कोरोना संक्रमणमा किन हुन्छ कसैलाई गाह्रो, कसैलाई सजिलो ? – डा. रवीन्द्र पाण्डे

डा. रवीन्द्र पाण्डे
डा. रवीन्द्र पाण्डे

जनस्वास्थ्य विज्ञ पाण्डे लोकान्तरका नियमित स्तम्भकार हुन् ।

कोरोना महामारी शुरू भएको झन्डै एक वर्ष पुग्न लागेको छ । यो अवधिमा आधिकारिक तथ्यांकअनुसार विश्वमा ६ करोड संक्रमित भएका छन् भने १४ लाखभन्दा धेरैको कोभिडका कारण मृत्यु भएको छ ।

नेपालमा परीक्षण भएकामध्ये सवा २ लाख संक्रमित पहिचान भएका छन् भने करीब १७०० जनाको  मृत्यु भएको छ । यो तथ्यांकभन्दा कयौं गुणा धेरै व्यक्ति संक्रमित तथा मृत्यु भएको अनुमान गरिएको छ ।


Advertisement

कोरोना संक्रमणको बुझिनसक्नु शास्त्र के छ भने कोरोना संक्रमणले कुनै व्यक्तिलाई अस्पतालको जनरल वार्ड, आईसीयू, भेन्टिलेटर हुँदै मृत्युको मुखमा पुर्‍याएको छ भने कुनै व्यक्तिलाई केही गाह्रो भएर ठीक हुने अवस्था सिर्जना गरेको छ ।

अधिकांश व्यक्तिलाई कोरोना संक्रमण सामान्य रुघाखोकीजस्तै भएको अवस्था छ । यही कारण जसले जस्तो भोग्नुपर्‍यो उसले त्यस्तै सम्प्रेषण गर्दा आम मानिसलाई कोरोना संक्रमणप्रति ठोस धारणा बनाउन कठिन भएको छ ।


Advertisement

विश्वमा भएका सयौं अनुसन्धान र आफ्नो ज्ञानलाई घोलेर हेर्ने हो भने कोरोना संक्रमणको साध्यता आंकलन गर्न त्यति गाह्रो हुँदैन ।

संसारमा भएका घटना र अनुसन्धानलाई हेर्ने हो भने उमेर कोभिड– १९ जन्य जोखिमको लागि प्रमुख कारक देखिएको छ । जेष्ठ नागरिकमा विभिन्न दीर्घरोग हुने, गुनासा / असन्तुष्टि, एकांकी तथा चिन्ता धेरै हुने, खाना, व्यायाम, निद्राजस्ता इम्युनिटी बढाउने प्रमुख कारकको क्षमता घट्ने तथा उमेरसँगै रोग प्रतिरोधात्मक क्षमता घट्दै जाने भएकाले उमेरको वृद्धिसँगै जोखिम पनि उकालो लाग्दछ ।

चीन, युरोप, अमेरिकादेखि हरेक देशको ‘डेथ अडिट' गर्ने हो भने ६५ वर्षमाथिको मृतक संख्यामा उत्तरोत्तर बढी छ ।  न्युयोर्कमा भएको अध्ययनअनुसार मृतकमध्ये ७५ वर्षभन्दा माथिका ४८.७ % थिए जसमा ७५ % दीर्घबिरामी थिए । चीनको नेशनल हेल्थ कमिसनले गरेको अध्ययन अनुसार चीनमा मृतकमध्ये ८० % साठी वर्ष नाघेका तथा ती मध्ये ७५ % दीर्घबिरामी थिए ।

चीनको सीडीसीले गरेको अध्ययनमा संक्रमण भएका ८० वर्ष वा सोभन्दा माथिका १४.८ % जेष्ठ नागरिकको मृत्यु भएको थियो ।

कोभिड– १९ को मृत्युयात्रा दीर्घबिरामीका लागि चुनौतिपूर्ण छ । मुटु तथा कोलेस्टेरोलजन्य रोग, दीर्घकालीन फोक्सोको रोग ( दम, निमोनिया, ब्रोंकाइटिस, क्षयरोग, फोक्सोको क्यान्सर आदि ), अनियन्त्रित मधुमेह, अनियन्त्रित उच्च रक्तचाप, कष्टसाध्य मिर्गौलाको समस्या, कलेजो फेलियर, तेस्रो तथा चौथो स्तरको क्यान्सर, अटो इम्युन डिजिज लगायतका दीर्घरोग भएका व्यक्तिहरूलाई कोरोना संक्रमण भयो भने जटिल चरण पार गर्नुपर्ने तथा कम उमेरको दीर्घबिरामीको पनि मृत्यु हुने सम्भावना बढी हुन्छ ।

