राजनीतिक गञ्जागोल र संकटले निम्त्याएको परीक्षा : नेतृत्वले कसरी प्रदर्शन गर्ने कुशलता ?

गुरूराज घिमिरे
गुरूराज घिमिरे

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका घिमिरे नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् ।

विश्व महाशक्तिराष्ट्र चीनको प्रसंगबाट आजको चर्चा शुरू गरौं।


Advertisement

चिनियाँ नेता देङ स्याओ पेङ्गलाई फादर अफ मोडर्न चाइना, क्रिएटर अफ मोडर्न चाइना, आर्किटेक्ट अफ मोडर्न चाइनालगायतका सम्मान र उपाधिले स्मरण गरिन्छ।


Advertisement

सन् १९७६ मा माओत्सेतुङको देहावसानपछि नेतृत्व र शक्तिमा उदाएका देङले त्यतिबेलासम्म विश्वको दोस्रो गरीब देशका रूपमा रहेको विशाल चीनलाई आजको समृद्ध चीन बनाउन अतुलनीय भूमिका खेलेका थिए र यस भूमिकालाई आधुनिक चीनको इतिहासमा अभुतपूर्व योगदान मानिन्छ ।

देङ बेगरको आजको  चीनको परिकल्पना गर्न कठिन छ। उनको राजनीतिक अठोट, आर्थिक नीति र प्रभावकारी कार्यान्वयनको परिणामस्वरूप आजको चीन विश्वसामु प्रतिष्ठित बनेको हो ।


Advertisement

बजार अर्थतन्त्रसहितको समाजवाद नै उनको प्रमुख नीति थियो। आधुनिक तथा वैज्ञानिक शिक्षा नै समृद्ध चीन निर्माणको आधार हुनसक्छ भन्ने उनको बुझाइ थियो । 

उनले त्यतिबेला अवलम्बन गरेको नीतिसँग परम्परागत मार्क्सवाद या माओवादले पटक्कै मेल खाँदैन। सन् १९७८ बाट १९८९ सम्म आइपुग्दा तेनमेन स्क्वायरको विद्यार्थी आन्दोलनको निर्मम दमनबाहेक त्यस अवधिमा चीनमा खासै आलोचनात्मक राजनीतिक घटना भएनन् । देङ्गले खडा गरेको विकासको आधारशीला नै आधुनिक चीनको गौरव हो।

राजनीतिक रुपमा उनी र उनको देशले अवलम्बन गरेको बाटो या प्रणालीसँग सहमत हुन सकिँदैन तर उनका केही कार्यशैलीहरू अनुकरणीय छन् । त्यसमध्ये एउटाको मात्रै चर्चा गरौँ । पढेलेखेका जमिन्दार बाबुका छोरा असाध्यै मेहनती तथा मेधावी देङलाई एकपटक पत्रकारहरूले सोधेछन्, दिनमा कति घण्टा काम गर्नु हुन्छ? उनले जवाफ दिएछन्, दुई घण्टा । उनको जवाफबाट आश्चर्यचकित पत्रकारहरूले फेरि सोधेछन्, बाँकी समय के गर्नुहुन्छ ?

उनले जवाफ दिएछन्, सोच्छु अर्थात् योजना बनाउँछु । काम गर्न छुट्ट्याइएको २ घण्टाबाहेक देङले कसरी राम्रो काम गर्न सकिन्छ भनेर २२ घण्टा  सोच्दा रहेछन् र परिणाम निकाल्दा रहेछन् । के यो कार्यशैली सिङ्गो संसारका लागि अनुकरणीय छैन त ? उनले जिम्मी कार्टर र रोनाल्ड रेगन जस्ता विश्वविख्यात अमेरिकी राष्ट्रपतिहरूसँग बुद्धिमत्तापूर्णरूपले जुन सम्बन्ध राखे, त्यसले पनि आधुनिक चीनको निर्माणमा ठूलो तथा ऐतिहासिक योगदान पुगेको छभन्दा अतिशयोक्ति नहोला । यो प्रसंग किन स्मरण गरिएको हो भने कुनै पनि व्यक्ति वा संस्थाले जस्तो कार्यशैली अख्तियार गर्छ परिणाम त्यस्तै निस्किन्छ । देङले जनअधिकार र नागरिक स्वतन्त्रताको विषयलाई समेत महत्त्व दिएको भए उनको उचाइ अझ बढ्ने थियो।

