कोरोनाले शरीरभित्र ल्याउने आँधीबेहरी : यस्तो अवस्थामा मृत्यु

डा. रवीन्द्र समीर
डा. रवीन्द्र समीर

जनस्वस्थ्य विज्ञ समेत रहेका साहित्यकार डा. रवीन्द्र समीरका मृत्युको आयु लगायत १२ वटा साहित्यिक कृति प्रकाशित छन् ।

बिरामीको नाम – डा. शर्मा, ४५ वर्ष र पुरुष
आईसीयू बेड नम्बर – २५ र भेन्टिलेटर 

डा. शर्मा कोभिड अस्पतालको आईसीयूमा घोप्टो परेर सुतिरहेका छन् । भेन्टिलेटरमा होस खुलेको बेला उनले मोनिटर हेर्छन् ।


Advertisement

फोक्सोमा अक्सिजनको पाइप रहेको कारण उनको अक्सिजन ठीकै छ । मुटुको गति घटबढ भइरहेको छ । ईसीजीको ग्राफमा उतारचढाब छ ।

सलाइनबाट थोपा–थोपा जीवन उनको शरीरमा प्रवेश गरिरहेको छ । उनको मिर्गाैलालाई डायलासिस मशिनले आराम दिएको छ । मशिनको टिकटिकलाई उनले जीवन र मरण, मरण र जीवन सुनिरहेका छन् ।


Advertisement

होस कहिलेकाहीँ बन्द हुन्छ, कहिलेकाहीँ अवचेतन मन चलिरहेको हुन्छ । उनको अवचेतन मनमा कोरोना भाइरस आउँछ ।

डा. शर्माले सोधे – तिमीहरू कसरी मेरो शरीरभित्र प्रवेश गर्‍यौ ?

कोरोना भाइरसले भन्यो  – तपाईंले बिरामी जाँच गर्दा एउटा संक्रमितले खोक्यो । हामी दशौं हजार भाइरस त्यो साँघुरो कोठामा छरियौं । जब तपाईंले मास्क खोलेर चिया खानुभयो, त्यहीँबेला तपाईंले श्वाससँगै हामीलाई शरीरभित्र पुर्‍याउनुभयो । त्यति मात्र होइन, विभिन्न क्लिनिक तथा अस्पतालमा तपाईंको मास्क खुकुलो हुँदा, हातले नाक चलाउँदा, गुणस्तरहीन स्यानिटाइजरले हात सफा गरेर मुख छुँदा, भीडभाड गरेर बिरामी जाँच गर्दा तथा बिरामीसँग दूरी कायम नगर्दा हाम्रा मित्रहरू हुलका हुल तपाईंको शरीरभित्र प्रवेश गरे ।

डा. शर्माले अन्तर्दृष्टिले हेरे । पहिले भाइरसले घाँटीलाई संक्रमण गर्‍यो । त्यसपछि घाँटीमा भएका कोषहरू, वायुमार्ग तथा फोक्सोमा संक्रमण गर्‍यो । शरीरले भाइरसलाई निकाल्नको लागि खोकी लाग्यो, भाइरसविरुद्ध वातावरण सिर्जना गर्नको लागि ज्वरो आयो, भाइरस र ओज प्रणालीको द्वन्द्वको कारण मांशपेशी दुखे, थकाइ लाग्यो तथा टाउको दुख्यो । स्नायु प्रणालीमा असरको कारण स्वाद र गन्ध हरायो ।

त्यसपछि भाइरस फोक्सोतिर लाग्यो ।

भाइरस फोक्सोमा प्रवेश गरिसकेपछि अक्सिजन र कार्बनडाइअक्साइड साटासाट गर्ने ठाउँ अर्थात् एल्वेओलीलाई (फोक्सोका ससाना थैली) असर गर्‍यो । बेलुन जस्तो फुलेको एल्वेओलीभित्र भाइरस गुणात्मक रूपमा वृद्धि भए ।

