जोगाउनैपर्ने नेकपा एकताका लागि कसले के गर्ने ?

दीपेन्द्र अधिकारी
दीपेन्द्र अधिकारी

लेखक अन्तर्राष्ट्रिय सम्बन्ध र अन्तर्राष्ट्रिय कानूनका अद्येता हुन् ।

नेपाली कम्युनिस्ट आन्दोलनको ७ दशक लामो ऐतिहासिक विकासक्रममा यसले विभिन्न आरोह अवरोह पार गर्दै नेपालको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक रूपान्तरणमा उल्लेख्य भूमिका खेलेको छ ।

राजनीतिक लक्ष्य एउटै भए तापनि कार्यशैली, कार्यदिशा, सैद्धान्तिक बुझाइ, राजनीतिक कार्यक्रमका अतिरिक्त नेताहरूको व्यक्तिगत अहं र अहंकारले कम्युनिस्ट पार्टी टुट र फूटको अनेक शृंखलामा अघि बढेको तथ्य हामी सबैलाई सर्वविदितै छ ।


Advertisement

नेपाली जनताको कम्युनिस्ट पार्टी र विचारलाई अत्याधिक समर्थन र सम्मान रहँदारहँदै पनि कम्युनिस्ट पार्टीका नाममा गठन भएका दर्जनौं पार्टीहरूमा त्यो जनसमर्थन र अभिमत विभक्त हुँदा अन्य राजनीतिक दलहरूले बहुमत प्राप्त गर्ने र सत्ताको बागडोर सम्माल्ने तर जनजीविकाका सवालमा यथोचित ध्यान नदिँदा नेपाल चरम गरीबी, अभाव र पछौटेपनमा दशकौंसम्म रुमल्लिन बाध्य छ । यो तीतो यथार्थ र पीडादायी क्षण परिवर्तनकामी जनताको कारणले सिर्जना भएको होइन, यो त यहाँका कम्युनिस्ट पार्टीका नेताहरूले वस्तुस्थितिको सामयिक र ऐतिहासिक मूल्यांकन गर्न नसक्दा उत्पन्न भएको अस्वाभाविक विषम परिस्थिति हो ।

नेपालको राजनीतिक, प्रजातान्त्रिक, लोकतान्त्रिक एवं गणतान्त्रिक आन्दोलनमा  कम्युनिस्ट पार्टीहरूले महत्त्वपूर्ण भूमिका खेल्दै पछिल्लो गणतान्त्रिक आन्दोलनमा नेतृत्वदायी र निर्णायक भूमिका निर्वाह गरे, जसका कारण करीब २४० वर्षे राजतन्त्र अन्त्य भयो र जनताका छोराछोरी राष्ट्र प्रमुख हुने गणतान्त्रिक व्यवस्था निर्माण भयो । तर यो व्यवस्था कत्तिको जनताको तहमा पुग्यो प्रश्न उठ्न थालेको छ, जुन स्वाभाविक पनि हो ।


Advertisement

यस व्यवस्थालाई अझ उन्नत, समृद्ध र सशक्त बनाउनका लागि बलियो कम्युनिस्ट पार्टीको आवश्यकता थियो । तर देशमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र आ–आफ्नै राजनीतिक कार्यदिशा र कार्यशैलीले गर्दा छुट्टाछुट्टै बाटो हिँडिरहेका थिए । गन्तव्य र लक्ष्य एउटै भए तापनि नदीका २ किनारा जस्तै एउटै यात्रामा हिँडिरहेका थिए तर त्यही नदीको मूल जल प्रवाहमा डुंगा र जहाज अरू शक्तिले नै चलिरहेका थिए । यस्तो वस्तु परिस्थितिले दुवै पार्टी एक हुने सुषुप्त इच्छा थियो तर आपसी मतभिन्नता र नेताहरूका दम्भ र संकीर्णताले त्यो कार्यले मूर्तरूप लिन सकेको थिएन ।

एकले अर्काको अस्तित्वलाई स्वीकार्न सकिरहेका थिएनन् । घरेलु र बाह्य शक्तिहरू पनि यी २ कम्युनिस्ट पार्टीलाई एक हुन नदिनका निम्ति प्रत्यक्ष वा परोक्ष अनेक प्रपञ्च चलाइरहेका थिए । आ–आफ्ना राजनीतिक–आर्थिक क्रियाकलापहरू गरिरहेका थिए । तर क्रमशः यी २ पार्टीहरू एकीकृत हुनु अनिवार्य ऐतिहासिक आवश्यकता थियो । सतहमा देखिएका ती प्राकृतिक र कृत्रिम विरोधाभाष र अन्तरविरोधलाई पर्गेल्दै पार्टी एकीकरणको सूत्रधारको आवश्यकता थियो । त्यसका निम्ति तत्कालीन नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम निकै लामो समयदेखि अहोरात्र खटिए   । 

