गाउँ–गाउँमा भ्युटावर बाख्रा चरेको हेर्न बनाएको हो ?

दिलनिशानी मगर
दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

भ्युटावरको जगनजिकै एउटा ताम्रपत्र हुन्छ । त्यो ताम्रपत्रमा बडो दु:खकष्ट सहेर उद्घाटन गर्न पुगेका मन्त्रीको, सांसदको अनि गाउँपालिका अध्यक्षको नाम चहकिलो गरेर लेखिएको हुन्छ । मानौं कि यो एउटा यस्तो कृति हो जसको युग–युगसम्म अपरम्पार महिमा इतिहासले गाइरहनेछ। आखिर नाममा के छ ? ए हजुर एकबारको जुनीमा सबथोक रहेछ।

निकै फुर्तीका साथ जनप्रतिनिधि भाषण गर्छन्, 'आदरणीय जनसमुदायहरू म भएका कारण यहाँ भ्युटावर आएको छ। झण्डै बजेट फुत्किएको थियो। मैले केन्द्रमा जोडबल गरें, कति कराएँ, धाएँ, थर्काएँ र पो बल्ल भ्युटावर आयो।' भ्युटावरभन्दा धेरै अग्लो दु:खका भारी बोकेका, भ्युटावरभन्दा अग्ला पहाड दैनिक उक्लिएका जनतालाई थाहा हुँदैन भ्युटावरमा चढेर के हेर्ने ?


Advertisement

भ्युटावरबाट के देखिन्छ? हो भ्युटावरबाट भ्युटावरभन्दा अग्ला पहाडहरू देखिन्छ, जुन पहाडको बीचमा दु:खीराम काकाको भैँसीगोठ छ। दु:खीराम काकाको भैँसीगोठ हेर्न भ्युटावर उक्लिनु पर्दैन। अरू के देखिन्छ भ्युटावरबाट ? गरीबका झुपडीहरू देखिन्छ । स्कूल जान नसकेर बारीमा खेल्दै गरेका केटाकेटी देखिन्छ । भोकैनांगै हिँडेका निमुखाहरू देखिन्छ । बेरोजगार युवाहरू गफ गरिरहेको देखिन्छ । पुरानो स्कूलको भत्किनै लागेको छानो देखिन्छ । पहिरोले बगाएको हेल्थ पोस्टको भग्नावशेष देखिन्छ । हो, धेरैथोक देखिन्छ भ्युटावरबाट ।

भ्युटावरबाट गाउँमा सलल रेल गुडेको देखिनुपर्ने थियो । देखिनुपर्ने थियो सुन्दर फूलबारीहरू । भ्युटावरबाट तालतलैया जहाँ डुंगा तैरिएको देखिनुपर्छ । अर्थात् एकबारको जुनीमा त्यति अग्लो भ्युटावर ठडिएपछि हेर्नका लागि तल धरातलमा केही न केही त आधारभूत संरचना देखिनुपर्‍यो नि ! फ्रान्सको आइफिल टावरबाट के देखिन्छ? युएईको ब्रुज खलिफाबाट के देखिन्छ? त्यहाँबाट सबैथोक देखिन्छ।


Advertisement

यी टावरले त्यहाँका जनतालाई खान दिएको छ । देशकै पर्यटनको मूख्य आधारशीला बनेको छ। के हाम्रा जग हसाउँने भ्युटावरहरूले खान दिएको छ ?

चित्र के बनाउने? कस्तो बनाउने? त्यो चित्रकारको कल्पनामा र रंगमा भर पर्छ। देश कस्तो बनाउने? कसरी बनाउने? त्यो शासकमा र तिनको चेतनास्तरमा भर पर्छ। रंगविना चित्र नबनेजस्तै चेतनाविना देश बन्दैन। विगतका राजा–महाराजाहरूले आफ्नै शालिक चोकचोकमा खडा गर्ने काम गरे । अहिलेका शासकहरूले गाउँ–गाउँमा भ्युटावर खडा गर्दैछन्, जसका लागि राज्यको अर्बौं रुपैयाँ अनुत्पादक क्षेत्रमा नोक्सान भइरेहेको छ।

यस्तो लाग्छ, नेपालीले अवसर पाए भने सगरमाथामाथि पनि भ्युटावर बनाइदिन्छन् । कम्युनिस्ट सरकारका कमरेडहरू किन यति साह्रो महाराजाधिराज जस्तो भएको होला ? जनजीविकाको प्रश्नको कुरै छैन, खाली भ्युटावर-भ्युटावर ।