डा. शर्माले फोक्सोको आवाज सुने – भाइरस प्रवेश गरेपछि भाइरससँग लड्ने क्षमता शरीरले सक्रिय बनायो । जसका कारण एन्टिबडी र एन्टिजेन रिक्याक्सन भयो । शरीरले एन्टिबडी बनाउँछ र एन्टिजेट अर्थात बाह्य तत्व भाइरस हो । यी २ बीचमा रियाक्सन भएर इन्फ्लामेसन (सुन्निने काम) भयो । अनि हाम्रा एल्वेओलीहरू बिग्रन थाले । त्यसपछि रगत सप्लाई गर्ने नशाहरूबाट पानी निस्कन थाल्यो । त्यो पानी निस्कन थालेपछि एल्वेओली जसमा हावा भरिएको हुन्छ, जहाँबाट अक्सिजन र कार्बनडाइअक्साइड साटासाट हुन्छ, त्यसमा पानी जम्मा भयो । त्यहाँ पानी भरिएपछि तपाईंले अक्सिजन लिन सक्नुभएन र शरीरमा अक्सिजनको कमी भयो ।

एवं प्रकार संक्रमणले २ वटा एल्वेओली छुट्याउने बीचको भाग अर्थात् इन्टस्र्टटियममा असर गर्‍यो अनि भाइरल निमोनिया भयो ।

डा. शर्माले मेडिकल कलेजमा पढाउने काम पनि गर्दथे । सपनामा उनले आफ्ना विद्यार्थीलाई भने, ‘कोरोना भाइरस एकदम सानो हुन्छ । एउटा पिनको टाउकोमा करोडौं भाइरस रहन सक्छन् । यी भाइरस खोकी, हाच्छ्यूँ, कुराकानी आदिको माध्यमबाट ड्रपलेटको रूपमा हावामा जान्छन् ।  जब भाइरस शरीरभित्र प्रवेश गर्छन्, उनीहरूले कोषलाई हाइज्याक गर्छन् अनि हाम्रो सिस्टमलाई प्रयोग गरेर दशौं लाख प्रति आफ्नो संख्या वृद्धि गर्छन् । हाम्रो इम्युन कोष अर्थात् श्वेत कोषहरू शरीरमा सत्रु प्रवेश गरेको छ कि छैन भनेर प्रहरीले झैं पेट्रोलिङ गरिरहेका हुन्छन् । बाहिरी भाइरस, ब्याक्टेरिया आदि फेला पारेमा हाम्रा प्रतिरोध कोषले अलार्म जनाउँछन् । इम्युन सिस्टमले आफ्नो प्रतिक्रियारूपी हतियार ट्रिगर गर्दछ, जसले गर्दा ज्वरो आउने, शरीर दुख्ने तथा एन्टिबोडी उत्पादन गर्ने काम गर्दछ । बाह्य तत्वलाई निस्तेज गर्नको लागि एन्टिबडी उत्पन्न हुन्छ । आईजीएम एन्टिबडी वर्तमान संक्रमणलाई निस्तेज गर्नको लागि शरीरले उत्पादन गर्छ भने आईजीपी एन्टिबडीले दीर्घकालीन रूपमा सत्रुलाई चिनेर आक्रमण गर्नको लागि तयार भएर बसेको हुन्छ । रक्तप्रवाहमा एन्टिजेन अर्थात् बाह्य सत्रुलाई पत्ता लगाएर शिकार गर्नको लागि एन्टिबडी घुमिरहेका हुन्छन् । जब चिनेको सत्रु देखिन्छ, एन्टिबोडीले उसलाई सजिलै आक्रमण गर्छ अनि हाम्रा कोषलाई क्षति हुनबाट बचाउँछ । जब नचिनेको सत्रुलाई फेला पार्दछ, हाम्रो रोगप्रतिरोध सिपाहीको लागि उक्त विषाणुलाई  शरीरबाट निकाल्ने वा नष्ट गर्ने काम नौलो हुन्छ । यसको लागि हाम्रो शरीरले अत्यधिक एन्टिबोडी उत्पादन गरेर युद्ध शुरू गर्छ ।’

जुनियर कक्षाको मेडिकल विद्यार्थीले उनलाई सोधे, ‘सर साइटोकाइन भनेको के हो ? यो पनि सपनाको कुरा थियो ?’

