भारत र चीनबीच लद्दाख सीमा विवाद अन्त्य हुन लागेको छ र दुवै पक्षका सैनिकहरू पांगोङ तालबाट पछि हटिरहेका छन् ।
भूउपग्रहका ताजा तस्वीरहरू हेर्दा चीनले पांगोङबाट हटाएका सैनिकलाई रुतोग इलाकामा लगेर राखेको देखिन्छ । त्यो ठाउँ पांगोङ तालको पूर्वपट्टि छ ।
उक्त इलाका निर्माणको काम सन् २०१९ देखि नै चलिरहेको थियो । अब यो बेसलाई चिनियाँ सेनाले ब्याकअपका रूपमा उपयोग गर्न सक्ने देखिन्छ ।
रुतोग पांगोङ तालबाट १०० किलोमिटर र मोल्डोबाट ११० किलोमिटर पर छ । मोल्डोमा भारत र चीनका सैनिकहरूले अनेकौंपटक कुराकानी गरिसकेका छन् ।
रुतोगमा चीनले राडार प्रणाली, जमीनबाट हावामा मार हान्ने क्षेप्यास्त्र, हेलिपोर्ट, ट्यांक लगायतका हातहतियार तैनाथ गरेको छ ।
चिनियाँ जनमुक्ति सेनाले त्यस क्षेत्रमा साना झुपडी जस्ता घर बनाएको छ र सैनिकहरूलाई राखेको छ । यो क्षेत्र नगारीसँग पनि जोडिन्छ । त्यहाँबाट नगारीसम्मका लागि हवाई र सडकमार्ग तयार छ । पांगोङ ताल नजिक हुने गतिविधिका लागि चीनले यसलाई उपयोग गर्न सक्नेछ ।
विज्ञहरूका अनुसार, चिनियाँ सेनाले वास्तविक नियन्त्रण रेखा नजिक केही सैनिक तैनाथ गरिरहने योजना बनाएको छ । भविष्यमा तिनको काम पर्ने आकलन उसले गरेको छ ।
भारतीय मेजर मानिक एम जोलीका अनुसार, चीनले केही समयमै ठूलो संख्यामा सैनिकहरू जम्मा पार्नका लागि तयारी गरिरहेको देखिन्छ । गत जुलाईमा गार बेस र नगारी एयरफील्डमा पनि चीनले यस्तै तयारी गरेको थियो । लद्दाख विवादलाई मद्देनजर गर्दा यी सबै फरवार्ड इलाका मानिन्छन् ।
एजेन्सी