अब प्रदेश १ का सबै जिल्ला अस्पतालबाट पाठेघरको निःशुल्क परीक्षण

प्रदेश १ का सबै जिल्ला अस्पतालहरूबाट पाठेघरको परीक्षण निःशुल्क हुने भएको छ ।

क्यान्सरबाट महिला बढी पीडित हुने भएकाले समयमै सचेतना र सहजताका लागि यो सेवा सुरु गरिएको प्रदेश १ सरकारले जनाएको छ ।


Advertisement


पहिलो चरणमा धनकुटा जिल्ला अस्पतालबाट यो सेवा सुरु गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. जयवेन्द्र यादवले बताए । 

उनले सेवा शुरु भएकै दिन सात महिलाको नमुना संकलन गरिएको र एलवीसी प्रविधिबाट पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिने जानकारी दिए । 


Advertisement

पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण सेवाको बुधबार उद्घाटन कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मानिसको जीवनशैलीका कारण क्यान्सर रोगका बिरामी बढ्दै गएको बताए । 

उनले पुरुषको तुलनामा महिला बढी क्यान्सरबाट पीडित हुने गरेको भन्दै क्यान्सर रोग न्यूनीकरणका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए । 
    
जिल्लास्तरबाट सेवा शुरु भएको जानकारी स्थानीयस्तरसम्म पुर्याउन जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीलाई आग्रह गर्दै मन्त्री घिमिरेले धनकुटा जिल्ला अस्पताललाई शिक्षण अस्पतालका रुपमा रुपान्तरण गर्ने प्रदेश सरकारको योजना रहेको बताए । 

चालु आर्थिक वर्षभित्रमा धनकुटा जिल्ला अस्पतालाई १०० शय्यासहितको अस्पतालमा स्तरोन्नति गरिने मन्त्री घिमिरे जानकारी दिए । 

कमेन्ट गर्नुहोस्