नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपाल र आफूलाई हेपेर प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले ब्लन्डर (गम्भीर गल्ती) गरेको आरोप लगाएका छन् । ओलीले बाजी हारिसकेको दाबी समेत प्रचण्डले गरे ।
‘केपीजी तपाईंले ब्लन्डर गर्नुभयो, माधवजीलाई हेपेर माधवजीको पक्षमा रहेका इमान्दार कम्युनिस्ट क्रान्तिकारीहरूलाई अपमानित गरेर प्रचण्डलाई प्रयोग गर्छु भन्ने सोच्नुभयो । प्रचण्डलाई ल्याएर जे भन्यो त्यही मान्ने बनाउँछु भन्ने ब्लन्डर गर्नुभयो । तपाई सिद्धिनुभयो । तपाईंले बाजी हारिसक्नुभयो । लडाईं हारिसक्नुभयो,’ नेकपा समर्थित पत्रकारहरूको संस्था प्रेस संगठनको भेलालाई मंगलवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले भने, ‘आफ्नो कर्मले आफूलाई सिध्याउनु भयो ।’
प्रचण्डले आफू युद्धको कमान्डर पनि भइसकेको व्यक्ति भएकाले कठोर हुनुपरे कसैलाई भित्तामा पुर्याउन पनि तयार हुने टिप्पणी गरे । ‘मलाई फकाएको भए देश नै दुर्घटना पर्नसक्थ्यो, म भावुक मान्छे फकायो भने फक्किने मान्छे । कठोर हुनुपर्यो भने फेरि युद्धको नेतृत्व गर्ने कमान्डर पनि थिएँ नि कुनै बेला । कठोर हुनुपरे भित्तामा पुर्याउन पनि तयार हुन्छु, अहिले पनि तयार भएकै छु,’ प्रचण्डले भने ।
प्रतिनिधिसभा विघटनको दिनदेखि ओलीको हातमा अब केही बाँकी नरहेको प्रचण्डले जिकिर गरे ।
‘केपीको हातमा अब केही छैन, जुन दिनमा प्रतिनिधि सभा विघटन भयो, त्यही दिनदेखि अब चिजहरू अन्तै छ,’ प्रचण्डले भने ।
लोकान्तर संवाददाता