मौलिकता जोगाउँदै प्रविधिको प्रगतिबाट कसरी लाभ लिने ?

सुशील गौतम
सुशील गौतम

गौतम मौलिक जरोकिलो पार्टीका केन्द्रीय अध्यक्ष हुन् 

नेपालमा ‘मौलिक’ अथवा ‘मौलिकता’ शब्दको प्रयोग बढ्दै गएको छ । बढ्दै जाने निश्चित पनि थियो ।


Advertisement

मौलिकता हाम्रो आदर्श हुनुपर्छ, चाहे त्यो अर्थतन्त्र होस् चाहे शिक्षा वा राजनीति । फरक विशेषता बोकेको समाज र फरक विशेषता बोकेको समस्याको अध्ययन गरेर निकालिएको समाधानका उपाय पृथक विशेषता बोकेको समाजमा लाद्न खोज्दा समस्याको समाधान होइन, उल्टो बल्झिनसक्छ ।


Advertisement

राणा शासन जस्तो जहानियाँ शासन व्यवस्थाको अन्त्य भइसकेपछि नेपाली समाज, नेपाली सभ्यता, संस्कृति र माटो सुहाउँदो राजनीतिक, आर्थिक, शैक्षिक र विकासको क्षेत्रमा जुन अध्ययन अनुसन्धान हुनुपर्थ्यो त्यो हुन सकेन । 

बजारबाट चाउचाउ ल्याएर भोक मेटेजस्तै गरी नेपालमा अर्थ–राजनीतिक सिद्धान्त विदेशबाट ल्याइयो । जंक फूड मानिने चाउचाउमा भरपर्दा पौष्टिक तत्व नपुगेर बच्चा कमजोर बनेजस्तै आयातित अर्थ–राजनीतिक सिद्धान्तको प्रयोगशाला बनाइँदा मुलुक अत्यन्त कमजोर बनेको छ । 


Advertisement

यिनै आयातित सिद्धान्तधारी राज्यसत्तामा हर्ताकर्ता हुँदा युरोप अमेरिकाको भनेपछि हरेक कुरालाई आधुनिक, विज्ञानसम्मत्, र विकासमूलक देख्ने तर आफ्नो सभ्यता, संस्कृति र मौलिकताको कुरा गर्दा पुरातनवादी, रुढीवादी, पाखे देख्ने प्रवृत्ति मौलाएको हो । नेपालको मौलिक भन्ने बित्तिकै आधुनिकता र विज्ञानभन्दा पर देख्ने प्रवृत्ति छ्यापछ्याप्ती छन् । 

प्रश्न उठ्छ – मौलिक भनेको के हो ?

नेपाली बृहत् शब्दकोश २०७५ अनुसार मौलिक शब्दको अर्थ यसरी दिइएको छ –
१. मूल वा जडसित सम्बन्धित, मूलभुत । 
२. मुख्य; प्रधान । 
३. कसैको आधार नलिएको; नवीन वा सिर्जनात्मक ।
 
शब्दकोशले दिएको मौलिकको परिभाषाले २ वटा आयामको कुरा गरेको छ । एउटा यो मूलसँग जोडिएको हुनुपर्छ र अर्को यसमा नवीनता हुन्छ । मौलिक भन्दैमा पुरानो जे थियो, त्यो नै ठीक भन्न खोजिएको पनि होइन । नयाँ जे आउँछ सबै ठीक, पुरानो जति सबै छोडिदेउ भन्न खोजेको पनि होइन । मौलिकताको परिभाषाले नै आफ्नो मूलभुत कुरा नछोड्ने तर खोज, अनुसन्धान, नवाचारले निरन्तर आधुनिक बन्दै जाने अर्थात स्थितिगत्यात्मकतालाई पनि आत्मसाथ गरेको छ ।  

मौलिक जरोकिलो पार्टीले स्थितिगत्यात्मक प्रगतिवादलाई समाज विकासको सिद्धान्तको रूपमा अवलम्बन गरेको छ । आफ्नो मूलभुत कुरा नछोड्ने र अनुसन्धान, आविष्कार र नवाचारद्वारा सापेक्षित रूपान्तरण गर्दै समाजलाई अगाडि लैजान सकिन्छ भन्ने यसको विश्वास रहेको छ ।

मौलिक सिद्धान्तको आधारमा शिक्षा, अर्थतन्त्र, राजनीति, समाज विकास गर्नुपर्छ भन्ने धारणा राख्दा आयातित सिद्धान्तधारीहरू विरोध गर्ने गर्छन् । 

