सुस्वास्थ्यका लागि योग र नेपाली समाजमा यसका थप आयामहरू

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

मैनाली नेपाल सरकारका सचिव हुन् । 

‘गरौं योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने आदर्श वाक्यका साथ छैठौं राष्ट्रिय योग दिवस आजबाट सप्ताहभर राष्ट्रव्यापी रूपमा विविध कार्यक्रमका साथ मनाइँदैछ । सरकारी निकाय, योग अभियान्ता, स्वयंसेवी र सामुदायिक संस्थाहरू योगको महत्त्वका लागि आ–आफ्नै प्रकारले कार्यक्रमहरू सञ्चालन गर्दैछन् । प्राचीन ऋषिमुनि र आचार्यहरूले शुरू गरेको योग परम्पराले स्वस्थ शरीर, स्वच्छ मन र स्वस्थ विचारलाई प्रधानता दिँदै आएको छ । कोरोना महामारीले विश्वलाई नै स्तब्ध पारेको वर्तमान अवस्थामा जीवनशैलीलाई सरल, स्वस्थ र आशामुखी बनाउन योगको महत्त्व उल्लेख्य रहने स्वतःसिद्ध छ । 

शिक्षा चेतना हो र योग साधना हो । शिक्षाले नागरिक जीवनका लागि सामर्थ्य दिन्छ तर योगले त्यसलाई एकाग्रता र सकारात्मक ऊर्जा दिन्छ । योगले मनोदैहिक समस्यालाई समाधान गर्छ । आधुनिक समाजमा शिक्षाको विस्तार छ, तर एकाग्रता र उपयोगको पक्ष ओझेलमा पर्दै गएको छ । प्रतिस्पर्धा, उछिनपाछिन र लालसाले मानिस खुशी छैन । वैभव, पद र सम्पन्नता कमाएका मानिसहरू पनि आत्मिक खुशी र निजत्वको आनन्दमा रमाउन सकेका छैनन् । खुशी र निजत्वको अनुभूति गर्न नसक्दा शारीरिक तथा मानसिक रोग  पनि बढिरहेको छ । शिक्षा विस्तार भएपनि विवेक फराकिलो भएको छैन । सीप बढे पनि सिर्जना विस्तार छैन । यस अवस्थामा मानिसको चेतना, सीप र उपयोगिता सिर्जनालाई एकीकरण गर्न आवश्यक छ, योग त्यसको सूत्र बन्नसक्छ । 


Advertisement

योगको महत्त्व बहुआयामिक छ । स्वस्थ मन, सुन्दर शरीर र सिर्जनात्मक चिन्तनका लागि योग तथा ध्यान गरिन्छ । समाजमा सकारात्मक सोच, ऊर्जाशील कार्य र आपसी सद्भावका लागि योगको महत्त्व बढ्दै गएको छ । योगले दिने आत्मिक शक्तिले असल सम्बन्ध, सदाचार र मायामार्फत् जीवनको अर्थवत्ता सिद्ध गरी समाजको अर्थपूर्ण रूपान्तरण गर्न सकिन्छ । यही महत्त्वलाई मनन् गरी नेपाल सरकारले यसै वर्ष राष्ट्रिय योग अभ्यास क्रम प्रकाशमा ल्याएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१५ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै आएकोमा २०७२ देखि नेपालमा पनि राष्ट्रिय योग दिवस मनाइँदै आएकोमा आफ्नै योग प्रोटोकल पनि जारी भै योगलाई शिक्षा, साधना र सामाजिक जीवनमा स्थापित गर्ने प्रयास थालनी भएको छ । 

