दुई प्रहरी अधिकृतलाई अन्तर्राष्ट्रिय अवार्ड दिलाउने त्यो अनुसन्धान, केवाईसीको क्लु पछ्याउँदा ...

गगन अर्याल
गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रहरी निरीक्षक (इन्सपेक्टर) सुदर्शन पन्थी र प्रहरी नायब निरीक्षक (सई) वीरेन्द्रसिंह जोहरी केही दिनअघि अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भए ।

वन्यजन्तुका अंग अर्थात् आखेटोपहारका कुख्यात तस्कर कुञ्जोक लामालाई पक्राउ गर्न सफल भएकोमा संयुक्त राष्ट्र संघ वातावारण कार्यक्रमले उनीहरूलाई पाचौं एशिया पर्यावरण प्रवर्तन पुरस्कार प्रदान गरेको हो ।


Advertisement

‘अन्तर्राष्ट्रिय स्तरको अवार्ड पाउँदा निकै खुशी भएका छौं । अरू देशको तुलनामा सीमित स्रोत साधनका बावजुद हामी उत्कृष्ट भएका छौं,’ सीआईबीका प्रहरी निरीक्षक सुर्दशन पन्थीले खुशी व्यक्त गरे ।

उनले थपे, ‘हामीले केवल नामका आधारमा अपराधीलाई पक्राउ गरेका थियौं । छद्मभेषी कुञ्जोक लामा नामको व्यक्ति खोजी गर्न हामीलाई धेरै समय लाग्यो,’ सीआईबी सई वीरेन्द्रसिंह जोहरीले भने, ‘धेरै खुशी छु । पहिलोपटक अन्तर्राष्ट्रिय अवार्ड पाउँदा र संगठनको शिर उँचो बनाउन पाउँदा गर्व लागेको छ ।’


Advertisement

२०५८ असार १ मा असईबाट प्रहरी सेवामा प्रवेश गरेका वीरेन्द्र र २०७२ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट सेवा प्रवेश गरेका दुवै जना सीआईबीको वन्यजन्तु अपराध शाखामा कार्यरत छन् । 

प्रहरीका लागि अपराधी पक्रिनु दैनन्दिन काम हो । तर, यो केश किन विशेष रह्यो र प्रहरीहरूले अन्तर्राष्ट्रिय अवार्ड नै प्राप्त गरे, त्यो जान्न घटनाको पृष्ठभूमिमा प्रवेश गर्नुपर्ने हुन्छ ।

बैंकको केवाईसीले दिएको त्यो क्लु ...

आखेटोपहार तस्करीमा सबै ठूलो तस्करका रूपमा २०६२ सालमा एउटा नाम सार्वजनिक भयो– ‘कुञ्जोक लामा’ ।

नाम सार्वजनिक भयो, तर अरू कुनै जानकारी उपलब्ध थिएन ।

त्यो नाम वास्तविक हो कि होइन ? हो भने को हो कुञ्जोक ? कहाँ बस्छ ? हुलिया कस्तो छ ? जानकारी शून्य ।

प्रहरीसँग थियो त त्यही एउटा नाम ।

विभिन्न प्रश्नहरूको जवाफ खोज्दै कुञ्जोकलाई पक्राउ गर्नुपर्ने थियो ।

‘त्यो नामको मान्छे खोज्नका लागि हामीलाई १६ वर्ष नै लाग्यो,’ प्रहरी निरीक्षक सुर्दशन पन्थीले लोकान्तरसँग भने, ‘हामी यति के कुरामा ढुक्क थियौं भने पक्कै पनि बोलाउने नाम र नागरिकताको नाम फरक हुनुपर्छ । हामी अनुसन्धानका लागि कागज भिडाउनेदेखि उक्त व्यक्तिको नाम कतै सुनिन्छ कि भनेर खोजी गर्न लाग्यौं ।’

अनुसन्धानका क्रममा उसको वास्तविक नाम खुल्यो– कुञ्जोक छिरिङ तामाङ । प्रहरीले कुञ्जोक लामा भनेर खोजिरहेका व्यक्ति कुञ्जोक छिरिङ तामाङ रहेछन् ।

प्रहरीले जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग र बैंक तथा वित्तीय संस्थाबाट ती व्यक्तिबारे थप जानकारी लिन प्रयास गर्‍यो ।

