बालबालिकामा नैतिक आचरण प्रवद्र्धन कसको दायित्व ?

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

मैनाली नेपाल सरकारका सचिव हुन् । 

नेपाली समाजमा सकारात्मकता, सदाचार र नैतिक आचरण स्खलित हुँदै गएको छ । व्यक्ति, परिवार, समाज र संगठन सबै तहमा नैतिक व्यवहारको महत्त्व बढेर गएको छ ।

जब नैतिकता र सदाचार ह्रास हुन्छ, राज्य प्रणाली र मानव सभ्यता नै धरापमा पर्दछ । प्रश्न उठ्न सक्छ – नैतिक आचरण र सदाचारको निर्माण राज्य संरचना र नीतिले मात्र गर्नसक्छ ? त्यसो होइन नीति, संरचना र दण्डविधान अन्तिम संयन्त्र मात्र हुन् ।


Advertisement

सामाजिक संगठन, सामाजिक अन्तर्क्रिया र व्यवहारले नै नैतिकता र सदाचार संस्थागत गर्दै लाने हो । जीवनलाई मर्यादित, जिम्मेवार, कर्तव्यबोधी र अनुशासित बनाउने पृष्ठ आधारमा सामाजिक संस्थाहरू रहन्छन् । अहिले नेपाली समाजले त्यही मागिरहेको छ । 

प्रश्न उठ्नसक्छ – सामाजिक संस्था केलाई भन्ने ? यस्ता औपचारिक अनौपचारिक संरचना जसले व्यक्तिहरूको व्यवहार र सम्बन्धलाई व्यवस्थित गर्ने औपचारिक अनौपचारिक काम गर्दछन्, तिनै सामाजिक संस्था हुन् ।


Advertisement

सामाजिक संस्थामा व्यक्तिहरू समेटिएका हुन्छन्, उनीहरूको चाहना मुखरित हुन्छ, केही मानकहरू स्थापना भएका हुन्छन्, त्यहाँ केही सामाजिक आवश्यकता पनि पूरा गरिन्छ । सामाजिक संस्थाका स्वरूपमा परिवार, सरकार, शैक्षिक निकाय, राजनैतिक दल, आर्थिक संस्था र धार्मिक अनुष्ठानहरू पर्दछन् । 

व्यक्तिले व्यवहार गर्ने पहिलो र सबैभन्दा शक्तिशाली संस्था परिवार हो । आमाबुवा, बालबच्चा लगायतका सदस्य रहेको समुदायको प्रारम्भिक इकाई नै परिवार हो । यो सबैभन्दा मौलिक र आधारभूत सामाजिक संगठन हो । परिवारमा सदस्यहरू निर्धारित भूमिका र जिम्मेवारीमा रहेर एकअर्कामा माया, प्रेम, सद्भाव र सुखदुःख साटासाटका साथ एकअर्काको आवश्यकता पूरा गर्दछन् ।

परिवारले व्यक्तिको जैविक, भौतिक, सांस्कृतिक र मनोवैज्ञानिक आवश्यकता पूरा गर्दछ । मूल्य, मान्यता, मर्यादा, मापदण्ड स्थापना, परिमार्जन र नियन्त्रण, हस्तान्तरणजस्ता कामहरू पनि परिवार तहमा गरिन्छ ।  
 
परिवार यसको प्रकृति अनुसार ठूलो सानो, पितृसत्तात्मक वा मातृसत्तात्मक, वैवाहिक वा अवैवाहिक हुनसक्छन् । तर यसका आधारभूत काम भने उही हुन्छ । परिवारका प्राथमिक र सहायक कामबाट नै व्यक्तिको व्यवहार, आचरण र प्रवृत्ति निर्धारण हुन्छ । भनिन्छ गर्भदेखि नै आमाको व्यवहारबाट व्यक्तिको स्वभाव र क्षमता निर्धारण हुँदै आउँछ । बच्चा जन्मेपछि आमाको काख र पारिवारिक परिवेशबाट उसले जति सिक्छ, त्यति जीवनमा कहिल्यै सिक्दैन ।