डा. शर्माले भने, ‘संक्रमणको प्रतिरोध प्रतिरोधात्मक प्रणालीको अत्यधिक प्रभावद्वारा सञ्चालित हुनसक्छ, जहाँ शरीरले आफ्नै कोषहरू र तन्तुहरूमा आक्रमण गर्न थाल्छ । संक्रमणको यो असामान्य प्रतिरक्षा प्रतिक्रियालाई ‘साइटोकाइन आँधी’ भनिन्छ । साइटोकाइन सानो घुलनशील अणु वा प्रोटिन हो जुन प्रतिरोध प्रणालीको रूपमा कार्य गर्दछ । तिनीहरूले संक्रमण प्रतिरोध गर्न प्रतिरक्षा कोषिका आकर्षित गर्दा साइटोकाइनले सुजन पैदा गर्दछ । साइटोकिन प्रतिरक्षा प्रणालीको एजेन्ट हो जसले बाह्य सत्रुको बारेमा शरीरका कोषहरूलाई खबर गर्दछ । जब साइटोकाइन आँधीबेहरी आउँछ, हाम्रो प्रतिरक्षा प्रणाली भाइरस वा खराब कोषिकाबाट राम्रो कोषिका पहिचान गर्ने क्षमता गुमाउँछ । साइटोकाइन आँधीबेहरीमा, प्रतिरक्षा प्रणाली जसले वास्तवमा भाइरसलाई आक्रमण गरिरहेको छ, अब, हाइपरड्राइभमा जान्छ र मूलतः सबै कोषहरू नष्ट गर्न थाल्छ । साइटोकाइन आँधीको कारण एक उत्तेजक प्रतिरोध एवं प्रतिक्रिया देखा पर्दछ र असामान्य रूपले साइटोकीन प्रोटिनको अधिक मात्रा रगतमा पुग्दछ । अर्थात् आवश्यकताभन्दा अधिक प्रतिक्रिया उत्पन्न गर्दछ । सामान्यतया साइटोकिन्सले प्रतिरक्षा प्रतिक्रियाहरू विनियमित गर्दछ । हाइपर रिएक्सन अवस्थामा उनीहरूले नोक्सान पुर्‍याउँछन् र मृत्यु समेत गराउन सक्छ । असंख्य साइटोकाइन नामक प्रोटिनहरूले भाइरसलाई मार्नको लागि बमबार्ड गर्छन् । बमबार्ड गर्दै आएको साइटोकाइन आँधीले भाइरसलाई मात्र होइन, आफ्ना स्वस्थ कोषलाई समेत नष्ट गर्दछ । जब युद्धमा बम प्रहार गरिन्छ, आफन्त तथा पराइ दुवैको मृत्यु हुनसक्छ । त्यस्तै भयो मेरो फोक्सोमा ।’

डा. शर्माले चश्मा पुछ्दै भने, ‘कोभिड १९ मा मृत्युको प्रमुख कारण तीव्र श्वसन तनाव अर्थात् एआरडीएस अर्थात् एक्युट रेस्पिरेटोरी डिस्ट्रेस सिन्ड्रोम हो । अनियन्त्रित साइटोकाइन आँधी श्वासप्रश्वास प्रणाली फेलियरको प्रमुख कारक हो । कोभिड संक्रमण भएका बिरामीहरूमा साइटोकिन्स रगतमा उच्च मात्रामा रहेको हुन्छ ।

उच्च साइटोकाइन्सको प्रवाहले शरीरमा अक्सिजनको उपयोगलाई दबाउँछ र अक्सिजनको कमी अर्थात् हाइपोक्सिया निम्त्याउँछ । आँधीबेहरीले नियन्त्रण गुमायो भने अन्य अंगहरूमा आक्रमण गर्न थाल्छ, जसले बहुअंग विफलता निम्त्याउँछ । अर्को कारण अपर्याप्त अक्सिजनको अवस्थाले कोषहरूलाई मार्दछ, जसले बहुअंग विफलता हुन्छ । जसको कारण मिर्गाैला फेलियर, मुटुको विफलता र मस्तिष्कको कार्यलाई पनि असर गर्दछ साथै केही कोभिडका बिरामीहरूलाई स्ट्रोक र सिजर पनि हुनसक्छ ।’