अमेरिकाबाट कम्प्युटर ल्याउन हुने, चीनबाट भ्याक्सिन ल्याउन हुने सिद्धान्त चाहिँ किन मौलिक चाहियो भनेर आयातित सिद्धान्तको बचाउ गर्ने गर्छन् । सकिन्छ भने नेपालमा भ्याक्सिन पनि बनाउनुपर्छ, कम्प्युटर पनि बनाउनुपर्छ, यसमा दुईमत छैन तर बनाउन सकिएन भने प्रयोग नै नगर्ने भन्ने कुरा पनि आउँदैन । प्रविधि हो, पैसा तिरेर आवश्यकता पूर्ति गर्न प्रयोग गर्नैपर्ने हुन्छ तर अमेरिकाबाट कम्प्युटर किनेर ल्यायो भन्दैमा अमेरिकाकै संस्कृति, परम्परा, मूल्यमान्यता मान्नुपर्ने भन्ने छ ? अमेरिकामा बनेको कम्प्युटर चलाएपछि देशको सार्वभौमतासत्ताको जिम्मा अमेरिकालाई दिनुपर्छ भन्ने छ ? चीनको युलिनमा मनाइने डग फेस्टिभलमा कुकुरको मासु खाइन्छ । चीनबाट भ्याक्सिन ल्याएपछि  नेपालमा कुकुर तिहार (डग फेस्टिभल) मा कुकुर पूजा गर्न छोडेर चीनमा जस्तै कुकुरको मासु खानुपर्छ भन्नु मानसिक दासता हो । आफैंले आफ्नो मौलिक शैलीको कपडा उत्पादन नगर्दासम्म बजारमा नाङ्गै हिँड्नुपर्छ भन्नु मूर्खता हो ।     

मौलिक जरोकिलो पार्टीले विज्ञानको बुद्धि (नलेज अफ साइन्स) र प्रविधिको प्रगति (प्रोग्रेस अफ टेक्नोलोजी) लाई आधारशिला चतुष्टयको पहिलो र दोस्रोमा राखेको छ । विज्ञानसँग सम्बन्धित हुने बित्तिकै युरोप वा अमेरिकासँग मात्रै जोडिने त्यस्तै प्रविधिको प्रगति भन्ने बित्तिकै एलसीडी स्क्रिन सहितको बटनै बटन भएको यन्त्र मात्रै बुझ्नु गलत हो । आवश्यक परे एलसीडी स्क्रिनसहित स्वचालित यन्त्र निर्माण गर्नु पनि प्रविधिको प्रगति हो भने अत्यन्त साधारण देखिने तर धेरैको ध्यान नपुगेको सकारात्मक परिवर्तन पनि प्रविधिको प्रगति हो ।

कहीँकतै खोल्साको छेउमा दिनभर हम्मरले हान्दै गिट्टी कुटेर कसैले जीवनयापन गरिरहेका हुन्छन् । मानौं, दिनभर हम्मरले हानेर २०० किलो गिट्टी कुट्न सकिन्छ भने त्यहीँ खोल्साको पानीलाई सानो कुलो बनाएर त्यसमा टर्बाइन जोड्ने हो भने पानीको शक्तिले टर्बाइन घुम्छ । घुमिरहने यान्त्रिक चाललाई रेखीय चालमा रूपान्तरण गर्न सकिन्छ । दिनभर हातले हम्मर तलमाथि गर्दै हानिरहनुपर्ने कामलाई पानीको शक्तिले गरिदिन्छ । हम्मर हानेर बसिरहनुपर्ने समयमा अरु ढुंगा खोज्न निस्किने हो भने दैनिक १००० किलो गिट्टी कुट्न सकिन्छ । आम्दानी ५ गुणा बढ्छ तर थकान बढ्दैन ।

थोरै मात्र प्रविधिको ज्ञान प्रयोग गर्दा तीव्र गतिमा बग्ने पानीको शक्ति घट्ट चलाउन मात्रै होइन ढिकी चलाउन, ढुंगा फुटाएर गिट्टी बनाउन, काठ चिरान गर्न लगायतका कार्यहरू गर्न समेत प्रयोग गर्न सकिन्छ । तर नेपालमा गरिने प्रविधिको प्रगति ढिकी, जाँतो, घट्टमै मात्र सीमित हुनुपर्छ भन्ने होइन । 