परिवारबाट नै माया, प्रेम, आदर, कर्तव्य, जिम्मेवारी जस्ता कुराहरू सिकिने भएकाले परिवार नै शिक्षा, सदाचार र नैतिकताको पहिलो सबैभन्दा सशक्त पाठशाला हो । त्यसैले परिवार र परिवेश जस्तो छ, व्यक्तिको आनीबानी र जीवनवृत्ति करीब त्यस्तै हुन्छ । परिवारले सिकाएकोे कुरा नै बालकले वयस्क भएपछि स्वाभाविक रूपमा अपनाउने गर्दछ । परिवारको सिकाइ, अनुभूति र सुखदुःखले व्यक्तिको व्यवहार निर्दिष्ट हुन्छ ।

परिवारमा पुस्ता–पुस्ताबाट हस्तान्तरण हुँदै आएका विचार र व्यवहार नै परिवारका मूल्यमान्यताका रूपमा रहन्छन् । यसैबाट व्यक्तिको चरित्र निर्धारण हुन्छ । त्यसैले कुनै व्यक्ति असल वा खराब बनाउन परिवारले धेरै ठूलो भूमिका खेलेको हुन्छ । परिवारको पृष्ठभूमि, सोचवृत्ति, पेशा व्यवसाय, रहनसहनजस्ता कुराले व्यक्तिले आफू कस्तो हुने, के गर्ने भन्ने चित्र कोर्दछ । त्यसैबाट व्यक्तिको भविष्य, दृष्टिकोण र सोचवृत्ति निर्धारण हुन्छ । परिवारका व्यवहार, परम्परा र संस्कृतिले व्यक्तिलाई अनुशासित बनाउँछ । माया, आदर, आस्था, सहयोग जस्ता मूल्यहरू परिवारले सिकाएको हो । परिवारको मूल्यले व्यक्तिलाई स्वावलम्बी बन्न (वा नबन्न), निर्भिक हुन (वा नहुन), सिर्जना गर्न (वा नगर्न), हसीमजाक गर्न (वा गम्भीर बन्न), सदाचारी बन्न (वा नबन्न) सिकाउँछ ।

परिवारबाट सिकेको विश्वास र आस्थाबाट सामाजिक जिम्मेवारी बहन गर्न सीप र क्षमता विकास हुन्छ । परिवारको आदर्श नै परिपक्व भएपछि जीवनशैलीको मार्गदर्शन बन्छ । जीवनको महत्त्वपूर्ण सिकाइ, अभिमुखीकरण आमाबुवा, भाइबहिनी, दाजुदिदीबाट प्राप्त हुने भएकाले नैतिक आचारण मात्र होइन, जीवनवृत्तिकै महत्त्वपूर्ण निर्धारक परिवार हो । त्यसैले परिवार सधैं आदर्श, नैतिक र सदाचारी बन्नुपर्छ, त्यसको नेतृत्व आमाबुवाबाट हुनुपर्छ ।

आमाबुवा बालबालिकाको सबैभन्दा नजिकको ‘रोल मोडेल’ हो । ‘जस्तो परिवार उस्तै अनुशासन र जस्ता आमाबुवा उस्तै बालबच्चा’ भन्ने भनाइ नेपाली समाजमा छ । मेहनती आमाबुवाका सन्तान श्रमका पारखी हुन्छन्, विना मेहनत सम्पन्नता आर्जन गरेका सन्तानहरूमा त्यसै अनुरूप छाप पर्छ र परिश्रमको पारखीभन्दा अरु नै कुरामा भौतारिन्छ ।
 
परिवारपछि व्यक्तिले सिक्ने भनेको समाजबाट हो । समाज वा समुदाय सामूहिक आवश्यकता पूरा गर्न मानिसबाट स्वयंसेवी रूपमा निर्माण भएको परिवारपछि सबैभन्दा शक्तिशाली संगठन हो । समुदाय व्यवहार, भूमिका, सम्बन्ध, अनुभूति र सहभाव आदानप्रदान गर्ने मानवीय संरचना हो । समुदायका साझा भावना, इच्छा, मूल्य, मान्यता, कानून र रीतिथिति हुन्छ । समुदायमा रहेर यसका सदस्यले साझा चाहना, मूल्य–परम्परा निर्माण, संरक्षण र परिमार्जन गर्छन् । व्यक्तिगत रूपमा समाधान निकाल्न नसक्ने समस्याको समाधान निकाल्ने थलोको रूपमा समाज संगठित हुन्छ । यो गतिशील रहन्छ । यसले मानिसको व्यवहार, आचरण, चाख र जीवनशैलीलाई प्रभाव पार्दछ र व्यक्तिले आफ्ना आवश्यकता पूरा गर्ने, दृष्टिकोण निर्माण गर्ने मञ्चका रूपमा समाजलाई उपयोग गर्दछ । त्यसैले यो अन्तर्क्रियाको मञ्च हो, जसमार्फत व्यक्ति विस्तृत, सुसंस्कृत र आग्रहरहित बन्ने अवसर पाउँछ ।

