बैतडीको दशरथचन्द नगरपालिकामा चौथो संस्करणको मेयर र उपमेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।
मेयर कप क्रिकेट प्रतियोगिता फागुन १८ गतेदेखि सञ्चालन हुनेछ भने उपमेयर कप क्रिकेट प्रतियोगिता अगामी चैत १ गतेदेखि हुने जनाइएको छ ।
दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन हुने दुवै प्रतियोगितामा नगरका ११ वटै वडाको सहभागिता रहनेछ ।
प्रतियोगिताका सम्पूर्ण खेल सुन्दरखाली खेल मैदानमा सञ्चालन हुने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए ।
मेयर कप क्रिकेटको प्रथम पुरस्कार ७५ हजार र द्वितीय ५० हजार रुपैयाँ रहेको छ । उपमेयर क्रिकेटको विजेता टोलीले ४५ हजार र उपविजेताले ३० हजार पुरस्कार पाउने नगर क्रिकेट समितिले जनाएको छ ।
क्रिकेट विकासका लागि दशरथचन्द नगरपालिकाले क्रिकेट प्रतियोगितालाई नगरपालिकाको कार्यक्रममै समावेश गरेको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए ।
प्रतियोगिताले महिला तथा पुरुष खेलाडी उत्पादनमा सहयोग पुग्ने दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताइन् ।
रासस