ठेकेदारको ढिलासुस्तीले पूर्वपश्चिम राजमार्गमा बेहाल, चालक र यात्रुलाई दुःख

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य लुम्बिनी प्रदेशबाट रिपोर्टिङ गर्छन् ।

सबैभन्दा बढी सवारी चाप हुने निर्माणाधीन बुटवल–नारायणगढ सडक वर्षासँगैको बाढी–पहिरोले क्षतविक्षत बनाएको छ ।


Advertisement

ठूला–ठूला खाल्डाखुल्डी, पहिरो र ठाउँठाउँमा सडक र पुल भाँसिदा पूर्वपश्चिम राजमार्गको बीच भागमा पर्ने यो सडक खण्ड भएर यात्रा गर्ने यात्रुले अहिले निकै ठूलो सास्तीको सामना गर्दै आएका छन् ।


Advertisement

गत बिहीवारदेखि निरन्तर परेको झरीका कारण सडक पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । बुटवलभन्दा ४ किलोमिटर अगाडि र ६ किलोमिटर अगाडि २ वटा ‘डाइभर्सन’ बाढीले बगाएको छ । देवदहनजिकै घोडाहा र पश्चिम नवलपरासीको सुनवलमा पर्ने तुरिया खोलाको पक्की पुल बाढीले कटान गर्दा भाँसिएका छन् । ती पुलमा तत्काल डाइभर्सन बनाउने मिल्ने अवस्था समेत छैन । 

पश्चिमबाट पूर्व हिँडेका गाडीहरू बुटवलबाट भैहरवा, भुमही हुँदै परासीबाट बर्दघाट निस्किएर पूर्वतर्फ जाने गरेका छन् । बाटो जताततै बिग्रिँदा गाडीलाई ५० किलोमिटरभन्दा बढी दूरी घुम्नुपर्ने भएको छ । बर्दघाट, सुनवन क्षेत्रमा बाढी पसेर डुबान हुँदा सडकमा १ मिटरसम्म हिलो जमेकाले गाडी सहज रूपमा चल्ने अवस्था छैन । 


Advertisement

बर्दघाट पूर्वी खण्डको अवस्था पनि बेहाल छ । गैंडाकोटको थुम्सीमा डाइभर्सन बगेको छ । सोमवार साँझबाट एकतर्फ गाडी चल्न थालेका बुटवल–नारायणगढ पूर्व खण्डका आयोजना प्रमुख रमेश जिसीले बताए । 

थुम्सीमा बिहीवारै बगेको डाइभर्सन निरन्तरको वर्षाले बन्न सकेको छैन । सडक फराकिलो पार्ने क्रममा बनाइएको डाइभर्सन बगाएपछि ह्युम पाइप राखेर ग्राभेलले पुरेर अस्थायी व्यवस्था गरिएको जिसीले बताए तर वर्षा हुनासाथ ग्राभेल बगेर ठूला गाडीहरू फस्दै आएका छन् । 

कावासोती, डन्डा, अरूणखोला र दुम्कीबासमा समेत सडक बिग्रिएर ध्वस्त भएको छ । दाउन्नेको घ्यू खोलामा पनि लेदो सहितको पहिरो सडकमा झरिरहन्छ । जसले गर्दा गाडी कतिखेर पहिरोमा पर्ने हुन् भन्ने ठेगान छैन । 

बेलहिया नाका हुँदै काठमाडौं हिँडेका मालबाहक १२ चक्के गाडी यहीँ बाटो प्रयोग गरेर काठमाडौं जाने गर्छन् । गैंडाकोटदेखि बुटवल राजमार्ग चौराहासम्मको सबै भाग खनेर ६ लेनमा विस्तारको काम अगाडि बढाए पनि कामको गति अहिले शून्य छ । पूर्वपश्चिम राजमार्गको ११५ किलोमिटर सडक पार गर्न अहिले यात्रु र चालकलाई महाभारत छ ।

