चिना हराएको मान्छे मौलिक कृति हो, ‘घोस्ट राइटिङ’ होइन : रवीन्द्र समीर

डा. रवीन्द्र समीर
डा. रवीन्द्र समीर

जनस्वस्थ्य विज्ञ समेत रहेका साहित्यकार डा. रवीन्द्र समीरका मृत्युको आयु लगायत १२ वटा साहित्यिक कृति प्रकाशित छन् ।

२०५९ वैशाख ९ गते नेपाल पर्यटन बोर्डको हलमा आदरणीय सर्जक कृष्ण धराबासीको कृति पाण्डुलिपिको विमोचन कार्यक्रम थियो । त्यो समारोहका प्रमुख अतिथि आदरणीय हरिवंश आचार्य हुनुहुन्थ्यो ।

हरिवंश दाइसँग सामान्य चिनजान पहिले थियो । मिरा भाउजुको असामयिक निधनपछि उहाँ निकै विक्षिप्त हुनुभएको थियो । कार्यक्रम सकिएपछि ‘दाइ ! तपाईंले पनि आत्मकथा वा संस्मरण लेख्नुहोला । कापीमा आँसु पोख्न सजिलो हुन्छ अनि मनमा गुम्सिएका भावलाई रित्तो गराउने थेरापीको काम गर्छ । के कस्तो हुन्छ, म हेरुला ।’


Advertisement

छोटो कुराकानी भयो । हरिवंश दाइले अर्को दिन फोन गर्नुभयो । उहाँलाई घरमा स्वागत गर्ने अवसर मिल्यो । सुप्रिया र सुप्रिम साना थिए । हरिबहादुर भनेपछि उनीहरूको सातो जान्थ्यो । हरिवंश दाइका हरेक विज्ञापन, टेलिफिल्म तथा चलचित्र खुब रमाइलो मान्थे तर हरिबहादुरसँग निकै डराउँथे । दाइ घरमा आएपछि उनीहरू निकैबेर लुके । दाइले क्याडवरी चकलेट दिएपछि तथा हाम्रो सामिप्यता देखेपछि उनीहरू बिस्तारै बैठक कोठामा आए ।

मैले हरिवंश दाइलाई मेरा पुस्तक दिएँ । हरिवंश दाइले आफ्नो आँसु कापीमा पोख्न शुरू गरिसक्नुभएको थियो । मेरो अर्जुनदृष्टि (लघुकथा संग्रह) देखाउँदै दाइले भन्नुभयो, ‘यो साइजको भए राम्रै हुन्थ्यो ।’ मैले भनें, ‘दाइ, तपाईंको योभन्दा निकै ठूलो हुन्छ ।’


Advertisement

त्यही वैशाखको अन्त्यको कुरा हो । बानेश्वरको थकाली भोजनालयमा लघुकथा समाजको बैठक थियो । हरिवंश दाइले त्यहाँनेर आएपछि फोन गर्नुभयो । उहाँको हातमा ३०–४० पेज सामग्री भएको एउटा फाइल थियो । फाइलको बाहिर ‘हरिवंश हरिब्यंग’ लेखिएको थियो । सायद दाइले आफ्नो पुस्तकको नाम यही राख्नुभएको थियो । मैले त्यो फाइल लिएँ । दाइले आफ्नो जीवनका अँध्यारा कुइनेटा कागजमा पोख्नुभएको थियो । रातिसम्म पढेर मैले ४ पेज प्रश्नहरू तयार गरें । 

अर्को दिन दाइ घरमा आउनुभयो । पुरानो पाण्डुलिपि र मेरा प्रश्नहरू उहाँलाई दिएँ । त्यसको १ हप्तापछि दाइ र म बालकोटस्थित उहाँको निवासमा गयौं ।

एकघण्टा खाना बनाउँदै र गफ गर्दै गर्‍यौं । खाना खायौं अनि भाँडा माझ्यौं । त्यसपछि हामीहरू राति १२ बजेसम्म पुस्तकमा के–के समेट्ने ? कुन–कुन कुरालाई नछुटाउने ? कथा कुन शैलीमा लेख्ने ? लगायत विषयमा धेरै छलफल गर्‍यौं ।

