निर्वाचन आयोगले नेकपा विभाजनलाई वैधानिकता दिन अस्वीकार गरेको छ । नेकपाको दुवै खेमाले आफू आधिकारिक भएको दावी सहित दिएको निवेदनका आधारमा आयोगले नेकपा विभाजनलाई वैधता दिन अस्वीकार गरेको हो ।
आइतवार बसेको आयोगको बैठकले आयोगमा पेश गरेको विवरणमा हेरफेर, संशोधन हुन नसक्ने जानकारी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई गराउने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
‘नेकपाले आयोगमा विवरणमा संशोधन, हेरफेर र परिवर्तन हुन सक्ने देखिएन, त्यसैले साविकको निर्णय कायम हुने गरेको जानकारी नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय भएको छ’ प्रवक्ता श्रेष्ठले लोकान्तरसँग भने ।
पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि ७ गत नेकपाको प्रचण्ड माधवकुमार नेपाल समूहले ओलीलाई अध्यक्षवाट हटाइएको कार्वाही सहित निर्णयको जानकारी आयोगमा दिएको थियो । सो निर्णय जानकारी गराउन प्रचण्ड नेपाल सहितका नेताहरु निर्वाचन आयोग गएका थिए ।
प्रचण्ड नेपाल समूहले पार्टीको अध्यक्ष माधव नेपाललाई बनाएपनि आयोगले नेकपा अध्यक्षको रुपमा नेपाललाई वैधता दिन अस्वीकार गरेको छ ।
नेकपाको ओली पक्षले केन्द्रीय समिति बढाएको जानकारी गराएको थियो । दुवै पक्षको दावीलाई आयोगले वैधता दिन अस्वीकार गरेको छ ।
अब पार्टीको आधिकारिकता लागि राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ अनुसार दलको नाम, छाप र झण्डा दावी सहितको उजुरी परेपछि मात्र आयोगले नेकपा विवादबारे निर्णय लिने आयोग स्रोतले बतायो ।
लोकान्तर संवाददाता