‘हेपिएको बाली’ लट्टेका स्वास्थ्य सम्बन्धी यतिधेरै फाइदै–फाइदा

आर. बी. बुढाथोकी
आर. बी. बुढाथोकी

सोल्टी क्राउन प्लाजा होटलमा 'सुसेफ'को रूपमा कार्यरत बुढाथोकी पाककला र सन्तुलित आहारका विषयमा कलम चलाउँछन् 

लट्टे हाम्रो गाउँघरमा पाइने एक प्रकारको पुरानो बाली हो । पुरानो बाली भएका कारण यो लोप हुने स्थितिमा पनि छ ।

लट्टेको महत्त्व नबुझ्दा यसको प्रयोग पनि निकै कम भएको पाइन्छ । महाभारत हिमशृंखलादेखि मध्य तथा दक्षिण अमेरिकी देशमा लट्टेको खेती परापूर्वकालदेखि नै हुँदै आएको पाइन्छ ।


Advertisement

नेपालमा यसको नाम ठाउँ अनुसार फरक–फरक छ । तराईमा रामदाना, पहाडमा लट्टे वा लुडे, उच्च पहाडी तथा कर्णाली प्रदेशतिर मार्से, सुदूरपश्चितिर दार्चुला, बैतडीतिर बेथ, बेथे वा चौलाई भनेर चिनिन्छ ।

व्यावसायिक खेती नहुने हुँदा लट्टेको खोज तथा अनुसन्धान पनि खासै भएको पाइन्न । रातो लट्टेलाई नेपालमा उच्चकोटीको मानिन्छ । लट्टे एक बहुउपयोगी बाली मानिन्छ र यसको प्रयोग ठाउँ अनुसार फरक–फरक रूपमा गरिन्छ । यसको हरियो साग पनि निकै स्वादिलो सब्जीको रूपमा प्रयोग गर्न सकिन्छ भने गेडालाई भुटेर वा लड्डु बनाएर पनि खान सकिन्छ ।


Advertisement

उच्च पहाडी जिल्लामा यसलाई प्रमुख खाद्यान्नको रूपमा लिइन्छ ।  पहाडी जिल्लामा यसको साग निकै मन पराएर विभिन्न तरिकाले परिकार बनाएर खाइन्छ । अन्य सागजस्तो प्रचलन या प्राथमिकतामा नपरेपनि सागमा पनि खनिज तत्व प्रशस्त पाइने हुँदा निकै फाइदा छ ।

लट्टेलाई अन्य बालीजस्तै छुट्टै जमिनमा नलगाई बारीको छेउ छेउ वा रुखो ठाउँमा लगाइदिने चलन छ । स्वास्थ्य सम्बन्धी प्रचुर फाइदा हुँदाहुँदै पनि यो एक हेपिएको अन्नजस्तो लाग्न सक्छ । सबैतिर लट्टेलाई एक प्रमुख बालीका रूपमा प्रयोग नहुने हुँदा यसको व्यावसायिकता खासै हुँदैन । तर पछिल्लो समय यसको महत्त्व बुझ्न थालेपछि यसको प्रयोग र खेती व्यापक हुन थालेको देखिन्छ ।

‘ग्लुटिन फ्री’ अन्नको रूपमा लिइने हुँदा लट्टेका परिकार होटल तथा रेस्टुरेन्टमा पनि राख्न थालिएको छ । नेपालमा ठाउँ अनुसार यसको बाली फरक–फरक समयमा हुन्छ । लट्टेलाई कुनै बालीको छेउमा लगाउँदा त्यो बालीमा कुनै नराम्रो नजर नलाग्ने परम्परा पनि छ । महिनावारी वा सुत्केरी भएका बखत यो बालीको रोटी वा भुटेर खानाले फाइदा पुग्ने जनविवश्वास पनि छ । नेपालमा लट्टेको अनुसन्धान धेरै कम भएका कारण यसका जाति कति छन् भन्ने यकिन स्थिति छैन । केही प्रारम्भिक अनुसन्धानकर्ताका अनुसार नेपालमा यसका ४ जाति छन् भनेर भनिएको छ । लट्टेलाई कति ठाउँमा झार भनेर फाल्ने पनि गरिन्छ । भारतमा लट्टेलाई अमरनाथ भनेर पनि चिनिन्छ ।

लट्टेलाई नियमित खानुका फाइदाहरू

– लट्टेमा प्रशस्त प्रोटिन, फाइबर, म्याग्नेसियम, फस्फोरस, फोलेट, कपर, आइरन, जिंक पोटासियम पाइने हुँदा निकै नै स्वास्थ्यवद्र्धक खाना मानिन्छ । 
– ग्रेनहरूमध्ये सबैभन्दा ज्यादा फाइबर भएको खाना हो लट्टे ।
– ग्लुटिन फ्री भएका कारण धेरैका लागि उपयुक्त 
– ब्लड सुगर नियन्त्रणका लागि निकै उपयोगी खाना 
– शरीरको तौल खटाउन उपयोगी हुन्छ ।
– मुटुलाई सुरक्षा प्रदान गर्न लट्टे निकै उपयोगी मानिन्छ । 
– स्किन केयरका लागि राम्रो मानिएको खाना हो ।
– क्यान्सर हुनबाट जोगाउन मद्दत पुर्‍याउँछ । 
– डाइबिटीज हुनबाट बचाउँछ । 
– हाइपरटेन्सन अर्थात् उच्च रक्तचापका लागि उपयोगी 
– एनेमिया उपचारका लागि पनि उत्तम हुन्छ लट्टे । 
– दीर्घ जीवनका लागि अति नै राम्रो अन्न । 
– टिशूहरू मर्मत र बढाउनका लागि उत्तम । 
– बलियो कपालका लागि पनि लट्टे राम्रो अन्न हो । 
– प्रशस्त आइरन पाइने हुँदा गर्भवती महिलाका लागि पनि राम्रो मानिन्छ ।

लट्टेबाट के–के बन्छ, कसरी खाने ?

लट्टे एक स्वास्थ्यवद्र्धक अन्न भएका कारण पछिल्लो समय यसका परिकारहरू पनि थरिथरिका बन्न थालेका छन् । लट्टेको सागको तरकारी वा भुटेर पनि खान सकिन्छ । लट्टेको सागलाई उसिनेर साधेर खाँदा पनि अति नै स्वादिष्ट मानिन्छ ।

लट्टेको दानालाई उसिनेर चिसो बनाइ सलाद बनाएर खाँदा पनि निकै स्वास्थ्यवद्र्धक हुन्छ । लट्टेको सुप पनि निकै प्रख्यात र राम्रो हुन्छ । विदेशमा पनि लट्टेको धेरै नै प्रयोग हुन्छ र यसका परिकारहरू धेरै नै छन् । लट्टेलाई एक साइड डिसको रूपमा निकै नै प्रयोग गरिएको पाइन्छ । भेज बर्गर खानेहरूका लागि किनुवा वा लट्टेको प्याटिज बनाएर खानेहरू पनि निकै छन्, जुन स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । लट्टेको रोटी, पकौडा, केक, स्न्याक्स र ड्रिंक्स समेत बनाएर खान सकिन्छ । लट्टेको खिर पनि त्यतिकै मिठो र स्वास्थ्यवद्र्धक मानिएको छ ।

आर. बी. बुढाथोकी
आर. बी. बुढाथोकी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्