नेपाली खेलकुदको दुर्भाग्य– विदेशमा खेल हुँदा मेडिकल टीम बाइपास गरी घुम्न जाने रमितेको लर्को

विश्वास खनाल
विश्वास खनाल

खनाल लोकान्तरका मल्टिमिडिया संवाददाता हुन् ।

नेपाली राष्ट्रिय फूटबल टीमका पूर्व फिजियोथेरापिस्ट सुरज भुसाल 'अर्थोप्लास्ट स्पोर्ट्स रिह्याब सेन्टर'का मेडिकल निर्देशक हुन् ।


Advertisement

खेलका क्रममा घाइते हुने खेलाडीहरू शल्यक्रियापश्चात विदेशमा  नै महिनौंसम्म रिह्यब सेन्टरमा बसेर फिजियोथेरापी गराउनुपर्ने बाध्यता रहेको अवस्थामा उनले नेपालमै पनि त्यो सुविधा उपलब्ध गराउँदै आएका छन् ।


Advertisement

राज्यको थोरैमात्र ध्यान गएमा विदेशकै जत्तिको सुविधासम्पन्न नभएपनि विदेश जानै नपर्ने खालको फिजियोथेरापी सेन्टर नेपालमै बनाउन सकिने अवधारणा उनको छ ।

भुसालका अनुसार राष्ट्रिय भलिबल टीमकी खेलाडी प्रतिभा माली घाइते हुँदा उनैले फिजियोथेरापी गराएका थिए ।


Advertisement

नेपालमा खेलाडीहरूको स्वास्थ्यका विषयमा सम्बन्धित निकायको उचित ध्यान नगएको बताउने उनले ओलम्पिक खेलका लागि जापान गएको नेपाली टोलीमा मेडिकल टीमको एक जना पनि सदस्य नपरेकोमा आश्चर्य व्यक्त गरे ।

जबकि ५ जना खेलाडी सहभागी हुने खेलका लागि सांसद, नेता र कर्मचारी गरी १६ जना अफिसियल जापान भ्रमणमा गएका थिए ।

हामीले खेलाडीबाट पदकको आशा गर्ने तर खेलाडीको स्वास्थ्यका सम्बन्धमा सम्बन्धित निकायले थोरै पनि ध्यान नदिने गरेको कुराको यो गतिलो उदाहरण हो ।

हरेक खेल र हरेक प्रतियोगितामा फिजियोथेरापिस्टको व्यवस्था हुनुपर्ने नीतिगत व्यवस्थाका लागि समेत पैरवी गरिरहेका भुसालसँग लोकान्तरकर्मी विश्वास खनालले कुराकानी गरेका छन् ।

प्रस्तुत छ, कुराकानीको सम्पादित अंश उनकै शब्दमा :

फिजियोथेरापी मेडिकल साइन्सको एउटा अत्यन्त महत्त्वपूर्ण विधा हो, जसमा विना औषधि विद्युतीय उपकरणको माध्यमबाट र व्यायामको माध्यमबाट विभिन्न हाडजोर्नी, नशा तथा अन्य रोगलाई निको पार्ने काम गरिन्छ ।

यसको महत्त्वपूर्ण भूमिका देशमा मात्र नभएर विदेशमा पनि रहेको छ । त्यसैले अहिले जनमानसमा पनि यसको व्यापक प्रभाव रहेको छ ।

जब म सन् २०१३ मा भारतबाट मास्टर डिग्री पास गरेर नेपाल आएँ, त्यसलगत्तै नेपालको राष्ट्रिय फूटबल टीममा मैले फिजियोथेरापिस्टको भूमिका निर्वाह गर्ने मौका पाएँ । त्यसका लागि म अखिल नेपाल फूटबल संघलाई विशेष धन्यवाद दिन चाहन्छु ।

त्यसरी मैले आफ्नो कामको शुरूआत गरेर चार वर्षे कार्यकाल सकाएँ । विगत दुई वर्षदेखि नेपालकै पहिलो खेलकुद पुन:स्थापना केन्द्र शुरू गरेर त्यसैमा क्रियाशील छु । आमखेलाडी र साथी सर्कललाई खेलकुद जगतमा फिजियोथेरापीको अहम् भूमिका रहेको कुरा बुझाउनका लागि पुन:स्थापना केन्द्र शुरू गरेको हुँ। यसमा अझ सजिलोका लागि ब्रान्ड एम्बास्डर राष्ट्रिय फूटबल टीमका कप्तान किरण चेम्जोङलाई बनाएको छु ।