योग साधना द्वन्द्व समाधानको विधि पनि हो भन्ने प्रमाणित भएको छ । मोजाम्बिकमा झण्डै डेढ दशकसम्म समाधान नभएको द्वन्द्व योगका माध्यमबाट समाधान भएको थियो । सवै प्रकारका द्वन्द्व, विग्रह र विवादको जड नकारात्मक चिन्तन हो । योगले मानिसमा सकारात्मक मनोवृत्ति पैदा गर्छ । जसले सत्य, अहिंसा, सत्विचार, मायाजस्ता मानवीय मूल्य संस्थागत गर्न बल पुर्‍याउँछ । शुद्ध आत्माले सकारात्मक सोच, सकारात्मक सोचले सही व्यवहार र सही व्यवहारले सिर्जनालाई बल पुर्‍याउँछ । त्यसैले राजनेताहरू, विचारकहरू, नीतिशिल्पीहरू र प्रशासक जस्ता सार्वजनिक जीवनमा रहनेहरू योगका माध्यमबाट आत्मशुद्धिमार्फत् समाजको पुनःनिर्माण लाग्नुपर्दछ । किनकी सामाजिक र सार्वजनिक जिम्मेवारीको काम स्वच्छ, सकारात्मक र विश्वासिलो हुनुपर्दछ । वैचारिक, सामाजिक, आर्थिक र सांस्कृतिक विवाद सिर्जना हुन नदिन योग र ध्यानले असल मार्गदर्शन गर्नसक्छ । स्वार्थ, आग्रह र संकीर्णताबाट माथि उठ्न योगले नैतिक ऊर्जा प्रदान गर्दछ । 


Advertisement

नेपालको सन्दर्भमा योगको अलग महत्त्व छ । नेपाल सनातन संस्कृति र संस्कृतिको केन्द्र हो । नेपाल हिमवत खण्डको केन्द्रस्थ हो । योग ध्यान पूर्वीय सभ्यता, त्यसमा पनि हिमवत भूखण्डको मौलिक खोज हो । योगका आदिप्रणेता भगवान शिव हुन् । शिवले अवलम्बन गरेको योगलाई महर्षि कपिल र महर्षि पतञ्जलीले विकास र विस्तार गरेको मानिन्छ । प्राचीन विद्वान विदुषी (ऋषि, मुनि)हरूले मानसिक तथा शारीरिक स्वस्थ्यका लागि अवलम्बन गरेका साधना पद्धतिलाई योग ध्यानका रूपमा पूर्वीय समाजले विकास, विस्तार र परिमार्जन गर्दै आएको छ । पूर्वीय दर्शन आत्मिक सुख, मानवतावाद र प्राकृतिसम्मत् जीवन प्राप्तिमा आधारित छ । पूर्वीय दर्शनका छ विचारधारामध्ये योग एक हो । जटिलताग्रस्त र तनावपूर्ण जीवनलाई खुशी र प्रकृतिसम्मत् बनाउन आराधना, साधना र व्यायाम जस्ता योगमूलक आचरणलाई माध्यम बनाउन सकिन्छ । कोभिडले फैलाएको त्रासदीबाट मुक्ति पाउन योग साधनाले पुर्‍याएको सहयोगले यसको पुष्टि पनि गरेको छ ।  

पाललाई योगभूमि बन्ने सम्भावना यस कारण पनि छ कि यो प्राकृतिकरूपमा शान्त छ, यहाँका हिमाल, पहाड र जैविक विविधता योगका पृष्ठभूमि हुन् । पौराणिक तथा प्राचीनकालदेखि नै योगको विरासत पनि बोक्दै आएको छ, यसर्थ नेपाललाई योगको गन्तव्य बनाई साधना, ध्यान, व्यायाम, अनुसन्धान र अध्ययनको केन्द्र बनाउन सकिन्छ । केबल यसको महत्त्वका विषयमा प्रचारप्रसार मात्र नभएको हो ।