‘मैले होमवर्क सकें नि ! म गूड स्टुडेन्ट भएँ,’ दाइले भन्नुभयो । मैले दिएका ४ पेज प्रश्नको करीब ३० पेज सामग्री दाइले लेखेर सकाउनुभएको रहेछ । यति छिटो लेख्नुहोला भन्ने मैले सोचेको थिइनँ । हरिवंश दाइका अक्षर बुझ्न जो कोहीले सक्दैन । कहिलेकाहीँ त उहाँले लेखेका अक्षर आफैं नबुझेर महसञ्चारको गणेश भाइलाई सोध्नुहुन्छ, ‘भाइ, मैले के लेखेको यो ?’ गणेश भाइले भन्नुहुन्छ, ‘दाइ ! तपाईंले यो यो लेख्नुभएको हो ।’ हरिवंश दाइले लेख्ने, गणेश भाइलाई टाइप गर्न दिने अनि मलाई पठाउने काम निरन्तर चलिरह्यो ।

मैले विषय दिने दाइले लेख्ने अनि टाइप गरेर मलाई उपलब्ध गराउने क्रम ६ महिनासम्म चल्यो । कतिपटक त हाम्रो घरमा कोही नभएको बेला दाइले ढोकामुनि पाण्डुलिपि घुसारेर फर्किनुहुन्थ्यो । उहाँसँग काम गर्न निकै सजिलो थियो । दाइ, यसलाई यसो गरौं भन्दा जहिले पनि दाइले त्यही अनुसार तयार गर्नुहुन्थ्यो । लेखन यस्तै द्रूतगतिमा चलेपछि दाइको पाण्डुलिपि निकै ठूलो भयो । लगभग ९० हजारको हाराहारीमा पुग्यो ।

पाण्डुलिपि तयार भयो । ह्रस्वदीर्घ लगायत हेर्ने काम बाँकी थियो । म रुस जाने योजना बन्यो । त्यसपछि मैले भाषा हेर्न सजिलो हुन्छ भनेर प्रिय भाइ अमर न्यौपानेलाई हरिवंश दाइसँग परिचय गराएँ । अमर भाइले खुशी भएर भाषा हेर्नुहुने भयो । अमर न्यौपानेजस्तो भाषाको कुशल खेलाडीको हातबाट सुन्दर पाण्डुलिपिको भाषा सम्पादन हुने भयो भनेर म निकै खुशी भएँ ।

म मस्को गएपछि महसञ्चारको कार्यालयमा अमर भाइ, प्रदीप भट्टराई सर, गणेश भाइ र हरिवंश दाइ ३ हप्तासम्म कम्प्युटरमा बस्नुभयो । यसरी दाइको पाण्डुलिपिको भाषा शुद्ध भयो । भाषा शुद्धि गर्दा हरिवंश दाइका आफ्ना शब्द, लेख्ने तरिका तथा मौलिकता कायम होस् भन्ने अभिप्रायले व्याकरण मात्र हेर्ने काम भयो ।

भाषा सम्पादन गरेको पाण्डुलिपिमा दाइ र म धेरैपटक बस्यौं । कुनै प्रसंग हटायौं, कुनै प्रसंग थप्यौं । म हरिवंश दाइको डाइहार्ट फ्यान भएको हुँदा उहाँका सम्पूर्ण टेलिफिल्म, फिल्म, नाटक, प्रहसन, विज्ञापन, अन्तर्वार्ता, सामाजिक काममा संलग्नता आदि विषयमा जानकार थिएँ । त्यसले गर्दा उहाँलाई ती प्रसङ्गमा फर्काउन, थप लेखाउन, प्रस्ट गर्न तथा हरेक विषयमा छलफल गर्न सजिलो भयो । 

दाइले पुस्तक तयार गर्दै गरेको धेरैलाई थाहा थियो । थुप्रै प्रकाशकहरूले दाइको पुस्तक छाप्न फोन गरेका थिए । हरिवंश दाइले ‘सबै जिम्मा रवीन्द्र डा. साहेबको हो’ भनेर जवाफ दिनुहुन्थ्यो । धेरै प्रकाशकको चेपुवामा म परेको थिएँ ।

हरिवंश दाइ अद्भुत क्षमताको कलाकार हुनुहुन्छ । सामाजिक उत्तरदायित्व तथा न्यायको पक्षमा सतिसालझैं उभिएको त्यो जनप्रिय कलाकारको आत्मकथा राम्रो प्रकाशकबाट आलोकित होस्, दाइको मेहनत पारदर्शी र न्याय संगत होस् तथा देशविदेशका कुनाकुनामा पुगोस् भन्ने मेरो चाहना थियो ।

