यस वर्षको हेमराज स्मृति पुरस्कार ‘झरना साहित्यिक परिवार मकवानपुर’लाई अर्पण गरिने भएको छ ।
हेमराज पहारी स्मृति प्रतिष्ठानद्वारा स्थापित सो पुरस्कारको राशि नगद १ लाख रुपैयाँसहित ताम्रपत्र रहेको छ ।
साहित्यकार एवं समाजसेवी हेमराज पहारीका योगदानलाई जनसमक्ष लैजान र साहित्यको विकासमा टेवा पुर्याउने लक्ष्यका सो स्मृति प्रतिष्ठान गठन गरिएको हो ।
प्राज्ञ हरिदेवी कोइराला संयोजक र लक्ष्मी निरौला र रमा परासर सदस्य रहेका प्रतिभा छनोट समितिको सिफारिस अनुसार झरना साहित्यिक परिवारलाई पुरस्कार प्रदान गर्न लागिएको हो ।
साहित्यकार हेमराजको ११ औं स्मृति दिवस फागुन १७ गते हेटौंडामा स्मृतिसभा र पुरस्कार समर्पण समारोह आयोजना गरिने प्रतिष्ठानका अध्यक्ष रीता न्यौपानलेले जानकारी दिइन् ।
विक्रम संवत् २०५० सालमा स्थापना भएको संस्थाले हरेक महिनाको चौथो शनिवार नियमित शृंखलासहित विभिन्न साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको छ ।
प्रत्येक २ वर्षमा प्रदान गरिने पुरस्कार यसअघि शताब्दी पुरुष सत्यमोहन जोशी, दाङको राप्ती साहित्य परिषद्, धरानको विमल गुरुङ स्मृति पुस्तकालय र लोककवि अली मियाँलाई प्रदान गरिएको थियो ।
रासस