तोकिएको समयमै निर्माणकार्य सक्न निर्देशन


भैरहवा । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले यस क्षेत्रमा सञ्चालित विभिन्न राष्ट्रिय गौरवका आयोजनाको निरीक्षण गर्दै कुनै पनि बहानामा निर्माणकार्यमा ढिलाई नगर्न निर्देशन दिएका छन् ।
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी गुरुयोजना लगायतका विभिन्न आयोजनाको बुधबार निरीक्षण गर्दै मन्त्री ढकालले बजेटको अभाव नहुने र सरकारबाट गर्नुपर्ने सहयोगमा पनि कुनै कसुर बाँकी नरहने भन्दै तोकिएको समयमै निर्माण सक्न निर्देशन दिए ।

मन्त्री ढकालले बुधबारै बुटवल अन्तर्राष्ट्रिय सभा हल, बुटवल–बेलहिया व्यापारिक मार्गको पनि अवलोकन गर्दै निर्माणकार्यमा हुने ढिलाई र अलमल अब स्वीकार्य नहुने बताए । उक्त मन्त्रालयको नेतृत्व सम्हालेपछि मन्त्रालय अन्तर्गतका कामको अवस्था बारे बुझ्न मन्त्री ढकाल बुधबार भैरहवा स्थित गौतमबुद्ध विमानस्थलमा आएका थिए ।


Advertisement

विमानस्थलको निरीक्षण पछि मन्त्री ढकाल बुटवल–बेलहिया व्यापारिक मार्ग हुँदै बुटवल पुगेका थिए । बुटवलमा मुख्यमन्त्री कार्यालयले आयोजना गरेको माघी पर्व विशेष कार्यक्रममा समेत सहभागी भएका मन्त्री सैनामैना–सूर्यपुरा सडकको निरीक्षण गर्दै बुधबारै लुम्बिनी पुगेका छन् । लुम्बिनीमा मन्त्री ढकाललाई राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईसहित लुम्बिनी विकास कोषको टोलीले स्वागत गर्दै लुम्बिनी गुरुयोजनाका प्रगतिका बारेमा संक्षिप्त जानकारी गराएको थियो ।
भैरहवाको उक्त विमानस्थल अन्तर्राष्ट्रिय स्तरको बनिरहेको छ । चालु महिनामै निर्माण सक्ने लक्ष्य रहेपनि ढिलाई भइरहेका बेला विभागीय मन्त्रीले प्राविधिकसहितको टोली लिएर विमानस्थलको कार्य प्रगति बुझ्न भैरहवामा आएका हुन् । विमानस्थलको निर्माणकार्यको अवस्था बुझेपछि उनले कुनै पनि बहानामा निर्माणकार्यमा ढिलाई नगर्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिए । बिमानस्थलको स्थलगत अवलोकन गर्दै मन्त्री ढकालले प्राविधिक मात्र अब बाँकी रहेको हुनाले आयोजनाले विमानस्थल छिटो पुरा गर्न र आवश्यक सहयोगका लागि नेपाल सरकार तयार भएको बताएका हुन् ।

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्