कोरोना भाइरसको संक्रमणपछि बन्द भएको पशुपतिनाथ मन्दिर परिसर अहिले कुरूप देखिएको छ ।
२०७५ चैत १२ गतेदेखि सरकारले कोरोनाभाइरसको संक्रमण फैलिन सक्ने भन्दै देशभरका भीडभाड हुने क्षेत्रलगायत मठ–मन्दिरहरू पनि बन्द भएसँगै पशुपति मन्दिर बन्द भएको थियो ।
बन्द भएको पशुपति मन्दिर क्षेत्रको वरपर अहिले गाडी पार्किङ, मोटरसाइकल पार्किङ र ट्याक्सी पार्किङले गर्दा कुरूप देखिएको हो ।
विश्व सम्पदा सूचीमा परेको पशुपतिनाथ क्षेत्रमा २०७४ पुष ११ गतेदेखि सवारी साधन चलाउन रोक लागाइएको थियो ।
सवारी साधनले पशुपति क्षेत्रमा अस्तव्यस्तता बढाएको तथा विश्वसम्पदा सूचीमा रहेको उक्त क्षेत्रमा प्रदुषण बढाउनुका साथै भौतिक क्षति पुर्याएको भन्दै सरकारले सवारी साधन प्रवेशमा रोक लगाएको थियो ।
उक्त रोक शव बाहनलाई लागू नहुने गरी लगाइएको थियो । शव बाहनलाई पहिलेकै स्थानसम्म जान व्यवस्था गरिएको थियो ।
तर अहिले भने सार्वजनिक सवारी साधन बस, ट्याक्सीहरू पशुपतिको पश्चिम क्षेत्र अर्थात् आर्यघाट जाने क्षेत्रमा जथाभावी पार्किङ गर्दा मन्दिर क्षेत्रमा जाने भक्तजन तथा शव बोकेर जाने शवबाहन समेतलाई असहज हुने अवस्था छ ।
पशुपति क्षेत्रमा पार्किङ गरिएका ट्याक्सी जथाभावी डुलाउँदा र त्यस क्षेत्रमा मानिसहरूलाई अस्वाभाविक तरिकाले ट्याक्सी भाडा लिँदा मारमा पर्नुका साथै त्यसले पाशुपत क्षेत्रलाई कुरूप बनाएको छ ।
‘पहिला यहाँ ट्याक्सी आउन पाउँदैनथे । हामीलाई हिँड्न सजिलो थियो अहिले भित्रै आएर बार्गेनिङ गर्दा रहेछन्,’ पशुपति दर्शन गर्न आएका भक्तपुरका हरिकाजी महर्जनले लोकान्तरसँग भने, ‘यसले गर्दा कस्तो असजिलो महशुस हुँदो रहेछ कोरोनाको समयमा टाढा बस्नु पर्ने बेलामा झन् जाने हो भन्दै तान्न आउने ।’
पशुपति आर्यघाटको माथिल्लो क्षेत्रमा ट्याक्सी ड्राइभरहरूको भीड पनि उत्तिकै देख्न सकिन्छ ।
पशुपति क्षेत्रमा सरसफाइ नहुँदा फोहोर देखिएको छ ।
पार्किङको निर्माण टेन्डरमा प्रक्रियामा गएकाले सवारी साधनलाई आर्यघाटसम्म जान दिएको पशुपति क्षेत्र विकास कोषका अध्यक्ष घनश्याम खतिवडाले बताए ।
‘पार्किङ टेन्डर प्रक्रियामा भएकाले मोटरसाइकल र साना गाडीलाई आर्यघाटसम्म जना दिएका छौं,’ अध्यक्ष खतिवडाले लोकान्तरसँग भने, ‘अहिले पशुपति बन्द भएकाले र पार्किङ क्षेत्र बनाउने प्रक्रियामा हुँदा जान दिएका हौं ।’
अन्य क्षेत्रमा पशुपति क्षेत्रको सडक मर्मत गर्न थालिएको छ । ठेकेदारले ढिलासुस्ती गर्दा केही फोहोर देखिएको अध्यक्ष खतिवडा स्वीकारे ।
कोरोनापछि दैनिक ५० वटा शव जल्दै
कोरोना भाइरसको संक्रमणको फैलिने भन्दै सरकारले गरेको बन्दाबन्दी (लकडाउनको समयमा दैनिक ८ वटासम्म शव जलाउने पशुपति आर्यघाटमा अहिले दैनिक ५० वटासम्म शव आउन थालेको छ ।
पशुपति क्षेत्र विकास कोषका अनुसार अहिले आर्यघाटमा आउने शवको संख्यामा वृद्धि भएको छ ।
दिनमा औसत ५० वटासम्म शव आउने गरेको कोषका अध्यक्ष घनश्याम खतिवडाले बताए ।
‘अहिले नन-कोभिडमा दैनिक ५० वटासम्म शव आउने गरेका छन्,’ अध्यक्ष खतिवडाले लोकान्तरसँग भने, ‘कोरोनाले गर्दा भएको लकडाउनमा दिनमा सरदर ८ वटा आउने गरेका थिए ।’
विद्युतीय शवदाह गृहमा अहिले ९ वटासम्म लास जल्ने गरेका छन् । विद्युतीय शवदाहमा कोरोना भाइरसको संक्रमणले मृत्यु भएका मानिसहरूको मात्र शव जलाइने अध्यक्ष खतिवडाले लोकान्तरलाई बताए ।
पशुपतिमा व्यापार बढ्यो
पशुपति क्षेत्रमा २ वटा सामान पाइने सुपथ मूल्यका घाट सेवा पसल छन् ।
शव जलाउँदा र पूजाआजा गर्न आवश्यक पर्ने सामानहरू विक्री वितरण गर्नका लागि पशुपति क्षेत्र विकास कोषले राखेका र सहकारीले राखेका पसलहरूले सामान बिक्री गरिरहेका छन् ।
पशुपति क्षेत्र विकास कोष अन्तर्गतका पसलले चिता लगायतका सामानहरू बनाइरहेको थियो । कोरोनाका कारणले गर्दा शव कम आउन थालेको समयमा व्यापार ठप्प भएको तर अहिले भने व्यापार बढेको बिक्रेता राजन श्रेष्ठले बताए ।
‘अहिले सामानहरू अलि विक्री हुन थालेका छन्, पहिला कोरोनाले गर्दा लास नआएपछि ठप्प जस्तै थियो,’ श्रेष्ठले लोकान्तरसँग भने ।
यस्तै लास जलाएर आफ्नो जीविकोपार्जन गर्दै आएका घाटेहरूको पनि दैनिकी सहज भएको उनले बताएका छन् ।
‘यसैबाट हाम्रो परिवार पाल्नुपर्ने भएकाले कोरोनाको समयमा अप्ठ्यारो भएको थियो,’ एक घाटेले लोकान्तरसँग भने, ‘अहिले लास धेरै आउन थालेपछि सहज भएको छ ।’
गगन अर्याल
लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।