कांग्रेसमा को सफल, को असफल ?

सुरेश पौडेल
सुरेश पौडेल

लेखक पौडेल नेपाली कांग्रेससँग सम्बद्ध छन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमवार फेसबूकमा लेखे– ‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो । आज आएर त्यसभित्र पनि महाधिवेशन नगरी नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भीख माग्ने निरीह अवस्थामा पुर्‍याइएको छ । यहाँभन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरवाही अरू के हुन्छ ? यो देशकै विडम्बना हो । सर्वत्र असफल व्यक्तिहरू बारम्बार सत्ता समाल्न पुग्छन् ।’ 


Advertisement

वरिष्ठ नेता पौडेलको यो टिप्पणीले नेपाली कांग्रेसका आम कार्यकर्तामा एउटा कौतुहल पैदा गरिदिएको छ । चौधौँ महाधिवेशनको सम्मुखमा आफ्ना सभापतिप्रति इंगित गर्दै सार्वजनिक भएको यो भनाइलाई धेरैले अनर्थको रूपमा बुझे । यो तथ्यलाई बुझ्न गाह्रो छैन । यस्ता चिज आफ्ना सभापतिमाथि लान्छना लगाएर पानीमाथि ओभानो बन्ने राजनीतिक लहड मात्रै हो । पार्टी विधानले नै चार वर्षको कार्यकाल तोकिदिएको छ । असाधारण परिस्थिति भनेर विधानबमोजिम नै सबैको सहमतिले कार्यकाल एक वर्ष थपिएको हो । देशको संविधानले दिएको सुविधा प्रयोग गरी छ महिना बढाइएको हो ।


Advertisement

आफूलाई सफल र राम्रो प्रमाणित गर्नुभन्दा अरुको खुट्टा काटेर आफू अग्लो भएको भ्रममा रमाउने नेपाली राजनीतिक चरित्रकै सानो अंशका रूपमा सामाजिक सञ्जालमा आएको पौडेलको टिप्पणीलाई बुझ्न गाह्रो छैन । आम नेपाली मात्र नभई नेपाली कांग्रेसका नेता कार्यकर्ताले शेरबहादुर देउवा को हुन् र रामचन्द्र पौडेल को हुन् छर्लङ्गै देखे/बुझेकै छन् । अझै कांग्रेसका बहुसंख्यक कार्यकर्ता र नेता २०२७ सालदेखि आजपर्यन्त दुवै नेताका क्रियाकलाप र व्यवहार देख्दैभोग्दै आएका छन् । शेरबहादुर देउवा असफल र रामचन्द्र पौडेलचाहिँ सफल भन्ने टिप्पणीलाई साँचो मान्ने हो भने आजका दिनमा सफलताको विश्वव्यापी परिभाषा नै बदल्नुपर्ने हुन्छ । कार्यकर्ताको मतले नेपाली कांग्रेसको सभापति चुनिएका देउवा सफल कि कार्यवाहक सभापति बनेर चुनाव गराउँदा पनि चुनाव हार्ने रामचन्द्र पौडेल सफल ? 

२०४८ सालदेखि आज पर्यन्त हरेक चुनावमा जनताबाट प्रत्यक्ष निर्वाचित देउवा सफल कि तनहुँमा किसान श्रेष्ठसँग लज्जास्पद हार बेहोर्ने रामचन्द्र पौडेल सफल नेता ? संसद्मा १७ पटक चुनाव लड्दा पनि प्रधानमन्त्री निर्वाचित हुन नसक्ने रामचन्द्र पौडेल सफल नेता कि संसद्मा जम्मा ६३ सिट रहेर पनि विपक्षी गठबन्धनको सिंगो विश्वास प्राप्त गरेर १६५ भोटसहित प्रधानमन्त्री निर्वाचित भएका देउवा सफल ? यसको जवाफ खोज्ने हो भने प्रस्ट हुन्छ, को सफल को असफल । सानो चित्त, व्यक्तिगत कुण्ठा र मपाइँत्व पालेर देउवालाई असफल नेता देख्ने रामचन्द्र पौडेलको दृष्टिदोषले देउवाको कद घटेको छैन, बरु उल्टै पौडेलको नियत स्पष्ट पारेको छ । इतिहासप्रति निर्मम बन्दै तथ्य तोडमोड गरेकै भरमा कांग्रेसको सभापति बन्ने पौडेलको महत्त्वाकांक्षा पूरा हुन असम्भव छ । बरु अहिल्यैदेखि कार्यकर्ताको भावना र मन जित्ने प्रयत्नका लागि मैदानमा खटिनु श्रेयस्कर हुनेछ । 


