गरुड पुराणको अन्तर्य

कमल रिजाल
कमल रिजाल

लोकान्तरका नियमित स्तम्भकार कमल रिजाल धार्मिक संस्कार र समसामयिक विषयमा कलम चलाउँछन् ।

पौराणिक ग्रन्थहरू कर्मयोगका विशिष्टतम साधन हुन् । यिनले जे–जस्तो कथा भने पनि र जे–जस्तो दृष्टान्त प्रस्तुत गरे पनि दिन खोजेका सन्देश भने कर्मयोगी शिक्षा नै ।

निष्काम कर्मको चर्चा प्रायः सुनिन्छ । गीतामा समेत चर्चा पाएको छ यसले । स्वयं भगवान् कृष्ण नै यसका पक्षपाती देखिएका छन् तर ती रूपमा मात्र हुन्, सारमा होइनन् ।


Advertisement

कर्म कुनै पनि निष्काम हुँदैनन् । कुरा जतिसुकै निष्काम कर्मको गरे पनि कुन सड्को त्यसैभित्र कामनाको अंश घुसिसकेको हुन्छ । पौराणिक ग्रन्थहरू यिनै सकाम कर्मका अनुयायी हुन्, यसैको सेरोफेरोमा घुमेका छन् । 
 
यिनले गर्न नहुने काम नगर्नु भनेका मात्र छैनन्, त्यस्तो काम गर्नेलाई प्राप्त हुने स्थान देखाएका पनि छन् र गर्न हुने काम गर्नुपर्छ भन्नेका मात्र छैनन्, त्यस्ता काम गर्नेले पाउने स्थानको दिग्दर्शन गराएका पनि छन् । तिनले स्वर्गको कुरा पनि गरेका छन्, नरकका कुरा पनि गरेका छन्, श्रेयको कुरा पनि गरेका छन्, प्रेयको कुरा पनि गरेका छन् । दण्डको कुरा पनि गरेका छन्, पुरस्कारको कुरा पनि गरेका छन् ।

थाहा छैन कल्पनाको स्वर्ग र नरक कहाँ–कहाँ छन् । हुन पनि सक्छन् नहुन पनि सक्छन् तर पौराणिक ग्रन्थहरूले देखाएका वा देखाउन खोजेका स्वर्ग र नरक भने यहीँ छन्, अहिले नै छन्, जहाँ राम्रो काम गर्नेले प्रशंसा पाएका हुन्छन्, नराम्रो काम गर्नेहरू दण्डित हुने गरेका छन् । 


Advertisement

कर्मयोगको शिक्षा र सन्देश प्रायः सबै पौराणिक ग्रन्थले दिएका छन् तर गरुड पुराणको स्थान सर्वाधिक अगाडि देखिन्छ । कूल १९ हजार श्लोक रहेको यस पुराणका २ खण्ड छन्, जसको दोस्रो खण्डलाई प्रेत कल्प भनिन्छ । यद्यपि कतिपय ग्रन्थमा केही अवान्तर खण्डको चर्चा पनि भेटिन्छन् तर यो स्वयंमा त्यति महत्त्वपूर्ण कुरा होइन ।

महत्त्वपूर्ण कुरा त त्यो हो, जहाँ फल कहाँ फल्यो भन्नुभन्दा पनि कस्तो फल्यो भनेर हेर्ने गरिएको हुन्छ । यहाँ पनि यसै रूपमा बुझ्नु बुद्धिमानी हुनेछ । यसको पहिलो खण्डले गर्न हुने वा गर्नुपर्ने कामको फेहरिस्त प्रस्तुत गरेको छ भने दोस्रो खण्ड अर्थात् प्रेतकल्पले गर्न नहुने कामको चर्चा गर्दै त्यस्ता काम गर्ने मानिसले खानु पर्ने हण्डर र सास्तीको डाटा प्रस्तुत गरेको छ ।

पुराणहरू प्रायः संस्कृत भाषामा लेखिएकाले कतिपयलाई चाहेर पनि यसको स्वादन लिन गाह्रो थियो । सायद यसै भएर हुनुपर्छ जयतु संस्कृतका वर्तमान अध्यक्ष डा. बद्रीप्रसाद पोखरेलले तिनलाई नेपाली भाषामा अनुवाद गरेर क्रमशः प्रकाशित गराउँदै आएका छन् ।

बद्रीजी अवकाश प्राप्त एक सरकारी उच्च अधिकृत हुन् । उनले नेपाली भाषामा पुराणहरूका अध्यायगत सारांश लेखेर आफ्नो अवकाश प्राप्त जीवन सार्थक बनाएका मात्र छैनन्, अरुको जीवन सार्थक बनाउने प्रयास समेत गर्दै आएका छन् । यसअघि नै एक दर्जन हाराहारीका महापुराणका सारांश लेखेर प्रकाशित गराइसकेका पोखरेलजीले केही पुराण प्रकाशनको तयारी अवस्थामा रहेका र बाँकी पनि क्रमशः प्रकाशित गर्दै जाने सोच बनाएको बताएका छन् । 

हालसम्म प्रकाशित नेपाली अनुवादमा भविष्य पुराण, कूर्म पुराण, मार्कण्डेय पुराण, विष्णु पुराण, वामन पुराण, वराह पुराण, शिव पुराण, ब्रह्म पुराण, अग्नि पुराण आदि छन्, जसको प्रकाशनमा बढी पन्थ परिवारले चासो देखाएका छन् । वितरण कार्यमा भने विश्व स्वतन्त्र सञ्चारले सघाउँदै आएको छ । गरुण पुराण यसैमध्येको पछिल्लो कृतिमा पर्छ ।