पाण्डुलिपि लगभग तयार भएपछि एक बिहान फाइन प्रिन्टका कार्यकारी निर्देशक निरज भारीको फोन आयो । मैले भने अनुसार निरजजी जोरपाटी आउनुभयो । कफीशपमा बसेर दाइको पुस्तकबारे हामीले छलफल गर्‍यौं । फाइन प्रिन्टले नेपाली साहित्यको प्रकाशन तथा उत्थानमा ठूलो परिवर्तन ल्याएको छ । निरज भारी, अजित बरालजस्ता स्वप्नदर्शी युवा गुणस्तरीय पुस्तक प्रकाशनमा समर्पित हुनुहुन्थ्यो । त्यसैले हामीले उहाँहरूलाई प्रकाशनको जिम्मा दिने निर्णय गर्‍यौं ।

पुस्तकको प्रबद्र्धन र रोयल्टी आदिबारे हामी दुई सहमतिमा आयौं । पुस्तक फाइनप्रिन्टले छाप्ने भयो । त्यो बेला निरजजीले मलाई सोध्नुभएको थियो, ‘दाइ, यो किताब कति जाला ?’ मैले भनेको थिएँ, ‘पहिलो संस्करण ५० हजारप्रति छाप्नुहोला ।’ उहाँको भाव अपत्यारिलो थियो ।

पुस्तक प्रकाशन सम्झौताको कार्यक्रम २०६९ चैत्र ८ गते झम्सिखेलको मोक्षमा भएको थियो । त्यहाँ हरिवंश दाइ, म र निरज भारीले पुस्तक प्रकाशनबारे बोलेका थियौं । मदनकृष्ण दाइ भाउजुको उपचारको लागि बाहिर जानुभएको थियो । चिना हराएको मान्छे मिरा भाउजुको दोस्रो पुण्यतिथिका अवसरमा विक्रम संवत् २०७० वैशाख १६ गते सार्वजनिक गरिएको हो ।

कार्यक्रममा हरिवंश दाइ, म, अमर न्यौपाने र निरज भारी बोलेका थियौं । पुस्तक विमोचन कार्यक्रम निकै भव्य थियो । चिना हराएको मान्छे बजारमा आएपछि पुस्तक किन्ने लहर चल्यो । फाइन प्रिन्टले रिप्रिन्ट धेरै पटक गर्नुपर्‍यो । गाउँगाउँबाट पुस्तकको माग भयो, विदेशमा बस्नुहुने अधिकांश नेपालीले पुस्तक मगाउनुभयो । अक्षर नचिनेका बाआमाहरूले पनि नातिनातिनीलाई वाचन गर्न लगाएर सुन्नुभयो । मलाई लाग्छ, चिना हराएको मान्छे लाखौंलाखले पढ्नुभयो । कोहीले किनेर, कोहीले पालो गरेर ।

बिक्री र प्रतिक्रियाबाट चिना हराएको मान्छे निकै चर्चित भयो । हरेक सिक्काको २ वटा पाटो हुन्छ नै । केही स्वनामधन्य व्यक्तिले भाषण, अन्तर्वार्ता तथा लेखमा चिना हराएको मान्छे हरिवंश आचार्यले लेखेको हैन, त्यो घोस्ट राइटिङ हो भनेर बोले र लेखे । त्यो सुन्दा मेरो चित्त एकदम दुख्यो । त्यो पुस्तकका हरेक वाक्य, हरेक प्याराग्राफ हरिवंश दाइले लेख्दै र टाइप गर्दै र मलाई पठाउँदै गर्नुभएको माथि नै उल्लेख गरें । तथ्य नै नबुझि यस्तो आरोप लगाउँदा हरिवंश दाइ पनि एकदम दुखित हुनुभयो । अहिले पनि हामीसँग उहाँले लेखेका पानाहरू, गणेशजीले टाइप गरेका पदचापहरू जस्ताको तस्तै सुरक्षित छन् ।