फिजियोथेरापी खेलकुदको अभिन्न अंग हो, चाहे त्यो व्यक्तिगत खेल होस् या समूहगत खेल । उदाहरणका लागि चाहे शूटिङको खेलाडी होस् वा स्विमिङको खेलाडी, जसलाई पनि फिजियोथेरापिस्टको आवश्यकता पर्न सक्छ । एउटा खेलाडीको खेलजीवनलाई लम्ब्याउनका लागि पनि फिजियोथेरापिस्टको आवश्यकता पर्छ, तर नेपालमा वर्तमान समयमा ग्रुप खेलमा मात्र फिजियोथेरापिस्ट राखिएको पाइन्छ ।

मेरो बुझाइमा भन्ने हो भने अहिले नेपालमा फूटबल र अर्को क्रिकेटमा मात्र फिजियोथेरापिस्ट राखिएको छ । तर मैले भलिबलका लागि ताकेता गर्दागर्दा एकजना फिजियोथेरापिस्ट राखिएको छ तर विडम्बना कोरोनाका कारण त्यो खेल नै हुन पाएन । प्रतिभा माली घाइते हुँदा मेरै पुन:स्थापना केन्द्रबाट ठीक भएर जानुभयो । अहिले खेल जीवनमा फर्कन सफल हुनुभयो । यसले पनि उहाँहरूलाई फिजियोथेरापिस्ट राख्नुपर्छ भन्ने भान भएर आफ्नो टीममा कुरा राख्नुभयो ।

आजको दिनमा मेरो चाहना भनेको नेपालको हरेक खेलकूद कार्यक्रममा फिजियोथेरापिस्ट हुनुपर्छ, चाहे त्यो व्यक्तिगत खेल होस् या समूहगत खेल । यो सन्देश म दिन चाहन्छु, चाहे त्यसका लागि अझै दश/पन्ध्र वर्ष नै किन नलागोस्, म यसका लागि स्वत:स्फुर्त प्रयास गरिरहनेछु । मेरो जीवनकालमा कम्तिमा पनि बीस-तीसवटा खेलमा फिजियोथेरापिस्ट पनि राखियोस् भन्ने चाहना छ ।

मैले फूटबलमा फिजियोथेरापिस्ट भएर चार वर्ष काम गर्दैगर्दा नेपालमा एउटा पनि पुन:स्थापना केन्द्र नभएको पाएँ । यो खेलाडीका लागि अत्यावश्यक कुरा हो ।

म एन्फाका अग्रजहरूलाई के आग्रह गर्न चाहन्छु भने खेलाडीका लागि एउटा खेलकुद पुन:स्थापना केन्द्रको अति आवश्यकता छ । यसले एउटा खेलाडीको खेलजीवन लम्ब्याउन मद्दत मिल्नेछ भने घाइते हुनबाट बच्न के गर्नुपर्छ भन्ने कुरा पनि सिकाउँछ । खेलाडी घाइते भएर खेल जीवनबाट नै सन्यास लिन बाध्य हुनुपर्ने बाध्यतालाई यसले केही हदसम्म भएपनि कम गर्छ भन्ने विश्वास मैले लिएको छु ।

अहिले पनि हाम्रा खेलाडीहरू घाइते हुँदा कतार गएर अप्रेसन गराएर उतै आठ/दश महिना पुन:स्थापना केन्द्रमा बसेर आउनुपर्ने बाध्यता रहेको छ । कतारकै लेभलको नभए पनि एउटा राम्रो पुन:स्थापना केन्द्रको अति आवश्यकता रहेको छ ।

अहिले भइरहेको ओलम्पिक खेलका लागि छिमेकी राष्ट्र भारतबाट एक सय सन्ताउन्न खेलाडी भाग लिन जाँदा करीब पचासदेखि साठी जना मेडिकल स्टाफ गएका छन् ।

