बुटवलमा ललितकला पढाउने तयारी

बुटवल उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रमका अतिरिक्त विद्यालय तहदेखि नै ललितकला विषयका समेत कक्षा सञ्चालनको तयारी गरेको छ । यसका लागि विज्ञहरू सम्मिलित कार्यदल गठन गरेर आवश्यक अध्ययन र व्यवस्थापनको काम भइरहेको छ । 


Advertisement

विद्यालयको आधारभूत तहदेखि नै ललितकलाको व्यवस्थित अध्ययन अध्यापन गराउने कार्य कतै भएको छैन । केही संस्थागत विद्यालयहरूले चित्रकला, वाद्यवादन, नृत्य जस्ता विषयमा आंशिक तथा पूर्णकालीन कक्षाहरू सञ्चालन गरे पनि ती सबै विषयगत रुपमा नरहेको विज्ञहरूको भनाइ छ ।


Advertisement

बुटवल उपमहानगरपालिकाभित्र सञ्चालित विद्यालयहरूमा ललितकला विषय अध्ययन अध्यापनका माध्यमबाट विद्यालय तहदेखि नै बालबालिकामा ललितकलासम्बन्धीको अभिरुचिलाई अवसर प्रदान गर्ने गरी अवधारणा बनाइएको बुटवलका प्रमुख शिवराज सुवेदीले बताए  । 

विद्यालय तहदेखि नै ललितकलाका विधागत सीपको विकास गर्दै व्यावसायिक तथा संस्थागत विकासका निम्ति अभिप्रेरणा जगाउने र स्थानीय कलासंस्कृतिको समेत संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्य रहेको प्रमुख सुवेदीको भनाइ छ । 


Advertisement

यससम्बन्धी आवश्यक अध्ययन गरी व्यवस्थापनका प्रक्रिया अगाडि बढाउन गत वैशाखमा डा. तिलक भुसालको संयोजकत्वमा १५ सदस्यीय अध्ययन कार्यदल गठन गरिएको थियो । 

विभिन्न विषयका विज्ञहरू सम्मिलित उक्त कार्यदलले विस्तृत अध्ययन गरी उपमहानगरमा प्रारम्भिक प्रतिवेदन पेश गरेर सुझाव माग गरेको छ । 

कार्यदलले काठमाडौं विश्वविद्यालय र त्रिभूवन विश्वविद्यालयका ललितकला विभागका प्रोफेसरहरूसँग अन्तरक्रिया गरेर प्रारम्भिक प्रतिवेदन तयार पारेको कार्यदलका संयोजक भुसालले बताए । 

बुटवल उपमहानगरपालिकामा ललितकला विषयलाई प्राज्ञिक विषयका रूपमा विद्यालयदेखि स्थापित गरी विद्यार्थीहरूलाई यस विषयतर्फ आकर्षित गर्न विषयगत व्यवस्थापनसम्बन्धी अध्ययन गरेर प्रतिवेदनलाई अन्तिम रुप दिन सुझाव दिइएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बताए ।

कार्यक्रममा सहभागी विज्ञ डा.मुराहरी पराजुली, अजित खनाल, प्रेमबहादुर बस्नेतलगायतले ललितकलाका विभिन्न विधामा विशेष अभिरुचि भएका विद्यार्थीहरूलाई ललितकला विषयको अध्यापनका माध्यमबाट उनीहरूको उच्च शिक्षातर्फको गन्तव्यलाई पनि सुनिश्चितता प्रदान गर्ने गरी योजना बनाउन सुझाव दिए । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्