तत्कालीन माओवादी प्रतिबन्धित भएकै बेला ज्यानको बाजी राखेर माओवादी नेताहरू भेट्न गुप्त शिविरहरूमा पुगेर खुला प्रतिस्पर्धाको राजनीतिमा आउन र पार्टी एकतामा आउन समेत आग्रह गरे उनले । तर तत्कालीन परिस्थितिमा आइरहेको उतारचढाबले त्यो कार्य सहजै सम्भव थिएन । पार्टीभित्र र बाहिरबाट अनेक टीकाटिप्पणी र लाञ्छाना व्यहोरिरहे तर नीलकण्ठ बनेर अगाडि बढिरहे । पहिलो संविधान सभाले संविधान जारी गर्न नसकेर विघटन भएपछि भने त्यसका परिस्थिति अनुकूल बन्दै गइरहेको थियो । तर मूर्तरूप लिन भने अझै कठिन थियो । 

दोस्रो संविधान सभाले लोकतान्त्रिक गणतन्त्र सहितको प्रगतिशील संविधान जारी गरेपछि त्यसको संस्थागत विकास र संरक्षणका निम्ति शक्तिशाली नेतृत्वदायी कम्युनिस्ट पार्टीको अनिवार्य आवश्यकता थियो । त्यो आवश्यकता तत्कालीन एमाले र माओवादी केन्द्रको एकताबाट मात्र सम्भव थियो । यसैक्रममा अनेकौं प्रयास र प्रक्रियाबाट यी २ पार्टी चुनावी कार्गगत एकताका निम्ति तयार भए र त्यसका निम्ति एउटै घोषणापत्र निर्माण गरेर आमनिर्वाचनमा जाने सहमति भयो । संविधानले नै सुनिश्चित गरेको समाजवादोन्मुख राज्य व्यवस्था निर्माणका निम्ति त्यस किसिमका कार्यक्रम सहितको घोषणापत्र निर्माण गर्ने कार्यको नेतृत्व पनि उनै गौतमले गरे । त्यो घोषणा पत्रमा समाजवादोन्मुख नीति तथा कार्यक्रमका अतिरिक्त निर्वाचनपश्चात् ती २ पार्टी एकीकरण गरेर एउटै शक्तिशाली कम्युनिस्ट पार्टी बनाउने प्रतिबद्धता पनि व्यक्त भयो ।

ती कार्यक्रम र पार्टी एकताको प्रस्तावलाई जनताले व्यापक रूपले समर्थन गरे । निर्वाचनमा करीब दुईतिहाइ मतसहित ती पार्टीलाई अनुमोदित गरे । पार्टी एकताको प्रस्ताव अपार जनसमर्थनसहित अनुमोदित भयो । यस अर्थमा यो पार्टी एकीकरण अमूक–अमूक नेताहरूले मात्र गरेको हो भन्ने बुझाइ नितान्त अवस्तुवादी र गलत मनसायले गरिने तर्क मात्र हो । तसर्थ यसको विकास, विस्तार र यसको अन्तरिक जीवनमा आउने घटना प्रत्यक्ष वा परोक्ष रूपमा आमजनता र कार्यकर्तासँग सम्बन्धित छन् र यो पार्टी पूर्ण रूपले जनताप्रति प्रतिबद्ध र जवाफदेही बन्नुपर्छ । अन्यथा जनताप्रतिको अपमान र तिरस्कार  ठहर्छ ।

तर पार्टी एकीकरणपछि नयाँ पार्टीमा नेता गौतमले हस्तक्षेपकारी भूमिका खेल्न सकेनन् तर समन्वयकारी भूमिका भने खेलिरहे । दुवै अध्यक्षहरूले आ–आफ्नो अनुकूल उनको साथ खोजिरहे, जुन सामूहिक नेतृत्व प्रणाली र पार्टीको विधि विधानलाई बलियो बनाउनेभन्दा पनि आफू अनुकूलको जोड–घटाउ मात्र बन्यो । पार्टी एकताका कामलाई पूर्णता दिनुभन्दा अंक गणित बलियो बनाउनेमा नेतृत्व केन्द्रित रह्यो, जुन पार्टीको जीवनमा दुर्भाग्यपूर्ण सावित भयो ।