त्यस्तै अंग प्रत्यारोपण गरेका व्यक्ति, स्टेरोइडलगायत इम्युनो सप्रेसान्ट औषधि सेवन गरेका व्यक्ति, गर्भवती, सिकल सेल एनेमिया, थाल्सेमिया, मस्तिष्कघात, विस्मृति रोग, जेनेटिक तथा मेटाबोलिक खराबी, फोक्सोको फाइब्रोसिस, जन्मजात मुटुको रोग आदि अवस्था भएका व्यक्तिलाई पनि जोखिम धेरै हुन्छ ।

लैंगिक कोणले हेर्ने हो भने पुरुषभन्दा महिला सुरक्षित देखिएका छन् । अन्वेषकहरूले महिलाको तुलनामा पुरुषहरूमा सार्स-कोभ -२ मृत्युदर उल्लेखनीय रूपमा उच्च भेटेका छन्, सम्भवतः हर्मोनल र प्रतिरक्षा प्रणाली प्रतिक्रिया भिन्नताको कारण।

त्यस्तै सरसफाइको बानी, सक्रिय जीवनशैली, जोखिम नमोल्ने प्रवृत्ति, रक्सी तथा चुरोटको सेवन कम गर्ने बानी, अनुशासन तथा पुरुषको तुलनामा दीर्घरोग कम हुने भएकाले महिलाको संक्रमणदर तथा मृत्युदर विश्वमै कम छ । न्युयोर्कमा भएको अध्ययन अनुसार मृतकमध्ये पुरुष ६१.८ % र महिला ३८.२ % थिए ।

चीनमा भएको अध्ययनअनुसार ब्लड ग्रुप ओ हुनेहरू ब्लड ग्रुप एको तुलनामा दुई गुणा कम आईसीयू तथा भेन्टिलेटरमा गएको देखाएको छ । त्यस्तै आर्टिफिसियल इन्टेलिजेन्स टुल प्रयोग गरेर अमेरिकामा भएको एक अध्ययनमा ए ब्लड ग्रुप भएका व्यक्तिलाई ओ ब्लड ग्रुप भएका व्यक्तिलाईभन्दा अक्सिजन र भेन्टिलेटर चाहिने सम्भावना ५० % बढी हुन्छ । ब्लड ग्रुप ओ भएका व्यक्ति केही सुरक्षित अध्ययनले बताएका छन्

मोटोपना धेरै भएका व्यक्ति पनि जोखिम वर्गमा पर्दछन् । BMI ३० – ४० भएका व्यक्ति BMI ३० भन्दा तल भएका व्यक्तिभन्दा दुईगुणा बढी आईसीयू जाने सम्भावना हुन्छ । अत्यधिक मोटा व्यक्तिलाई मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल, फ्याटी लिभर, स्लीप एप्निया आदि समस्या हुन्छन् ।

भिटामिन डीको कमीले पनि संक्रमितलाई गम्भीर बनाएको विभिन्न अनुसन्धानले देखाएका छन् । घाममा काम गर्ने व्यक्तिहरू थप सुरक्षित मानिन्छन् ।

चीनमा ४५ हजार संक्रमितमा गरिएको एक अध्ययन अनुसार वृद्ध उमेर र दीर्घबिरामी गम्भीर अवस्थामा पुगेका थिए । मृतकमा कुनै रोग नभएका १ % भन्दा कम, मुटुको बिरामी १०.५ %, मधुमेहका बिरामी ७.३ %,  दीर्घ श्वासका बिरामी ६ %,  उच्च रक्तचापका बिरामी ६ % र क्यान्सरका बिरामी ५.६ % थिए ।

त्यस्तै मधुमेहको कारण डाइबेटिक केटोएसिडोसिस भएमा इन्सुलिनको अभाव भएर ब्लड सुगर अनियन्त्रित रूपमा बढ्न सक्छ । यो अवस्था घातक हुन्छ ।

सानै उमेरदेखि खोप लिएका तथा यथेष्ट पोषण पाएका धेरै सुरक्षित देखिएका छन् ।

ताजा, बहुप्रकारका तथा सन्तुलित खानाको सेवनले रोगसँग लड्ने क्षमता बढाउन ठूलो सहयोग गर्दछ । भनिन्छ, कोरोना संक्रमणलाई डाइट पेलेर जित्नुपर्दछ ।