डा. शर्माले एप्रोन लगाएर तथा काँधमा स्टेथोस्कोप बोकेर राउन्डमा गएको सपना देखे । रेजिडेन्ट डाक्टरहरूलाई उनले बताउँदै गए, ‘साइटोकाइन्स मुख्य रूपमा सहायक टी–कक्षहरू र म्याक्रोफेजहरूद्वारा उत्पन्न हुन्छन् । साइटोकाइनले आक्रमणकारी भाइरसका कोषहरूलाई चेतावनी दिन्छ र भाइरससँग लड्न संक्रमण र ईन्फ्लामेसनको साइटहरूतर्फ सर्नको लागि प्रोत्साहित गर्दछ । यदि सेता रक्तकोषहरू प्रहरी हुन् भने साइटोकिन्स गोली हुन् ।

साइटोकाइनले भाइरसलाई थप सर्कुलेट हुनबाट बचाउन शरीरमा सूजन बढाउँछ । नियन्त्रित सूजन भाइरसलाई बाहिर निकाल्न आवश्यक छ तर कहिलेकाहीँ अप्रबन्धित साइटोकाइन संश्लेषणले एक साघुँरो ज्वालामुखी प्रतिक्रिया निम्त्याउँछ, जुन साइटोकाइन आँधीको कारण कलेजो र मिर्गाैलामा समेत क्षति हुन्छ । साइटोकाइन आँधीबेहरीमा प्रतिरक्षा कोषिकाको सेना रक्तप्रवाहमा बाहिर निस्कन्छ र त्यसपछि सम्पूर्ण शरीरका स्वस्थ कोषहरूमा आक्रमण गर्दछ । जसले गर्दा फोक्सोमा गम्भीर चोटपटक लाग्न सक्छ र बहुअंग प्रणाली विफलता पनि हुन सक्छ । यो स्पष्ट छैन कि किन कोही मानिसहरूसँग अरुको तुलनामा त्यस्तो उच्च प्रतिरोधात्मक क्षमता छ तर केही मानिसहरूलाई आनुवंशिक रूपमा यसको खतरा हुनसक्छ ।’

‘त्यस्तै साइटोकाइन आँधीले मस्तिष्कलाई पनि असर गर्न सक्छ र केही कोभिड–१९ का बिरामीहरूको मस्तिष्कमा साइटोकाइन आँधीबेहरी आउन सक्दछ । यसको अतिरिक्त, गन्ध र स्वादको क्षतिलाई हालसालै कोभिडको सम्भावित लक्षणहरूको सूचीमा थपिएको छ, जसले कोरोना भाइरसले स्नायु प्रणाली र मस्तिष्कको अंशलाई गन्धको भावनाको लागि जिम्मेवार हुन सक्छ भनेर संकेत गर्दछ । हालसम्म कोरोना भाइरसको लागि कुनै उपचार वा विशिष्ट उपचार छैन, उपचारले प्रभावित अंगहरूको लागि सहयोगी एवं जीवनरक्षक भूमिका निर्वाह गर्दछ । साइटोकाइन स्ट्रोमलाई आँधीबेहरी भनिन्छ । किनभने तिनीहरू अप्रत्याशित र अनियन्त्रित हुन्छन् । साइटोकाइन आँधी रोक्न सम्भव छैन र यो केही हदसम्म मात्र प्रतिरोधात्मक औषधीको सहायताले मोड्युल गर्न सकिन्छ ।’
 
