रङ बदल्दै फोक्सुन्डो

तस्वीर सौजन्य : कान्तिपुर दैनिक

आकाश नीलो हुँदा पानी पनि नीलो, रङ नै पोखेजस्तो । घाम अस्ताउने बेलामा पहेंलो । बादल कालो भए पानी पनि कालो ।

आकाशको छाया त यसमा पर्ने नै भयो, वरिपरिका हिमाल र पहाडको प्रतिबिम्ब परेका बेला कलाकारले बुट्टा भरेजस्तो देखिन्छ । सधैं स्थिर, अविचल सौन्दर्यको खानी । उपल्लो डोल्पाको अनुहार हो फोक्सुन्डो । जतिसुकै प्रतिकूल अवस्थामा पनि सधैं मुस्काइरहने ।


Advertisement

फोक्सुन्डोको पानी मौसमअनुसार बदलिन्छ । कान्जिरोवा हिमालको काखमा रहेको यो ताल अंग्रेजी  अक्षर ‘वाई’ आकारमा छ ।

फोक्सुन्डो ताल उपल्लो डोल्पाको मुख्य आकर्षण हो । यही फोक्सुन्डो ताल र ऐतिहासिक शे गुम्बालाई जोडेर सरकारले २०४० सालमा शे–फोक्सुन्डो निकुञ्ज बनाएको हो । ताल निकुञ्जभित्रै पर्छ । शे–शिखर हिमाल, कान्जिरोवा हिमाल र नुर्बु काङ हिमाल यो तालको मुख्य स्रोत ।


Advertisement

३६११.५ मिटर उचाइमा रहेको ताल ४.९५ वर्गकिमिमा फैलिएको छ । लम्बाइ ५.९३ किमि, चौडाइ १.८० किमि, गहिराइ १४५ मिटर (नेपालको दोस्रो गहिरो ताल) । यो तालमा ४०८.५९ मेट्रिक क्युबिक मिटर पानी छ ।
हिमाली चराचुरुंगी, पानीमा बस्ने जीवहरूको आश्रयस्थल र अन्य जैविक विविधताले धनी भएकाले यो ताल २०६४ असोज ६ मा रामसार सूचीमा सूचीकृत भएको छ । तालसहितको निकुञ्जलाई सरकारले विश्वसम्पदा सूचीमा राख्न प्रस्तावसमेत गरेको छ । अहिले सगरमाथा र चितवन राष्ट्रिय निकुञ्ज मात्र उक्त सूचीमा छन् ।

सदरमुकाम दुनैदेखि सुलिगाड, साङ्टा, छेप्का, रेंची, तापिरिचा हुँदै दुई दिनमा फोक्सुन्डो पुगिन्छ । ताल हेर्न भने तीन घण्टा पैदल हिँडेर करिब ४ हजार मिटर उचाइको डाँडो (भ्यु टावर) पुग्नुपर्छ । पर्यटकहरूको आकर्षण बढेपछि निकुञ्ज र फोक्सुन्डो मध्यवर्ती उपभोक्ता समितिले भ्यु टावर बनाएका छन् । यही तालको

सुन्दरता अवलोकन गर्दै माथिल्लो डोल्पाका शे गुम्बा, भिजेर र साल्दाङको पदयात्रा गर्न सकिन्छ । माथिल्लो डोल्पा पदयात्राका लागि विश्वमै प्रख्यात छ । प्राकृतिक सुन्दरताका साथै स्थानीय वेशभूषा, संस्कृति, परम्परा र खानपिन मुख्य आकर्षण हुन् ।

७७ वर्षीय छोइबेल लामाका अनुसार थाहा पाउने बेलादेखि फोक्सुन्डोको स्वरूप बदलिएको छैन । उस्तै नीलो सुन्दर । ‘ताल पहिला जस्तो हो त्यस्तै छ,’ उनले भने, ‘बर्खामा पानी अलि बढी हुन्छ, हिउँदमा घट्छ ।’
तालमा नुहाउन, कपडा धुन प्रतिबन्ध छ । तालको छेउमै निकुञ्जको पोस्ट र नेपाली सेनाको सुरक्षा पोस्ट तैनाथ छ । रिग्मो गाउँको पिउने पानीको मुख्य स्रोत नै ताल हो । ‘गाउँ मास्तिरको पानीको स्रोत कात्तिकमै सुकेकाले गाउँलेले तालकै पानी प्रयोग गर्छन्,’ शे–फोक्सुन्डो गाउँपालिका(–८ का वडाध्यक्ष निमा लामाले भने ।