कोरोना संक्रमणले मुख्य रूपमा फोक्सोमा असर गर्ने भएको हुँदा चुरोट खाने व्यक्तिहरूलाई बढी असर गर्दछ ।

रक्सी, सुर्ती तथा लागूपदार्थको सेवन गर्ने व्यक्तिहरूको रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले जोखिमको सम्भावना धेरै हुन्छ ।

जुनसुकै उमेरको व्यक्ति भएपनि जसले समयमा परीक्षण गर्छ, चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्छ तथा समयमै अस्पताल जान्छ, त्यस्तो व्यक्तिलाई आईसीयू तथा भेन्टिलेटरमा जानुपर्ने जोखिम कम हुन्छ ।

सकारात्मक सोच तथा उच्च आत्मबल भएको व्यक्ति आत्मबल कम भएको व्यक्तिको तुलनामा धेरै सुरक्षित हुन्छ । पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आउनेबित्तिकै हार्ट एट्याक भएर मृत्यु भएको, आईसीयूमा अन्य गम्भीर बिरामीको मृत्यु देखेर हार्ट एट्याक भएको, उपचारमा भोग्नुपरेका सास्तीको कारण अचानक ब्लडप्रेसर बढेर ब्रेन हेमरेज वा शक् भएको, संक्रमण देखिएपछि डरले आत्महत्या गरेको तथा महामारीको कारण भएको आर्थिक क्षतिको कारण विचलित भएको लगायतका घटना हामीले सुनेका छौं ।

आईसीयू तथा भेन्टिलेटरमा पनि बलियो मन बनाएर बसेका गम्भीर बिरामीले कोभिडलाई बिचलित नभइकन जितेको हामीले देखे/सुनेका छौं ।

कोरोना संक्रमणमा पेशाले पनि ठूलो अर्थ राखेको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सफाइकर्मी तथा दैनिक सयौं आम नागरिकसँग काम गर्नुपर्ने पेशाका व्यक्ति अन्य पेशाका व्यक्तिभन्दा धेरै जोखिममा रहन्छन् । उदाहरणका लागि कुनै चिकित्सकले दिनको ४० जना बिरामी हेर्दछ । ती मध्ये १० जना कोरोना संक्रमित हुनसक्छन् । दैनिक १० जना संक्रमितको भाइरस केही दिनसम्म लगातार लिँदा भाइरसको लोड धेरै हुन्छ ।

भाइरसका अन्य प्रजाति छन् भने बहुप्रकारका भाइरस उसको शरीरभित्र प्रवेश गरेका हुन्छन् । तसर्थ यस्ता व्यक्ति गम्भीर हुने सम्भावना धेरै हुन्छ । कुनै १-२ जना व्यक्तिबाट सामान्य रूपमा भाइरस सरेका संक्रमितको तुलनामा लगातार धेरै व्यक्तिबाट भाइरस सर्ने व्यक्ति धेरैगुणा जोखिममा रहन्छन् ।

त्यस्तै एकै हलमा धेरैजना सुत्ने, मेसमा सँगै खाने, व्यायाम तथा काम समूहमा गर्नुपर्ने सुरक्षाकर्मीमा पनि भाइरसको लोड धेरै हुन्छ । बन्द कोठाभित्र समूहमा काम गर्नुपर्ने व्यक्तिलाई पनि भाइरसको लोड धेरै हुन्छ ।

सूत्र छ : 

हामीले जति धेरै व्यक्तिसँग भेट्छौं, त्यति धेरै जोखिम हुन्छ ।

हामीले जति लामो समय कुरा गर्छौं, त्यति धेरै जोखिम हुन्छ ।

हामीले जति नजिक बसेर कुरा गर्छौं, त्यति धेरै जोखिम हुन्छ ।

हामीले जति बन्द कोठामा कार्यक्रम गर्छौं, त्यति धेरै जोखिम हुन्छ ।

भाइरसको लोडले ठूलो संख्यामा प्रजनन अर्थात् कपि बनाउँछ जसले गर्दा संक्रमितलाई गम्भीर बनाउन मद्दत गर्दछ ।

महामारीको बेलामा जसले आफ्नो स्वास्थ्यका पारामिटर नर्मल राखेको हुन्छ, उक्त व्यक्ति त्यति नै सुरक्षित हुन्छ ।

