आफैँमा हराउँदै नेपाली युवा शक्ति : देश निर्माणमा कसरी गराउन सकिन्छ सहभागी ?

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

मैनाली नेपाल सरकारका भूतपूर्व सचिव हुन् । 

कुनैपनि मुलुकको वास्तविक पूँजी भनेका त्यहाँका मानिस, त्यसमा पनि युवा हुन् । वास्तविक विकास भनेको युवा वर्गलाई आशा र उमङ्गका साथ सिर्जना र निर्माणमा लगाउनु हो । युवाहरू विचार, उत्साह र जागरणका पुञ्ज हुन् । युवाहरू शक्ति र ऊर्जाका स्रोत हुन् । भनिरहन परोइन, मुलुकको भविष्य युवाहरूको आशा, उत्साह र कर्ममा हुन्छ । युवा नै भविष्य हुन् ।


Advertisement

युवाहरूको परिश्रम, समर्पण र सिर्जनाले समाजको विवेकपूर्ण पुनर्निर्माण भैरहेको हुन्छ । समाजको विसंगति र बिब्ल्याटाहरूलाई बढार्ने पनि युवा नै हो । युवा आक्रोश र विद्रोह हो, ऊ विध्वंश गर्न पनि पछि पर्दैन । नजाने युवा कुण्ठा, भग्नासा र निराशा पनि हो, उ पलायन हुनसक्छ, वर्वाद हुनसक्छ ।


Advertisement

त्यसैले युवाको उपयोग कसरी गर्ने ? युवालाई निर्माण र विनिर्माणमा कसरी स्वचालित गर्ने ? सिर्जना र सकारात्मकतामा कसरी ल्याउने ? भन्ने चिन्ता नीतिशिल्पीहरूमा छ । युवा अपेक्षा र युवा उपयोगबीच कसरी सन्तुलन ल्याउने ? युवालाई सुनश्चित भविष्यको कसरी आश्वस्त पार्ने चिन्ता र चासोमा सरकारहरू छन् ।  

नेपालमा युवाहरूको अवस्था  


Advertisement

पछिल्लो जनगणना अनुसार नेपालमा आर्थिक रूपमा सक्रियहरूको जनसंख्या ५७ प्रतिशत छ । कानूननले परिभाषा गरेको युवाहरूको संख्या पनि चालिस प्रतिशत छ । युवावस्थाको परिभाषा देशगतरूपमा मात्र फरक भएको होइन, कानून र अर्थशास्त्रले पनि फरक मान्दै आएको छ । युवावस्थालाई उमेरका आधारमा मात्र हेर्ने कि उसको सक्रियता, जोश र दृष्टिकोणबाट हेर्ने भन्ने पनि प्रश्न उठ्न सक्छ ।

त्यसैले आजभोलि युवावस्थाको परिभाषा नै बदल्नुपर्छ भन्ने चर्चा पनि भएको पाइन्छ । तर जे होस्, युवावस्था भनेको सपना देख्न सक्ने, सक्रियता देखाउन सक्ने, सामथ्र्य र सम्भावना भएको जीवनको हिस्सा हो, समयले दिने अवसर पनि हो । प्रत्येक व्यक्तिले त्यो अवसर पाउने गर्दछ । यस अवसरलाई उपयोग गर्न सक्षमहरू नै आफ्नो प्रगति पनि गर्दछन् र मुलुकलाई पनि प्रगतिको मार्गमा लैजान्छन् । 

नेपालमा भन्ने गरिएको जनसाङ्ख्यिक लाभांश उल्लिखित अवस्था हो, जसलाई उपयोग गरेर मुलुक र व्यक्ति दुवै समृद्ध हुनसक्छन् । धेरैजसो मुलुकहरूका लागि यो अवसर उपलब्ध छैन, शताब्दीऔंसम्म उपलब्ध हुने सम्भावना पनि छैन, किनकी कतिपय मुलुकहरू एजिङको समस्यामा छन्, कतिपय मुलुकमा विवाह र सन्तान उत्पादन गर्ने सोचबाट विस्तारै विषयान्तर हुने सामाजिक संस्कृतिले जरा गाड्दैछ ।

