आराधना नैतिकताको [कविता]

  • भैरव अर्याल 

ढुंगा मुढामा जडता घोटी, बुटा गुफामा पशुता पोखी 
प्रिय, म तिमीलाई भेट्न हिँडेको सँगमा एउटा हिमाल बोकी 
सम्झन्छ्यौ तिमी ? यो त्यो हिमालय–जहाँ प्रतिबिम्बित छ मेरो अन्तर 
पक्का छ मलाई यो त्यो हिमालय–जहाँ प्रतिध्वनित छ तिम्रो स्वर । 


Advertisement

तिम्रै स्वरमा सुसेली मैले समाजको गरें शिलान्यास 
यै छेउछाउमा फुलाउन चाहें मानवताको लालीगुराँस
सिर्जनाको एउटा रथी म सारथी तिमीलाई रोज्दै आएँ 
यो हिमालयको किरणपुञ्जमा तिमीलाई मैले खोज्दै आएँ । 

तर म डाँफे भै छुनछुन खोज्छु तिमी भैदिन्थ्यौ यतिका डाम
पस्छ चिसो अनि काँतर मनमा मानुँ हिमालयले छेक्दछ घाम
तर हिमाल केवल शीत–रास होइन, यसको महत्त्व सङ्ल्याइमा छ 
हिमाल कसैको पर्खाल होइन, यसको मूल्य त अग्ल्याइमा छ । 


Advertisement

तिम्रो मेरो परिचय यहीँ भो परिणय–वेदी यहीँ नै बन्छ 
यै हिमालयमा तिम्रो मेरो भन्न नसकिने साइनो पर्छ 
तर मेरा भूलहरू दोहोरिइरहन्छन् तिम्रो अन्तध्र्वनि नबुझेर 
तिमी पर–पर तर्किरहन्छ्यौ मेरो अहंमा लट्पटिएर ।

के तिमी पुतली बल अनि छलको नामर्दीकी मृगतृष्णा ? 
यही शंकामा ढुन्मुनिँदैमा पछारिन्छ यो मुटु हिरोशिमामा 
भैगो, अब सब व्यतीत भूलहरू बिर्सी अलिकति पलक उघार 
सती–वियोगी म महादेवलाई पार्वती भै पुनः देऊ सुसार । 

यो विषालु अणुको ग्यासमा निसास्एिको मेरो आँतमा 
लौन चालऊ हिमको सिरसिर ग्रह–ग्रह चल्छु म तिम्रो साथमा 
तिम्रै अनुराग पराग बनेमा हिमको चहकमा महक म भर्छु 
तिम्रो मेरो एकाकारमा नूतन जगतको सिर्जना गर्छु । 


(२०२२ सालमा प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको प्रथम कविता महोत्सवमा पहिलो भएको भैरव अर्यालको कविता) 
सौजन्य: निर्मल अर्याल (पत्रकार/लेखक तथा भैरव अर्यालका भतिजा)

कमेन्ट गर्नुहोस्