हामीले दुःख पाइएको पनि थाहा पाएका छौं । दुःख पाइयो भन्दै आएका पनि छौं तर किन दुःख पाइयो भन्ने कुरा भने थाहा पाउन सकेका छैनौं । यहीँनेर गरुड पुराणको महत्त्व बढी हुन पुगेको छ । यसले किन दुःख पाइएको हो भन्ने कुराको जानकारी दिने काम मात्र गरेको छैन तिनका कारण र निराकरणको उपायसमेत छर्लङ्ग पारेको छ ।

संसारमा दुःख मात्र छैन, सुख पनि छ । सुख मात्र छ भन्ने पनि होइन, दुःख पनि छ । साँच्चै भन्ने हो भने संसार आफैंमा केही पनि होइन । मानिस नै उसलाई दुःखद र सुखद बनाएका हुन् । सुख पाएका छन्, कसैले भने त्यो पनि आफ्नै कारणले पाएका छन् । दुःख पाएका छन् भने त्यसको कारण पनि मानिस आफैं हुन् । हामीले जस्तो बनाएका छौं वा बनाउन खोेजेका छौं संसार त्यस्तै बनिदिएको मात्र हो । गरुड पुराण यसैका लागि हो, यसैका उपचारका लागि हो । 

वैष्णव पुराणको पंक्तिमा गनिने यो पुराण १८ पुराणमध्ये सत्रौं पुराणमा पर्छ । यसमा विष्णु र उनका बाहन गरुडको संवाद समेटिएको छ र नाम पनि प्रश्नकर्ता गरुडकै नामबाट राखिएको छ । पौराणिक ग्रन्थहरू पुराण पुरुषोत्तम भगवान्को श्रीविग्रह मानिन्छन्, जो क्षराक्षरभन्दा निकै पर रहेका छन् तर यसलाई व्यक्त गर्ने काम भने अक्षरले गरेको छ ।

प्रकृतिमा एउटा धुन छ, जसलाई अनाहत नाद भनिन्छ । यसको रूप, रंग, स्वरूप, आकृति केही छैन । न आदि छ, न अन्य नै भेटिन्छ । जसरी बजायो त्यसैगरी बज्ने, जसरी तान्यो वा तान्न खोज्यो, त्यसैगरी तानिने र जसरी देखाउन खोज्यो, त्यसैगरी देखिने यसको विशेषता हो । 

यसैभित्र तमाम भाषा छन्, संस्कार छन्, संस्कृति छन्, अक्षर छन् । अक्षरको अर्थ अविनाशी हो, अविनाशी भनेको कहिल्यै ननासिने तत्व हो । विश्वका तमाम अक्षर, जसलाई हामी लिपि भन्छौं यसैभित्र अटेका छन् । शुरूमा यो केवल धुन मात्र थियो, विशुद्ध धुन अनाहत नादको धुन । यसलाई मानिसले आकृति दिएका थिएनन्, दिन जानेकै थिएनन् । 

बिस्तारै आकृति दिन थाले । आ–आफ्नो भाषा अनुसार आकृति वा स्वरूपमा ढाल्दै गए । यही धुन संगीतको आकाशमा ७ स्वर बनेर उदाए । अक्षरको दुनियाँमा कतै २६, कतै ३६, कतै ४०/४२ कतै सय र कतै हजारौंसम्म पनि हुन पुगे । कर्ताको इच्छाको कुरा हो, जसरी ताने पनि हुन्छ, जसरी खिचे पनि हुन्छ तर ऊ आफैं भने एउटै छ, अविनाशी छ र अनाहत नादको अवस्थामा छ ।

अथवा यसलाई यसरी पनि बुझौं, आहत नहुँदासम्म यसको स्वरूप एउटै हुन्छ तर आहत हुना साथ भाँडोको स्वरूप, आकृति र अवस्थाले जसरी माग्छ त्यस्तै किसिमको सुर र ताल र आकृतिमा प्रकट भइदिन्छ । चाहे हामी पौराणिक ग्रन्थको स्रोत भनौं चाहे आधार यिनै धुन हुन्, जो अक्षरको रूपमा प्रकट गरिएका छन्, प्रकट भएका छन् । 

झट्ट सुन्दा पुराण भनेका पुराना कुरा हुन् जस्तो लाग्न पनि सक्छ । यिनका नामले समेत सम्भवतः त्यतैतिर संकेत गरेको बुझिन्छ तर पुराण न पुराना हुन्, न तिनले पुराना कुरा मात्र गरेका छन् । उनीहरू त अहिले पनि वर्तमान बनेर नाचिरहेको छ हाम्रै अघिल्तिर । भूगोल पनि यसैमा छ, इतिहास पनि यसैमा छ । पृथ्वीदेखि आकाशसम्मका यावत गतिविधि र विशेषता माला बनेर यसैमा उनिएको छ, उनिन पुगेको छ ।

यस्ता गुरुतम भार बोकेका ग्रन्थलाई अनुवाद गरी प्रकाशित गर्दै जानु चानचुने धैर्य र साहसले हुने कुरा होइन तर बद्रीजीले त्यस्तो साहास समेत देखाएका छन् । यसै अर्थमा उनको प्रयास थप सराहनीय हुन पुगेको छ । आशा गरौं बाँकी पुराण पनि चाँडै नै अनुवाद भई प्रकाशमा आओस् ताकि पाठकले तिनको समेत स्वाद लिने अवसर प्राप्त गर्न सकून् ।

कमल रिजाल
कमल रिजाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्