लिभिङ टुगेदरको संस्कृति पनि विकास हुँदैछ । तर नेपाल यस्ता प्रवृत्तिबाट बिल्कुल अलग छ र जनसंख्याको लाभ लिनसक्ने अवस्थामा छ । यस अवस्थालाई अवसरको रूपमा लिएर युवा श्रम शक्ति, सम्भावना र क्षमतालाई उपयोग गर्नुपर्ने अवस्थामा छ । यसले विकासको छुट्टै सम्भावनातर्फ संकेत गर्दछ । यसका लागि सरकार, निजीक्षेत्र, समुदाय र युवासँग सम्बन्धित निकायहरूले साझा सोच बनाउनुपर्ने आवश्यकता छ । 

नेपालका युवाहरू आफ्नो गाउँठाउँमा सुनिश्चित भविष्य देख्न छाडेका छन् । यसको पृष्ठभूमिमा विगतका दिनमा मुलुकले कैयनपटक गुमाएको अवसर, सामाजिक द्वन्द्व, राजनैतिक आर्थिक–अस्थिरता कारण बनेर बसेका छन् । तर अब मुलुकमा संक्रमण अन्त्य भएको छ । संक्रमणका रहलपहल असरहरू (आफ्टर सक)लाई पनि युवाहरूले नै ठीक ठाउँमा ल्याउनुपर्दछ । 

युवाहरू स–सानो स्वार्थ र प्रदर्शनमा रमाउने गर्नुहुँदैन, जिम्मेवारीमा रहनुपर्दछ । अहिलेका तरुण सुविधामा उत्साही मात्र होइन, अल्छी पनि बनेको छ । सुविधाले त ज्ञान, शिक्षा, सीप र अवसरका अवरोध भत्काउनु पर्छ, आलस्यता र अल्क्ष्याइँमा लाग्नुहुन्न । युवाले थाहा पाउनुपर्छ, उसको प्रत्येक पल उसैको भविष्यका लागि कति महत्त्वपूर्ण छ । उसले बुझ्नु पर्छ, कर्मले सफलता ल्याउँछ, एउटा सफलताले अर्को सफलता सजिलो बनाउँछ । अर्को सफलताले झनै ठूलो सफलता हात पार्न थप शक्ति, ऊर्जा र उत्साह पैदा गर्छ । सानो असफलता भैहाले पनि कुण्ठा र निराशामा पुगिहाल्नु हुन्न । 

समय बलवान छ, समयलाई सञ्चय गर्न पनि सकिँदैन । समयका अवसर टिप्न नसके समयले नै व्यक्तिलाई किनारा लगाउँछ । यस शताब्दीमा अकल्पनीय सुविधा उपलब्ध छन्, युवाहरू सुविधा लिन अग्रपंक्तिमा छन् । सुविधाका पारखी युवाहरू खुशी छन् । तर युवाहरूले बुझ्नुपर्दछ कि यी सबै सुविधाहरू आफूजस्तै युवाहरूको परिश्रम, खोज र आविस्कारका परिणाम हुन् । त्यसैले अवसरको स्वादमा रमाएर युवादायित्व पूरा हुँदैन । आउने पुस्ताका लागि उसले पनि अरू सुविधा, खोज र प्रणाली निर्माण गर्नसक्नु पर्छ । राम्रो प्रणाली र समाज निर्माण गरेर हस्तान्तरण गर्नुपर्दछ । त्यसो गर्न युवाभित्र नै शक्ति र सामथ्र्य छ, जसलाई उसले नदेखेको मात्र हो । 

