चलचित्र ‘रेड वाइन’बाट अभिनेता पल शाह आउट भएका छन् । उनको स्थानमा अहिले अभिनेता पुष्प खड्कालाई इन्ट्री गराइएको छ ।
अनावश्यक रूपमा चलचित्रको स्क्रिप्ट परिवर्तन गर्न निर्माण पक्षलाई दबाब दिएपछि पललाई आउट गरिएको स्रोतको दाबी छ । पललाई आउट गरेकै दिन पुष्पलाई चलचित्रमा इन गराएको हो ।
यसअघि निर्माण टीमले चलचित्रमा पल शाह र साम्राज्ञीको जोडी रहने जनाएको थियो । तर, अब पल निस्किएपछि साम्राज्ञीको जोडीको रूपमा अभिनेता पुष्प आएका छन् । यस विषयलाई पुष्पले पुष्टि गरेका छन् ।
हाल पुष्प चलचित्र ‘कृष्ण लिला’को छायांकनका लागि इलाम छन् । उनी इलामबाट फर्किएपछि यो चलचित्र टीमसँग भेटेर काम अगाडि बढाउने योजना बनाएका छन् ।
पुष्प–साम्राज्ञी अभिनित चलचित्र ‘मारुनी’ निकै हिट भएको थियो । सोही कारण पनि पल निस्किएपछि पुष्पलाई चलचित्रमा आवद्ध गराइएको हो ।
रमेश एम के पौडेलको निर्देशनमा बन्न लागेको ‘रेड वाइन’ को अधिकांश दृश्य नेपालमा खिचिनेछ भने केही दृश्य अमेरिकामा पनि खिचिने बुझिएको छ । यो चलचित्रमा हास्यकलाकार सन्दीप क्षेत्री पनि काम गर्दैछन् ।
लोकान्तर संवाददाता