'... अनि म अमेरिका आएँ'

रामजी ज्ञवाली
रामजी ज्ञवाली

ज्ञवाली लोकान्तरका कला र मनोरञ्जन संवाददाता हुन् ।

एउटा देशमा बसोवास गर्ने आम नागरिकहरू विभिन्न पेशा र कर्ममा आबद्ध रहेर आफ्नो जीविकोपार्जन मात्रै गर्दैनन्, प्रत्यक्षअप्रत्यक्ष रूपमा देशलाई सेवा पनि गरिरहेका हुन्छन्, अनि लाभ पनि प्राप्त गरिरहेका हुन्छन् ।

जस्तै, एउटा कर्मचारीले सरकारी काम गरेर नागरिकलाई सेवा दिन्छ, त्यो बापत तलब मात्रै पाउँदैन, निश्चित समयमा सेवानिवृत्त भएपछि एउटा आकर्षक रकम प्राप्त गर्दै रिटायर्ड जीवनयापन गर्छ ।


Advertisement

एउटा व्यापारीले सामान बेच्ने काम गर्छ, निश्चित मुनाफा राखेर लाभ प्राप्त गर्छ । भवितव्य आइलागे बिमाबाट प्राप्त हुने रकमले सुरक्षित हुन्छ । कुनै पनि पार्टीको एउटा सामान्य कार्यकर्ता नेता, मन्त्री हुँदै सेवानिवृत्त हुँदा पनि जीवनभरलाई पुग्ने लाभ लिएर आरामदायक जीवन जिउँछ ।

हामी कलाकर्मीले पनि समाजका विभिन्न पेशा र कर्ममा रहेका करोडौं नागरिकहरूलाई मानसिक रोगबाट मुक्त गर्नका लागि विभिन्न किसिमले मनोरञ्जन दिइरहेका हुन्छौँ ।


Advertisement

नाच्नेले नाचेर, नचाउनेले नचाएर, गाउनेले गाएर, बजाउनेले बजाएर, अभिनय गरेर, निर्देशन गरेर, निर्माण गरेर, प्राविधिक भएर आदि इत्यादि गरेर सेवा दिन्छौं । तर, अब रिटायर्ड भएपछि हामीले प्राप्त गर्ने कुरा के हो त ? यो धेरैले नसोचेको तर सोच्नैपर्ने विषय हो । तर, कलाकारको बारेमा बोल्ने र सुन्ने को छ यहाँ ? शायद चिन्तित भएर म अमेरिका आएँ ।

यो समयमा सामान्य रकममा निको हुने रोगको पनि सही उपचार नपाएर बितेका हाम्रा कलाकर्मीलाई एकपटक सम्झना गर्दै आफूलाई त्यो ठाउँमा सोचेर हेरौं त । 

पार्टीको आन्दोलनका लागि भनेर एक ग्यालिन रक्सीको लोभमा आन्दोलनमा मारिएको एउटा नागरिकलाई भोलिपल्टै शहिद घोषणा गरिन्छ । राष्ट्रको गहना भनिएको एउटा कलाकारको मृत्युमा राष्ट्रबाट एउटा शोक सन्देश पनि जारी हुँदैन । आफ्नो देशमा कलाकारिताको माध्यमबाट गरेको सेवालाई मूल्यांकन गरेर अर्को देश (अमेरिका)ले कमसेकम हामीलाई स्वीकार त गरेको छ । धेरै सेवा सुविधा दिएको छ ।

नेपालमा जस्तो बसीबसी खाने सिस्टम त यहाँ राष्ट्रपतिलाई पनि छैन, सबैले काम गर्छ ।

अब सेवा सुविधाको कुरा गर्ने हो भने हामी मनमा चलचित्र बोकेर श्रम नै गरिरहेका छौँ, अपवादबाहेक कला क्षेत्रमै लागेर जीवनयापन गरिरहेको कोही नेपाली चलचित्रकर्मी त म देख्दिनँ, तर अधिकांश कलाकर्मीहरू आफ्नो अनिवार्यतालाई पूरा गरेपछि फेरि आफ्नै मुलुक फर्केर आफ्नो विधामै लाग्छन् भन्नेमा चाहिँ विश्वस्त छु । म पनि भविष्यमा नेपाल फर्किने हो, केही योजना छन्, त्यो योजनाअनुरूप काम गर्ने हो ।