त्यति मात्र होइन विश्व राजनेताको प्रतिष्ठा पाएका विख्यात अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले भनेका छन्- यदि तिमी मलाई रुख काट्नका लागि ६ घण्टा समय उपलब्ध गराउँछौ भने म शुरुका चारघण्टा मेरो बञ्चरो उद्याउनमा खर्च गर्छु । कति राम्रो कुरा ! भुत्ते बञ्चरोले त रुख काट्न सक्तैन र धारिलो बञ्चराले चाँडै रुख छिनाल्छ। यसले कुनै काम गर्नुअगाडि राम्रोसँग तयारी गर्नु पर्छ भन्ने कुरालाई इंगित गर्दछ । तयारीविनाका कुनै पनि काम उपलब्धिमूलक नहुन सक्छन् । परीक्षा, प्रतियोगिता, युद्ध सबैका लागि पूर्वतयारी चाहिन्छ ।

कुनै पनि संस्था, समाज र देश भनेका पनि आखिर मानिस नै हुन्। मानिसकै योग्यता र बुद्धिमताले सबै उन्नत बन्ने हुन्। कुनै अदृश्य शक्तिले रातारात प्रगति गराउने होइनन् । यो सत्यलाई सबैले बुझ्दैनन् र भाग्यवादी बन्छन्। भाग्य जन्मजात पैदा हुने कुरा होइन । मानिसको कर्मले भाग्य पैदा गर्दछ। राम्रो र असल कर्म सौभाग्यको जननी हो भने दुश्कर्म दुर्भाग्यको जननी हो।

मानव सभ्यतालाई असल मानिसहरूले नै आजसम्म डोर्‍याएर ल्याए नत्र मानव जातिको अस्तित्व नै नरहन सक्थ्यो। यसमा इतिहासको विभिन्न कालखण्डमा निर्णायक भूमिका खेल्ने महापुरुषहरू तत्कालीन समयका सफल नेता हुन्। यस्तै दृष्टान्त मध्येका एक नमूना हुन्, लिङ्कन।

सफल संस्था, नेता वा राष्ट्रसँग जीवनको कार्यसूची हुन्छ। यसका लागि अन्तस्करण खुल्नु पर्छ। राष्ट्र किन निर्माण भयो, संस्था किन बनाइयो र मेरो जन्म किन भयो भन्ने कुरा थाहा नपाउनेहरू कदापि सफल हुँदैनन् ।

यिनले आफूले त दुःख पाउँछन् नै अरूलाई पनि दुःख दिन्छन् । अफगानिस्तान र अफगानी जनता यसको पछिल्लो उदाहरण हुन्। आतंक र परतन्त्रता अगाँलेका अफगानीहरूले अझै निकै दु:ख पाउने पक्का छ। उनीहरूले अरूलाई पनि दुःख दिने पनि पक्का नै छ। आफ्नो अस्तित्वको महत्त्व नबुझ्नेहरूले अन्ततः अस्मिता, स्वतन्त्रता र पहिचान गुमाउँदछन्।

अस्तित्व आफ्नै बेहोसीले गुम्ने हो । पहिचान, राष्ट्र सबै कुरा आफ्नै नालायकी र अयोग्यताले गुमाउने र हराउने हो। ठूल्ठूला पदमा पुग्नेबित्तिकै पुग्ने जति सबै योग्य भइहाल्दैनन्। घटनाक्रम, परिस्थिति र संयोगले पनि कहिलेकाहीँ ओहदा प्राप्त हुने गर्छ। अक्सर यस्तो अवसरलाई कमै मात्रले सदुपयोग गर्दछन्, जसले सदुपयोग गर्छन्, ती महान बन्दछन्।

​सबै व्यक्ति चाणक्य हुँदैनन्, जसले पहिले आफूलाई तयार गर्‍यो र पछि चन्द्रगुप्त पैदा गर्‍यो। त्यसैले प्राप्त अवसर त्यस्तो मौका हो जसलाई अधिकतम सदुपयोग गरी सिङ्गो समाज  र आफू स्वयंलाई समेत लाभान्वित तुल्याउन सकिन्छ । यसको तात्पर्य प्राप्त जिम्मेदारीलाई सार्थक बनाउन सकिन्छ।