डा. शर्मा साइटोकाइन्स स्ट्रोम अर्थात साइटोकाइन आँधीबेहरीसँग जुधिरहेका थिए । उनको उपचारमा खटिएका डा. दासले आफ्नो टीमलाई भने, ‘कोरोना भाइरसको संक्रमणले च्यापेर बिरामी कोभिड–१९ को अवस्थामा पुगेपछि देखापर्ने जटिलताहरूमध्ये सबैभन्दा डरलाग्दो समस्या चाहिँ साइटोकिन्स स्ट्रोम हो । साइटोकिन्स भनेको हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता अन्तर्गतका ती अणुहरू हुन्, जसले शरीरका कोषहरूलाई आपसमा कुराकानी गर्न सहयोग वा सूचना सम्प्रेषण गर्ने काम  गरिरहेको हुन्छ । जब हाम्रो शरीरमा भाइरस वा किटाणुहरूको प्रवेश हुन्छ, ती साइटोकिन्सले नै सबैभन्दा पहिले शरीरमा भाइरस तथा किटाणुहरूले आक्रमण गरेको कुराको संकेत ‘वाइफाइले जस्तै गरी’ शरीरका रोग प्रतिरोधात्मक कोषहरू (इम्युन सेल) लाई दिने गर्छ । यसबाट प्राप्त सूचनाकै आधारमा हाम्रा बी सेल, टी सेल जस्ता इम्युन कोषहरूले शरीरमा घुसेको भाइरस वा किटाणुलाई आक्रमण गरी नष्ट पारिदिन्छ र हामीलाई रोग लाग्नबाट बचाउँछ ।’

डा. दासले थपे, ‘जब हाम्रो शरीरमा कोरोना भाइरसको संक्रमण व्यापक भएर जान्छ, त्यसले ती साइटोकिन्सहरूलाई शरीरमा चाहिँदोभन्दा बढी भाइरसहरू घुसेको भ्रम पैदा गरिदिन्छ । फलतः हाम्रो शरीरमा साइटोकिन्सहरू चाहिँदोभन्दा बढी सक्रिय हुन्छ, त्यसले शरीरका इम्युन कोषहरूलाई भाइरसले भयानक आक्रमण गरेको जानकारी दिन्छ । हाम्रा इम्युन कोषहरूले शरीरमा घुसेका भाइरस वा किटाणुहरूलाई मात्रै हैन, हाम्रै शरीरका स्वस्थ अंगहरूलाई पनि दुश्मन ठानेर आक्रमण गर्न थाल्छ । फलतः त्यसले हाम्रो शरीरका महत्त्वपूर्ण अंगहरूलाई समेत कामै नलाग्ने गरी नष्ट गरिदिन सक्नेसम्मको अवस्था पैदा हुन्छ । कतिसम्म भने यो अवस्थामा बेलैमा चिकित्सीय हस्तक्षेप गर्न सकिएन भने त्यस्ता मानिसको मृत्यु समेत हुन सक्छ । हाम्रा मित्र डा. शर्मा अहिले यो अवस्थामा हुनुहुन्छ । यही अवस्थालाई चिकित्सकीय भाषामा ‘साइटोकिन्स स्ट्रोम’ भनिन्छ । सामान्यतः कोभिड निमोनिया हुँदा शरीरमा दोस्रो हप्तामा यो अवस्था पैदा हुन सक्छ ।

डा. शर्माले सपनामा रुँदै आफ्नी पत्नीलाई भने, ‘पानी जमेपछि फोक्सोको खुम्चिने तथा फैलिने प्रक्रिया कमजोर भयो । जसले गर्दा फोक्सोले मस्तिष्क, मुटु, मिर्गाैला, कलेजो लगायतका अंगमा पर्याप्त अक्सिजन पुर्‍याउन सकेन । अक्सिमिटरले मापन गर्दा त्यो समयमा अक्सिजन स्तर ४० पुगेको थियो । म अतिसघन अवस्थामा पुगें, फोक्सो फेलियर हुने अवस्थामा पुगें । मेरो फोक्सोले श्वास लिने अनि फ्याक्ने प्रक्रिया आवश्यकता अनुरूप गर्न सकेन सानु ! अनि मेरो अवस्थालाई सन्तुलनमा ल्याउनका लागि भेन्टिलेटर मशिनको प्रयोग गरियो । किड्नीले काम नगरेमा डायलासिस गर्नु परेझैं फोक्सोले काम नगरेपछि कृत्रिम श्वासप्रश्वास गराई शरीर सञ्चालन गर्न डा. आचार्यले मलाई भेन्टिलेटरमा राखे । साइटोकाइन आँधी तथा भाइरसको आक्रमण रोक्नको लागि रेमडेसेभिर, प्लाज्मा थेरापी तथा डेक्सामेथासोन चलाए ।’