सामाजिक आचरण र मूल्य प्रणाली विकास गर्ने सन्दर्भमा समाजले सामाजिक सद्भाव कायम गर्ने, भातृत्व विकास, सहयोग, सहकार्य र संयमता कायम गर्दछ । सामाजिक आचरण र व्यवहारलाई नियन्त्रण गरी असल जीवनको सामूहिक मार्ग देखाउने काम पनि समुदायले गर्दछ । त्यसैले परिवारपछि समुदाय नैतिक आचरण संस्थागत गर्ने महत्त्वपूर्ण संस्था हो । सामाजिक संस्कार असल भएपछि नागरिक जीवनका लागि चाहिने ज्ञान, सीप र स्वभाव पनि स्वाभाविक रूपमा तदनूकूल बन्ने गर्दछ । 

तेस्रो शक्तिशाली संस्था शिक्षालय हुन् । शैक्षिक संस्थाहरू केवल शिक्षा प्रदायक निकाय मात्र होइनन्, नागरिक जीवनलाई असल र मर्यादित बनाउन व्यावहारिक सीप सिकाउने जीवन्त कार्यशाला हुन् । नैतिक आचरण विकास गर्ने औपचारिक प्रयोगशाला हुन् । जसरी परिवार र समुदाय अनौपचारिक माध्यमबाट सामाजिक आचारण सिकाउँछन्, शिक्षालयसँग त्योभन्दा बढी औपचारिक, व्यवस्थित र संहितावद्ध हुन्छ । किनकी त्यहाँ औपचारिक वातावरण, पाठ्यक्रम र शिक्षा प्रदायक शिक्षक हुन्छन् ।

विद्यालयजस्ता शैक्षिक अनुष्ठानमा विभिन्न परिवेश, धर्म, पृष्ठभूमिका मानिसहरू सँगसँगै रहने भएकाले समुदाको सुक्ष्म ऐना पनि हो, जसले सामूहिक भावना, सहयोग, विचार आदानप्रदान र व्यक्तित्व विकासको अवसर दिन्छ, जसलाई आजभोलि समावेशिता भन्ने गरिएको छ । विद्यालय जस्ता शैक्षिक अनुष्ठानले चेतना र दृष्टिकोण विकास, सामाजिक सद्भाव, शान्ति र सहभाव, राष्ट्र प्रेम, चरित्र निर्माण, आदर्श व्यवहार, सामाजिक गतिशीलता र क्षमता विकासमार्फत नैतिक मूल्याचरण निर्माण र सम्बद्र्धन गर्न भूमिका खेल्दछन् । 

ज्ञान, सीप र क्षमता निर्माण गर्दै मानिसको स्वभाव आदर्श बनाउन शैक्षिक संस्थाहरू महत्त्वपूर्ण छ भने शिक्षा प्रदायक शिक्षक–शिक्षिका यसका आदर्श पात्र हुन् । आमाबुवापछि बच्चाले सबैभन्दा विश्वास गर्ने, सबैभन्दा प्रभाव पार्नसक्ने व्यक्ति शिक्षक–शिक्षिका हुन् । त्यसैले प्राचीन समयदेखि गुरुवर्गलाई समाजले उच्च मर्यादा दिँदै आएको छ । 

विद्यालय आदर, समझदारी, संयम, प्रशंसा, जिम्मेवारी, उत्तरदायित्व, प्रोत्साहन र नेतृत्व निर्माण गर्ने स्थल पनि हुन्, शिक्षा आर्जनका क्रममा व्यक्तिभित्र बिस्तारै यी गुणहरू नमेटिने गरी संस्थागत हुन्छन् । असल शिक्षक सदाचारको द्योतक हो । शिक्षक ज्ञान, सीप र स्वभावको जीवन्त प्रस्तुती गर्ने शिक्षकबाट नै समाजले असल कुराको जग बसाउने हो । अक्षर पढाउने, अक्षर पनि नपढाउने, असल व्यवहार गर्न नसक्ने शिक्षक समाजलाई अँध्यारो मार्गमा डोर्‍याउँछ, विद्यार्थीको भविष्य अन्धकार पार्छ र राज्य प्रणालीलाई विकृत पार्छ । त्यसैले समाजका उम्दा प्रतिभाहरू शिक्षक बन्नुपर्छ । 