उत्पादनमूलक व्यावसायिक कृषि गर्न सरकारले पैसा दिँदैन । कथमकदाचित दिइहाल्यो भने पनि कागज मिलाएर फोटो मात्रै पेश गरेर पैसा खाने आफन्तलाई दिन्छ। गरीबको उपचारका लागि सरकाले पैसा दिँदैन, विदेशबाट युवाका शव ल्याउन सरकारसँग पैसा हुँदैन । गरीबीका रेखामुनि लाखौं जनता छन् । युवामा डरलाग्दो बेरोजगारी छ। तिनीहरूका लागि सरकारसँग कुनै योजना छैन। जनता जे माग गर्छन् त्यो सरकार पूरा गर्दैन, तर भ्युटावर बनाउन पैसा जतिपनि छ, फालाफाल छ ।

जनताको खुशियालीका लागि राजनीति गरेका नेताहरू आफ्नो झोलामा भ्युटावरको डिजाइन बोकेर हिँडेका छन्, अनि दिमागमा भ्युटावरकै सपना । आखिर भ्युटावरप्रति किन यति धेरै मोह छ नेताहरूको? केही न केही त पक्कै छ। भ्युटावरमा केही न केही रहस्य नभइकन यसरी प्रत्येक गाउँका डाँडाकाँडामा भ्युटावर बन्ने थिएनन्। त्यो टावर पनि अलिक राम्रो भएको भए त हुन्थ्यो नि ! बाँदर धपाउन बस्ने घरजस्तो देखिन्छ।

निर्माण खर्चचाहिँ ४० लाख, ५० लाख, १ करोड । आम्मामाऽऽ के हो यो ? किन यस्तो हो ?

केही उदाहरण पेश गरुँ।  ऋषिङ्ग– ३  तनहुँको त्यति नराम्रो दुबुङ्ग भ्युटावरको डिजाइन गर्ने इञ्जिनीयर को होला ? पक्कै पनि त्यो पढेको इञ्जिनीयर त हुँदै हैन। भ्युटावर यस्तो छ मानौ कि त्यो भ्युटावर नभएर केटाकेटीहरूले भाडाँकुटी खेल्दै गर्दा बनेको कुनै बालुवाको थुप्रो हो। एकदम भ्रष्टाचारी ठेकेदारले पनि त्यो ५० हजारमा बनाइदिन्छ। तर त्यो निर्माणका लागि २० लाखभन्दा धेरै खर्च गरिएको छ। दुबुङ्ग मात्र हैन देशभरिका ३००० मिटरभन्दा अग्ला डाँडामा बनेका सबै भ्युटावको स्वरूप “केटाकेटी आए, गुलेली खेलाए, मट्याङ्ग्राको सत्यानाश…” भनेजस्तो छ ।

तर बजेट खर्च भन्यो भने तपाईंहरू जिब्रो काड्नुहुनेछ ।

म भ्युटावरविरोधी हैन। भ्युटावर बन्नु राम्रो हो। तर भ्युटावर बन्नुभन्दा अगाडि त्यहाँ संरचना निर्माण हुनुपर्छ भन्ने लाग्छ। र त्यस प्रकारका भ्युटावरले राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा ध्यान खिचेको हुनुपर्छ भन्ने लाग्छ। जस्तो कि यूएईको ब्रुजखलिफा। अब सोच भनेको त्यो स्तरमा हुनुपर्छ। म आफूले संसारको प्रख्यात फ्रान्समा रहेको आइफल टावर र यूएईमा रहेको ब्रुजखलिफाको टुप्पोसम्मै गएर अनुभव गरेका कारण होला नेपालमा पनि बरु एउटा नै किन नहोस् तर यस्तै किसिमको संसारका लागि उदाहरण बन्न सक्ने टावर निर्माण गर्नुपर्छ भन्ने लाग्छ। तर अनावश्यक रूपमा बजेट खर्च गरेर फोटो देख्दा पनि लाज लाग्ने खालका

एकदमै दयनीय किसिमका भ्युटावरहरू देशैभरि बन्दै गरेका देखिन्छन् ।

सामाजिक सञ्जालमा भ्युटावरका फोटाहरू राख्दै मानिसहरूले खिल्ली उडाइरहेका छन् । त्यही भ्युटावर नजिकैका मानसिहरू समेत भ्युटावरको फोटो सार्वजनिक गर्दै हाँसिरहेका छन् । अब भन्नुहोस्, त्यहाँ पर्यटकहरू किन जाने ? राष्ट्रिय-अन्तर्राष्ट्रिय पर्यटक तान्नका लागि भ्युटावर बनाएको हैन भने राज्यको अर्बौं रकम किन कनिका छरेजस्तै छर्किने ?

