कोरोना भ्याक्सिन उत्पादनले जगाएको आशा : नेपालले कसरी समयमै पाउन सक्छ खोप ?

श्यामप्रसाद मैनाली
श्यामप्रसाद मैनाली

लेखक मैनाली नेपाल सरकारका पूर्व सचिव हुन् ।

विश्वभर अहिले कोभिड– १९ को खोप तयार भएको समाचारले मनोवैज्ञानिक रूपमा सन्त्रासमा बाँचेका मानव जातिहरू उत्साहित बनेका छन् । अहिले संयुक्त राज्य अमेरिकाको फाइजर बहुराष्ट्रिय कम्पनीले बायो एनटेकसँगको सहकार्य र सहयोगमा तयार पारेको यस विरुद्धको खोपको प्रयोगका लागि सरकारसँग अनुमति माग गरेको छ । यो खोप तयार पार्ने कार्य जर्मनको समेत सहभागितामा फाइजर कम्पनीले गरेको हो ।

खोप उत्पादन गर्ने कार्य प्रारम्भ गरेको ४८ दिनमा नै अनुमति माग गर्ने अवस्थामा पुगेकाले प्रगति तीव्र गतिमा भएको देखिन्छ । अमेरिकाको खाद्य तथा औषधि प्रशासन एफडीएले यो सुरक्षित भए/नभएको यकिन गरी एक महिनाभित्र स्वीकृति दिइसक्ने अपेक्षा गरिएको छ । बी एन टी १६२ नाम दिएको यो खोप ६ देशका ४४ हजार मानिसहरूमा परीक्षण गरिएको र चार साताको अवधिमा दुई डोज दिनुपर्ने यो खोप पूर्ण रूपमा सुरक्षित रहेको दाबी गरिएको छ ।


Advertisement

संयुक्त राज्य अमेरिकाले ५० प्रतिशत प्रभावी र सुरक्षित भएमा प्रयोगमा ल्याउन अनुमति दिने नीति रहेको बताइरहँदा फइजर र  मोडेना कम्पनीहरूले क्रमशः ९५ र ९४.५ प्रतिशत प्रभावी भएको दाबी गरिराखेका छन् ।  न्युन तापक्रममा भण्डारण गर्नुपर्ने र यसले शरीरभित्र प्रतिरक्षा शक्तिलाई उल्लेखनीय रूपमा वृद्धि गर्ने बताइएको अवस्था छ । डिसेम्बर महिनाभित्र प्रयोगमा ल्याइसक्ने योजना छ । एक वर्षभित्र संक्रमण पूरै निर्मुल गर्न सकिने अभिव्यक्ति आएको छ । 

सन् २०२१ को आगमनसँगै यो संक्रमणसँग जुध्न विश्व लागिपर्ने छ र अल्प अवधिमा नै नियन्त्रणमा आउने, यसका लागि विश्व स्वास्थ्य संगठनको क्रियाशीलताको अपेक्षा गरिएको छ । यस विश्व संस्थाले यसको गुणस्तर, प्रभावका साथै स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्नु पर्ने अवस्था छ । यही प्रयोजन समेतका लागि स्थापित संस्थाले यस दिशामा आफ्नो क्रियाशीलता दिने नै छ ।


Advertisement

यसको प्रारम्भ खोप बिक्री गर्न इच्छुक कम्पनीहरू युनिसेफ लगायत अन्य संयुक्त राष्ट्र संघका संगठनहरूलाई यसको व्यवस्थापन गर्न अनिवार्य रूपमा पालाना गर्नुपर्ने शर्तहरू जस्तै खोपको गुणस्तर, भण्डारण र पारवहनलाई सुरक्षित र व्यवस्थित गर्ने विश्व स्वास्थ्य संगठनको मापदण्डमा सम्झौता नगर्ने, प्याकिङ बिक्री वितरण गर्ने आधारहरू समेत निर्धारण गरी कार्य अघि बढाउन तयारी अवस्थामा राख्नका लागि प्री–क्वालिफिकेसन तय गर्ने प्रक्रिया अघि बढाइसकेको छ । विश्व स्वास्थ्य संगठनले सबै राष्ट्रहरूलाई खोप उपलब्ध गराउन पहल कदमी गर्नुपर्ने अवस्था छ, अन्यथा शक्ति सम्पन्न र उत्पादक देशसँग अत्यन्त निकटतम् सम्बन्ध भएका देशहरूले मात्र यो सुविधा शीघ्र प्राप्त गरी नेपाल जस्ता कमजोर देशहरू पछि पर्न सक्दछन् । विश्व संस्था संयुक्त राष्ट्र संघको ध्यान समेत यथासमयमा यस दिशातर्फ आकृष्ट हुनु जरूरी देखिएको छ ।