हरिवंश दाइले २०३४ सालदेखि नै लेख्न थाल्नुभएको हो । लगातार ४ वर्षसम्म गाईजात्रामा उहाँले लेखेर प्रदर्शन गर्नुभएको प्रस्तुतिले स्वर्ण पदक जितेको थियो । हरेक नाटक, प्रहसन, टेलिफिल्म, फिल्म आदिलाई पहिले लेख्नुपर्छ । कथाको रूपमा लेखेपछि त्यसमा पटकथा तथा संवाद राख्नुपर्छ । सबैपक्ष मिलेपछि एउटा कथा वा विषय बन्छ अनि मात्र अभिनय गरिन्छ । यसर्थ लेखन उहाँको ४ दशक लामो अभ्यास हो ।

आदरणीय मदनकृष्ण श्रेष्ठ दाइसँग बैन्केश्वर, यमलोक, प्यारालाइसिस, अंशबण्डा, ऐना, रद्दी टोकरी, होस्टे हैंसे, कक फाइट, लन्डन एयरपोर्ट, गाउँ खाने कथा, शपथ ग्रहण, वडा नम्बर ३४, गाउँ खाने कथा २, काउकुती, शालिक, नेपाल बन्द, गीतैगीत, विज्ञापन, नेवारबहादुर बाहुनबहादुर, म डनको स्टुडियो, धुम्रकेतु, रङ नम्बर लगायतका नाटक तथा प्रहसन लेखेर नै अभिनय गरिएको थियो । 

टेलिफिल्म ५०/५०, १५ गते, दशैं, चिरन्जीवी, सम्पत्ति, सुर बेसुर, लालपुर्जा, ओहो, वनपाले, रात, घाँस काट्ने खुर्केर, भकुण्डे भूत, कान्तिपुर, ३५ भागको आमा तथा ५२ भागको मदनबहादुर हरिबहादुर लगायतका टेलिफिल्म पहिले आख्यानको रूपमा लेखेर अभिनय गरिएका हुन् । त्योबाहेक फिलिम, के घर के डर, तँ त साह्रै बिग्रिस् बद्रि, जे भो राम्रै भो, सत्रुगते, दालभात तरकारी लगायतका चलचित्रहरू सिंगो उपन्यास तयार गरेर बनाइएको थियो ।

साझा बसमा, चन्चले चन्चले, हाम्री आमा साह्रै नै बाठी छन्, बुढो हुन मन छैन लगायतका लोकप्रिय गीत पनि मौलिक सिर्जना हुन् । दशकौंदेखि पत्रपत्रिका आदिमा लेखिएका सयौं लेख, व्यंग्य, नाटक, कविता, कथा पनि साहित्य लेखनका निरन्तरता हुन् ।

त्यो बेलाको स्मरण गर्दै हरिवंश दाइले समाचारपत्रमा दिनुभएको पुरानो अन्तर्वार्ताको यो अंश – म बिहान ६ बजेदेखि कलम र कापी लिएर लेख्न बस्थे । मीराले कालो चिया, ब्लडप्रेसरको ओखती, हट लेमन, नास्ता र बेलाबेलामा ग्रीन टी ल्याइदिन्थिन् । म कहिले बसेर, कहिले घोप्टो परेर, कहिले ओछ्यानमा पल्टेर लेखिरहन्थे । कहिले कुरा नआएर उतानो परेर छट्पटाउँदै रन्थनिन्थे । कहिले एकैपल्ट धेरै कुरा आएर आतिन्थे । बिहानको खाना, दिउँसोको खाजा खाएपछि बिहान गर्नुपर्ने वाक नगरी साँझ ४–५ बजे इभिनिङ वाकमा निस्कन्थे । ती सबै अब सम्झना मात्र भए । आँखा टिलपिलाउने याद मात्र भए ।

धेरैवर्ष पहिले महजोडीले लेख्नुभएको महसन साझा प्रकाशनबाट प्रकाशित भएको थियो । हरिवंश दाइले यसपछि हरिबहादुर (उपन्यास), गोल्ड मेडल (बाल उपन्यास) तथा जुरे (बालकथा पुस्तक) प्रकाशन गर्नुभएको छ । विगत केही दशकदेखि हरिवंश दाइका रचनाहरू विभिन्न पत्रिकामा प्रकाशित भइरहेका छन् । भाउजु रमिला पाठक, त्रिलोक भाइ, मोहित भाइ तथा मुकुन्द अधिकारी दाइ पनि दाइको लेखनका प्रारम्भिक पाठक हुनहुन्छ ।