मोतिविन्दुको उपचारको लागि गरिने शल्यक्रियापछि आँखामा एक प्रकारको इन्ट्राओक्युलर लेन्स राखिन्थ्यो । जसको मूल्य प्रतिलेन्स २०० अमेरिकी डलर पर्थ्यो । कमजोर आर्थिक अवस्था भएका बिरामीले उपचार गर्न नसक्ने अवस्था थियो । डा. सुन्दुक रुइतले यस विषयमा अध्ययन गरे र जम्मा ४ डलरमा नेपालमै उत्पादन गर्न सकिने इन्ट्राओक्युलर लेन्स तयार गरे । जटिल यान्त्रिक विधिबाट गरिने आँखाको शल्यक्रियाको स्वरूप परिवर्तन गरेर सहज र सफल किसिमले गर्न सकिने बनाए । हालसम्म उनले १ लाख ३० हजार जनाको उपचार गरिसकेका छन् ।

क्यानमा राखिएको पेय पदार्थ पिउनको लागि शुरूमा क्यान खोल्नुपर्छ । यदि क्यानमा फर्काउन मिल्ने ट्याब नभएको भए क्यान खोल्न चक्कु अथवा फलामको कुनै साधन खोज्न हिँड्नुपर्थ्यो । तर साधारण देखिने ट्याब त्यसै क्यानमा जोडिएको कारण सहजै क्यान खोल्न सकिन्छ । अरु साधन खोजिरहनु पर्दैन । उक्त साधारण देखिने क्यान खोल्ने ट्याबको प्याटेन्ट यूएस५४९४१८४ए नम्बरमा संयुक्त राज्य अमेरिकामा दर्ता छ । 

इन्ट्राओक्युलर लेन्स अत्यन्तै जटिल विषय हो भने क्यान खोल्न राखिएको ट्याब एकदमै साधारण विषय हो । २०० डलरको इन्ट्राओक्युलर लेन्सलाई ४ डलरमा उत्पादन गर्न सक्नु र कुनै बाहिरी साधन विना सानो ट्याबले क्यान खोल्न सकिने बनाउनु – दुवै प्रविधिको प्रगति हो ।  

दैनिक जीवनयापन सहज बनाउन प्रविधिको ठूलो भूमिका छ तर सधैं एउटै प्रविधिले सधैं जीवनयापन सहज बनाउँछ भन्ने हुँदैन । पहिला–पहिला महिनौं लगाएर चिट्ठीपत्रमार्फत आफन्तको हालखबर सोधिन्थ्यो । टेलिफोन आएपछि छिटोछरितो तरिकाले आफन्तहरूबीच सम्पर्क गर्न सकिने भइयो । शुरूशुरूमा टेलिफोन आउँदा दिनभर हिँडेर भए पनि टेलिफोन भएको स्थानमा पुगेर आफन्तसँग कुरा गर्ने गरिन्थ्यो हाम्रै देशमा । दिनभर हिँडेरै भए पनि टेलिफोनमार्फत टाढाटाढा रहेका आफन्तको हालखबर सोध्न पाउनुले पनि निकै सहजता दिएको थियो । महिनौं कुर्नुपर्ने बाध्यताको अन्त्य गर्‍यो । 

टेलिफोनको विस्तार भएर हरेक घरघरमा पुग्नु अगावै टेलिफोनभन्दा निकै सस्तो पर्ने मोबाइल प्रविधि आइदियो । खल्तीमै बोकेर हिँड्न मिल्ने र जहाँ पुगेपनि कुरा गर्न मिल्ने । टेलिफोनले भन्दा मोबाइलले धेरै सहजता ल्यायो । त्यही मोबाइलमा इन्टरनेट समेत चलाउन मिल्ने गरी प्रगति भएपछि त अहिले भिडियोकल गरेर एकदम सस्तोमा भेटेरै बोले जसरी कुरा गर्न सकिन्छ । हालखबर सोध्न महिनौं कुर्नुपर्ने बाध्यतालाई अन्त्य गरेर प्रविधिले तत्क्षण प्रत्यक्ष कुराकानी गरे जस्तै अनुभव दिने सुविधा दिएको छ ।

आज जस्तो मोबाइल प्रयोगमा आइरहेको छ, भविष्यमा त्यही रहन्छ भन्ने कुनै ग्यारेन्टी छैन । मोबाइलको ठाउँमा चस्मा जस्तै लगाउन मिल्ने प्रविधि आएर आँखैले स्क्रिन चलाउन सकिने, बोलेरै सबै कुरा टाइप गर्न सकिने वा जसलाई फोन गर्नुछ उक्त व्यक्तिको त्रिआयामिक होलोग्राम रूपलाई उपस्थित गराएर बातचित गर्न सकिने प्रविधि नआउला भन्न सकिन्न । अहिले नै यस्तै विशेषता बोकेका प्रविधिहरू आइसकेका छन् ।   