खोज्दै जाँदा बैंकमा नाम त भेटियो, तर विवरण र तस्वीर एकदमै पुरानो थियो ।

‘बैंकमा नाम त थियो तर पुरानो फोटो भएकाले नयाँ अनुहार कस्तो छ भन्ने पत्ता लगाउन मुस्किल थियो,’ पन्थीले भने, ‘हामीले केवाईसी अपडेट हुँदासम्म कुर्‍यौं, त्यसपछि बल्ल मान्छे कन्फर्म गरेका थियौं ।’

नाम र तस्वीर पुष्टि भएपछि प्रहरी कुञ्जोकबारे थप जानकारी संकलनमा केन्द्रित भयो । अनुसन्धानका क्रममा खुल्यो– उनी काठमाडौंको बौद्धमा बस्ने रहेछन् । 

प्रहरीले शंकास्पद् व्यक्ति पहिचान गरी पिछा गर्न थाल्यो ।

त्यसक्रममा सादा पोशाकमा खटिएका एक प्रहरीले उनलाई नाम सोधे– उताबाट जवाफ आयो– कुञ्जोक लामा ।

कुञ्जोक लामा उर्फ कुञ्जोक छिरिङ तामाङलाई प्रहरीले ठाउँको ठाउँ पक्राउ गर्‍यो ।

कुञ्जोकको मुद्दा लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यक्षेत्रमा पर्ने भएकाले उनलाई प्रहरीले निकुञ्जको जिम्मा लगायो ।

भारतमा १९९९ देखि खोजी

सन् १९९९ को अन्त्य र २००० को शुरूआतमा दुर्लभ वन्यजन्तुको छाला र अंगको अवैध शिकार, ओसारपसार र कारोवारमा संलग्न गिरोहविरुद्धको कारवाहीका क्रममा भारतको उत्तर प्रदेशमा भारतीय प्रहरीले ठूलो परिमाणमा आखेटोपहार बरामद गरेको थियो । त्यस प्रकरणमा दर्जनौं व्यक्ति पक्राउ परेका थिए । 

‘खागा’ र ‘गाजियाबाद सिजर’ नाम दिइएको त्यो अपरेसनमा पक्राउ परेका अधिकांश अभियुक्तले कुञ्जोक लामाको नाम दिएका थिए । पक्राउ परेका व्यक्तिको बयान अनुसार उनै नेपालीले भारतमा संकलित आखेटोपहार चीनको स्वशासित क्षेत्र तिब्बतसम्म पुर्‍याउने गरेको खुलेको थियो ।

त्यो बेलादेखि नै कुञ्जोक लामा नामको व्यक्ति वन्यजन्तु अपराधमा छ, भन्ने कुरा इन्टरपोल, भारतको सीबीआई, डब्लुसीबी र वन्यजन्तु वैज्ञानिक अनुसन्धानकर्ताबीच परिचित भइसकेको थियो । तर कुञ्जोकको वास्तविक पहिचान खुलेको थिएन ।

त्यसको १६ वर्षपछि अर्थात सन् २०१६ सम्म पनि कुञ्जोक लामा को हो भन्ने पत्ता लागेको थिएन । इन्टरपोलले यो व्यक्ति नेपालको हो भन्ने पत्ता लगायो र खोजीका लागि नेपाल प्रहरीसँग समन्वय गर्‍यो ।

‘भारतको सीआईबी, नेपालको सीआईबी र इन्टरपोल कुञ्जोक नाम गरेका व्यक्तिको खोजीमा थियो,’ जोहरीले लोकान्तरसँग भने, ‘नेपालको आखेटोपहारको मुद्दामा मात्र नभई विश्वमा वन्यजन्तु तस्करको माफियाको रूपमा खोजी भइरहेको थियो । इन्टरपोलको अनुसन्धानलाई मान्ने हो भने वन्यजन्तु तस्करीमा कुञ्जोकको कनेक्सन विश्वभर फैलिएको छ ।’ 

प्रहरीले दिएको जानकारी अनुसार कुञ्जोकविरुद्ध भारतमा ४ वटा मुद्दा छन् । उनलाई भारतले पनि धेरै पहिलादेखि खोजी गरिरहेको थियो, तर को हो भन्ने कुरा पत्ता लगाएको थिएन । 

प्रहरीले कुञ्जोकको घर, जग्गा, गाडी, मोटरसाइकल लगायतका विषयमा पनि अनुसन्धान गरेको थियो । कुञ्जोकले चलाएको फोन, फोनमा कुन–कुन नम्बर राख्यो अर्थात् उसले प्रयोग गरेका हरेक कुराको अनुसन्धान गरेर पक्राउ गरेको सई जोहरीले लोकान्तरलाई जानकारी दिए ।