Advertisement

२०४८ सालदेखि आज पर्यन्त हरेक चुनावमा जनताबाट प्रत्यक्ष निर्वाचित देउवा सफल कि तनहुँमा किसान श्रेष्ठसँग लज्जास्पद हार बेहोर्ने रामचन्द्र पौडेल सफल नेता ? संसद्मा १७ पटक चुनाव लड्दा पनि प्रधानमन्त्री निर्वाचित हुन नसक्ने रामचन्द्र पौडेल सफल नेता कि संसद्मा जम्मा ६३ सिट रहेर पनि विपक्षी गठबन्धनको सिंगो विश्वास प्राप्त गरेर १६५ भोटसहित प्रधानमन्त्री निर्वाचित भएका देउवा सफल ? यसको जवाफ खोज्ने हो भने प्रस्ट हुन्छ, को सफल को असफल ।

कांग्रेस राजनीतिमा छिर्केदाउ खेलेर देउवालाई भीरबाट खसालिदिएँ, अब मबाहेक को नेता बन्छ र ? भन्ने भ्रमजाल सबैले २०५९ सालमै देखे/बुझेका हुन् । गिरिजाप्रसादको अत्याचार अब सहन सकिँदैन, नयाँ पार्टी खोल्नुपर्छ भनेर अघिल्लो रातसम्म सारा नेता कार्यकर्तालाई उक्साएर भोलिपल्ट लुसुक्क लोलोपोतो मिलाउने पौडेल नै हुन् भनेर सबैले भेउ पाएकै विषय हो । बाग्मतीमा धेरै पानी बगिसकेको छ । १८ वर्षको राजनीतिक परिदृष्यले स्पष्टै देखाएको छ, रामचन्द्र पौडेलको राजनीति र शेरबहादुर देउवाको राजनीति । 

सभामुखपछि उपप्रधानमन्त्री, त्यसपछि मन्त्री अनि जहिले पनि सत्तामै बस्न रुचाउने नेता को हो ? भनेर अब लोकसेवा आयोगका परीक्षार्थीका लागि सामान्य ज्ञानको विषय नै हुने बेला भइसक्यो । अरू मन्त्री वा नेता भएको मन नपराउने पौडेलको अन्तरनिहीत विशेषता नै हो । सुदूरपश्चिमको कमाण्ड सम्हाल्दा एकछत्र नेतृत्व गर्न सफल देउवा सिंगो राष्ट्रिय राजनीतिको मियो भूमिकामा पुग्दा गण्डकी क्षेत्रका गोपालमान श्रेष्ठ, तारानाथ रानाभाट, गोविन्दराज जोशी, चिरञ्जीवी वाग्ले र पाल्देन गुरुङसम्म कसैले पनि नेता मान्न तयार नहुने रामचन्द्र पौडेलको तुलना सफलता र असफलताको तराजुमा जोखेर हेर्ने हो भने आफै स्पष्ट हुन्छ । 

यतिबेला देशैभर कांग्रेस महाधिवेशनको माहोल छ । वरिष्ठ नेतादेखि कनिष्ठ कार्यकर्तासम्मले महाधिवेशनको विषयमा चिन्ता र चासो व्यक्त गरिरहेका छन् । पार्टीभित्रका विभिन्न खेमाहरूबीच आफ्नो पोल्टामा जस पार्न र नेतृत्व हात पार्न रस्साकस्सी चलिरहेको छ । नेपाली राजनीतिको सबैभन्दा पुरानो ऐतिहासिक पार्टी कांग्रेसको भविष्यलाई लिएर सहृदयतापूर्वक चिन्ता हुनु अस्वाभाविक होइन ।

चौधौं महाधिवेशनको पूर्वसन्ध्यामा कांग्रेस छ । महाधिवेशनको मुखमा स्वाभाविक रूपमा राम्रा/नराम्रा सबैखाले टीकाटिप्पणी आउने गर्दछन् । वस्तुनिष्ट आलोचनाहरू नेतृत्वले सुन्नु पनि पर्दछ । तर आलोचनाहरू कति जायज हुन्, न्यायोचित हुन् कि होइनन्, सफा दिलले भएका हुन् कि होइनन् भनेर पनि सबैको सबैबाट जाँच भइरहेकै हुन्छ । हरेक क्रियाको वस्तुपरक ढंगले नै विश्लेषण हुनु जरुरी छ । आत्मरती र कुण्ठा मिश्रित आलोचनाहरू अराजनीतिक हुन् । यस्ता चिज आलोचनाभन्दा पनि पाँडे गालीमा परिणत हुँदै अन्तिममा बेकारको फत्तुर बन्दछन् । र, पार्टीलाई सकारात्मक दिशा दिन कुनै योगदान रहँदैन । 

