जिउन सिकाउने ‘मत्स्य पुराण’

कमल रिजाल
कमल रिजाल

लोकान्तरका नियमित स्तम्भकार कमल रिजाल धार्मिक संस्कार र समसामयिक विषयमा कलम चलाउँछन् ।

पौराणिक गन्थहरू ५४ वटा छन्, जसमा १८ महापुराण, १८ उपपुुराण र १८ औपपुराण पर्छन् । कतिले १८ वटा उपौपपुराणको समेत कुरा गरेका छन् । यसलार्ई समेत जोड्दा कूल संख्या ७२ वटा हुनपुग्छ ।


Advertisement

तिनै १८ महापुराणमा मत्स्य महापुराण पनि पर्छ । १८ महापुराणमा यस पुराणको स्थान सोह्रौंमा पर्छ । यसपछि आउने महापुराणहरू भनेका गरुड र ब्रह्माण्ड महापुराण हुन्, जुन क्रमशः सत्रौं र अठारौंमा पर्छन् ।


Advertisement

महापुराणहरू पुराण पुरुषोत्तम भगवान् विष्णुका अंगविग्रह मानिएका छन् । यस अनुसार मत्स्य महापुराणलाई उनको दाहिने कोखा मानिएको छ ।

महापुराणहरू सात्विक, राजसिक र तामसिक गरी ३ किसिमका छन् । यिनमा मत्स्य महापुराण सात्विक प्रकृतिको पुराण हो, जुन वैष्णव पुराणमा पर्छ । विषयवस्तुको प्राधान्य भगवान् विष्णुसित सम्बन्धित भएकाले वैष्णव पुराण भनिएको हो । विष्णुका अनन्त अवतार छन् । यिनमा १० अवतार मुख्य मानिएका छन् । तिनमा मत्स्य अवतार पहिलो अवतार हो । यिनै मत्स्य अवतारसित सम्बन्धित भएकाले यस पुराणलाई मत्स्य महापुराण भनिएको हो ।


Advertisement

वर्तमान मन्वन्तरको शुरूमा भगवान् विष्णुले मत्स्य अवतार लिएर वैवस्वत मनु र सप्तऋषिलाई जुन ज्ञान दिएका थिए, तिनै ज्ञान नै यस पुराणका विषयवस्तु हुन् । 

यस महापुराणका प्रथम वक्ता मत्स्य नारायण र श्रोता मनु तथा सप्तऋषि भए पनि यसले लोकमा प्रचलित हुने अवसर भने नैमिषारण्यवासी ऋषिहरूका सभाबाट भएको हो, जहाँ सूतजीले शौनकादि मुनिहरूलाई यसको व्याख्यान गरेका थिए । 

यस अर्थमा दोस्रो वक्ता सूतजी र दोस्रो श्रोता शौनकादि मुनिहरू रहेका देखिन्छन् । उनीहरूका बीचमा भएको संवादकै कारण यसले लोकमा प्रचलित हुने अवसर प्राप्त गरेको हो । 

यद्यपि लोकमा यस पुराणको खासै पाठ तथा पारायण हुने गरेको पाइन्न । यसको अर्थ महत्त्व कम भएर होइन, महत्त्वका दृष्टिले सबै पुराण उत्तिकै उम्दा छन् । चलन चल्तीमा बढी नआएकाले ओझेलमा परेको भने पक्कै हो ।

खासगरी हाम्रो यहाँ राजनीतिक पण्डितहरूमा जस्तै धार्मिक पण्डितहरूमा पनि भारतीय पण्डितहरूको बढी प्रभाव परेको छ । उताकाले जे गर्छन्, यताकाले त्यस्तै गर्छन्, उताकाले जे भन्छन्, यताकाले त्यस्तै भन्छन् । 

थाहा छैन भारतीय पण्डितहरूले यसप्रति किन बढी चासो दिएनन् । सायद आफ्ना भौतिक र प्राकृतिक सम्पदाहरूको उल्लेख नभएकाले वा अपेक्षाकृत कम भएकाले हुनुपर्छ । जुन–जुन पुराणमा उनीहरू सम्बन्धित सम्पदाहरू बढी उल्लेख भएका छन्, तिनका चर्चा गरेकै छन्, भएकै छन् तर विषयवस्तुको गाम्भीर्य बुझ्दै नबुझी वा बुझ्ने प्रयास नै नगरी यताका पण्डित पुरोहितहरू उतैको स्याल हुइँयामा लागेकाले यस्तो अवस्था आएको हो । ‘जे–जे बाहुन बाजे त्यही–त्यही स्वाहा’ भन्ने प्रवृत्ति देखिएकाले पण्डित पुरोहितको प्रभाव यजमानहरूमा पनि पर्ने भयो । गुरु पुरोहितले जे भने यजमानहरूले त्यही गरे । फलतः मत्स्य पुराण लगायत अन्य यस्तै कयौैं पुराण जनमानसको चासोको विषय बनेनन्, बन्न सकेनन् । 

