नारायणहिटीको श्रीसदन सर्वसाधारणका लागि खुला, के–के छ श्रीसदनमा ?

तत्कालीन राजा  वीरेन्द्र शाहको निजी आवासगृह श्रीसदन आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । नारायणहिटी दरबार सङ्ग्रहालयमा अवस्थित श्रीसदन अवलोकनका लागि खुला गरिएको हो ।
 दरबार हत्याकाण्ड हुनुअघिसम्म श्रीसदनमा वीरेन्द्र, ऐश्वर्य र निराजन बस्दै आएका थिए । राजा वीरेन्द्रको परिवारको वंशनाशपछि उक्त सदन बन्द  थियो । विसं २०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्ड आधुनिक नेपाली इतिहासको सबैभन्दा चर्चित र विस्मयकारी घटना थियो ।

नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले सर्वसाधारणले अवलोकन गर्ने गरी श्रीसदनका प्रदर्शनी कक्ष खुलाएको हो । श्रीसदन प्रदर्शनीकक्षको आज उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नारायणहिटी सङ्ग्रहालयलाई राजतन्त्र र विशेषगरी आधुनिक नेपालको इतिहास बुझ्ने एउटा प्रमुख गन्तव्य थलोका रूपमा स्थापित गरिने बताए ।
    
श्रीसदनको भुइँतलामा पाहुना बस्ने बैठककक्षसँगै डाइडिङ रुम र वारकक्ष छ । दोस्रो तलामा वीरेन्द्र, ऐश्वर्य, निराजन र श्रुतिको शयनकक्ष छ भने तेस्रो तलाको पश्चिमतर्फ निराजनले शारीरिक अभ्यास गर्ने कोठा छ ।
ऐश्वर्यको पूजाकोठामा देवताको मूर्ति सजाइएको छ, तेस्रो तलाको भ¥याङ उक्लिनासाथ प्यासेजमा पूर्वअधिराजकुमारी श्रुतिले तयार पारेको चित्रकला राखिएको छ । स्व राजा वीरेन्द्र, ऐश्वर्य, श्रुति र निराजनको स्नानागार र  सिँगार कोठामा सबैले छुट्टाछुट्टै प्रयोग गर्ने सबै सामग्री सजाएर राखिएको छ । स्व ऐश्वर्यको छुट्टै साहित्यकक्ष पनि छ । श्रुति र निराजनको छुट्टै खेल्ने सामग्रीसहितको कोठा  छन् ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्