नेपालका युवाहरूमा केही असहज प्रवृत्तिगत संस्कृतिको विकास हुन थालेको छ । पहिलो, उसले नेपालभित्र सम्भावना र भविष्य नदेख्ने संस्कृति विकास भएको छ । दोस्रो, श्रम गर्ने बानी हराएको छ, परिश्रमलाई उपेक्षा गर्ने संस्कार हुर्किँदैछ । पढलेखेकाहरूमा यो अरू झाँगिदैछ । तेस्रो, छिटै निराश हुने, विफलताबाट पलायन हुने बानी विकास हुन थालेको छ । चौथो, संयमता र धैर्य लिने बानी टुटेको छ । र पाँचौ, सकारात्मक भन्दा नकारात्मक सोच र आरोप संस्कृति हुर्किँदैछ । यी विसंगति नहटाई नेपालको नवनिर्माण गर्न सकिँदैन । तर थोरै प्रयासमा यी विसंगति हटाउन सकिन्छ । 

युवा शिक्षा र सीप

उल्लिखित प्रवृत्ति विकास हुनुमा मुख्य जिम्मेवारी शिक्षाको छ । नेपालको शिक्षा प्रणाली राष्ट्रिय उद्देश्य पूरा गर्ने, असल नागरिक बनाउने, सीपयुक्त ज्ञान दिने र असल संसकार सिकाउने तर्फ अभिमुख गर्न सकिएको छैन । प्रारम्भिक बालविकासदेखि विश्वविद्यालय तहसम्मको शिक्षाले व्यक्तिलाई नागरिक जीवनमा आवश्यक पर्ने ज्ञान, सीप र स्वभाव विकास गर्ने हो । तर पाठ्यक्रम, पाठ्यविधि, परीक्षण विधि गतावधिक भएकाले शिक्षाको व्यक्तिगत, सामाजिक र राष्ट्रिय तहको उद्देश्यलाई साथ दिएको छैन । परिणामतः ९१ लाख विद्यार्थीहरूमाथि अन्याय भैरहेको छ ।

उसले समाजमा निर्वाह गर्ने भूमिकाका लागि ज्ञान र स्वभाव पाएको छैन, जीवन निर्वाहका लागि सीप पाएको छैन । उच्च शिक्षामा प्रतिस्पर्धा पनि विकास भएको छैन । शिक्षित व्यक्ति श्रम गर्न लजाउँदछ, श्रम नगर्ने सोचले टेबुल मानिसहरू सिर्जनातर्फ शिक्षा गैरहेको छ । यसैले शिक्षालाई सीप, सीपलाई श्रम र श्रमलाई समृद्धिसँग वास्तविक रूपमा आबद्ध गर्ने शिक्षा प्रणाली अहिलेको आवश्यकता हो ।

सीपयुक्त शिक्षा गरीबले मात्र लिने हो कि भन्ने सामाजिक मनोवृत्ति पनि सुधार्नु आवश्यक छ । मौजुदा शिक्षक र शिक्षा प्रशासनबाट यो कति सम्भव भन्ने प्रश्न उठेको छ । किनकी शिक्षा क्षेत्रको जनशक्ति आफ्नो समयको अब्बल जनशक्ति होइन, जो यस क्षेत्रमा आबद्ध छन्, राजनीतिकृत भएकाले पाठन पाठनको स्तर गिर्दै गएको छ । 

युवा वर्ग र स्वरोजगारी  

शिक्षा प्रणालीले योगादन गर्न नसकेर, उभय पक्षको प्रभाव र सामाजिक प्रवृत्तिका कारण पनि हुनसक्छ, युवा वर्ग उत्पादनशील प्रक्रियामा सजिलै आबद्ध छैन । सार्वजनिक क्षेत्रको जागिरमा ललायित हुने भावना देखिँदैछ । प्रवेशिका वा उच्च शिक्षा पूरा गरेपछि जागिर आफैँले बनाउनु पर्ने भूमिकाबाट ऊ कत्ति पनि सचेत छैन, बरु जागिर खोज्न भौँतारिन्छ ।

