बालज्ञानी गुरु आदित्य

कमल रिजाल
कमल रिजाल

लोकान्तरका नियमित स्तम्भकार कमल रिजाल धार्मिक संस्कार र समसामयिक विषयमा कलम चलाउँछन् ।

बालज्ञानी गुरु आदित्य असाधारण बालप्रतिभा हुन् । उनी पराभौतिक चेतनाका भण्डार हुन् भन्ने कुरा उनका भक्त तथा उनलाई देख्दै र नजिकबाट नियाल्दै आउनेहरू बताउँछन् ।


Advertisement

उनका ज्ञान र विशेषता देखेर पूर्व प्रधानमन्त्री स्व. सुशील कोइराला लगायत वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओली आश्चर्यचकित भइसकेका छन् ।


Advertisement

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली, पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री, डा. भोला रिजाल, प्रा.डा. जगदीश अग्रवाल, बोधीसत्व स्वामी आनन्द अरुण, पूर्व मुख्यसचिव लीलामणि पौड्याल, उद्योगपति उपेन्द्र महतो आदि पनि यस्तैमा पर्छन् । उद्योगति उपेन्द्र महतो अन्तरङ्ग भक्तजस्तै भएर आदित्य ज्योतिपथमा लागेका छन् ।

सर्वधर्म समभावका पक्षपाती आदित्य कलियुगको आदित्य ज्योतिपथको प्रणेता पनि हुन् । हाल यसबारे एउटा पुस्तक नै प्रकाशित भइसकेको छ । आदित्य संरक्षण प्रतिष्ठानले प्रकाशित गरेको पुस्तकमा बालज्ञानी गुरु आदित्यको हालसम्मको संक्षिप्त जीवनवृत्त र उनका योजना, भावी उद्देश्य तथा सन्देश समेटिएका छन् ।


Advertisement

हाल पशुपति क्षेत्रको गौरीनगर ओम आदि कुञ्जमा बसेर ध्यान साधनालाई उचाइ दिँदै समाजमा प्रेमामृत र ज्ञानामृत सरिता प्रवाह गर्दै आएका आदित्यको नेपाललाई आध्यात्मिक केन्द्र बनाउने योजना छ । 

यस निम्ति आदिकुञ्जमा अद्वितीय त्रिगजुर शिवालय निर्माण गरिसकिएको छ । उनकै परिकल्पनामा निर्मित मन्दिर परिसरमा भजनकीर्तन एवं ध्यान तथा आध्यात्मिक साधनाका थुप्रै भौतिक संरचना तयार भएका छन् । यसबाहेक काभ्रेको पनौतीमा पनि यस्तै अद्भूत मोक्षधाम निर्माण गर्न लागिएको छ ।  

सरकारले २ वर्षअघि आदित्य संरक्षण प्रतिष्ठानका लागि १ करोड बजेट छुट्याएको थियो तर आदित्यले स्वीकार गरेनन् । आफ्नै तर्फबाट दीनदुःखी र असहायलाई यथोचित सहयोग गर्दै आएका उनले सो रकमसमेत यस्तै काममा खर्चनु भनेका थिए ।

एकसेएक ‘मै हुँ’ भन्ने नेताहरूले समेत सरकारी ढुकुटीमा तर मार्ने गरेको आजको जमानामा उनको उदारता साँच्चै प्रशंसालायक छ ।  

विक्रम संवत् २०६७ साउन ७ गते जन्मेका गुरु आदित्यका बुवाको नाम शेषराज दाहाल र आमाको नाम ईश्वरा गुरागाईं हो । झापाको तोपगाछीका यी सज्जन दम्पती हाल काठमाडौं सिफल बस्दै आएका छन् ।

जन्मँदा बालक आदित्यको अवस्था स्वस्थ थियो । २०६९ पुससम्म पनि उनको अवस्था नर्मल नै थियो । बालोचित स्वभाव तथा व्यवहार विकास हुँदै थिए । त्यसै सालको माघतिरदेखि एउटा गोडा छोटो देखिन थाल्यो । नाप्दा बराबर भए पनि हेर्दा लामो छोटो देखिन्थ्यो । हिडाइ, बोलाइ आदिमा पनि फरक देखिन थाल्यो । छोराको उपचारका लागि आमाबुवाले यथासम्भव प्रयास गरे । तैपनि व्यथा पत्ता लाग्न सकेन । 

उपचारको क्रममा एकपटक भारतको दिल्लीसम्म पनि पुगेका थिए तर त्यहाँ पनि व्यथा खुट्याउन सकिएन । यता बालक आदित्यको शारीरिक अवस्था झन्झन् खस्किँदै जान थाल्यो । २०७१ वैशाखसम्म पुग्दा उनको बोली हराइसकेको थियो ।