डाँडापाखा भएको देशमा अढाइ अर्ब रुपैयाँ खर्च गरेर भ्युटावर किन बनाउनुपरेको होला ? कि बाख्रा चरेको हेर्न ? नत्र गाउँको भ्यु हेर्न त भ्युटावर चढ्नैपर्दैन, अलि अग्लो डाँडातिर गए भैहाल्छ । सल्लाको  रुखमा चढे पनि हुन्छ। भौतिक विकास र संचरनागत निर्माण नगरेसम्म भ्युटावरबाट हेर्नेचाहिँ के हो त ? उही साथीको घर हेर्ने होला । स्कूल हेर्ने होला । खोला बगेको हेर्ने होला । बरु यस्ता फजुल खर्चको अर्बौं पैसाले एउटा सुन्दर अन्तर्राष्ट्रिय स्तरको चिडियाखाना बनाए राम्रो हुन्थ्यो। कुनै एउटा राम्रो अध्ययन केन्द्रमा लगानी गरे हुन्थ्यो । तर चेतना मरु ?

नेपाल आफैंमा अग्ला-अग्ला पहाड नै पहाडको देश हो। हिमाल नै हिमालको देश हो। तर अब भने पहिचान थपिएको छ, त्यो हो भ्युवाटर नै भ्युटावरको देश । हिमालसरहको ३१ सय मिटर अग्लो भोजपुरको ट्याम्केडाँडामा १३ करोड खर्चिएर भ्युटावर बन्दैछ। त्यति राम्रो वन जंगल र खर्कहरू मासिने तथा प्रदुषण हुनेगरी त्यहाँ किन त्यस प्रकारको भ्युटावर बनाउनु परेको हो थाहा छैन। सुत्केरी व्यथा लागेर समयमै राम्रो स्वास्थ्य उपचार पाउन नसक्दा भोजपुरका गाउँहरूमा धेरै आमाको निधन भैसक्यो। बनाउनुपर्ने त खासमा अस्पताल थियो। गुणस्तरीय शिक्षाको अभावमा गाँउका स्कूलहरू रित्तो भएका छन्। लगानी त स्कूलमा गर्नुपर्ने थियो।

तर यस्तो लाग्छ, नेपालीले अवसर पाए भने सगरमाथामाथि पनि भ्युटावर बनाइदिन्छन् । कम्युनिस्ट सरकारका कमरेडहरू किन यति साह्रो महाराजाधिराज जस्तो भएको होला ? जनजीविकाको प्रश्नको कुरै छैन, खाली भ्युटावर-भ्युटावर । आकर्षक पहाड, टाकुरा, चुचुराहरू भएको हाम्रो देशमा त्यसको प्राकृतिक स्वरूप नबिगारी व्यवस्थित गर्नुको सट्टा भ्युटावर निर्माण गरी कुरूप बनाउने मूर्खतालाई समृद्धि मान्दिनुपर्ने कुनै सैद्धान्तिक आधार देखिँदैन । के अब आठ हजार मिटरभन्दा अग्ला सबै हिमालमा पनि भ्युटावर बनाउने हो त ?

जस्तो कि  समुद्र सतहदेखि २४०० मिटर उचाइमा रहेको म्याग्दीको मंगला गाउँपालिका–३, झाँक्रीपानीमा रु.२७ लाख खर्च गरेर ३५ फिट अग्लो भ्युटावर बनाइएको छ । गाउँपालिकाको रु.११ लाख, सांसद विकास कोषको रु.१० लाख र रु.६ लाख बराबरको जनश्रमदानबाट यो टावर बनाइएको हो । रोल्पा नगरपालिका–३, सातदोबाटोमा रहेको अग्लो डाँडामा ९ तलाको भ्युटावर निर्माण गर्ने काम अहिले धमाधम चलिरहेको छ । समुद्री सतहबाट २०५० मिटर अग्लो डाँडामा बन्न लागेको र दुईतला निर्माण भइसकेको ३४ मिटर अग्लो टावर निर्माणमा कुल लागत रु. ६ करोड ३५ लाख रहेको छ। त्यस्तै बाजुराको बूढीगंगा नगरपालिका–४, बार्जुकोट दरबार क्षेत्रमा पनि ‘भ्युटावर’ निर्माण भइरहेको छ ।

प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्रमा पर्ने दमकमा मात्रै बुद्धमूर्ति बनाउन १५ अर्ब, भ्युटावर बनाउन ३ अर्ब, विज्ञान पार्क बनाउन २ अर्ब, सडक बनाउन २ अर्ब, पुलहरू बनाउन १ अर्ब ३७ करोड छुट्ट्याइएको छ । यीलगायत अन्य स-साना परियोजनामध्ये झण्डै २४ अर्बको परियोजना प्रधानमन्त्रीको गृहनगर दमकमा मात्रै प्रबन्ध गरिएको छ । तर दमकलगायत झापाका धेरै सामुदायिक विद्यालयको अवस्था कुनै न कुनै सुविधाका हिसाबले सम्पन्न छैनन् । भ्युटावरको पैसाले कम्तिमा १० वटा विद्यालय बन्न सक्ने स्थानीयवासी बताउँछन्। भ्युटावरको बजेट सडक स्तरोन्नितमा लगाउने हो भने २ सय किलोमिटरभन्दा बढी सडक ड्रेनसहितको कालोपत्रे बन्न सक्ने इञ्जिनीयरहरू बताउँछन्।