राजनीति समाजलाई असल दिशानिर्देश गर्ने मगज हो । राजनीतिक दलहरू असल संस्कार, संस्कृति, राष्ट्रप्रेम, विकास र सकारात्मक सोच ल्याउने अभियान हुन् भने नेताहरू यसका लागि निर्देशक मगज । निर्देशक मगज सधैं रोल मोडेल रहनुपर्छ र दलभित्रको राजनीतिक स्रोत परिचालन समाजलाई असल कुरामा डोर्‍याउने संस्कार, संस्कृति र संयम निर्माणका लागि हुनुपर्दछ । 

दलभित्रका विचार विभागहरू कार्यकर्तालाई सदाचारी र नैतिक बनाउन सतत रहनुपर्छ ता कि यसले समाज, संस्था र सरकार समग्रलाई सत्कार्यमा पुर्‍याउन सकोस् । लोकतन्त्र भनेको असल संस्कृतिको निर्माण प्रक्रिया हो, राज्य नैतिक संस्था हो र राजनैतिक दलहरू यसका अभियान्ता । 

समाजमा रहने आर्थिक संस्थाहरु चरित्र निर्माणका अरु संस्थाहरू हुन् । सहकारी, धर्मपर्म, उत्पादन व्यवसाय, उद्योग कारखाना लगायतका उत्पादक संरचनाले मानिसलाई आवश्यक आर्थिक उपयोगिता सिर्जना गरी मानवीय आवश्यकता पूरा गर्दछन् । यस्ता आर्थिक संरचनाले सेवा वस्तु उत्पादन तथा वितरणका मान्यता स्थापना गर्दछन्, अन्य सामाजिक संस्थासँग अन्तर्क्रिया गर्दछन् र आर्थिक ढाँचा र प्रविधि निर्धारण, विकास र आविष्कार गर्दछन्, जसले आर्थिक आचरणलाई व्यवस्थित गर्दै लैजान्छ । 

समाजमा विभिन्न औपचारिक/अनौपचारिक संस्था, राजनैतिक संगठन, अनुसन्धानकर्ता, राष्ट्रिय/अन्तराष्ट्रिय मञ्च, पेशागत सञ्जाल र विचारकले पनि सर्वसाधारणको व्यवहारलाई नैतिक आदर्श र मान्यताअनुरूप बनाउन योगदान पुर्‍याउँछन् । मूलतः यस्ता संस्थाले नैतिक आचरण निर्माणका लागि सामाजिक संस्था र व्यवहारलाई नियन्त्रित गर्छन्, एकबाट अर्को पुस्तामा मूल्य मान्यतालाई हस्तान्तरण गर्छन्, सामाजिक सहभाव प्रदर्शन र सहकार्य प्रवद्र्धन गर्छन् । सामाजिक पहिचान संस्थागत गर्दछन् ।

विचार र दृष्टिकोण निर्माण, परिमार्जन र परिष्करण गर्दछन् । बशुधैव कुटुम्वकमको विश्व भातृत्व निर्माण गर्न सहयोग पुर्‍याउँछन् । यदाकदा सामाजिक विग्रहजस्ता अनपेक्षित आचरणलाई पनि प्रोत्साहन दिन्छन् । यसर्थ समाजलाई आदर्श, सदाचारी र नैतिक बनाउन घरपरिवार, सामुदायिक संस्था, विद्यालय, धार्मिक अनुष्ठान जस्ता संस्था असल आचरणका केन्द्र बन्नुपर्छ र यसका नेतृत्वकर्ताहरू सधैं आदर्श बन्नुपर्छ । परिवारमुली, सामाजिक अगुवा, शिक्षक, नेता र संगठनका व्यवस्थापकहरू आदर्श नबनेसम्म सुशासन र सदाचार संस्कृति निर्माणको काम वास्तविक होइन, औपचारिक मात्र बन्ने गर्दछ ।

mainaligopi@gmail.com

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्