ओली-देउवा भेटको अन्तर्य : नेकपा विभाजन भए एक पक्षलाई कांग्रेसले दिनुपर्छ साथ

गुरूराज घिमिरे
गुरूराज घिमिरे

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका घिमिरे नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् ।

कुनैपनि संस्था ,राजनीतिक दल, देश या घर चलाउने जिम्मेवारीप्राप्त मुख्य व्यक्तिको ध्यान मूल विषय छाडेर तपसिलका विषय या महत्त्वहीन कुरामा जान थाल्यो वा वैयक्तिक स्वार्थमा केन्द्रित हुन पुग्यो भने सम्बन्धित संस्था, दल, देश या घरको दुर्दशा सुनिश्चित हुन्छ। यस्तो दुर्दशाले अनेक संकट निम्त्याउने गर्दछ। यी संकटहरूको दुष्चक्रमा परेर संस्था, समाज, दल, परिवार सबै निकम्मा र ध्वस्त हुन पुग्दछन् । आज नेपालले यही दुर्दशाको सामना गरिरहेको छ, र दिनानुदिन अनेक संकट थपिने संकेतहरू देखिँदैछन्। तीन करोड नेपाली जनताको भविष्य र पुर्खाहरूको ठूलो बलिदानले आर्जेको देशको भविष्यमाथि अनेक प्रश्न चिह्न उभिएका छन् । चिन्ताको कुरा त जनताको ठूलो बलिदानबाट स्थापना गरिएको वर्तमान शासन प्रणालीविरुद्ध खुलेआम र हाकाहाकी चुनौती दिने काम हुन थालेको छ।

आफ्नो मत राख्ने, विरोध गर्ने र चाहेको शासन प्रणाली लागू गर्ने अधिकार सबै नागरिकलाई छ। तर लोकतान्त्रिक शासन प्रणालीको विकल्पमा खडा गरिने शासन प्रणाली जनता र राष्ट्रका हितमा छैनन् र हुन सक्तैनन्। यो विश्वव्यापी रूपमा प्रमाणित सत्य हो । हाम्रो काम सधैंभरि राजनीतिक प्रणाली बदल्नु र देशको प्रगतिलाई अनिश्चित बनाउनु मात्रै होइन। नेपालसँग आजसम्म प्रयोग भएका विभिन्नथरि राजनीतिक प्रणालीहरूको लामो र कटु अनुभव छ। यस अघिका कुनै पनि राजनीतिक प्रणालीले राष्ट्र र जनताको पक्षमा सन्तोषजनक काम गर्न सकेनन्। परिणामस्वरूप वर्तमान शासन प्रणालीको स्थापना भएको हो । फेरि यसलाई बदल्ने कार्य कुनै पनि हालतमा जायज हुन सक्तैन । यस्तो अनुत्पादक कार्यमा लागेर देशको बहुमूल्य समय हामीले खेर फाल्नु हुँदैन ।


Advertisement

यतिबेला सत्तारुढ दल नेकपामा अन्तरकलह चलिरहेको छ। र झण्डै एक वर्ष यता यो कलहका धेरै र बहुआयामिक श्रृङखलाहरू प्रदर्शित भइसकेका छन् । नजाने अझै कति बाँकी छन् । जुनसुकै कलह पनि सम्बन्धित पक्षका लागि हानिकारक हुन्छन् र आन्तरिक शक्तिलाई ठूलो क्षति पुर्‍याउँछन्। बुद्धिमान व्यक्ति र संस्थाले आन्तरिक जीवनमा कलह आउन दिँदैनन् । यदाकदा निम्तिने कलहको यथाशीघ्र व्यवस्थापन गरिहाल्छन्, जसले कलहको व्यवस्थापन गर्ने कौशल देखाउँदछन्,उनीहरूले अपेक्षित सफलता प्राप्त गर्दछन् ।

जो कलहको भुमरीमा रुमल्लिन पुग्दछन्, बचेखुचेको प्रतिष्ठा समेत समाप्त हुन्छ र समाजबाट तिरस्कृत समेत हुन पुग्दछन्। यस्ता व्यक्ति र संस्थाहरूसँग इतिहासको गर्तमा बिलाउनुबाहेक अन्य विकल्प हुँदैन । असाध्यै ठूलो सैद्धान्तिक र कार्यशैलीगत भिन्नताकाबीच चुनावी गठबन्धन र पार्टी एकता भएको नेकपा इतिहासकै कठिन घडीमा छ र यसले राष्ट्रिय राजनीतिलाई समेत गम्भीर र दूरगामी प्रभाव पार्ने खतरा बढेर गएको छ। यसबेला सचेत नेपाली जनता नेकपाको गृहकलहलाई गम्भीरतापूर्वक नियालिरहेका छन् ।