‘उसले वन्यजन्तु तस्करीबाट कति पैसा कमायो भन्ने कुरा समेत प्रहरीले अनुसन्धान गरेको थियो, अहिले सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरिरहेको छ,’ सई जोहरीले भने । 

ब्यूरोका अनुसार उनले काठमाडौंको गुहेश्वरी फाइनान्सबाट २ करोड ऋण लिएको देखिन्छ । काठमाडौंको बौद्धमा ६५ रोपनी जग्गा र एउटा बैंक खातामा मात्रै १ अर्बभन्दा धेरै ट्रान्जिक्सन देखिन्छ । अन्य बैंकहरूमा पनि खाता छन् ।

कुञ्जोकको गिरोहका कतिपय अभियुक्तहरू अमेरिका बसाइ सरिसकेको पाइएको छ । उनीहरूलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको छ ।

ती व्यक्तिहरूले नेपालको दोस्रो नागरिकता बनाएर अमेरिका गएको प्रहरीले जनाएको छ । 

गिरोहका २ जना सदस्य चीन र तिब्बतमा बसेका छन् । ‘सनचाटन’ भन्ने ‘साइबर कोचिङ ग्रुप’का मानिसहरूसँग सिधा कनेक्सन पनि देखिएको प्रहरीले जनाएको छ ।

नेपालमा पनि तस्करी

१६ भदौ २०६२ मा रसुवाको साविक स्याफ्रु गाविस– ९ मा ५ थान बाघको छाला, ३६ थान चितुवाको छाला, २३८ थान ओतको छाला र ११३ केजी बाघको हड्डीसहित छवाङ भन्ने उटुक लामा तामाङ, कारसाङ भन्ने रिसाङ लामा, मिङमार लामा, बलराम श्रेष्ठ र थोप्तेन तामाङ गरी ५ जनालाई सेनाको दुर्गा बक्स गणले नियन्त्रणमा लिएको थियो । 

ना २ ख ९४९७ नम्बरको ट्रकमा अवैध सामग्री तिब्बततर्फ लैजाँदै गर्दा लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो।

पक्राउ परेकाहरूले बयानका क्रममा वन्यजन्तुका मुख्य कारोबारी कुञ्जोक लामा, नुटुप लामा र दान्डुप लामा भएको बयान निकुञ्जको अनुसन्धानका क्रममा उनीहरूले दिएका थिए ।

२० असार २०६९ मा लाङटाङ निकुञ्जले तीनैजना फरारको खोजतलासका लागि केन्द्रीय अनुसन्धान ब्यूरोलाई पत्राचार गरेको थियो ।

फेरि २८ पुस २०६९ मा काठमाडौंबाट रसुवातर्फ जाँदै गरेको बा २ ख ७५०४ नम्बरको गाडी नुवाकोटमा खानतलासी गर्दा प्रहरीले बाघको छाला पाँच थान र विभिन्न हड्डीहरू बरामद गरेको थियो । 

प्रहरीले अनुसन्धानका क्रममा तस्करीका ती सबै सामान लोडु डिमेको भएको पत्ता लगायो ।

प्रहरीले नुवाकोट घटनाको तेस्रो दिन बौद्धस्थित डिमेको घरमा छापा मार्‍यो ।

त्यसक्रममा ३९ लाख नेपाली रुपैयाँसहित भारतीय, चिनियाँ, अमेरिकी मुद्रा तथा मानव जस्तो देखिने हड्डीको खप्पर चार थान बरामद गरेको थियो । 

साथै विभिन्न जातका वन्यजन्तुका हड्डीका टुक्रा १० थान, वन्यजन्तुको छालाबाट बनेको लुगा १२ थान पनि प्रहरीले बरामद गरेको थियो । 

नुवाकोट प्रहरीले डिमे, उनकी श्रीमती डिकी, गाडी चालक नकुल तामाङ तथा सवारी धनी सुकबहादुर तामाङलाई प्रतिवादी बनाएर मुद्दा जिल्ला वन कार्यालय नुवाकोटमा बुझाएको थियो । 

डिमेले समेत प्रहरीसँगको बयानमा कुञ्जोकको नाम लिएका थिए ।

गगन अर्याल
गगन अर्याल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्