बिस्तारै जिब्रो चलाउन तथा खाना चपाउन र निल्न गाह्रो पर्न थाल्यो । हात, गोडा लुला भए, औंला चल्न छाडे, वाक्य बन्द भयो, मुखबाट र्‍याल चुहिन थाल्यो । शारीरिक अवस्था ठीक नभए पनि सामान्य शिक्षासम्म दिन सकिन्छ कि भनेर आमाबुवा सोच्न थाले । यस निम्ति स्कूलहरू चहार्ने काम भयो तर कसैले पनि भर्ना लिन मानेनन् । 

समय बित्दै गयो । आदित्यको तिथि अनुसारको चौथो वर्ष प्रवेशको अघिल्लो दिन २०७१ असार २५ गते एउटा चमत्कार भयो । स्कूलको मुखै नदेखेको र हात गोडाका औंला समेत चल्न नसक्ने बालक एकाएक लेख्न थाले । पहिले विश्वासै भएन बुवाआमालाई तर उनी भने नेपाली मात्र होइन, अंग्रेजी लगायतका भाषामा लेख्न तथा गणितका सूत्रका समेत हल निकाल्न थाले । यस दिनलाई बालज्ञानी गुरु आदित्यले आफू ज्ञानमा ब्युँतिएको दिन, निद्राबाट ब्युँझिएको दिन भन्ने गरेका छन् ।

देशको राजनीतिक र आर्थिक स्थिति देखेर चिन्तित हुने आदित्यमा जसलाई भेट्यो उसकै स्तरमा उपस्थित हुनसक्ने असाधारण क्षमता छ । राजनीतिज्ञसित राजनीतिकै कुरा गर्छन्, प्रशासकका अगाडि प्रशासनकै । चिकित्सकका अगाडि चिकित्साशास्त्रकै कुरा गर्छन् इन्जिनीयरका अगाडि इन्जिनीयरिङ क्षेत्रकै । अर्थात् जो जस्तो छ उस्तै बनेर कुरा गर्न सक्छन् ।

कुरा पनि यस्तो परिपक्व गर्छन् कि उनीहरू नै छक्क पर्छन् । कुराकानीको माध्यम लेखन नै हुन्छ । कसैले कापी समातिदिनुपर्छ, उनी ३ औंलाले कलम च्यापेर २–४ लाइन लेख्छन् तर जति लेख्छन् सटीक र सारगर्भित लेख्छन् । उनलाई कसैले भन्नै पर्दैन अनुहार हेरेरै कुन व्यक्ति कुन क्षेत्र र कुन स्तरको हो भन्ने पत्ता लगाउँछन् र सोही अनुसार प्रस्तुत हुन थाल्छन् ।

प्रायः हँसिलो अनुहारमा रहने गुरु आदित्य मुलुकमा अप्रिय घटना भएका बेला भने जोरले रुने गर्छन् । उनी भन्ने गर्छन् आफू हाँस्ने अरुका लागि र रुने आफ्ना लागि । ध्यानलाई विशेष जोड दिने आदित्य यदाकदा कठिनतम ध्यानमा जाने पनि गर्छन् ।

‘ध्यानबाट नै दिव्यज्ञानको मार्ग मिल्छ’ भन्ने उनको भनाइ छ । उनका भनाइहरू व्यावहारिक र जीवन तथा जगत सम्बन्धित मात्र हुँदैनन्, शास्त्रसम्मत समेत हुने गर्छन् । कुनै वाणी यति बढी दार्शनिक हुन्छन् कि माझिएका दार्शनिकहरू समेत चकित पर्ने गर्छन् तर शारीरिक अवस्था भने अहिले पनि उस्तै छ । 

कसैको सहारा विना न चल्न सक्छन् न बस्नै । नित्यकर्मलाई समेत अरुको सहारा चाहिन्छ । उपचारका लागि उनलाई एकपटक अमेरिकासम्म पनि लगिएको थियो तर त्यहाँ पनि उपचार होइन, रोगै पत्ता लाग्न सकेन । अहिले पनि उनका भक्तहरू अरु नभए पनि कम्तीमा आफ्ना अथाह ज्ञानलाई मुखबाट व्यक्त गर्न सक्नेसम्म भइदिए हुन्थ्यो भनेर भगवान्सित प्रार्थना गरिरहेका छन् ।  

अरुको सुखमा हाँसिदिने र दुःखमा रोइदिने यस्ता अद्भूत प्रतिभा देशका गहना हुन् । यस्ता प्रतिभाको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । प्रायः सुन्ने गरिन्छ, उनीसमक्ष व्यक्तिगत समस्या लिएर आउने बढी हुन्छन् । यसमा भने ध्यान देखिन्छ । उनी देशकै सम्पत्ति हुन् । उनको समय अमूल्य छ, यस्तो अमूल्य समय त्यस्तै काममा खर्चिनु राम्रो हुन्छ । 

कमल रिजाल
कमल रिजाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्