वास्तवमा कांग्रेसको महाधिवेशन विश्वव्यापी रूपमा फैलिएको कोरोना महाव्याधिका कारण केवल कांग्रेसको हातमा थिएन । साँचो अर्थमा भन्दा पार्टी सभापति शेरबहादुर देउवाको काबु बाहिरको विषय थियो । यद्यपि देउवा तोकिएकै समयमा महाधिवेशन गर्न तयार नै थिए । कोभिड–१९ को संक्रमणले नेपाल पनि अछुतो रहन सकेन ।

कोभिडका कारण राज्यका अंग, अन्य क्षेत्र जसरी प्रभावित बने कांग्रेस पनि उसरी नै प्रभावित बन्न पुग्यो । कोभिड संक्रमणका कारण आज पनि भयावह अवस्था छ । मान्छेको जीवन हरदिन जोखिममा छ । पार्टीका नेता–कार्यकर्ताले अल्पायुमै जीवन गुमाउनुपरेको दुःखद् परिस्थितिको सामना गर्नुपरेको तीतो यथार्थ छ । यसैबीचमा पार्टी क्रियाशील सदस्यताको विवाद उत्पन्न भयो । सबैभन्दा ठूलो पार्टीको महाधिवेशनमा वादविवाद हुनु स्वाभाविकै थियो । क्रियाशील सदस्यको टुंगो नलागी यसै महाधिवेशन गर्न सक्ने अवस्था थिएन । विधि, पद्धति र सबै प्रक्रिया पूरा गरी महाधिवेशनमा जानुपर्ने जवाफदेहिता कांग्रेस या भनौं नेतृत्वसामु थियो । 

यद्यपि कांग्रेसद्वारा गठित क्रियाशील सदस्यता छानबिन समितिले कोरोना कहरका बीच पनि विवादको टुङ्गो लगाउन युद्धस्तरमा काम गरी नै रह्यो । क्रियाशील सदस्यता विवाद रहेका देशभरका ५ सय वडाको विवाद चुड्कीका भरमा टुङ्गो लाग्ने कुरो थिएन । तै पनि अहोरात्र खटेर समितिले करीब–करीब क्रियाशीलताको टुंगो लगाउने जमर्को गर्‍यो, जसका कारण क्रियाशील सदस्यता विवाद पनि पार्टीबाट अन्तिम टुंगो लाग्ने चरणमा छ । यो विषय नेतृत्वदायी भूमिकामा रहेका अरू नेताहरूको सुझबुझको पनि कुरा हो । अलिकति नरम भएर लचकता देखाउने आँट किन भएन भन्ने प्रश्नको उत्तर पनि सँगसँगै खोजी गरिनुपर्छ । पार्टी नेतृत्वलाई समस्या समाधानमा खुला छातीले सहयोग भयो कि खुट्टा बाँधेर छिटो दौडन दबाब दिइयो ? यी सबै विषयको जोडघटाउ महाधिवेशनमै होला पनि । लामो प्रश्नको यहाँ छोटो उत्तर दिएर साध्य चल्ने कुरो पनि होइन । 

सबै नेताको सहमतिमा भदौमा महाधिवेशनका लागि कार्यतालिका बनेको पनि हो । जसअनुसार महाधिवेशनका लागि साउन १२ मा वडा समितिको अधिवेशन, साउन १६ मा गाउँ नगर समितिको अधिवेशन, साउन २० मा प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन, साउन २३ मा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, साउन २६ मा एकभन्दा बढी निर्वाचन क्षेत्र हुने जिल्लाको अधिवेशनको मिति तय गरियो । भदौ १ र २ गते प्रदेश समितिको अधिवेशन सम्पन्न गरी भदौ १६ देखि १९ सम्म राष्ट्रिय महाधिवेशन गर्ने कार्यतालिका थियो । देश संघीयतामा गएपछि गर्न लागिएको महाधिवेशन भएका कारण स्थानीय तहदेखि नयाँ ढंगले नै अधिवेशन गर्नुपर्ने अवस्था थियो ।

प्रक्रिया पुर्‍याउनु पनि पर्ने, यसो नगर्दा निरंकुशताको बात लगाउने, सबैलाई मिलाएर न्यायाचित ढंगले बराबरीको अवस्थामा अघि बढौं भन्दा फेरि पनि ‘चरम असफलता’ र ‘लापरवाही’ ‘देशकै विडम्बना’ हुने ? यस्तो चित्त अनि संकीर्णताले कहीँ निकासमा सहयोग पुग्ला ? पार्टी समायोजन विवाद सुल्झन नदिएर बखेडा झिक्ने, क्रियाशीलको विवाद झिकेर अड्काइरहने अनि सभापतिले महाधिवेशन गरेन भनेर स्यालहुइँया मच्याउने धन्दा हलो अड्काएर गोरु चुट्ने प्रवृत्ति मात्रै हो । सहमति, सहकार्यबाटै अघि बढौं भन्ने भावना कसरी अर्घेलो भयो ?