डा. शर्मा डरले लुगलुग काँपिरहेका थिए । उनकी आमाले सपनामा सोधिन्, ‘के भयो छोरा ? किन डराएका छौ ?’ डा. शर्माले भने, ‘आमा, रेमडेसेभिर कोभिडको औषधि हैन, यो इबोलाको औषधि हो । यसको रियाक्सन भयो भने ? यसले किड्नी र लिभरलाई असर गर्‍यो भने ? श्वास फेर्न झन् गाह्रो भयो भने ?’ 

उनले सपनामै बुवालाई भने, ‘बुवा, डेक्सामेथासोनले सुगर निकै बढाउँछ । यसै त म मधुमेह तथा उच्च रक्तचापको बिरामी हुँ । डेक्सामेथासोनले सुगरको मात्रा धेरै बढाएर कतै म कोल्याप्स त हुने हैन ? उफ !’  डा. शर्मा बोल्दै गए, ‘बुवा, म मेडिकल पर्सन नभएको भए कति आनन्द हुने थियो होला । कहिलेकाहीँ ज्ञान पनि डरको कारण बन्दोरहेछ ।’

डा. शर्माका गुरु डा. मार्कले उहिल्यै भनेका थिए, ‘शरीर, रोग र औषधि उपचारबारे चिकित्सकलाई जानकारी हुने हुँदा चिकित्सकका इम्युन कोषहरू डरको प्रतिक्रियास्वरूप सधै कमजोर हुन्छन् । त्यसैले अन्य व्यक्तिको तुलनामा चिकित्सकको मृत्यु छिटो हुने विभिन्न तथ्यांकले देखाएका छन् । हाम्रो बेलायतमा सबैभन्दा छिटो डाक्टरको मृत्यु हुन्छ अनि वकिलको ।’

यी औषधिसहित चिकित्सकीय हस्तक्षेप भएपछि साइटोकाइन आँधी कमजोर भयो । रेमडेसेभिरको कारण कोरोना भाइरस नष्ट हुँदै गए । रगत पातलो हुने औषधिको कारण रगतका ढिका पग्लिँदै गए । तर डा. शर्माको मधुमेह नियन्त्रण गर्न निकै गाह्रो भयो । इन्सुलिनको हाइडोजले बल्लतल्ल मधुमेह नियन्त्रणमा आयो । थप उपचारले रक्तचाप पनि नियन्त्रणमा आयो । नशाबाट दिइएका सुइँको कारण निमोनिया पनि निको हुँदै गयो । रगत जाँच गर्दा कलेजो, मिर्गाैला, मुटु, मस्तिष्कमा पनि सुधार देखियो । दैनिक एक्सरे तथा सिटी स्क्यान गरेर हेर्दा फोक्सोको अवस्था उस्तै थियो । पीपीईभित्रका आवाज सुस्तरी बोलिरहेका थिए – लंग ड्यामेज रिकभर हुन टाइम लाग्ने भयो । एनि वे हि इज आउट अफ डेन्जर ।

यो अमृतवाणी सुनेपछि डा. शर्माको मनमा पुष्पवृष्टि भयो । जीवनको फूलबारीमा झलमल्ल घाम लाग्यो । ३ हप्ता आईसीयू र भेन्टिलेटरको सहारामा रहेपछि उनको पीसीआर टेस्ट गरियो । दोहोर्‍याएर टेस्ट गर्दा पनि पीसीआर नेगेटिभ आयो । डा. शर्माले मनमनै भने, पीसीआर नेगेटिभ आएर मात्र के गर्नु ? भाइरसले आफ्नो काम तमाम गरेपछि बाँकी काम फत्ते गर्न ब्याक्टेरियालाई खटाएको छ । पीसीआर नेगेटिभ आएपनि भाइरससँगको युद्धको कारण शहीद भएका कोष पलाउन बाँकी छ, जीवनरक्षक अंगहरू अझै आफ्नो लयमा फर्किएका छैनन्, ड्यामेज भएको फोक्सो रिपियर हुन बाँकी नै छ ।