सीप, सिर्जना र स्वरोजगारमा अभिमुखीकरण गरेर उपयोगिता सिर्जना गर्ने बाटो भुलिएको छ । श्रम बजार निकै साँघुरो छ । प्रतिस्पर्धात्मक क्षमता पनि विकास भएको छैन, त्यसैले बाध्यात्मक रूपमा पनि जागिरको लालसा जाग्छ र जागिरे बन्छ । जागिरमा पनि निकै कम सम्भावना छन् । सार्वजनिक क्षेत्रको कार्य आयतन पनि घट्दै गएको छ । 

सार्वजनिक क्षेत्र वा आन्तरिक श्रम बजारमा सम्भावना नदेखेपछि सम्भावना र साहस भएका युवाहरू बाह्य मुलुकमा जाने प्रवृत्ति विगत तीनदशकदेखि बढ्दो छ । औपचारिक र अनौपचारिक माध्यमबाट गरी साठी लाखजति युवाशक्ति विदेशिएको छ र अरूकै मुलुकलाई कर्मभूमि बनाइरहेको छ ।

सीप र शिक्षामा पछि परेकाले बाह्य मुलुकमा पनि न्यून वेतन र सुविधामा पसिना बगाइरहेका छन् । केही युवाहरू विदेशमा सिकेको सीपलाई सामाजिक विप्रेषणका रूपमा नेपाल फर्केर उपयोग गरिरहेका छन् र आशालाग्दो भविष्यको निर्माण पनि गरिरहेका छन् । तर धेरैजसो युवाहरूमा यो अभिमुखीकरण र सामर्थ्य देखिएको छैन । 

युवा र राजनीति  

युवाहरू नै समाजका सवै क्षेत्रलाई सुसांस्कृत बनाउने भूमिकामा रहन्छन् । युवा जागरणले नै समाजमा लोकतान्त्रिक संस्कार संस्थागत हुने हो । नेपालका युवाहरू राजनैतिक रूपमा निकै सचेत पनि रहँदै आएका छन् । तर राजनीतिलाई राजनैतिक आग्रह र वैयक्तिक लाभहानीमा हेर्ने संस्कृति बदल्न युवाहरूले भूमिका निर्वाह गर्न सकेको छैन । राजनीति नीति र निष्ठाबाट विषयान्तर भैरहेको छ ।

यस अवस्थामा सामाजिक सहमति र असल संस्कारको विकास गर्न युवाहरूले सामाजिक परिचालन गर्न सक्दछन् । उचित अनुचित पर्गेल्न समाजलाई शिक्षा दिन सक्दछन् । तर यसका लागि स्वयं युवाहरू राजनैतिक दलका कार्यकर्ता बन्ने साँघुरो घेराबाट वृहत्तर सामाजिक भावनामा पुग्नु पर्छ ।

राजनैतिक दलभित्र पनि उनीहरूको भूमिका आन्तरिक प्रजातन्त्र विकास, समावेशी सिद्धान्त अवलम्बन, विचार दर्शनको मन्थन र नेतृत्व परिमार्जनको भूमिकामा रहनुपर्दछ भने राजनीतिक दल बाहिरका युवाहरूमा समष्टिगत सामाजिक प्रजनशीलता बढाउनेतर्फ केन्द्रित हुनुपर्दछ । यसले राजनैतिक दलहरूप्रति बढ्दै गएको वितृष्णालाई विश्वासमा बदल्न सक्छ र राज्य प्रणालीको विश्वास बढाउन सक्दछ । 

यस सन्दर्भमा केही प्रसंग उठाउनु उचित हुन्छ । आधुनिक चीनका निर्माता देङले युवाहरू परिचालन गरी डेमोक्रेटिक पार्टीको ‘गरीबमुखी कार्यक्रम’, कम्युनिस्ट युथ लिग (सीवाईएल) को ‘होप प्रोजेक्ट’, व्यापार संघको ‘ग्लोरियस कज’, महिला संघको ‘एञ्जेल प्रोजेक्ट’मार्फत सीमान्तकृत क्षेत्र र वर्गको उत्थानका लागि सरकारलाई सहयोग पुर्‍याए । युवा राजनीति भनेको नारा जुलुस र पर्चा पाम्प्लेटभन्दा माथि सिर्जना पनि हो र यसले नेतृत्वलाई जनमुखी बन्न आफैँ उदाहरण बनेर नेतृत्व दिन सक्छ भन्ने उदाहरण चीनले दिएको छ । 