Advertisement

यही धाराबाहिक कलहका दौरान प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाकाबीच भएको भेटघाटलाई लिएर राजनीतिक तथा बौद्धिक वृत्तमा अनेक शंका–उपशंका, टीकाटिप्पणी, अनुमान र विश्लेषण शुरू भएको छ। कांग्रेस पार्टीभित्र पनि यही भेटलाई लिएर विभिन्न टीका–टिप्पणी शुरू भएका छन्। यसो हुनु कुनै अनौठो कुरा होइन। फेरि प्रधानमन्त्रीले राजनीतिक तथा संवैधानिक नियुक्तिमा मात्र होइन, सत्ता साझेदारीमा पनि आफू तयार रहेको बताएपछि तदनुरूप अड्कलबाजी चल्नु स्वाभाविकै हो । आफूभित्र संकट बढेपछि जसले पनि छिमेकी गुहार्न पुग्छ ।

खुला आँखाले हेर्दा प्रधानमन्त्रीले प्रतिपक्षी दलका नेतासँगको अन्तरंग भेटघाट र संवाद देखाएर आफ्ना प्रतिद्वन्द्वीलाई चुनौती दिएको देखिन्छ तर यसको अन्तर्य थाहा पाउन भने केही समय पर्खनैपर्ने हुन्छ।

जतिसुकै तिक्ततापूर्ण सम्बन्ध भएपनि छिमेकीको घरमा कलह देखेपछि अर्को छिमेकीले रणनीति बदल्छ र संवाद शुरू गरिहाल्छ। यसो गर्नु बुद्धिमता नै मानिन्छ। त्यसैगरी संकटमा परेको छिमेकीले पनि छिमेकी गुहारेर आफ्नो घरका सदस्यलाई तर्साउनु या तह लाउन खोज्नु कुनै आश्चर्यको कुरा होइन। अहिले प्रम र प्रतिपक्षी दलका नेताको भेटलाई यही रणनीतिअन्तर्गत बुझ्नुपर्छ । खुला आँखाले हेर्दा प्रधानमन्त्रीले प्रतिपक्षी दलका नेतासँगको अन्तरंग भेटघाट र संवाद देखाएर आफ्ना प्रतिद्वन्द्वीलाई चुनौती दिएको देखिन्छ तर यसको अन्तर्य थाहा पाउन भने केही समय पर्खनैपर्ने हुन्छ।

अब चर्चा गरौं ,यस भेटपश्चात् नेपाली कांग्रेसभित्र चल्न थालेको बहस र क्रियाप्रतिक्रियाका बारेमा। हाम्रो पार्टीको राजनीतिक प्रतिष्ठा संसदमा भएको गणितले निर्धारण गर्ने वा हुने होइन । यसका अनेक ऐतिहासिक आयामहरू छन् । सात सालको ऐतिहासिक जनक्रान्तिमा कुनै भूमिका नभएको र अझ खुलस्त भन्नुपर्दा क्रान्तिविरोधि नेकपा आज मुलुकको सबैभन्दा ठूलो राजनीतिक दलको रूपमा जनसमक्ष खडा छ। यो हाम्रा निम्ति साँच्चै ठूलो चुनौती हो। माथि नै चर्चा भइसक्यो कि वर्तमान शासन प्रणालीको अन्त्य चाहने प्रतिक्रियावादीहरू प्रतिक्रान्तिको सपना देखिरहेका छन् । नेपाली जनताको अथक प्रयत्न र आफ्नै दुर्बुद्धिले राजपाठ गुमाएको राजसंस्थाको अब नेपालमा कुनै सान्दर्भिकता छैन। वर्तमान सरकार भनेको हामीले स्थापना गरेको शासन प्रणाली होइन । केपी ओलीले नेतृत्व गरेको सरकार भनेको वर्तमान शासन प्रणालीको प्रतिनिधि मात्र हो। सरकारका काम कारवाही राजनीतिक प्रणालीको सफलता र असफलताका मानक होइनन्। चौँसट्ठी सालको संविधान सभामा कम्युनिष्टहरूको बहुमत हुँदाहुँदै पनि नेपाली जनताको नासो बहुदलीय संसदीय व्यवस्थालाई समाप्त गर्न चाहेर पनि सकेनन्।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको त्यसबेलाको सकारात्मक भूमिकालाई हामीले बिर्सनु हुँदैन। त्यति बेलाको माओवादी उन्मादलाई रोक्न उनले सराहनीय भूमिका खेलेका हुन्। नत्र उतिबेलै नेपाल उग्रवामपन्थी पोल्टामा गइसक्थ्यो। अहिले पनि नेपाल प्रतिक्रान्तिको खतराबाट मुक्त भइसकेको छैन। नेकपामा देखिएको चर्को कलहको तर्कपूर्ण अन्त्य र समाधान पुनः एकता र विभाजन नै हो। एकता नै भएपनि अब नेकपा चर्केको हाँडीसरह नै हो । कुनैपनि बेला फुट्नसक्छ । पुरानो हार्दिकता अब पलाउन गाह्रो छ । तर अहिल्यै फुटिहाल्यो भने त्यसका नकारात्मक प्रभावहरू के–के हुन सक्छन् ? यसको आंकलन गर्न सकिएन भने साच्चै मुर्खतापूर्ण हुनेछ। अनि इतिहास दोहोरिन बेर छैन। त्यसलाई रोक्ने कसले ? सबैलाई थाहा छ, उनन्साठी सालमा कांग्रेस कलह र विभाजनको जगमा राजाले प्रतिगमन गरेका थिए। तत्पश्चात नेपाली जनताले त्यत्रो दुःख पाएको हामीले बिर्सनु हुँदैन । त्यसैले नेकपाको कलहले कुन मोड लिन्छ,त्यसले नेपालको राजनीतिमा नयाँ आयाम प्रारम्भ हुन्छ। कांग्रेसले यसलाई सतर्कतपूर्वक नियाल्नुपर्दछ ।

