नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आईपीओमा आवेदन दिने मंगलवार (आज) अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा आज साँझ ५ बजेसम्म आवेदन दिन सकिनेछ ।
गत शुक्रवारदेखि कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।
बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको हो ।
जस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ करोड कित्ताको लागि आवेदन दिन सकिने छ ।
कसैको हात खाली नहुने भनिएको यस बैंकको आईपीओमा हालसम्म मागभन्दा बढीको आवेदन परिसकेको छ ।
कम्पनीको आईपीओमा सोमवार साँझसम्ममा १४ अर्ब १९ करोड ९६ लाख ४२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
सोमबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा ११ लाख ७७ हजार ९ सय २० आवेदकले १४ करोड १९ लाख ९६ हजार ४ सय २० कित्ताको लागि आवेदन दिएका हुन् । यो माग भन्दा १.८७ गुणा बढी हो
लोकान्तर संवाददाता