हिन्दीमा एउटा उखान छ ‘मरता क्या नही करता ?’ । एउटा उचाइमा पुगेको मान्छे फेरि तल झरेर जीवनयापन गर्न सक्दैन, जे काम गरेपनि आदर गर्ने संस्कार हामीसँग छैन ।

आज जीवन लुइँटेलजस्तो प्रतिभाले अमेरिकामा बसेर व्यापार गरेका छन्, उनले त्यही व्यापार नेपालमा गरेको भए कम्तीमा सय जना नेपालीले काम पाउँथे । उनको कलाकारिता निरन्तर हेर्न पाइन्थ्यो । हाम्रो विडम्बना के छ भने उनै जीवनले नेपालमा कुनै व्यवसाय गरे भने फिल्म पाएन अनि यो गर्‍यो भनिदिन्छौं । यहाँ आयो अनि विदेश भासियो भनिदिन्छौं । जीवन जस्ता दर्जनौं क्षमतावान कलाकार त्यसै त पक्कै नेपाल छाडेका होइनन् ।

आफू जन्मेको, हुर्केको, पढेको, बढेको, दुई चार गुण्डा चिनेको, दुईचार मन्त्री चिनेको ठाउँबाट सजिलै लाभ हुने भए कसलाई आफ्नो संसार छाडेर नयाँ दुनियाँ बसाउने झञ्झट लिनु छ र ?

मैले यहाँको राम्रो पक्ष भनेको न्यायपालिका होस् या कार्यपालिका बिल्कुल सिस्टममा चलेको पाउँछु । 

शक्ति राष्ट्र अमेरिकाको राष्ट्रपतिले नै फोन गरेपनि अपराध गरेको मान्छेलाई पावरको भरमा छुटाउन सकिँदैन  । तर, नेपालको सिचुएसनमा तपाईंलाई थाहै छ, भनिराख्ने कुरा छैन । 

बडा गज्जबको कुरा के छ भने नेपालमा काम अह्राउने हिरो हुन्छ, यहाँ काम गर्ने हिरो हुन्छ ।

नेपालमा हुँदा, कामको मुश्किल हुँदा जसरी हरेक कलाकर्मी आफ्नो कलाको प्यास बुझाउन आफ्नै सहकर्मी खोजेर जसरी एक अर्काको व्यथा सुन्ने र सुनाउने गर्थे यहाँ आएपछि ठीक उल्टो देख्छु, हिजोको दिनका याद सम्झने र नियमित सम्पर्कमा हुने त अपवादमै होला ।

हिजो टीममा काम गरेर आफ्नो परिचय बनाएका साथीभाइहरू भोलि म नेपाल फर्केर यस्तो र उस्तो गर्छु भनेको र लेखेको सुन्छु अनि देख्छु, तर आफ्नै दौँतरी जसले एउटै क्षेत्रमा समकालीन भएर काम गरे, उनीहरूसँगै संवाद निरन्तर भएको चाहिँ छैन भन्ने नै लाग्छ ।

निश्चल बस्नेतजस्ता अर्को ग्रहबाट जन्मेर आएको निर्देशक भन्नेहरूले त अवश्य यी पुराना भनिएका मान्छेसँग सहकार्य गर्दैनन् । मलाई के लाग्छ भने नेपालमा मात्रै हो, पुराना कलाकारलाई त कलाकार नै नमान्ने । तर, बुझ्नुपर्ने कुरा पुराना कलाकारको सम्मान गर्ने र नयाँलाई प्रोत्साहन गर्न सकियो भने चलचित्र उद्योग पनि राम्रोसँग अगाडि बढ्थ्यो होला ।

म आफैँ अपडेट नभएको भए तिम्रो पुस्ताको रंगकर्मीसँग मेरो यो संवाद नै हुने थिएन ।

म अब योजना सुनाएर समाचारमा छाइरहुँ भन्ने सोचबाट धेरै टाढा भएको छु । 

कुनै विषय र समयले घच्घच्यायो भने अवश्य समयले मागेको प्रस्तुतीकरणका साथ आउने छु ।​

(लोकान्तरकर्मी रामजी ज्ञवालीसँगको कुराकानीमा आधारित)

रामजी ज्ञवाली
रामजी ज्ञवाली

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्