अर्को दिन भेन्टिलेटर अन र अफ गर्दै डा. शर्माको फोक्सोलाई काम गर्ने बानी पार्न थालियो । डा. शर्मालाई बेलुन फुक्न लगाएर फोक्सोको थेरापी गर्न थालियो । अपेक्षाकृत सुधार आएपछि उनलाई भेन्टिलेटरबाट आईसीयू बेडमा सारियो ।

डा. शर्मालाई मनोविद् डा. ओझाले सोधे, ‘बोस ! कसरी तपाईं यो आईसीयूको सघन जंगलमा आउनुभयो ? यहाँ रहँदा तपाईंको मनमा कस्ता कुरा आए ? तपाईंको आत्मबल कस्तो रह्यो ?’

डा. शर्मालाई बोल्न त्यति सहज थिएन । उनले बिस्तारै भने, ‘हनहनी ज्वरो आउने, टाउको र ढाड दुख्ने तथा खोकी लाग्ने भएपछि मैले पीसीआर टेस्ट गरें । मलाई निकै गाह्रो महसूस भएको थियो  । पारासिटामोल २ चक्की खाँदा ज्वरो केही घण्टाको लागि नियन्त्रणमा आउँथ्यो अनि फेरि उस्तै हुन्थ्यो । खानामा रुचि पटक्कै थिएन । पखाला लागिरहेको थियो । मैले डा. गैह्रेलाई सम्झिएँ । उहाँलाई पनि यस्तै लक्षण देखिएपछि मृत्युको द्वार पुगेर फर्किनुभएको थियो । ‘हे परमेश्वर, पीसीआर टेस्ट नेगेटिभ आओस्’ भनेर मैले धेरैपटक प्रार्थना गरें । तर साँझ मेरो पोजिटिभ रिपोर्ट आयो । सिटी भ्यालु ८, १०, १२ मात्र थियो । मैले सोचें, भाइरसको लोड निकै धेरै रहेछ । म अस्पताल जानुपर्छ ।’

यहाँ आएपछि डा. आचार्यले तुरुन्तै आईसीयूमा पुर्‍याउनुभयो । अक्सिजनको मात्रा निकै घटेको थियो । हाइफ्लो अक्सिजनमा राख्नुभयो । छातीको एक्सरे तथा सिटी स्क्यान गर्दा दुवै फोक्सोमा गम्भीर निमोनिया देखियो । रगतको रिपोर्ट पनि एकदम खराब आयो ।

त्यो बेला मलाई जीवनको दूरी यत्ति नै होला भन्ने लाग्यो । मैले परिवार सम्झिएँ, साथीहरू सम्झिएँ, समाज सम्झिएँ, मैले पूरा गर्न बाँकी रहेका काम सम्झिएँ अनि देश सम्झिएँ । आफ्नो बाल्यकाल र यौवनकाल सम्झिएर तनाव न्यून गर्ने प्रयास गरें अनि आफ्नो जन्मभूमिका डाँडापाखा विचरण गरें ।

मेरो चेतनामा समस्या आएपछि मैले वृद्ध बुवाआमा, पत्नी तथा छोराछोरी निकै सम्झिएँ । वृद्ध बुवाआमाको काल नै मेरो मृत्यु हुने भयो भनेर आँसु झारें । पत्नीले दुःख पाउने भई, जीवनभर आँसुलाई जीवनसाथी बनाएर बस्ने भई भन्ने पीर लाग्यो । छोराछोरीको उच्च शिक्षा कस्तो होला ? के काम गर्लान् ? मलाई सम्झेर पलपलमा रुने होलान् भन्ने सम्झँदा मेरो मन भरिएर आयो । मैले आफन्त तथा साथीको आँखामा आँसु देख्नुहुँदैन भनेर मनलाई दह्रो बनाउने प्रयत्न गरें ।