अहिले नै नेकपा विभाजनको निष्कर्ष निकाल्नु राजनीतिक अपरिपक्वता र उत्ताउलोपना हुनेछ । तर कथंकदाचित विभाजित भयो भने दुईमध्ये एक घटकलाई कांग्रेसले साथ दिनुपर्दछ । सरकारमा जानु हुँदैन, पाँच वर्षलाई जनादेश छैन भन्नु सजिलो र क्रान्तिकारी कुरा लाग्छ । तर सत्तारूढ पार्टी विभाजित भयो भने प्रतिपक्षी दलले गर्ने के हो ? एउटा विकल्प निसन्देहः चुनावमा जाने हो। अनि अर्को विकल्प त सरकारमै जाने हो नि ! नेकपाका दुवै घटकको आ-आफ्नै महत्त्व छ। दुवै घटकमा वर्तमान शासन प्रणालीका लागि संघर्ष गरेका एकसेएक नेता छन्।

उनीहरूमध्ये कांग्रेसका लागि कोही टाढा कोहीनजिक हुनु हुँदैन । नेकपाको घरेलु मामलामा कांग्रेसले हात हाल्नु हुँदैन। तर मुलुकमा राजनीतिक संकट आउन नदिन एउटा घटकसँग सहकार्यको नितान्त आवश्यकता छ। यसको कारण पनि स्पष्ट नै छ। केही समयअघि सडकमा देखिएको सरकारप्रतिको युवा असन्तुष्टिलाई पुनरुत्थानवादीहरूले राजनीतिक व्यवस्था कै असान्दर्भिकताका रूपमा चित्रण गर्ने कोशिश गरिरहेका छन् । र अहिले पुनः हुन थालेका प्रदर्शनहरू त्यसैका पछिल्लो कडी हुन्। सरकारको असक्षमता भनेको व्यवस्थाको असफलता हुन सक्तैन ।

भेट्नु नहुने समयमा भेटेको भएपनि सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीसँगको भेटलाई कांग्रेसले रणनीतिक रूपमा लिनुपर्दछ र उत्पादक बनाउनु पर्दछ, किनभने प्रधानमन्त्री ओलीले पनि कांग्रेस सभापतिलाई रणनीतिक रूपमै त भेटेका हुन्।

त्यसैले कांग्रेस सभापतिको प्रधानमन्त्रीसँगको भेट पक्कै सान्दर्भिक थिएन । यसमा कुनै दुईमत छैन तर कहिलेकाहीँ कालो बादलमा पनि चाँदीको घेरा हुन्छ। यो भेटको अर्थ एकोहोरो लगाउनु हुँदैन। नेकपा के हुन्छ, त्यो उनीहरूको निजी मामला पक्कै हो तर सत्तारूढ दलको विभाजनोन्मुख अवस्था प्रतिपक्षी दलको गम्भीर चासोको विषय हो । यसमा कांग्रेस निरपेक्ष रहन कसरी सक्छ ?

आफ्नो अगुवाइ र नेतृत्वमा स्थापित राजनीतिक प्रणालीको स्थायित्व कांग्रेसको प्रमुख दायित्व हो । यसकारण वर्तमानमा उत्पन्न राजनीतिक परिस्थितिप्रति कांग्रेस उदासीन र मुकदर्शक भएर बस्न सक्तैन र बस्नु पनि हुँदैन। अरू राजनीतिक दलले जस्तो प्रतिक्रिया व्यक्त गरेरमात्र कांग्रेसको दायित्व पूरा हुँदैन। प्रणाली जोगिएन भने कांग्रेसको मात्र होइन, देशको भविष्य नै धरापमा पर्ने सुनिश्चित छ। बीपी कोइरालाले बारम्बार भन्नुभएको छ, लोकतन्त्रको अभावमा नेपालको कुनै भविष्य छैन। तसर्थ नेपालको सुरक्षित भविष्यका लागि वर्तमान शासन प्रणालीको सुरक्षा प्रमुख शर्त हो। त्यसैले भेट्नु नहुने समयमा भेटेको भएपनि सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीसँगको भेटलाई कांग्रेसले रणनीतिक रूपमा लिनुपर्दछ र उत्पादक बनाउनु पर्दछ, किनभने प्रधानमन्त्री ओलीले पनि कांग्रेस सभापतिलाई रणनीतिक रूपमै त भेटेका हुन्।

गुरूराज घिमिरे
गुरूराज घिमिरे

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्