तालबाट बगेको खोलाको पानी लिफ्टिङ प्रविधिबाट गाउँमा ल्याउने योजना भर्खरै निकुञ्जले स्वीकृत गरेको छ । तालभन्दा गाउँ अग्लो स्थानमा भएकाले त्यो प्रविधि अपनाउन खोजिएको हो । ‘घर–घरमा पानी पुर्‍याउन सकियो भने तालमा कोही पनि जाँदैनन्,’ वडाध्यक्ष लामाले भने ।

फोक्सुन्डो जोगाउनुपर्छ भन्ने चेतना रिग्मोवासी सबैमा छ । ‘मान्छेहरू यही ताल र संस्कृति हेर्न आउने हुन्,’ स्थानीय लामा होटलका सञ्चालक छेवाङ ग्याल्बो लामाले भने, ‘तालको सुन्दरता बिगार्नु हुँदैन भनेर हामीले सबैलाई सचेत गराइरहेका छौं ।’

तालबारे आफ्नै किंवदन्ती छ । परापूर्वकालमा अहिलेको साल्दाङ (शे–फोक्सुन्डो गाउँपालिकाको केन्द्र) मा शक्तिशाली एक जना गुरु रिम्पोचे रहेछन् । ती गुरु रिम्पोचेले महिलाको वेशमा एउटा भूत देखेछन् काठको भाँडो (अम्खोराजस्तो) बोकेको । एउटा हातमा तेल, अर्कोमा पानी । गुरुले भूतलाई लखट्दै तल भगाएछन् । भूतले पानी र तेल साल्दाङ नजिकको सिङथोप्रा भन्ने स्थानमा पोख्न खोजेछ । पानी पोख्न नपाउँदै त्यहाँबाट पनि गुरुले भूतलाई भगाउँदै अझ तल धपाएछन् ।

‘भूतले गुरु रिम्पोचे आउनुअघि नै अहिले ताल बनेको स्थानमै भाँडोको पानी घोप्ट्याएछ,’ स्थानीय फुर्वा तेन्जिङ बुढाले सुनाए, ‘पानीको भाँडो (अम्खोरा) पोखिएकाले पानीको ताल भएछ, तेल बोकेको भाँडो पोखेको भए तेलको ताल हुने रहेछ ।’

अहिले ताल रहेको स्थानमा गाउँ रहेको र भूतले पोखेको पानीले त्यो गाउँ डुबाएको किंवदन्ती यहाँका बूढापाकाहरू सुनाउँछन् । त्यो बस्ती डुबेपछि दायाँतिर अहिलेको बस्ती बनेको उनीहरूको भनाइ छ ।
फोक्सुन्डो नजिकै दायाँतिर अहिले रिग्मो गाउँ छ करिब ६०–६५ घर । रिग्मोसहितका बस्ती ९ सय वर्ष पुरानो भएको बूढापाकाहरू बताउँछन् ।

फोक्सुन्डो ताल किनारमा पन्ध्रौं शताब्दीमा बनेको थासुङ छोलिङ गुम्बा छ । स्थानीय गेसे लोटोई छोग्लेक (छिरिङ लामा) का अनुसार यो बोन धर्मावलम्बीहरूको महत्त्वपूर्ण गुम्बा हो ।

कर्णाली प्रदेशको बजेटमा दुई वर्षअघि तालको छेउ भएर पदमार्ग बनाउने काम सुरु भएको थियो । तर, निकुञ्जले तालमा असर पर्न सक्ने भन्दै प्रश्न गरेपछि त्यो काम बीचमै रोकिएको छ । तालको पानी बगेर गाउँभन्दा केही तल झरना बनेको छ ।

आकर्षक उक्त फोक्सुन्डो झरनाले रिग्मो गाउँ आउनेहरूलाई स्वागत गरिरहेको छ । तालबाट निकास भएको पानी दुनै नजिक (सुलिगाड) को ठूलीभेरीमा गएर मिसिन्छ । फोक्सुन्डोको पानी सुलिगाडसम्मै कञ्चन र सफा छ । कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले खबर लेखेका छन् । 

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्