कहाँ कतिखेर लेदोसँगैको पहिरो झरेर गाडी पुरिने हो पत्तै नहुने काठमाडौं–नेपालगञ्ज रूटमा गाडी चलाउने चालक सूर्य जोशीले बताए । ‘अहिले सबैभन्दा डर र जोखिमको बाटो बुटवलबाट नारायणगढसम्मको छ,’ चालक जोशीले थपे, ‘कहाँ कतिखेर रोकिनुपर्ने हो ठेगान नै हुँदैन । यात्रु पनि अहिले नारायणगढ आएपछि बुटवल नपुग्दासम्म आत्तिन्छन् ।’ 

२०७५ चैतमा ठूलो तामझामका साथ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा शिलान्यास गरे पनि १ वर्षसम्म निर्माण शुरू हुनै सकेन । कोरोना महामारी र वर्षातसँगै अहिले पनि काम ठप्प छ । ३ वर्षमा सक्ने गरी शिलान्यास गरिएको आयोजनाको काम साढे २ वर्षमा जम्मा ९ प्रतिशत मात्र भएको छ । यो गतिले सडक अझै ५ वर्षसम्म बन्ने देखिँदैन ।

सडक विस्तारका लागि विद्युत्का पोल र रुख कटानको काम समेत अझै सकिएको छैन । केही ठाउँमा पुलहरू निर्माणको काम मात्र भएको छ । आयोजनामा दाउन्न पूर्व र दाउन्ने पश्चिम गरी २ खण्डमा बिभाजन गरेर काम गरिएको छ । 

बुटवल–नारायणगढ सडक विस्तार आयोजना दाउन्ने पश्चिम खण्डका प्रमुख प्रदीपराज शाक्यले सडक निर्माणको काम अहिले ठप्प जस्तै भएको बताए । ‘वर्षातमा अहिले कामदारहरू बिग्रिएको र बन्द भएको सडक खुलाउने काममै लागेका छन्, निर्माणको काम भएको छैन,’ उनले भने, ‘दाउन्ने पश्चिम क्षेत्रमा धेरै डाइभर्सन बाढीले बगाएको छ । अहिले हामी त्यसैमा केन्द्रित हुन खोजे पनि पानी परिरहँदा काम हुन सकेको छैन । 
अहिले सडक खुलाउने काममा मात्र केन्द्रित छौं ।’

अहिले सडक पार गर्न दिनभर लाग्छ । भारतबाट आउने ठूला १२ चक्के मालबाहक ट्रक दैनिकजसो सडकमै बिगिँ्रदा गाडीले सडकमै रात बिताउनुपर्ने अवस्था छ । 

सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले धसिएका पुलमा पानी रोकिएपछि डाइभर्सन बनाइने बताए । सडकको दायाँबायाँमा होटल व्यवसायी र पसलेले समेत घाम लाग्दा धुलो र वर्षामा हिलोले आजित भएका छन् ।

यो रूटमा दैनिक साना–ठूला गरी ८–१० हजार सवारीसाधन ओहोरदोहोर गर्छन् । पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले सडक खराब हुँदा धेरै गाडी छोटो समयमा बिग्रिने र मर्मत गर्नुपर्ने अवस्थामा पुग्ने गरेको बताए । दाउन्ने पश्चिमतर्फ २० वटा ‘माइनर ब्रीज’हरू बनाउन काम थालिए पनि वर्षायाम र कोरोनाले पूरा हुन पाएका छैनन् । दाउन्ने पूर्वतर्फ १० वटा साना पुल निर्माणको काम पनि अलपत्र जस्तै छ । 

राजा महेन्द्रले २०२० सालमा निर्माण गरेको २ लेनको सडक जंगलमा फोर लेन र बस्तीमा सिक्स लेनमा ५० वर्षपछि विस्तार हुँदैछ । सडक स्तरोन्नति गर्ने गरी २०७५ सालमै चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कर्पोरेसनले १७ अर्ब रुपैयाँमा ठेक्का सम्झौता लिएर काम धिमा गतिमा अगाडि बढाएको छ । सडक विस्तार गर्ने काममा भएको ढिलाइले सडक खण्डमा दुर्घटनाको जोखिम बढाएको छ । सडक निर्माणले दशैंपछि मात्र गति लिने आयोजनाले बताएको छ । 

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्