योगको सांस्कृतिक, आर्थिक, पर्यटकीय र सामाजिक महत्त्व पनि छ । प्राचीन तपोभूमिका रूपमा रहेको नेपाल प्राकृतिक रूपमा शान्त, सुन्दर सौम्य भएकोले योगको विश्वकै गन्तव्य बनाउन सकिने सम्भावना पनि बोकेको छ । मानव जाति शान्ति र खुशीका लागि तड्पिएको छ । शान्त भएर साधना गर्ने स्थानको उपलब्धता पनि धेरैजसो मुलुकहरूमा छैन । नेपाललाई योगभूमि बन्ने सम्भावना यस कारण पनि छ कि यो प्राकृतिकरूपमा शान्त छ, यहाँका हिमाल, पहाड र जैविक विविधता योगका पृष्ठभूमि हुन् । पौराणिक तथा प्राचीनकालदेखि नै योगको विरासत पनि बोक्दै आएको छ, यसर्थ नेपाललाई योगको गन्तव्य बनाई साधना, ध्यान, व्यायाम, अनुसन्धान र अध्ययनको केन्द्र बनाउन सकिन्छ । केबल यसको महत्त्वका विषयमा प्रचारप्रसार मात्र नभएको हो । नेपाललाई योगको साधना गन्तव्य बनाउँदा तीन प्रकारको राष्ट्रिय फाइदा पाउन सकिन्छ । पहिलो यसले नेपालको पहिचान विस्तार हुन्छ । दोस्रो आर्थिक क्रियाकलाप र आयआर्जनका अवसरहरू पनि सिर्जना हुन्छन् र तेस्रो यसले सम्बन्ध विस्तार गर्दछ । सम्बन्धको विस्तार विश्वव्यापी भाइचाराको आधार बनी नेपाली संस्कृति बन्नेछ । यसर्थ योगलाई हामी रणनीतिक साधनका रूपमा अपनाउन सक्छौं । 

समकालीन नेपाली समाजमा नकारात्मक भावना, कुण्ठा र निराशाहरू जाग्दै गएको छ । आफ्नो सम्भावना र क्षमता कम आँक्ने मनोवृत्ति बढ्दैछ । अरूप्रति असहिष्णु बन्ने स्वभाव पनि देखिन थालेको छ । आफनो भविष्य आफ्नै जन्मस्थानमा नदेख्ने प्रवृत्ति पनि देखिएको छ । दश वर्षसम्म चलेको सामाजिक द्वन्द्व र अस्थिरताको प्रभावले पनि युवायुवतीहरू आफ्नो मातृभूमिलाई कर्मभूमि बनाउन छाडेका छन् । यस परिवेशमा सकारात्मक सामाजिक अभिमुखीकरणको माध्यम योग बन्न सक्दछ । योगबाट आरोग्यमात्र होइन, तृष्णा र जिजिविषालाई शमन गर्न सकिन्छ । नकारात्मक भावनालाई सकरात्मक बनाउन सकिन्छ । 

समाजमा नैतिक मूल्य आचरणलाई प्रत्यारोपण गर्नु आवश्यक छ । सामाजिक सञ्जाल र पत्रपत्रिकामा दुराचारका सन्देशहरू बग्रेल्ती भेटिन्छन् । त्यसको निरन्तर प्रसारले कलिला भाइबहिनीहरूमा प्रतिकूल छाप पर्नसक्दछ । नेपाल सरकारले कक्षा दशसम्मको पाठ्यक्रममा योगको विषय समावेश गरेको छ । कक्षा ११ र १२ मा ऐच्छिक विषयअन्तर्गत योगलाई समावेश गरिएको छ । तालिम तथा अभिमुखीकरणका कार्यक्रमहरूमा पनि थोरै योग अभ्यास गर्न शुरू गरिएको छ । तर योगलाई जीवनकला र जीवनशैली बनाउन अझै बाँकी छ । यो योग गुरु र ध्यानीहरूको मात्र विषय होइन भन्ने सामाजिक जागरण ल्याउन औपचारिक अनौपचारिक प्रयासहरू आवश्यक छ ।  

प्रत्येक विषम अवस्था र विपत्तिले योग, ध्यान र व्यायामको महत्त्व बढाइरहेको छ, किनकी यसले  प्रतिकूलताभित्र अनूकलता खोज्न सक्छ । समस्त मानव समुदायलाई एक अर्काप्रति जवाफदेही र संवेदनशील बन्न सिकाई आत्मिक आनन्दको खोजी गर्न सक्छ । योग दिवस यसैका लागि मनन गर्ने दिन हो ।

(mainaligopi@gmail.com) 

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्