अब नेपालको अवस्थाका बारेमा विश्लेषण गरौं । नेपाल यस दिशामा अत्यन्त कमजोर सावित भइराखेको छ । केन्द्रीय सरकार आफूसँग भएको अधिकार समेत प्रान्तीय सरकार र स्थानीय तहहरूमा प्रदान गरेर संक्रमणसम्बन्धी आफ्नो दायित्वबाट पन्छिन खोजेको छ । विगतका काम कारवाहीहरूलाई दृष्टिगत गर्दा गुणस्तरमा सम्झौता गर्दै आफूनिकट कम्पनीहरूलाई यो काम दिने अभ्यासमा विश्वस्त देखिएको छ । यस अर्थमा अब खोप यथा समयमा नेपालमा आपूर्ति गरी संक्रमणबाट देशलाई मुक्ति दिलाउनभन्दा यसबाट व्यक्तिगत अभिष्ट पूरा गर्ने गरी अघि बढ्न सक्ने सम्भावनाका बारेमा समेत आशंका उत्पन्न भइराखेको छ ।

यद्यपि स्वास्थ्य मन्त्रालयले संयुक्त राज्य अमेरिकाको फइजर बहुराष्ट्रिय कम्पनीसँग सम्बधता कायम गरेर त्यस कम्पनीकै सूत्र तरिका अवलम्बन गर्दै भारतमा खोपको थप उत्पादन गर्ने गरी एक बहुराष्ट्रिय कम्पनीले कार्यप्रक्रिया अघि बढाएको र सोही कम्पनीले नेपाल र बंगलादेशलाई प्राथमिकतामा राखी खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकाले यस कम्पनीसँग सम्बन्ध विस्तार गर्दै प्रथम चरणमा नै नेपालले खोप प्राप्त गर्ने गरी कारवाही अघि बढाउने क्रियाशीलता प्रदर्शन गरिराखेको समाचारहरू संप्रेसित भइराखेका छन् । यो स्वागतयोग्य कदम हो तर दुईवटा कारणहरूले गर्दा यसमा मात्र नेपाल निर्भर रहन नहुने स्थिति छ । पहिलो हो फाइजर कम्पनीको उत्पादनको उत्पादन मूल्य नै १० अमेरिकी डलर पर्न जाने र यो खोप माइनस ७० डिग्रीको तापक्रममा भण्डारण गर्नुपर्ने भएकाले हाम्रो प्राथमिकता संयुक्त अधिराज्यको उत्पादनमा हुनुपर्दछ ।

यो मह‌ंगो र पारवहन एवं भण्डारणका लागि तुलनात्मक हिसाबले असहज छ । खोप निकाले अल्प अवधिभित्र नै प्रयोग गरिसक्नुपर्ने बुझिन आएको छ । दोस्रो हो फइजर कम्पनीले अर्को महिनामा खोप प्रयोगमा ल्याउने संकल्प गरेको छ । यो खोप उत्पादनमा र बिक्री वितरणमा स्वभावतः प्रथम प्राथमिकता दिनेमा सन्देह रहँदैन किनकि संक्रमणबाट आफ्नै देशमा प्रशस्त मानिसहरूले मृत्युवरण गरिराखेकाले यसबाट शीघ्र राहत प्रदान गर्ने सोच स्वभावतः अमेरिकाको हुनेछ । भारतीय कम्पनीसँग सहकार्य गरी व्यापार गर्ने विषय गौण बनी प्राथमिकतामा पर्ने छैन । यस अवस्थामा हाम्रो भारतीय कम्पनीसँग समझदारी गरी खोप आपूर्ति गर्ने कार्यले लामो समय लिन सक्दछ । जनजीवन नै जोखिममा परी सबै क्षेत्र अस्तब्यस्त भैराखेको अवस्थामा शीघ्र आपूर्तिका भरपर्दा विकल्पहरूका बारेमा आजैका दिनमा चिन्तन गर्नुपर्दछ ।

स्वास्थ्य मन्त्रालयकै प्राविधिक सहयोगमा सरकार प्रमुख स्वयं यस दिशामा गम्भीर भई पहलकदमी गर्न र आवश्यकताअनुसार सबै सम्बन्धित निकायहरूलाई सक्रिय बनाउन लागि पर्नु पर्दछ । स्वास्थ्य मन्त्रालयलाई नै यस कार्यको सम्पूर्ण जिम्मा प्रदान गर्दा हामी यसबाट फाइदा लिन प्रथामिकतामा पर्न सक्ने सम्भावना अत्यन्त न्युन छ । प्रधानमन्त्रीले परराष्ट्र मन्त्रालयमार्फत उत्पादक देशहरूमा रहेका कूटनीतिक नियोगहरूलाई समेत पूर्वतयारी गरी स्वास्थ्य मन्त्रालयलाई सहयोग गर्न र सम्बन्धित देशहरूसँग अनुरोध गरी समस्या समाधानमा जुट्नु जरूरी छ । अपवादबाहेक हाम्रा नियोगहरू र राजदूतहरूको क्रियाशीलता राष्ट्रको हितमा भएको अनुभूति गर्न सकिएको छैन । यो विशेष कार्यादेश प्रधानमन्त्रीले परराष्ट्र मन्त्रीमार्फत दिई यसको प्रगति स्तरको अनुगमन निरन्तर रूपमा गर्नुपर्दछ । यदि परिस्थितिले माग गरेमा परराष्ट्र मन्त्री वा अन्य उपयुक्त पात्रलाई सरकारको प्रतिनिधिका रूपमा पठाउने व्यवस्था समेत गर्नु जरुरी छ । तर सरकार प्रमुखले लामो समयदेखि आफ्नै दलभित्रको आन्तरिक झमेलाको सामना गरिराख्नु भएकाले यो अनुत्पादक कार्यमा समय खर्चिराखेको अवस्था छ । सरकार प्रमुख स्वयं आफ्नै दलबाट व्यवधानको सामना गर्नु परेकाले पनि राष्ट्रिय महत्त्वका यस्ता विषयहरूमा पर्याप्त ध्यान दिन सकिराख्नुभएको छैन यो यथार्थता हामी सबैकासामु स्पष्ट छ र यसको अन्त्य कहिले हुने हो सो समेत अनुमान गर्न सक्ने देखिँदैन । 