जब म एकदम शिथिल भएँ, होस आएको बेला मलाई बाँच्नु पाए त हुन्थ्यो भन्ने तीव्र जिजीबिषा मात्र उत्पन्न हुन्थ्यो । यो काललाई जित्न पाएँ भने मलाई धन, सम्पत्ति, पद, प्रतिष्ठा, शक्ति लगायत केही पनि चाहिँदैन, मलाई घर, गाडी तथा अन्य सुविधा चाहिँदैन, आगामी जीवन समाज सेवामा बिताउनेछु भन्ने लाग्यो ।

अझ शिथिल भएपछि म अनुभूतिशून्य भएँ । यो आत्मबल भन्ने कुरा आईसीयू बाहिरको जीवन रहेछ भन्ने महसूस भयो । निद्रा, तन्द्रा, अवचेतन मन, अचेतन मन गर्दै शून्यको अनुभूतिमा गएँ । म को हुँ ? कहाँ छु ? के भइरहेको छ ? हवाइजहाज चढेको छु कि, पुष्पक विमान चढेको छु ? म दिग्भ्रमको गहिराइमा पुगें । मैले आवाजलाई देख्न थालें, दृश्यलाई सुन्न थालें, हावालाई रंगीचंगी देखें, मुढोवत पल्टिएको बेडमा षडरस महसूस गरें, क्षितिजलाई स्पर्श गरें अनि पीपीईले ढाकिएका अनुहारमा ईश्वरीय अवतार देखें ।

मेरो शरीरका अंगप्रत्यंगमा भाइरसले सुदर्शन चक्र प्रहार गरिरहेको प्रहर मेरो सोंच, स्मृति तथा प्रज्ञा सबै बन्द भए । आँखा खोल्दा निराकार जगत देखें, आँखा बन्द गर्दा पनि निराकार जगत नै देखें । आँखा खोल्नु र बन्द गर्नुको कुनै अर्थ रहेन । कान खोल्दा एकपटक राक्षसको आवाज सुन्थें भने अर्कोपटक वेदका ऋचा सुन्थें । जगत कहिले इन्द्रेणी लाग्थ्यो, कहिले निम्बस अर्थात् पानी बोकेको कालो बादल । जीवन र मृत्युमा समभाव लाग्थ्यो । स्वर्ग र धरती उस्तै होइन उही लाग्थ्यो । लाग्थ्यो म धारणा, ध्यान हुँदै समाधिमा पुगेको छु । समाधिमा पुगेपछि जीवन र जगतको मोह नहुँदो रहेछ, दृश्य र द्रष्टा एकै विन्दुमा एकाकार हुँदा रहेछन्, आफ्नो र अर्काबीच भेद नहुँदो रहेछ, जीवन र मृत्युप्रति आशक्ति वा डर नहुँदो रहेछ ।

डा. शर्माका शिष्यहरूले पुष्पगुच्छा दिँदै भने, ‘सर ! अन्ततः कोभिडलाई जित्नुभयो, हार्दिक बधाई छ ।’

डा. शर्माले भने, ‘मैले कोभिडलाई जित्न सकिनँ । कोभिडसामु आत्मसमर्पण गरें, हारें । कहिलेकाहीँ लाग्थ्यो, यति सानो भाइरसलाई जित्न सक्ने रोगप्रतिरोधात्मक प्रणाली नभएको म बाँच्नुको कुनै अर्थ छैन । तर बाँच्नुपर्ने बाध्यता थियो । त्यही बाँच्ने तीब्र जिजिविषा, चिकित्सा विज्ञानको प्रगति, देवदेवीतुल्य चिकित्सक तथा नर्सको अथक प्रयास र सम्पूर्ण शुभेच्छुकहरूको सकारात्मक ऊर्जाले गर्दा मेरो नामको अघि डा. थपिएजस्तै स्व. अर्थात् स्वर्गीय थपिएन । अब भग्नावशेष भएका कोष, तन्तु, अंग आदिलाई पुनर्निर्माण गर्नु पर्नेछ । आरोग्य प्राप्तिको लडाइँ अझै सकिएको छैन ।

डा. रवीन्द्र समीर
डा. रवीन्द्र समीर

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्