यस्तै सन्दर्भ संयुक्त राज्य अमेरिकाको पनि लिन सकिन्छ । २०२० का राष्ट्रपति आकांक्षी एन्ड्र्यु याङले ‘दी वार इन नर्मल पिपुल’मा मानव केन्द्रित पूँजीवादका नाममा समाजवादको नयाँ दृष्टिकोण अघि सारेका छन् । रोजगारी सुरक्षा, सर्वव्यापी आधारभूत सेवा र सर्वव्यापी आय प्रत्याभूति (युबीआई) मा आधारित एन्ड्र्यू याङको समाजवादी धारणा अत्याधुनिक व्यवहारवादी अर्थतन्त्रतर्फको प्रवेशबिन्दु मानिएको छ ।

लोकतन्त्रको वास्तविक लाभांशका लागि अठार वर्ष पुगेका अमेरिकीलाई प्रतिमहिना एकहजार डलरसहित आटोमेसन, कृतिम बौद्धिकता लगायतका कारणबाट जोखिममा परेका र रोजगारी गुमाएकाहरूलाई थप क्षतिपूर्ति दिई स्वस्थ, प्रवीणतायुक्त, शिक्षित, तनावमुक्त अमेरिकी समाज निर्माण याङको अभिष्ट थियो ।

उनका विचार मनपराउनेहरू ‘याङ ग्याङ’ समूह रेडिट, फोरचान, फेसबूक, इन्स्टाग्राम, ट्वीटरलगायत साजिक सञ्जालमार्फत मानवकेन्द्रित समाजवादको अभियानमा छन् । 

सार्वजनिक सेवा र युवा 

नेपालको सार्वजनिक प्रशासनप्रति उसको सेवाग्राही र राजनैतिक कार्यकारिणी खुसी छैनन्, जसबाट माया र संरक्षण पाउनुपर्ने उसैबाट आलोचित हुनु सार्वजनिक प्रशासनको लागि प्रश्न चिह्न हो ।

यसको अर्थ सार्वजनिक प्रशासनमाथि सुधारको व्यापक माग र दबाब छ भन्ने हो । सुशासन, सेवा प्रभावकारिता, सदाचार, भ्रष्टाचार नियन्त्रण जे भनौँ, यसको केन्द्रबिन्दुमा प्रशासन सुधार नै रहने गर्दछ । यो माग र दबाबले ल्याएको हाक थेग्नलाई अहिलेको कर्मचारीतन्त्रले सक्दैनन् । 

एक्काइसौं शताब्दीको चुनौती बहन गर्न बीसौं शताब्दीको संयन्त्र र उन्नाइसौँ शताब्दीको प्रवृत्तिलाई एक्काइसौँ शताब्दीको संयन्त्र, प्रविधि र प्रवृत्तिले विस्थापन गर्नुपर्दछ । त्यो भनेको विद्यालय/विश्वविद्यालयका मेधावी प्रतिभालाई प्रणालीभित्र भित्र्याउनु हो । युवाशक्ति भित्र्याउनु हो । नवरक्तको सञ्चार गर्नु हो । जसले सार्वजनिक सेवा सुधारका लागि भित्रैबाट सिर्जनात्मक तनाव पैदा गराओस् । 

तर नेपालको सार्वजनिक सेवाप्रति उम्दा प्रतिभाहरूको आकर्षण घट्दो छ भने आकर्षित भएका युवाहरू पनि आन्तरिक कार्यअनुत्साहमा जागिरे बनेका छन् । सार्वजनिक प्रशासन राज्य सञ्चालन गर्ने स्थायी संयन्त्र हो । यो वृत्ति सेवाका रूपमा रहन्छ र योग्यता प्रणाली यसको प्राण हो । त्यसैले यसभित्र औसतभन्दा उम्दा युवा प्रतिभाको आकर्षण हुनुपर्दछ । उपलब्धमध्ये उत्कृष्ट आकर्षित हुनुपर्दछ ।