तर हठात् आज आएर पार्टी एकताको शैशवकालमै ४ वर्ष नपुग्दै जनसमर्थनको डोरी एकातिर र पार्टीको चंगा अर्कोतिर हुने दुःखद परिस्थिति सिर्जना भएको छ । पार्टी एकता गम्भीर संकटमा पुगेर विघटनको अन्तिम अवस्थामा पुगेको छ । केही कानूनी र संवैधानिक प्रावधान र अन्तिम अवस्थामा जनतासामु जाँदा के बनेर जाने भन्ने विषयले मात्र दुवै पक्ष पार्टी विघटनको घोषणा गर्न हिच्किचाइरहेका छन् ।

यो परिस्थिति कुनै सैद्धान्तिक र गम्भीर राजनीतिक मतभेद र विरोधाभाषले उत्पन्न भएको होइन । पार्टीका केही नेताहरूको आपसी असझदारी, अन्तरविरोध र अहंले मात्र यो अवस्था सिर्जना भएको हो । पार्टी र सरकारबीचको असमझदारीले यो अवस्था आएको छ ।

‘जोगी देख्दा भैंसी डराउने र भैंसी देख्दा जोगी डराउने’ अवस्था पार्टी र सरकारको बीचमा देखापर्‍यो र अहिले अझ झाँगिएर त्यो अवस्था झन्झन् जटिल बनेको छ ।

पार्टीका कामहरू एकातिर अलपत्र छन्, नेतृत्व अर्कोतिर छ । पार्टीको निर्वाचन घोषणापत्र एकातिर छ, सरकार अर्कोतिर छ । कसैकसैका बीचमा हार्दिकता छैन । तालमेल छैन, ऐतिहासिक जिम्मेवारी छैन । मानौं यो पार्टी एकता तासको घर थियो । हठात् भत्कियो ।  प्रधानमन्त्री विरुद्धको छापामार शैलीको अविश्वासको प्रस्ताव र एक सनकमा चुट्की बजाएको भरमा संसद् विघटनको निर्णयले आज नेकपाको पार्टी जीवन कोमामा पुगेको छ । यसबाट के पुष्टि हुन्छ भने यो पार्टीभित्र कस्तो अवस्था रहेछ र नेताहरूको हार्दिकता र जनता र राजनीतिक प्रणालीप्रति कस्तो जिम्वेवारी रहेछ आज छर्लंग हुन्छ ।

पार्टी विभाजनको पीडा सबैलाई छ । तर अनुभूति कसैलाई छैन । पार्टी विभाजन हुँदा पनि आफू एक्लै विजयी हुन्छु र अरु सबै समाप्त हुन्छन् भन्ने भ्रमपूर्ण होहल्ला र भीडभाड अनेक प्रकारले सिर्जना गरिएका हुन्छन्, यो भ्रममा दुवै पक्ष रमाइरहेका छन् । तर वस्तुस्थिति र परिणाम भने नितान्त फरक छ, त्यो यथार्थ निर्वाचनको परिणामपछि देखिने छ, यदि यो पार्टी एकता जोगाउन सकिएन भने ।

आज सबैले आ–आफ्ना दम्भ र संकीर्णता त्यागेर पार्टी एकताका निम्ति अन्तिम तर निर्णायक कदम चाल्नुपर्ने आवश्यकता छ । ऐतिहासिक कार्यभार र जनमतलाई सम्मान गर्नुपर्ने छ । फुटेर कहीँ पुगिँदैन, जुटेर यहीँ समाजवाद ल्याउन सकिन्छ र देशलाई तीव्र गतिमा विकास र निर्माणको महाअभियानमा अगाडि बढाउन सकिन्छ । किनकि पार्टी एकता राजनीतिक स्थिरताका निम्ति भएको हो । विकास, निर्माण र समृद्धिको यात्रालाई अविच्छिन्न रूपमा अगाडि बढाउनका निम्ति हो । गरीबी, अभाव र पछौटेपनको अन्त्य गर्नका निम्ति कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार निर्माण गर्ने र जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्नका निम्ति हो । बेरोजगारी अन्त्य गरेर देशमा रोजगारीको अवसर सिर्जना गर्नका निम्ति हो ।

हाम्रो भूराजनीतिक अवस्थिति र २ छिमेकी राष्ट्रहरूको तीव्र आर्थिक र सामरिक विकासको जोडबाजीले अब हामी अस्थिरता, गरीबी र अभावमा बसिरहन सक्दैनौं । हामीलाई तीव्र आर्थिक विकासमा फड्को मार्नका निम्ति सहज वातावरण र राष्ट्रिय र अन्तर्राष्ट्रिय दबाब छ ।

