उत्तर कोरियाको सत्तारूढ दलको दुर्लभ बैठकले देशका नेता किम जोङ उनलाई प्रतीकात्मक रूपमा महत्त्वपूर्ण पदमा निर्वाचित गरेको छ ।
यस बैठकले किमकी प्रभावशाली बहिनी यो जोङको भविष्यका विषयमा अनुमानको बजार तताएको छ र अमेरिकाका नयाँ राष्ट्रपतिलाई चुनौती पनि तेर्स्याएको छ ।
जो बाइडनले शपथ लिनका लागि एक साता बाँकी रहेको बेलामा किमले वर्कर्स पार्टीको बैठकमा अमेरिका नै आफ्नो देशको सबभन्दा ठूलो शत्रु भएको बताए । अमेरिकाको आक्रामकता अन्त्य भए मात्र आणविक निःशस्त्रीकरणमा अघि बढ्ने उनको भनाइ छ ।
उनले आणविक हतियारयुक्त पनडुब्बीको परीक्षण गर्न लागेका छन् र विद्यमान आणविक प्रविधिमा अझ साना आणविक वारहेडहरू विकसित गर्ने योजना बनाएका छन् ।
आफ्ना पिताको देहान्तपछि देशका सर्वोच्च नेता बनेको लगभग एक दशकमा किमले पार्टीको महाधिवेशन बैठकको आरम्भ आफ्नो भूल स्वीकारका साथ गरे । कोरोनाका कारण देशका सीमा बन्द गराउनुपर्दा अनि प्राकृतिक विपत तथा अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण देशको कमजोर अर्थतन्त्र उकास्ने आफ्नो योजना विफल बनेको उनले स्वीकार गरेका थिए ।
तर किमलाई वर्कर्स पार्टीको महासचिवमा निर्वाचित गर्नु भनेको शक्तिमा उनको पकडलाई थप बलियो बनाउनु हो भनी विश्लेषकहरूले बताएका छन् ।
एक व्यक्तिको शासनलाई मजबूत बनाउन यसो गरिएको हो ।
पार्टीको शक्तिशाली पोलिटब्युरोबाट किमकी बहिनी यो जोङलाई हटाइएपछि विश्लेषकहरूले त्यसको व्याख्या गर्न सकिरहेका छैनन् । उनलाई केन्द्रीय कमिटीको सदस्यबाट चाहिँ हटाइएको छैन ।
केही विश्लेषकहरूले उनलाई घटुवा गरिएको बताएका छन् भने अन्यले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँगको शिखर सम्मेलनमा यो जोङ साथै रहनुले नीतिनिर्माणमा उनको प्रभाव कायमै रहेको धारणा राखेका छन् ।
‘यो जोङको हैसियतका विषयमा कुनै निष्कर्ष निकाल्नु हतारो हुनेछ किनकि उनी अझै पनि केन्द्रीय कमिटी सदस्य हुन् र उनले अन्य महत्त्वपूर्ण पद पाएकी हुन सक्छिन्,’ सौलस्थित क्युङनाम विश्वविद्यालयमा नर्थ कोरियन स्टडीजका प्राध्यापक लिम युल–चुलले बताए ।
अमेरिकासँग उत्तर कोरियाको सम्बन्ध बाइडन प्रशासनको कार्यकालमा थप बिग्रने सम्भावना देखिन्छ । बाइडनले किमलाई ‘ठग’ भनेका थिए भने उत्तर कोरियाले बाइडनलाई ‘लट्ठीले हिर्काएर मार्नुपर्ने बौलाहा कुकुर’ भनी भर्त्सना गरेको थियो ।
तर किम र ट्रम्पबीच यसैगरी गालीगलौजपछि शिखर वार्ता भएको इतिहास रहेकाले गालीले सम्बन्ध सुधारको प्रयासमा अवरोध नल्याउन सक्छ ।
किमले पार्टीको महाधिवेशन बैठकमा बाइडनलाई अघिल्लो कार्यकालको जस्तो नीतिगत भूलहरू नगर्न चेतावनी दिएका छन् ।
‘किमको सन्देशले उनी आफैं दक्षिण कोरिया र अमेरिकासँग वार्ता गर्न अघि नबढ्ने तर उनीहरूसँग संवादका लागि खुला रहने संकेत दिएको छ,’ कोरिया टाइम्सले सम्पादकीयमा लेख्यो । अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास अबको तीन महिनामा हुँदैछ र उत्तरले त्यसलाई उत्तेजक गतिविधि मान्ने गरेको छ ।
‘यससँगै किमले सौल र वाशिङटनको कोर्टमा बल पुर्याएका छन् ।’
द गार्डियनमा प्रकाशित जस्टिन मककरीको विश्लेषण
एजेन्सी