यस सेवाभित्र प्रवेश गर्नाले वृत्ति विकास, वृत्ति सुनिश्चितता र राष्ट्रसेवा गर्ने अवसर एकसाथ प्राप्त हुन्छ, जुन अन्यत्र पाउन सकिँदैन । राज्यको संस्थागत संयन्त्र भएको र कुनै पनि व्यवस्थित समाजमा राज्यभन्दा बृहद्, नैतिक, बहुउद्देश्यीय र विश्वासिलो संस्था अरू नहुने भएकोले युवा प्रतिभाहरूको वृत्ति चयनको पहिलो प्राथमिकतामा निजामती सेवा पर्नुपर्दछ ।

संविधान र सार्वभौमशक्तिको क्रियाशीलता निजामती सेवाको कर्मबाट हुन्छ । नीति कार्यक्रमको क्रियाशीलता निजामती कर्मचारीबाट हुने हो । राज्यको वैधता आर्जनको आधार पनि निजामती सेवा नै हो । राष्ट्र निर्माणको ‘स्टील फ्रेम’ पनि निजामती सेवा हो । सुशासन कायम गर्न, शासकीय स्तर विस्तार गर्न र समृद्धिको गन्तव्यमा अगि बढ्न पनि उच्चअभिप्रेरित र आक्रामक निजामती सेवा चाहिन्छ । त्यसैले यति महत्त्वपूर्ण वृत्तिक्षेत्रलाई युवा प्रतिभाले वृत्ति चयनको पहिलो विकल्प बनाउन चुक्नु हुँदैन । 

यसर्थ बजारका उत्कृष्ट प्रतिभा निजामती सेवाभित्र भित्र्याउन सकेमात्र राज्यप्रणालीको प्रभावकारिता, सेवाको गुणस्तर र आविस्कारवादी राज्यप्रणाली विकास गर्न सकिन्छ । तर कतिपय युवाहरू सार्वजनिक क्षेत्रको तलब सुविधाको न्यूनतालाई देखाइ निजामती सेवा अपनाउन अनिच्छा देखाइरहेका छन् । उम्दा प्रतिभाको पहिलो प्राथमिकता बहराष्ट्रिय कम्पनी, कर्पोरट हाउस र बैकिङ क्षेत्र पर्दै आएको छ । तर वास्तविकता त्यस्तो होइन ।

सार्वजनिक क्षेत्रको इन्स्ट्यान्ट तलब मात्र कम हो, त्यहाभित्रको बिदा, व्यवसायजन्य सुरक्षा, वृत्ति सुरक्षा, वृत्ति विकास र शिक्षा एवं सीप हाँसिल गर्ने अवसर, सामाजिक सुरक्षा, राज्यले दिने मर्यादाजस्ता फ्रिन्ज बेनेफिटको सापेक्षमा गैरसरकारी क्षेत्रको सुविधा निकै न्यून लाग्न सक्छ । त्योभन्दा पनि बृहद् कुरा राष्ट्रसेवाको अन्तरबोधले आफैँभित्र हुने सन्तुष्टि र अपनत्वबोधले यसको महत्त्व झनै पुष्टि हुन्छ ।

त्यसैले निजामती सेवा वृत्ति विकास र राष्ट्रसेवाको अपूर्व अवसर हो । अन्य सेवाको पनि मार्गदर्शक र अभिभावक हो । यसको गरिमा तुलनाको विषय नै हुनसक्दैन । 

सार्वजनिक सेवा बाहिर रहेर राज्यका तहगत संयन्त्रसँग सार्वजनिक सेवाको गुणस्तर बढाउन युवाहरू पृष्ठपोषण, सहउत्पादन, लेखाजोखा, अनुगमन, तथा व्यवस्थापनका पक्षमा संलग्न रहेर पनि सार्वजनिक प्रशासनलाई जिम्मेवार, जवाफदेही र प्रभावकारी बनाउने भूमिका खेल्न सक्दछन् । 