अतः पार्टी एकता कायम गर्न सकिएन भने लाखौं मतदाता, कार्यकर्ता र शुभचिन्तकलाई के जवाफ दिने, के गर्छु भनेर मतदाताको आँगनमा मुख देखाउने ? किनकि पार्टी एकता देशको समृद्धि र विकाससँग जोडिएको छ । सधै अस्थिरता र अभावमा रुग्ण बनेको राज्य व्यवस्थासँग जोडिएको छ । लाखौं युवाको राष्ट्र निर्माणको सपनासँग जोडिएको छ । भविष्यका सन्ततिको सुखद कामनासँग जोडिएको छ । खाडीको तातो बालुवामा श्रम बेच्न विवश युवाको पसिनासँग जोडिएको छ । उनीहरूकै रेमिट्यान्समा देश चलाएर हामीले उनीहरूको आफ्नै देशमा श्रम र सीपमा बाँच्न पाउने संविधानप्रदत्त अधिकारको वातावरण निर्माण गर्न पनि पार्टी एकता कायम राख्नुपर्छ ।

विभिन्न राजनीतिक आन्दोलनका घाइते, अपाङ्ग, बेपत्ता परिवार र शहीद परिवारको त्याग बलिदानको सम्मान र तिनीहरूको सपना साकार पार्न पनि पार्टी एकता अक्षुण्ण राख्नुपर्छ । समस्या र अन्तरविरोधरहित समाज र संगठन हुँदैन, त्यसमा पनि कम्युनिस्ट पार्टी त यही समस्या र अन्तरविरोधको सही र सामयिक व्यवस्थापनबाट खारिएर अगाडि बढ्ने जुझारु संगठन हो । यसरी अहिले हाम्रा अगाडि जति अवसर र सम्भावना छन् । त्यसका अगाडि चुनौती नगण्य छन् । समयमै विवेक र संयम अपनाउने हो भने यी समस्या सहज समाधान पनि हुन्छन् ।

एउटा आक्रोश, आवेग र हचुवा निर्णयले एउटा युग र अनेक पुस्ताले पश्चाताप गर्नुबाहेक अरू केही छैन । तर यस विषयमा शीर्ष नेतृत्व न हिजो गम्भीर बन्यो, न आज बन्दैछ । कार्यकर्ता पंतिm पनि यो वा त्यो समूहमा अन्धभक्त भएर सीमा र मर्यादा नाघेर कसैप्रति जाइलाग्नु अहिलेको आवश्यकता होइन । त्यसको औचित्य पनि पुष्टि हुने छैन । 

अतः आक्रोश,  आवेग र कुण्ठामा रुमल्लिएर पक्ष र विपक्षमा उभिएर गालीगलौज, आरोप–प्रत्यारोपमा नलागौं । टुटफूटलाई प्रश्रय दिने ढंग वा अवाञ्छित गतिविधि नगरौं । विभाजनको मतियार नबनौं । एकता एकता र एकता पुनः एकताको पक्षमा लाग्ने जनदबाब सिर्जना गरौं । नेतृत्वलाई खबरदारी गरौं । नेता, कार्यकर्ता र शुभेच्छाको तीव्र दबाबका अगाडि सबै झुक्नैपर्छ । अतः आफ्नो विवेक नगुमाऔं । आवेग र उन्मादमा नरमाऔं । किनकि हामीसँग पछुताउनुबाहेक अर्को विकल्प बाँकी हुने छैन ।

समाजवादको लामो यात्रामा हिँडेको यो विशाल जहाज आज कुहिरोको कागजस्तै भएको छ । यसका २ वटा मुख्य पाइलटहरू जहाजलाई लक्ष्यमा पुर्‍याएर सहज अवतरण गराउनतिर नलागेर यात्रुहरूलाई आफू मात्र असल र दक्ष पाइलट प्रमाणित गर्न उद्दत छन् । यो जहाज र यात्रा पाइलटको मात्र होइन, सबै यात्रुको समान अस्तित्वको भविष्यसँग गाँसिएको, सिंगो कम्युनिस्ट आन्दोलनसँग गाँसिएको छ । यो लामो र कठिन यात्रालाई पर्गेलौं र एकता कायम गरौं ।

दीपेन्द्र अधिकारी
दीपेन्द्र अधिकारी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्