सरकार राज्यका तर्फबाट काम गर्ने प्रतिनिधि हो । सरकारले गर्ने सबै काम जनताका लागि हो। सरकारी अधिकारीहरू जनताको पसिनामा बाँच्दछन् । यसबापत उनीहरूले जनतालाई समानरूपले राज्यको सेवा प्रवाह गर्नुपर्दछ। यसमा कमी हुनासाथ राज्यको बेइमानीको प्रश्न उठिहाल्छ। यो स्वाभाविक हो, उठाउन पाइन्छ, किनभने राज्य जनताले आफ्नो सेवा र सुरक्षाका लागि निर्माण गरेको संगठित संस्था हो । अन्यथा राज्यको दरकारै छैन ।

सरकार निश्चित प्रक्रियाबाट आफ्नै लागि जनताले छानेको पहरेदारहरूको जमात हो । यो कुनै अलौकिक वा देवप्रदत्त समूह होइन ताकि जनताले यसको पूजा अर्चना गर्नु परोस् । आफ्नो आवश्यकताले आफ्नै धन खर्चेर खडा गरेको सरकारलाई भन्ने, सचेत गराउने र हटाउने अधिकार जनतालाई हुन्छ। बरु सरकारहरूले जनताको पूजा गर्नुपर्छ, किनभने जनताले चाहेन भने सरकारको चुल्हो निभ्छ ।

यस्तो वास्तविकतालाई नजरअन्दाज गरेर चलेका सरकारहरू नै जनविरोधी हुन्, निरंकुश र दमनकारी हुन्। अफगानिस्तानका खराब  सरकारहरूले सोभियत संघलाई नभित्र्याएको भए आजको दुर्दशा झेल्नु पर्दैनथ्यो। सरकारमा पुगेका खराब पात्रहरूको स्वार्थको परिणाम नै आज देश तालिबानी हिंसा र आतंकको मुहान भएको छ र विदेशीहरूको क्रिडास्थल बनेको छ।

नेपाल देश नेपाली पुर्खाहरूको अथक संघर्ष र ठूलो बलिदानबाट निर्माण भएको हो। यो एकै रातमा बनेको होइन । अर्को कुरा यहाँ चलेका पुराना राजनीतिक प्रणालीहरूभन्दा वर्तमान प्रणाली उत्तम ठानेर वा मानेर स्थापना गरिएको हो। यस प्रणालीसँग गर्न सकिएन भन्ने सुविधा छैन। माथि नै चर्चा भइसक्यो कि हरेक प्रणालीको सफलता या असफलता व्यक्तिको नेतृत्व कुशलतासँग जोडिने कुरा हो ।

व्यक्तिको सामर्थ्य र योग्यताले संस्था, समाज र राष्ट्र बन्ने हो । लि क्वान, महाथीर, पार्क चुङ हाम्रा नजिकका उदाहरण हुन्। उनीहरूले आफ्नो देशको सामर्थ्य र आवश्यकतालाई ठम्याए । तदनुकूलको तयारी गरे र आफ्नो इमान, नैतिकता र कठोर मेहनतले देश बनाए। यसबाट हामीले सिक्नुपर्छ कि पर्दैन ? यसअघि हामीबाट धेरै कमजोरी भए, जसको ठूलो मुल्य चुकाउनु पर्‍यो । अब त्यस्ता गल्ती कमजोरी दोहोर्‍याएर फेरि देशलाई अन्यौलतर्फ धकेल्नु हुँदैन, जनतालाई निराश बनाउनु हुँदैन।

नेतृत्व एउटा  त्यस्तो प्रतीक वा धरोहर हो जो निर्माण हुन वर्षौं लाग्छ र नेतृत्वसँग जनताका आशा जोडिएका हुन्छन् । अझ लोकतान्त्रिक प्रणालीमा त राजनीतिक दलको मुख्य नेताको भूमिकामा समाज र राष्ट्रको भविष्य अडिएको हुन्छ। नेताको कर्मले जनताको भाग्य निर्माण हुन्छ र कुकर्मले दुर्भाग्य । हामी आफैंले वकालत गरेको र संघर्षद्वारा स्थापना गरेको राजनीतिक प्रणालीको अहिले स्वयं नेतृत्व गरिरहेका छौँ ।