तर दुर्भाग्यवश भन्नुपर्छ, हाम्रो देशबाट ओलम्पिकका लागि ५ जना मात्र खेलाडी भाग लिन जाँदा १६ जना त अफिसियल नै गए । मेडिकल टीमका एकजना पनि गएनन् । यस्तो हुनुहुँदैन ।

मेडिकल टीम नलाग्दाको घाटा के हो त्यो बुझ्न जरुरी छ । खेलाडीमा पनि यसको ठूलो असर परिरहेको हुन्छ । उनीहरूमा मानसिकदेखि शारीरिक दुईवटै असर परिरहेको हुन्छ, त्यतातिर ध्यान दिन जरुरी छ ।

कोरोनाअगाडि मात्रै हाम्रो देशमा साग भयो । त्यसको हरेक प्रतियोगितामा उनञ्चालिस फिजियोथेरापिस्ट थिए । सागमा नेपाल नै आयोजक राष्ट्र थियो । त्यत्रो कार्यक्रम सञ्चालन गरेका पदाधिकारीले अहिले ओलम्पिकमा चाहिँ  फिजियोथेरापिस्टको भूमिका छैन भन्ने त बुझेनन् होला ! आफ्नो राष्ट्रमा हुँदा फिजियोथेरापिस्ट चाहिने तर अरू देशमा चाहिँ आफैँले लोभ गरेर आफैँ भ्रमणमा जाने संस्कृतिले यो ओलम्पिकमा मेडिकल टीम नलगेको हुनुपर्छ ।

२०१३ को साफ च्याम्पियनशिप जब नेपालमा भएको थियो त्यसबेला नेपाल र पाकिस्तानबीच खेल हुँदा अनिल गुरुङ घाइते भए । मैले नै अनिल गुरुङलाई फिजियोथेरापी सेवा दिएर निको पारें । उनी भोलिपल्ट नै नेपाल-भारत बीचको खेलका लागि तयार भए । गोल गर्न पनि सफल भए । त्यो खेलमा २ - १ को अन्तरले विजयी नेपाल २० वर्षको अन्तरालमा भारतलाई हराउन सफल भएको थियो ।

यसरी खेलाडीलाई र प्रत्येक खेलमा फिजियोथेरापिस्टको अत्यन्त महत्त्वपूर्ण भूमिका रहेको छ । यदि खेलकुद जगतमा कुनै पनि खेलकुद संघले मबाट फिजियोथेरापिस्टको सेवा चाहन्छ भने म राष्ट्रका लागि न्युनतमभन्दा न्युनतम ज्यालामा हरेक प्रतियोगिताका लागि सेवा गर्न तयार छु । फिजियोथेरापिस्ट पठाउन तयार छु । तर उहाँहरूले फिजियोथेरापिस्टको भूमिकालाई बुझिदिनुपर्‍यो । मेरो भनाइ यत्ति हो ।

नेपालमा एउटा खेलकुद पुन:स्थापना केन्द्रको कम्प्लेक्स नै हुनु जरूरी छ । अहिले कोलोनीहरू जसरी विकास भैरहेको छ, त्यस्तै एउटा खेलकुद पुन:स्थापना केन्द्रको कोलोनी होस् । एकजना खेलाडी घाइते भैसकेपछि धेरै ठाउँमा भौँतारिन नपरोस् । त्यहाँ भित्र छिरेपछि ढुक्क साथ बस्न सकोस् र निको भएर मात्र फर्कियोस् ।

यस्तो किसिमको खेलकुद पुन:स्थापना केन्द्रको परिकल्पना मैले गरेको छु । राखेपमा अहिले सानो फिजियोथेरापिस्ट विभाग चाहिँ छ, तर त्यतिले मात्र पुग्दैन । त्यसका लागि एउटा ठूलो खेलकुद पुन:स्थापना केन्द्रको आवश्यकता परिसकेको छ । त्यसका लागि यदि सरकारले या संघले जोसुकैले मलाई काम गर्ने जिम्मा दिँदै दश रोपनी जग्गा र ५ करोड बजेट उपलब्ध गराउँछ र एउटा टीम दिन्छ भने म मेरो परिकल्पनाअनुसार खेलाडीका लागि एउटा खेलकुद पुन:स्थापना केन्द्र कम्प्लेक्स तयार गर्न सक्छु ।

हेर्नुहोस्, भिडियो :

विश्वास खनाल
विश्वास खनाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्