अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कानूनी लडाइँबाट पुनः राष्ट्रपति बन्न नसकेमा अबको चार वर्षपछि पुनः चुनाव लड्ने बताएका छन् ।
मंगलवार साँझ ह्वाइट हाउसमा आयोजित क्रिसमस प्रीतिभोजमा उनले सन् २०२४ मा चुनाव लड्ने बताउँदै आफू नै यस निर्वाचनको विजेता भएको बताए ।
‘चार वर्ष गजबका रहे । हामी पुनः अर्को चार वर्षका लागि कोशिश गर्नेछौं,’ ट्रम्पले भेला भएका मानिसलाई बताए । पार्टीमा रिपब्लिकन नेसनल कमिटीका धेरै सदस्यहरू थिए ।
सम्बोधनका क्रममा उनले अहिले राष्ट्रपति बन्न नपाएमा चार वर्षपछि फेरि चुनाव लड्ने भन्दा मानिसहरूले खुशियाली मनाएका थिए ।
ओक्लाहोमा रिपब्लिकन पार्टीका अध्यक्ष पाम पोलार्डले सामाजिक सञ्जालमा ट्रम्पको भिडियो सार्वजनिक गरेका हुन् ।
भिडियोमा अनेकौं मानिस ह्वाइट हाउसको क्रस हलमा भीड गरेर बसेको अनि ट्रम्पको सम्बोधन सुनेको देखिन्छ ।
धेरैजसोले मास्क लगाएका थिएनन् ।
उनले निर्वाचनमा धाँधली भएको भन्ने दाबी दोहोर्याइरहे जबकि महान्यायाधिवक्ता बिल बारले व्यापक धाँधलीको कुनै प्रमाण जस्टिस डिपार्टमेन्टले फेला नपारेको र सन् २०२० को निर्वाचन परिणामलाई केही कुराले पनि उल्ट्याउन नसक्ने बताइसकेका छन् ।
‘यो अनौठो वर्ष हो । हामीले चुनाव जित्यौं तर उनीहरूलाई त्यो मन परेन । म यो धाँधलीपूर्ण चुनाव हो भन्छु र सधैं भन्नेछु,’ उनले बताए ।
इलेक्टोरल कलेज भोटले बाइडनलाई जिताएमा आफूले पदत्याग गर्ने भनी ट्रम्पले बताएको केही दिनपछि यस्तो टिप्पणी आएको हो ।
बाइडनले चुनाव जितेदेखि नै ट्रम्पले आफूमाथि धोकाधडी भएको र हार स्वीकार गर्न बाध्य पारिएमा सन् २०२४ मा चुनाव लड्ने बताउँदै आएका छन् ।
एजेन्सी