लोकमा टीका लगाउँदाको मज्जा । तिहारमा द्येउसी र भैलोमा रात बिताउँदा लाग्थ्यो तिहार सधै आइरहोस् । मनका सम्झना कोट्याउँदा पनि कति आनन्द ! चाडपर्व त अहिले पनि छन्, टेलिभिजन र इन्टरनेटले देउसी, भैलो, टीका सबै देखाइदिएकै छ । गुगलले जे भन्यो, त्यै खोजिदिएकै छ । तर जन्मभूमि, बाल्यकालका साथी संगति र आमा नभएको चाड के चाड ? हतारो र औपचारिकतामा मन खुम्च्याएर मनाएको चाड पनि के को चाड ! 

जन्मभूमिले दिँदैन, सिकाउने हो । मेरो जन्मभूमिले मलाई थुप्रै सिकायो । सरल बन्न सिकायो, संघर्ष गर्न सिकायो । संयमित र विनयी बन्न सिकायो, हार्दिकताको सम्बन्ध सिकायो, सत्कर्म र सदाचार सिकायो । माया र मर्यादा सिकायो । मनभरि बेदनामा पनि फिस्स हास्न सिकायो । हो विवशतामा जन्मभूमिबाट टाढिएको छु । जब हामी बसाइँ सर्दै थियौं, मेरो मन गगल्चिएर आँखा टल्पलाएका थिए । दुईथोपा आँसु मेरै जन्मभूमिमा टपक्क खसेको भए मन कति हलुका हुन्थ्यो होला । तर जन्मभूमिले त्यो भार पनि लिन चाहिनन् । त्यसैले म आजसम्म जन्मभूमि आमालाई नै सम्झिएर पटक–पटक अश्रुभावमा गगल्चिएको छु । मेरो रोशीमाथि आधुनिकताले अतिक्रमण नगरोस्, मेरो कान्पुर विकासका नाममा विकृत नबनोस् र मेरो तिमाल, थामपरी डाँडा सबै मौलिक धरोहरमा सभ्यता बचाइराखून् ।

दुःख, पीर, छटपटी र पीडाका अनुभूति मनभरि खातिँदा म मेरै जन्मभूमि कान्पुर र संघर्ष सिकाउने रोशीतिर फर्केर हेर्छु । आमा र जन्मभूमिका बिम्बहरू मनभरि उतार्छु र मन शान्त पार्छु । धन्य मेरो जन्मभूमि !

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्