कांग्रेसलाई सफल बनाउन आजका दिनमा कोबाट कति खुला हातले सहयोग भयो भनेर आफैँले आफैँलाई ठण्डा दिमागले प्रश्न सोधे जरुर उत्तर हात लाग्नेछ । नेपाली कांग्रेसमा समयमै महाधिवेशन गर्नुपर्ने कानूनी बाध्यता थाहा नभएको विषय पनि होइन । कार्यतालिका मुख्यगरी क्रियाशील सदस्यता र कोभिडको असहज परिस्थितिकै कारण प्रभावित बनेको हो । न शेरबहादुर, न अर्को कुनै बहादुरको दोष हो यो । यदि दोष हो भने समय र परिस्थितिकै हो । यसै कारण महाधिवेशन स्थगनको अवस्थामा पुगेको हो भनेर जगजाहेर नै छ । यसैमा पनि केपी ओली सरकारको बहिर्गमन भई कांग्रेसले मुलुकको नेतृत्व समाल्नुपर्ने जिम्मेवारी आइलाग्यो । 

यो सत्य हो कि प्रक्रिया मिलाएर छिटोछरितो कांग्रेसको चौधौं महाधिवेशन गर्नुपर्ने दायित्व देउवाको काँधमा छ । यसका लागि भदौबाटै तल्लो तहका अधिवेशन शुरू गरेर त्यसलाई निरन्तरता मान्दै विधिसम्मत ढंगले मंसिरमा केन्द्रीय अधिवेशन गर्ने सकारात्मक पहल पनि भइरहेको छ । कांग्रेसको यो ऐतिहासिक महान चाडलाई सफल पारी अवसरमा बदल्ने दायित्व सबैको काँधमा छ ।

दुईदुईपल्ट संसद् विघटन भएपछिको परिवेश हो यो । संविधानवाद र विधिको शासन बचाउन अग्रमोर्चामा रही आन्दोलन र संघर्षको नेतृत्व लिने दायित्व पनि कांग्रेसको काँधमा छ । संसद् विघटनपछि गिजोलिएको नेपाली राजनीतिले पनि केही न केही दरार पैदा गरेकै हो । यी सबै परिस्थितिका बीच चल्नुपर्ने बाध्यता कांग्रेससामु थियो । असाधारण परिस्थितिकै उपज केही कठिनाइ पर्‍यो र नै समय बढाउनुपर्ने खण्डखातिर परेको तथ्य जगजाहेर छ । 

यो सत्य हो कि प्रक्रिया मिलाएर छिटोछरितो कांग्रेसको चौधौं महाधिवेशन गर्नुपर्ने दायित्व देउवाको काँधमा छ । यसका लागि भदौबाटै तल्लो तहका अधिवेशन शुरू गरेर त्यसलाई निरन्तरता मान्दै विधिसम्मत ढंगले मंसिरमा केन्द्रीय अधिवेशन गर्ने सकारात्मक पहल पनि भइरहेको छ । कांग्रेसको यो ऐतिहासिक महान चाडलाई सफल पारी अवसरमा बदल्ने दायित्व सबैको काँधमा छ ।

यो घडीमा निजी लाभहानी हेरेर, एकले अर्कोलाई दोष पन्छाएर होइन अहिलेको संकट मोचनका लागि सबैतिरबाट मुट्ठी उठाएर खुला दिलले नेतृत्वलाई सहयोग गर्नुपर्ने अवस्था छ । समस्या समाधानका लागि सबैले एकपल्ट आफूले आफैँलाई वास्तविकताको कसीमा घोटेर हेरौँ । इतिहासलाई बंग्याएर सत्यलाई कुरूप नपारौं । आखिर विवेकशील कार्यकर्ताबाट न्यायको तुलोमा जोखिन अब धेरै दिन कुर्नुपर्ने छैन । चेतना भया !  

सुरेश पौडेल
सुरेश पौडेल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्