समाज सेवा र युवा 

समाजमा सेवा गर्ने मनकारी भावना विकास नगरे मानिस कर्मले होइन, जन्मले मात्र श्रेष्ठ बन्नपुग्छ । एक्काइसौँ शताब्दीको विश्वव्यापी संस्कृतिले समाज निमानवीकृत बन्दैछ, व्यक्तिहरू निर्वैयक्तिक बन्दैछन् ।

आधारभूत मानव मूल्य, सत्कर्म र सेवाभाव हराउला कि भन्ने डर छ । व्यक्तिगत स्वार्थभन्दा माथि पनि मानव सेवा छ । सहयोगी हात र मनकारी कर्मको अपेक्षा खास वर्गले राख्ने गर्दछ । युवा जागरण सेवाभाव र मानवीय मूल्य आचरणलाई संस्थागत गर्न आन्दोलित हुनुपर्दछ । 

केही मनकारी कामहरू समाजबाट हुँदै आएका छन् । रामराज अधिकारीको समूहले मानव सेवा आश्रममा अशक्त र दीनदुःखीलाई आश्रय र स्याहार सम्भार गर्दै आएका छन् । एसएसडीआर कि सविता उप्रेती त्यस्ती युवती हुन्, जसले राम्रो वृत्ति छाडेर अटिज्म प्रभावित व्यक्तिलाई उद्धार गरिरहेका छन् ।

स्नेही काखकी नेहा पोखरेल होस् गुमाएका परित्यक्ता आमाहरूकी आमा बनिरहेकी छन् । पुष्पा बस्नेत, उत्तम सञ्जेल तथा मैले नाम लिन नसकेका धेरै युवाहरूले मानवसेवाको पवित्र कामलाई आ–आफ्नै सामर्थ्य र सक्रियतामा बचाइरहेका छन् । युवाहरू जीवनको कुनै क्षण समाज/मानव सेवामा लाग्नु पर्छ, ता कि समाज सबै मानवजातिको हुन सकोस् । 

उपसंहार 

युवाहरू मुलुकका आशा र भारोसा हुन् । समाजलाई रूपान्तरण गर्ने अदम्य शक्ति भएर पनि युवाशक्ति आफैँमा हराएको छ । युवाहरूले आफनो मातृभूमिमा आफ्ना भविष्य सुनिश्चित छ भनेर आर्थिक सामाजिक रूपान्तरणको यात्रालाई गतिवान बनाउनु पर्दछ, किनकी साठीको दशकामा हामीभन्दा पछि रहेका र हामीसँगै विकास यात्रा शरू गरेका दक्षिण कोरिया, सिंगापुर, चीन, मलेसिया जस्ता मुलुकहरू हामीलाई छाडेर निकै अघि बढेका छन् र एक्काइसौँ शताब्दीलाई एशियाको शताब्दी बनाउन लागिपरेका छन्, हाम्रा विगतका दशकहरू गुमेको अवसरका रूपमा रहे ।

त्यसैले युवा वर्गको काँधमा ठूलो जिम्मेवारी छ । रूपान्तरणका सबै आयामहरू, जस्तो कि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय र शासकीय आयामलाई गतिशील बनाउन युवा वर्गको सार्थक सक्रियता जरुरी छ । उ नै अल्मलियो भने मुलुक अल्मलिइरहने छ । त्यस्तै युवाको उपयोग कसरी गर्ने ? युवालाई निर्माण र विनिर्माणमा कसरी स्वचालित गर्ने ? सिर्जना र सकारात्मकतामा कसरी ल्याउने ? भन्ने चिन्ता र चासोमा नीति निर्माताहरू रहनुपर्दछ । युवा अपेक्षा र युवा उपयोगबीच सन्तुलन ल्याएर नै युवालाई उनीहरूको भविष्यप्रति आश्वस्त पार्न सकिन्छ । (mainaligopi@gmail.com)

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्