सरकार अब स्पष्टरूपमा यो संक्रमण रोक्नका लागि योजना र कार्यक्रमसहित अघि बढ्नु पर्दछ । यसको पारदर्शिता निर्वाह गर्दा जनस्तरमा विश्वसनीयता बढ्नेछ । हालसम्मको सरकारी कार्यशैली संकटको समयमा समेत जनताको स्वास्थ्यसँग गम्भीर नभएको अनुभूति भइरहँदा देशले आफ्नो प्रभावकारिता प्रमाणित गर्न नसकी हामी अर्को वर्ष समेत संक्रमणबाट प्रताडित हुनुपर्ने अवस्था सिर्जना हुने अवस्था आउन सक्ने आकलन भइराखेको छ । केही दिनदेखि खोपको प्रगति स्तरका बारेमा सञ्चारमाध्यमहरूले सम्प्रेषण गरिरहँदा सरकारले यस प्रकारको कार्यक्रमहरू निर्धारण गर्दै अघि बढेको जानकारी स्वस्थ्य मन्त्रालयले भारतको एक कम्पनीसँग सम्पर्क गरेको भन्दा ज्यादा अरू केही भएको पाइँदैन । संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत र यसैगरी संयुक्त अधिराज्यका लागि नेपाली राजदूतहरूलाई विशेष सक्रिय बनाउन सरकार लागिपर्नु पर्दछ ।

यी राजदूतहरूको मूल्यांकन यसमा घनिष्टरूपमा सम्बन्धित रहने जानकारी समेत दिई परिचालन गर्नुपर्दछ । सरकारले शीघ्र क्रियाशीलता दिन नसक्दा देश र जनता हर क्षेत्रमा प्रभावित हुने स्थिति छ किनकि स्पेन, जर्मनी, इटाली लगायतका देशहरूमा चिसो मौसम प्रारम्भ हुँदै गर्दा संक्रमितहरूको संख्यामा वृद्धि हुन थालेको पक्ष स्मरणीय छ । नेपालमा पनि अब चिसो बढ्दै गएकाले धेरै थप नेपालीहरूले आफ्नो जीवन समाप्त गर्नुपर्ने अवस्था आउन सक्दछ । यस परिस्थितिमा सरकारले नागरिकहरूको स्वास्थ्यको रक्षा गर्दै जनजीवन सामान्य बनाउन लागि पर्नुपर्ने उपयुक्त समय यही भएकोमा सन्देह रहँदैन । सरकारलाई सबै क्षेत्रको सहयोग यस कार्यका लागि प्राप्त हुनु जरूरी छ ।

विश्वमा आर्थिक मन्दीको अवस्था सिर्जना भइसकेको छ, तेल उत्पादक राष्ट्रहरूले बजारको अभावमा भण्डारण लामो समयसम्म गरिराख्नुपर्ने अवस्था मात्र होइन यसको बिक्री दरमा समेत प्रशस्त उतारचढाव आइराखेको छ । संयुक्त राज्य अमेरिका र चीनको सम्बन्ध थप जटिल बनिराखेका कारण पनि विश्व बजार थप प्रभावित भई राखेको छ ।  पर्यटन वर्ष अलपत्र परेको छ । देशको आर्थिक वृद्धिमा तीव्ररूपमा संकुचन आएको छ । यो अवस्थामा जनजीवन सामान्य रूपमा ल्याउन एक मात्र विकल्प खोप यथाशीघ्र प्राप्त गरी सुरक्षित रहने हो । देशको हालसम्मको अवस्था दृष्टिगत गर्दा नेपालले शीघ्र खोप प्राप्त गर्न नसक्ने र प्राप्त भएमा पनि देशका सम्भ्रान्त र पहुँच कायम भएकाहरूले यसबाट फाइदा लिई सर्वसाधारणहरू मर्कामा पर्ने अवस्था प्रबल छ यसका लागि उमेर समूह, विपन्न वर्ग लगायतका लागि पहिलो प्राथमिकता प्रदान गर्नु समेत अत्यावश्यक देखिन्छ ।
   
 

श्यामप्रसाद मैनाली
श्यामप्रसाद मैनाली

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्