समयसमयमा स्वास्थ्य परीक्षण गर्ने, घटेका पारामिटर बढाउने तथा बढेका पारामिटर घटाउने अर्थात् शरीरका हेमोग्लोबिन, प्लेटलेट्स, सुगर, कोलेस्ट्रोल, ब्लड ग्लुकोज, युरिक एसिड, थाइराइड हर्मोन, कलेजो तथा मृगौलाका कार्य क्षमता, ब्लडप्रेसर, छातीको एक्सरे, पेटको अल्ट्रासाउण्ड, मुटुको इसीजी, पिसाब जाँचलगायत गरेर स्वास्थ्यलाई नर्मल पारामिटरमा राख्यौं भने संक्रमण भएपनि गम्भीर हुने सम्भावना निकै कम हुन्छ ।

व्यवस्थित जीवनशैली अर्को महत्त्वपूर्ण पक्ष हो । तालिकाअनुसार समयमा खाना, खाजा, पानी खाने, नियमित व्यायाम गर्ने, योग तथा ध्यान गर्ने, पर्याप्त सुत्ने, तनावलाई व्यवस्थित गर्ने, शरीरलाई फाइदा हुने जीवनशैली अपनाउने तथा असात्म्य पदार्थ त्याग गर्ने गरेमा कोरोना संक्रमणले गम्भीर बनाउने सम्भावना कम हुन्छ ।

उमेरले जेष्ठ नागरिक भएपनि तथा दीर्घरोग भएपनि जसले नियमित रुपमा औषधि सेवन गरेको छ, पौष्टिक खाना खाएको छ, नियमित व्यायाम गरेको छ तथा शरीरको आन्तरिक शक्ति मजबुत राखेको छ, त्यस्ता व्यक्तिले कोरोना संक्रमणलाई सजिलै जितेका छन् । हाम्रो देशमा पनि ८६, ८७ वर्षका व्यक्तिले कोरोना संक्रमण जितेका  धेरै उदाहरण छन् ।

कोरोना संक्रमणको जोखिम वातावरणसँग पनि जोडिएको छ । प्रदुषणले फोक्सोलगायत श्वासप्रश्वास प्रणालीलाई  असर गरेको हुन्छ । धेरै अध्ययनले देखाएका छन् कि वायु प्रदूषण, धूलो तथा खानामा विषादी प्रयोग गरेका शहरमा कोरोना संक्रमणबाट गम्भीर हुने तथा मृत्यु हुनेको संख्या धेरै छ ।

इन्फ्लुएन्जा तथा निमोनियाको खोप लिएका व्यक्ति थप सुरक्षित हुन्छन् ।

विशेष गरी बुढेसकालमा र दीर्घबिरामीहरूसँग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, जसले गर्दा विशेष रोगजनकहरूको प्रतिक्रियालाई थाहा पाउन गाह्रो हुन्छ। यसले अनियन्त्रित प्रतिरक्षा प्रतिक्रिया निम्त्याउन सक्छ ।

प्रतिरक्षा कोशिकाको अधिक उत्पादनले साइटोकाइन आँधी निकाल्न सक्छ । साइटोकाइन आँधीले फोक्सो तथा अन्य अंगका आवश्यक कोषलाई समेत नष्ट गर्छ । जसले गर्दा मल्टिपल अर्गान फेलियर हुनसक्छ ।  

आनुवंशिक र वातावरणीय जोखिमअनुसार संक्रमणको सघनता बढ्न सक्छ । वातावरणीय कारकहरू जस्तै धुम्रपान वा वायुको गुणस्तरले पनि रोगको गम्भीरतामा भूमिका खेल्न सक्छ।

बालबालिकामा इम्युनिटी सिस्टम अपरिपक्व भएतापनि आमाबाट सिधै आएको प्राकृतिक इम्युनिटीको कारण उनीहरूमा भाइरस लोड कम हुन्छ ।

बालबालिकाको प्रतिरोध क्षमताले कोरोना भाइरसलाई घाँटीमा नै नष्ट गर्छन् जसले गर्दा फोक्सोमा पुग्न पाउँदैन । तसर्थ बालबालिका कोभिडबाट गम्भीर हुने तथा मृत्यु हुने सम्भावना कम हुन्छ ।

गरीबी तथा स्लम एरियामा बस्नेले भोक मेटाउनका लागि जोखिमयुक्त काम गर्नुपर्ने हुन्छ । तसर्थ सामाजिक तथा आर्थिक कारणले पनि जोखिममा ठूलो भूमिका खेल्दछ ।

जनस्वास्थ्यका मापदण्ड पालना गर्ने / गराउने देशमा कोरोना संक्रमण दर तथा मृत्युदर निकै कम छ ।