प्रविधि विशेषतः मानिसको जीवनलाई सहज बनाउने साधन हो । यो सधैं एकै किसिमको रहिरहन्छ भन्ने पनि छैन र यसको प्रयोग गरेपछि आफ्नो मूलभुत कुरा छोड्नुपर्छ भन्ने पनि छैन । चिट्ठीपत्रबाट सन्देश आदानप्रदान गर्ने स्थानमा टेलिफोन हुँदै मोबाइल आउँदैमा जुन देशबाट टेलिफोन वा मोबाइल ल्याइएको हो, त्यहीँको भाषा, संस्कृति, मूल्य, मान्यता अपनाउनुपर्छ; आफ्नो छोड्नुपर्छ भन्ने हुँदैन । प्रविधिले आफ्नो भाषा, संस्कृति, सम्प्रदाय, कलालाई संरक्षण, प्रवद्र्धन र विकास गर्ने अवसर प्रदान गरेको छ । 

मौलिकता र प्रविधिको प्रगति एकअर्काको विपरीत होइनन् । गाउँघरमा परम्परागत रूपमा बालिआएको चुह्लो हटाएर एलपीजी ग्यास सिलिन्डर प्रयोग गर्न थालेपछि मात्रै आधुनिक भइने होइन वा प्रविधिको प्रगति भएको ठान्नु गलत हो । परम्परागत चुह्लोका कमीकमजोरी के के हुन् ? आगोसम्म पर्याप्त अक्सिजन नपुगेर पर्याप्त ताप नदिने अवस्था सिर्जना भएको छ वा ताप खेर गएर धेरै दाउरा प्रयोग गर्नुपरेको छ कि ? यसको अध्ययन गरेर चुह्लोको एकछेउबाट धुँवा जाने पाइप जोडेर भान्छा बाहिर पठाउनु पनि प्रविधिको प्रगति हो ।

चुह्लोको स्वरूप परिवर्तन गरेर बलिरहेको दाउरासम्म पर्याप्त अक्सिजन पुर्‍याउनु पनि प्रविधिको प्रगति हो । दाउरा उपलब्ध हुन सकेको छैन भने वरपर भेटिएका पातपतिङ्गर, पराललाई गोबरमा मुछेर पर्याप्त अक्सिजनको प्रवाह हुने स–साना प्वाल सहितको ब्रिकेटको रूप दिएर चुह्लो बाल्नु पनि प्रविधिको प्रगति हो ।

कम्प्युटर मानिसको जीवनको अभिन्न अंग बनिसकेको छ । वैज्ञानिक खोज अनुसन्धानको उपज हो कम्प्युटर । कृषिजन्य उत्पादनको लागि बजारभाउ बुझ्न, शेयर कारोबार गर्न, विद्यार्थीले भवनहरूको डिजाइन गर्न, दिल्लीबाट उडेको हवाइजहाजलाई हङकङमा ल्यान्ड गराउन, बसको तालिका हेर्न, लेखा राख्न, उपचार गर्न, सुरक्षा प्रणाली बनाउन कम्प्युटरकै प्रयोग हुन्छ तर कम्प्युटर एउटा यन्त्र मात्रै हो । यसलाई प्रयोग गरेर कता जाने भन्ने निर्क्यौल प्रयोगकर्ताकै हो । चाहे बृजेश श्रेष्ठ र वर्षा कर्माचार्यको ‘ओह मैचा’ बोलको गीत होस् वा पुर्तो रिकोका लुइस फोन्सीको देस्पासितो वा दक्षिण कोरिया साईको ग्याङ्गनाम स्टाइल सबै कम्प्युटरमै रेकर्ड र कम्प्युटरमै सम्पादन गरिएका थिए । कम्प्युटरको प्रयोग केका लागि गर्ने भन्ने कुरा प्रयोगकर्तामा भर पर्छ । हामी कम्प्युटर जस्ता प्रविधिको प्रयोग नेपालको मौलिकतामा आधारित पुनर्जागरणको पक्षमा प्रयोग गर्नुपर्छ भन्छौं ।

सुशील गौतम
सुशील गौतम

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्