चिना हराएको मान्छेपछि प्रकाशित भएको उपन्यास हरिबहादुर पाठकसामु लोकप्रिय रह्यो । बाल उपन्यास गोल्ड मेडल तथा बाल कथा संग्रह जुरे पनि लोकप्रिय रहेका छन् । यो बन्दाबन्दीको समयमा आदरणीय रमिला भाउजुको प्रोत्साहन तथा व्यवस्थापनको कारण हरिवंश दाइले एउटा पुस्तक बनाउन पुग्ने संस्मरण तथा व्यंग्य लेख्नुभएको छ । तीमध्ये केही मैले पढ्ने अवसर पाएको छु ।
 
सिर्जनाको यति लामो बाटोमा अनवरत हिँड्नुभएका हरिवंश आचार्य दाइको आत्मकथा चिना हराएको मान्छे ‘घोस्ट राइटर’ अर्थात ‘प्रेत लेखक’बाट लेखाइएको भन्नु ठूलो अन्याय हो । साहित्य, संगीत र कला इतरको व्यक्तिले एक्कासी पुस्तक बजारमा ल्याउँदा त विना प्रमाण यस्तो भन्न मिल्दैन भने कला, साहित्य र संगीतका तपस्वी हरिवंश दाइलाई शतप्रतिशत झूटो आरोप लगाउँदा धेरैपटक दाइको मन दुखेको मैले अनुभूत गरेको छु । जब घोस्ट राइटिङको कुरा आउँछ, कुनै पात्रसँग जोडेर चिना हराएको मान्छेबारे लेख्नु अल्पज्ञान एवं गलत नियत हो भनेर बुझ्न सकिन्छ ।

विश्वमै उद्योगपति, व्यवसायी तथा राजनीतिज्ञका जीवनयात्रा घोस्ट राइटरबाट लेखाउने प्रचलन छ । लेख्ने बानी नभएका तथा फुर्सद नभएका व्यक्तिले आफ्ना कुरा भन्ने अनि अर्को व्यक्तिले लेख्ने चलन पनि छ । यस्ता किताब लेखिदिने प्रेत लेखक धेरै छन्, शक्ति र आडमा रहेका व्यक्तिको नामबाट फाइदाको लागि पुस्तक लेखिदिने प्रेत लेखन पञ्चायत कालदेखि नै मौलाएको छ साथै आफ्नो पुस्तक बिक्री नभएको कुण्ठा बोकेका व्यक्तिहरू पनि छन् । तर विगत ४ दशकदेखि निरन्तर लेखिरहेको सर्जकलाई अर्कैले लेखिदिएको भन्नु सरासर गैरजिम्मेवारी कुरा हो ।

आफ्नो सन्तानलाई यो अर्कैको सन्तान हो भनेर आरोप लगाउँदा जो कोहीको पनि मन दुख्छ । यस्तो प्रदुषित मानसिकताका समिक्षक वा टिप्पणीकारबाट मौलिक लेखन, अध्ययन, अनुसन्धान तथा सिर्जनशीलताको अपेक्षा गर्न सकिँदैन ।

भाषा सम्पादन संसारमा चलेको विषय हो । लेखकको निजत्वलाई नछोइकन शुद्धाशुद्धि तथा वाक्य गठन मिलाउनु प्रकाशकको धर्म हो । विश्व प्रसिद्ध लेखकहरूले पनि भाषा सम्पादन गराउने प्रचलन छ । चिना हराएको मान्छेको शब्द, वाक्य आदि हेर्ने हो भने जो कोहीलाई पनि लाग्छ, यी सबै हरिवंश स्टाइलका वाक्य हुन् । सरल, जनजिब्रोमा भिजेका तथा पुराना प्रहसन र नाटक र टेलिचलचित्र र चलचित्र आदिमा प्रयोग भएका शब्द नै चिना हराएको मान्छेका बुनोट हुन् । 

चिना हराएको मान्छे अरुले लेखिदिएको किताब हो भन्ने व्यक्तिले या त पुस्तक पढेको छैन वा स्टन्टको लागि हल्काफुल्का लेखिटोपल्ने गर्दछ । चिना हराएको मान्छेमा हरिवंश दाइले लेख्नुभएका हरेक अक्षरको पाण्डुलिपि भविष्यको लागि संग्रहालयमा रहनेछ ।

डा. रवीन्द्र समीर
डा. रवीन्द्र समीर

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्