अनिवार्य र सही तरिकाले मास्क लगाउने, दुरी कायम राख्ने तथा हातको सरसफाइमा विशेष ध्यान दिने विश्वका अर्बौं मान्छेहरूलाई कोरोना संक्रमण भएको छैन । जनचेतना, अनुगमन, निगरानी र जरिवानाको व्यवस्था भएका देश जस्तै चीन, जापान, कोरिया, सिंगापुर, भियतनाम, थाइल्याण्ड, कम्बोडिया, माल्दिभ्स, श्रीलंका, भुटान, न्युजिल्याण्ड लगायतका धरै देशमा कोरोना संक्रमण नियन्त्रणमा आएको छ ।

स्वास्थ्य प्रणाली बलियो तथा व्यापक भएका देशहरूमा परीक्षण, आइसोलेसन र उपचार प्रभावकारी हुन्छ । ती देशमा गम्भीर हुने तथा मृत्यु हुने सम्भावना कम हुन्छ । गरीब देशका गरीब नागरिक संक्रमित भएको अवस्थामा उपचारमा पहुँच निकै कम हुन्छ ।

स्वास्थ्य प्रणाली बलियो भएका धनी देशमा नागरिकले अनुशासन पालना नगर्दा ठूलो क्षति भएको तथ्य पनि बुझ्नु जरुरी छ । जहाँ सरकार इमान्दार र जिम्मेवार हुन्छ, नागरिक अनुशासित र जिम्मेवार हुन्छन्, ती देशमा महामारीले ठूलो असर गरेको छैन ।

अहिले नेपालमा कोरोना संक्रमणविरुद्धको अभियानमा सरकार, नागरिक समुदाय तथा आमव्यक्ति सुस्ताएको देखिएको छ । क्वारेन्टीन बन्दप्रायः छन् । आइसोलेसन केन्द्र खाली भएका छन् । परीक्षण तथा उपचारमा सरकार र नागरिक दुवै उदासिन देखिएका छन्, त्यसैले गर्दा यो महामारीमा पनि आइसोलेसन बेड भरिएका छैनन् ।

आफैँ औषधि खाने, निको भएका संक्रमितले भनेका औषधि किनेर खाने, छातीमा बलपूर्वक मालिस लगायत घरेलु विधि अबलम्बन गर्ने र एकदम अप्ठ्यारो भएपछि मात्र अस्पताल जाने प्रचलनले गर्दा बिरामीलाई सिधै आईसीयू तथा भेन्टिलेटरमा पुर्‍याउनु पर्ने अवस्था छ ।

यो अवस्था कष्टपूर्ण, महंगो एवं जोखिमयुक्त छ । घरमै निमोनिया भएर तथा अक्सिजनको मात्रा निकै घटेपछि अस्पताल जाँदा धेरै जनाको मृत्यु भएको छ । समयमै परीक्षण तथा उपचार नगराउँदा युवा उमेरका धेरैजना व्यक्तिको ज्यान गएको छ । सरकारले यो अवस्थालाई सम्बोधन गरेमा तथा आम नागरिकले शुरूमै परीक्षण तथा उपचार गरेमा शारीरिक, मानसिक, आर्थिक, सामाजिक तथा भौतिक क्षति न्यून हुनेछ ।

अन्त्यमा,

हामी जाडो मौसममा प्रवेश गरेका छौं । यो मौसम भाइरस संक्रमणको लागि उपयुक्त समय हो । विश्वका विभिन्न देशमा कोरोना महामारीको दोस्रो वेभ चलिरहेको छ ।

हामीले यो जाडोमा कोरोना संक्रमणबाट बच्नु जरुरी छ । यसको लागि जेष्ठ नागरिक तथा दीर्घबिरामी घरभित्र नै बस्नु पर्दछ ।

६५ वर्षभन्दा बढी उमेरका वा मधुमेह / मुटुको रोग भएका व्यक्तिले निमोनियाको भ्याक्सिन तथा अन्य व्यक्तिले इन्फ्लुएन्जाको खोप लिएमा केही हदसम्म सुरक्षित हुन सकिन्छ ।

निमोनिया, दम, फोक्सोको दीर्घरोग भएका व्यक्ति विशेष सतर्क हुनु जरुरी छ । चिसो मौसममा मर्निङ वाक नगर्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

त्यस्तै जोखिम वर्गका व्यक्ति घरमै बस्ने एवं सक्रिय उमेरका हरेक व्यक्तिले अनिवार्य र सही तरिकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने हो भने हामी सुरक्षित हुनेछौं ।

हामीले कोरोनाको खोप लगाउनका लागि यो चिसो मौसम पार गर्नुपर्ने हुन्छ ।

डा. रवीन्द्र पाण्डे
डा. रवीन्द्र पाण्डे

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्