पौराणिक ग्रन्थहरूमा उल्लेख भए अनुसार सृष्टिको प्रारम्भमा हयग्रीव नामक दानवले वेदादि शास्त्रहरूलाई चोरेर पाताल लोकतर्पm लगेका थिए । त्यतिबेला भगवान्ले मत्स्य अवतार लिएर वेदादि शास्त्रको उद्धार गरेका थिए । मत्स्य नारायणले सप्तऋषिहरूलाई सुनाएको पुराण सोही पुराण हो । अर्थात् मत्स्य नारायणले सप्तऋषिहरूलाई जुन पुराण सुनाएका थिए, त्यसमा तिनै वेदादि शास्त्रका व्याख्यान थिए । यस अर्थमा भन्नुपर्दा यस पुराणको महत्त्व वेद जत्तिकै प्राचीन र गुरुत्तम रहेको देखिन्छ ।  

पुराणको प्रकृति वैष्णव भए पनि यसमा कतै पनि साम्प्रदायिक भावनाको गन्ध भेटिन्न । के शैव, के शाक्त, के सौर, के गाणपत, के स्कान्द सबै सम्प्रदायको यथावसर उत्तिकै चर्चा भएका छन् । यस अर्थमा भन्नुपर्दा साम्प्रदायिक सद्भाव वर्धक पुराण हो भन्नुपर्छ यसलाई ।

यस पुराणको कलेवरात्मक विशेषता भनेको स्कन्ध, खण्ड आदि केही पनि नभेटिनु हो । प्रायः पुराणहरूमा भाग, स्कन्ध, खण्ड, संहिता आदिका उल्लेख भएका छन् र तिनै अन्तर्गत अध्यायहरूलाई निबद्ध भएका हुन्छन् तर यस पुराणमा सिधै अध्याय उल्लेख गरी भाग, स्कन्ध, खण्ड र संहितात्मक परम्परा तोड्ने काम भएका छन् । यस अनुसार यस पुराणमा २९१ अध्याय र १४ हजार श्लोक रहेको कुरा पुराण कथांक गीताप्रेस गोरखपुरले उल्लेख गरेको छ । भागवतमा व्यासजीले पनि यसै कुराको पुष्टि गरेका छन् ।  

यस पुराणको अर्को महत्त्वपूर्ण पक्ष भनेको सबै महापुराणहरूका नाम र श्लोक संख्या उल्लेख हुनु हो । त्यसैले हुनुपर्छ कतिपय विद्वान्ले यस पुराणलाई पुराणहरूका अनुक्रमणिकाको संज्ञा दिएका छन् । मत्स्य अवतारको कथा तथा मनु र मत्स्य भगवान्को संवादको क्रमबाट अघि बढेको प्रसङ्ग धर्मशास्त्र, ज्योतिषशास्त्र, खगोलशास्त्र, भूगोलशास्त्र, समाजशास्त्र, राजनीति शास्त्र, नीतिशास्त्र, गोत्र, प्रवर तथा विशेषता, गोत्रप्रवर्तक ऋषि एवं तिनका वंशविस्तार वर्णन, संस्कार, संस्कृति, दान, धर्म, ब्रतोपवास, शान्ति तथा सदाचारशास्त्र आदिको विवेचन गर्दै त्रिपुरासुर वध, शिवपार्वती विवाह, पुरुरवा चरित्र, कच देवयानी संवादका साथै फलश्रुति आदिमा पुगेर टुंगिएको छ । 

बीचमा आएका सृष्टितत्व मीमांसा, मन्वन्तर विवेचन, पितृवंश तथा विशेषता वर्णन, श्राद्धकर्म विवेचन, राजा यायाति चरित्र, त्रिपुरासुर संग्राम, तारकासुर आख्यान, राजधर्मशास्त्र, शकुनशास्त्र, स्वप्नशास्त्र, वास्तुशास्त्र, शिल्पशास्त्र, शिलाशास्त्र, तीर्थ, व्रत, यज्ञ अनुष्ठान, रत्नविज्ञान, भूगर्भविज्ञान, अन्तरिक्ष विज्ञान आदिका उल्लेख पनि उत्तिकै महत्त्वका देखिएका छन् ।

निःसन्देह पुराणहरू मिथक हुन् तर मिथक मात्र चाहिँ होइनन् । जीवन छ, दर्शन छ, जगत छ, जगतलाई धारण गर्ने तत्व र तरिका आदिका उल्लेख भएका छन्, हुन्छन् यसमा । सृष्टिदेखि प्रलयसम्मका गतिविधिलाई लयबद्ध ढंगले चित्रण गरी कसरी जीवनलाई सुखी, समृद्ध र आनन्दित गराउन सकिन्छ भन्ने कुराको मार्गदर्शन गराउँदै सारा संसारलाई एउटै कुटुम्ब हो भन्ने तथ्या बोध गराउने प्रयास गरेका हुन्छन् पुराणहरूले ।

त्यसैले पुराणहरू पुराना कुरा मात्र नभई वर्तमानलाई सदुपयोग गर्न सिकाउने शास्त्र र सिद्धान्त पनि हो । कसले कति लिने र कसरी लिने भन्ने कुरा भने लिने मानिसमा भर पर्छ । जसले जीवन र दर्शन बुझेर लिन्छन् उनीहरू आफू पनि सुखी हुन्छन् र अरुलाई पनि सुख दिन्छन्, जसले लिँदैनन् उनीहरू आफू पनि दुःखी हुन्छन् र जानअन्जानमा अरुलाई पनि दुःख दिइरहेका हुन्छन् । 

कमल रिजाल
कमल रिजाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्