भारतीय सेनाले चीनको सामना गर्न तिब्बती भाषा, संस्कृति र जीवनशैली सिक्ने योजना बनाएको छ ।
यस रणनीतिअन्तर्गत सैन्य अधिकृतहरूलाई वास्तविक नियन्त्रण रेखाका दुवैतर्फ रहेका तिब्बतीहरूको गहिरो गरी अध्ययन गर्न लगाइनेछ ।
टिबेटोलोजी प्रोपोजललाई अन्तिम रूप दिन भारतीय सेनाले तयारी गरिरहेको छ ।
तिब्बत अध्ययनको प्रस्ताव पहिलोपटक गत अक्टोबर महिनामा आयोजित सैन्य कमान्डरहरूको सम्मेलनमा आएको थियो । अब सेनाप्रमुख जनरल एमएम नरवणेको निर्देशनमा शिमलास्थित आर्मी ट्रेनिङ कमान्डका तर्फबाट प्रस्तावको विश्लेषण गरिएको छ ।
कमान्डले टिबेटोलोजीको स्नातकोत्तर डिग्री दिने सातवटा संस्थानको पहिचान गरेको छ । त्यहाँ सैन्य अधिकृतहरूलाई अध्ययन बिदामा पठाउन सकिनेछ ।
सेनाका एक अधिकारीले बताए, ‘सैन्य अधिकृतहरू पाकिस्तानका बारेमा धेरै कुरा जान्दछन् तर चिनियाँ मानसिकता बुझ्न सक्ने अधिकृत कमै छन् । तिब्बतलाई बुझ्ने त झनै कम छन् । यी कमीहरूलाई हटाउनुपर्ने हुन्छ ।’
तिब्बतको भाषा, संस्कृति र व्यवहार बुझेका सैन्य अधिकृतहरूलाई लामो समयसम्म वास्तविक नियन्त्रण रेखा नजिक तैनाथ गरिनेछ ।
तिब्बत चीनको कमजोरी भएको आकलन गर्दै भारतीय सेनाले यो रणनीति बनाएको बताइएको छ ।
एजेन्सी