बनाउनुपर्ने त अस्पतालहरू, स्कूलहरू थियो। यहाँ बनाउनुपर्ने कुराको नाम लेख्यो भने दोश्रो रामायण बन्छ । महाभारत पनि बन्छ। त्यसो हुन सकिरहेको छैन। बाग्मती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले चालु आर्थिक वर्ष २०७६/७७ मा काठमाडौं उपत्यकाबाहेक १० जिल्लामा ‘एक हिल स्टेसन, एक भ्युटावर’ निर्माण गर्न रु. ६ करोड बजेट विनियोजन गरेको छ । यो रकम पर्यटन विकास आयोजना मकवानपुरबाट खर्च गरिँदैछ । गत वर्ष (२०७५/७६ मा) यही शीर्षकमा रु.५ करोड विनियोजन गरिएको थियो ।

आखिर भ्युटावरप्रति किन यति धेरै मोह छ नेताहरूको? केही न केही त पक्कै छ। भ्युटावरमा केही न केही रहस्य नभइकन यसरी प्रत्येक गाउँका डाँडाकाँडामा भ्युटावर बन्ने थिएनन्। त्यो टावर पनि अलिक राम्रो भएको भए त हुन्थ्यो नि ! बाँदर धपाउन बस्ने घरजस्तो देखिन्छ।

ललितपुरको गोदावरी नगरपालिकास्थित फुल्चोकी डाँडामा भ्युटावर निर्माण गर्न २०७५/७६ मा रु.६० लाख विनियोजन गरेको प्रदेश सरकारले रामेछापको खाँडादेवी–५, सुलीथुम्कामा भ्युटावर बनाउन २०७६/७७ मा रु.१ करोड विनियोजन गर्‍यो । त्यसैगरी सिद्धबाबा चुचुरोमा भ्युटावर बनाउन भन्दै रु. १ करोड ५० लाख छट्ट्याइयो । प्रदेश सरकारले धादिङको तोप्लाङमा भ्युटावर बनाउन आर्थिक वर्ष २०७५/७६ मा रु.५० लाख र २०७६/७७ मा रु. १ करोड ५० लाख विनियोजन गरेको छ । त्यसैगरी नुवाकोटको चिम्टेश्वरमा बगैंचासहितको भ्युटावर बनाउन २०७६/७७ मा रु. १ करोड ३२ लाख ८० हजारको बजेट छुट्याइएको छ ।(डाटा खोज पत्रकारिता केन्द्रको सहयोगमा)

के यी परियोजनाहरूले राष्ट्रिय उत्पादनमै प्रभाव पार्ने हैसियत राख्छन् ? बुद्ध मूर्ति निर्माण गर्नु, भ्युटावर, पार्क इत्यादि बनाउनमा अर्बौं खर्च गरिनु एक हिसाबले भन्ने हो भने स्रोत साधनको गलत प्रयोग हो । अढाई अर्ब सानो रकम हैन । प्रत्येक वर्ष वैदेशिक ऋण थपिइरहेको अवस्थामा आधारभूत बाहेकका अन्य मनोरञ्जनात्मक क्षेत्रहरूमा अनावश्यक बजेट खर्चिनु भनेको राज्यको ढुकुटीको अपचलन नै हो । प्रत्येक नेपालीले जन्मिँदै ४० हजारको ऋण बोक्नुपर्ने यथार्थता र हाम्रो निम्नस्तरको उत्पादनबीच यस्ता अनुत्पादक क्षेत्रमा ठूलो धनराशि खर्चिनु कसरी सही हुन सक्छ ?

धेरै जनताहरू गरीबीको रेखामुनि छन् । कति सुकुम्वासी त कति घरबारविहीन नै पनि छन् । सडकमा रात काट्ने गरीबहरू हजारौं छन्। स्कूलको मुख नदेखेका बालबालिका लाखौं छन्। सामान्य रोग लागेर उपचार गर्न नसकी बाटोमा राहत मागेर बस्ने हजारौं छन्। युवाहरू बेरोजगार छन्। कतिको तारा गन्दै रात काट्ने बाध्यता छ । यसरी सामान्य मानविय आवश्यकता र आधारभूत कुराहरू पूरा हुँदैनन् भने गणतन्त्रको के अर्थ रह्यो ? कम्तिमा जनताले महशुस गर्ने परिवर्तन त आउनुपर्‍यो । तारा गन्दै रात काट्ने कि भ्युटावर गन्दै दिन काट्ने?

दिलनिशानी मगर
दिलनिशानी मगर

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्