विगतको लामो राष्ट्र सञ्चालनको अनुभव पनि छ। साँच्चै भन्ने हो भने यतिबेला जनता घोर निराशामा डुबेको छ। दुईतिहाइ निकटको सरकार चल्न सकेन । जनताका सामान्यभन्दा सामान्य समस्या पनि सम्बोधन भएनन् । एक प्रकारले जनता अभिभावकविहीन भए। गरीबी र बेरोजगारी बढ्यो । शिक्षा क्षेत्र तहसनहस भयो। शान्ति सुरक्षा नाजुक भयो ।

कोरोना महामारी रोकथाम र नियन्त्रणमा प्रभावकारी कदम चालिएन । संघीय शासन प्रणालीका सबै तहका सरकारहरूप्रति जनविश्वास बढेन। राजनीतिक दलहरूका बीचमा न्युनतम समझदारी समेत भएन । दलहरूभित्रको अन्तरकलह उत्कर्षमा पुग्यो । यस्तो बेलामा प्राप्त जिम्मेवारी सम्पादनमा निकै जटिलताहरू हुन्छन् नै तथापि नेतृत्वले आफ्नो क्षमता प्रदर्शन गर्ने र परिणाम निकाल्ने यस्तै बेलामा हो ।

जनतामा सामाजिक तथा सांस्कृतिक जागरुकता कम हुनु पछौटे र अविकसित समाजको लक्षण हो। हाम्रो देश पनि यसको अपवाद छैन। राजनीतिक रूपमा भने नेपाल धेरै अगाडि छ। यसको उदाहरण नेपालमा सम्पन्न भएका चरणबद्ध राजनीतिक आन्दोलनहरू नै हुन्। तर देशको समुन्नतिका लागि राजनीतिक परिवर्तन मात्र पर्याप्त नहुँदो रहेछ। त्यसैको परिणाम आजको दुरावस्था हो । त्यसैले अहिले हामी राष्ट्र निर्माणको गह्रौं बोझले थिचिएका छौँ ।

पुरानो पुस्ताको सक्रियता निवृत्तिको मोडमा छ। उमेर पुगेको राजनीतिबाहिरको कान्छो पुस्ता अन्यौलपूर्ण भविष्यबाट निराश छ। सबै राजनीतिक दलभित्रका तीनै पुस्तामा शक्ति संघर्ष जारी छ। समाज तनावग्रस्त छ, त्यसैले अशान्त छ। राष्ट्रिय ढुकुटी मजबुत छैन र अर्थतन्त्रका सूचकहरू उत्साहजनक छैनन् । कर्मचारीतन्त्र अवसरपरस्त छ। व्यापारी, व्यवसायीहरू संत्रस्त छन् । वैदेशिक रोजगारी गम्भीर रूपमा प्रभावित छ । विप्रेषण घटेको छ । व्यापार घाटा बढेकोबढ्यै छ। यस्तो बेलामा सबैलाई आश्वस्त बनाएर देश चलाउन निकै गाह्रो छ।

तथापि थाप्लोमा जिम्मेवारी दिएपछि उम्कन मिल्दैन । तसर्थ कुनै पनि कार्य निकै तयारीका साथ मात्र थाल्नु पर्दछ । देङ्गले भनेजस्तो बढीभन्दा बढी सोच्ने र जति काम गरिन्छ प्रभावकारी र परिणाममुखी मात्र गर्ने बुद्धिमानी देखाउनु पर्दछ । लिङ्कनले भनेजस्तो  काम थाल्नुअगाडि राम्रो तयारी  गर्नु पर्छ। सबल र सफल नेतृत्वले जनतामा आशा जगाउन सक्नुपर्छ। दिन मात्रै  गनेर बस्यौं भने समृद्धि आफैं आउँदैन, इतिहासले धिक्कार्छ ।

गुरूराज घिमिरे
गुरूराज घिमिरे

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्