संवैधानिक इजलासमा प्रधानन्यायाधीशको सहभागिताको प्रश्न : सर्वोच्चले भन्यो केही विषय निर्क्यौल गर्नैपर्ने देखियो [आदेशसहित]

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्नैपर्ने माग गरिएको रिटको अन्तिम टुंगो नलागेसम्म संवैधानिक नियुक्तिसँग सम्बन्धित मुद्दाहरूको सुनुवाइ अगाडि नबढाउन सर्वोच्चले अन्तरिम आदेश दिएको छ ।


Advertisement

न्यायाधीश  हरिप्रसाद फुँयालको एक इजलासले बिहीवार उक्त आदेश दिएको हो । आदेशको जानकारी आजै विपक्षीहरूलाई गराउनू भनिएको छ ।


Advertisement

साथै अदालतको सहयोगका एमिकस क्युरी झिकाउने आदेश पनि गरिएको छ ।

'प्रस्तुत विषय राष्ट्रिय महत्त्वको परेको देखिँदा लिखित जवाफ परेको तेस्रो दिनमा पेशी चढाई संवैधानिक विषय र महत्त्व समेतलाई मध्यनजर गरी सर्वोच्च अदालत बारबाट दुईजना र नेपाल बार एसोसिएसनबाट दुईजना वरिष्ठ अधिवक्ताहरूलाई अदालतको सहयोगीको रूपमा उपस्थित गराइदिनुहुन अनुरोध गरी यसै विषयसँग सम्बन्धित रिट समेत यससाथ राखी पेश गर्नुहोला,' आदेशमा उल्लेख  गरिएको छ ।


Advertisement

संवैधानिक नियुक्तिविरुद्धका मुद्दा हेर्नका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविनाको संवैधानिक इजलास बस्ने तयारी भएपछि अधिवक्ता डा. गणेश रेग्मीले रिट दायर गरेका थिए ।

प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्नै पर्ने संवैधानिक दायित्व भएकाले प्रधानन्यायाधीशकै नेतृत्वमा संवैधानिक इजलास गठन हुनुपर्ने माग अधिवक्ता रेग्मीले गरेका थिए।

निर्क्यौल गर्नुपर्ने गम्भीर सबालबारे

मूलतः संविधानको धारा १३७ (१) बमोजिम गठन हुने संवैधानिक इजलासमा प्रधानन्यायाधीश अनिवार्य उपस्थित हुनुपर्ने हो हो वा होइन ? संविधानको धारा १२९ (६) बमोजिमको अवस्थामा संवैधानिक इजलासका वरिष्ठतम् न्यायाधीशले कायम मुकायम प्रधानन्यायाधीश भई संवैधानिक इजलास सञ्चालन हुन सक्छ वा सक्दैन भन्ने विषयमा निर्क्यौल गर्नुपर्ने आदेशमा उल्लेख छ।

संविधानको धारा २० (९) र १२६ समेतको परिप्रेक्ष्यमा सम्बन्धित निवेदनमा कस्तो अवस्थामा संवैधानिक इजलासमा रहनुहुने प्रधान न्यायाधीश र न्यायाधीशहरू बाहिरिन सक्नुहुन्छ भन्ने प्रसंगलाई कमन ल प्रणालीअन्तर्गत विकास भएका स्वच्छ सुनुवाइका सिद्धान्तहरू नेपालको संविधान निर्माणको क्रममा संवैधानिक अदालतको गठनको प्रसंगमा संविधानको धारा १३७ अन्तर्गत स्थापना गरेको संवैधानिक इजलास संवैधानिक-राजनैतिक प्रकृतिका मुद्दाहरू हेर्ने र प्रधानन्यायाधीशसहित पाँचजना न्यायाधीशले सामूहिक रूपमा निर्णय गर्ने विषयमा उक्त कमन ल प्रणालीअन्तर्गत विकास भएका स्वच्छ सुनुवाइका सिद्धान्त अर्थात संविधानको धारा २० र १२६ का मान्यताहरू कुन रूपमा आकर्षित हुन्छन् भन्ने हेरिनुपर्ने आदेशमा उल्लेख छ।

'त्यसैगरी निवेदकले अदालतमा विचाराधीन मुद्दामा इजलास बाहिरबाट प्रभाव पार्ने कामका सम्बन्धमा उठाइएका विषयहरू मूलतः यस अदालतमा चलिरहेको मुद्दामा पूर्व प्रधानन्यायाधीश र न्यायाधीशहरूले सार्वजनिक गर्नुपर्ने अभिव्यक्ति, बार एसोसिएसनले गर्ने संस्थागत निर्णय तथा इजलासमा बहस गर्न आउने वा बहस गरिसकेका कानून व्यवसायीहरूले सम्बन्धित मुद्दाको निर्णयका सन्दर्भमा गर्ने सार्वजनिक बहसहरूलाई अभिव्यक्तिको स्वतन्त्रता तथा न्यायिक संस्कृतिको परम्परा र विकासका सम्बन्धमा कसरी हेर्ने भन्ने विषयमा पनि हेर्नुपर्ने देखियो,' आदेशमा अगाडि भनिएको छ।

संवैधानिक निकायमा नियुक्त गरिएका विभिन्न पदाधिकारीहरूको नियुक्ति खारेजीको माग गर्दै यसअघि परेका रिटमा भोलि शुक्रवार पेशी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको समेत उक्त मुद्दामा स्वार्थ बाझिएको हुनाले संवैधानिक इजलासको नेतृत्व गर्न नहुने तथा इजलासबाट अलग हुनुपर्ने माग रिट निवेदक पक्षले गरेपछि प्रन्या जबराले इजलासबाट अलग हुने बताएका थिए।

भोलि प्रन्या जबरा बिदामा बस्ने र उनीपछिको वरीयताक्रमका न्यायाधीश दीपककुमार कार्कीले पेशी तोक्नेमा न्यायाधीशहरूबीच सहमति भएको थियो।

अधिवक्ता रेग्मीले सर्वोच्च अदालतमा रहेका सबै न्यायाधीशहरू सम्मिलित वृहत् पूर्ण इजलास गठन गरी गम्भीर संवैधानिक प्रश्नको निरुपण गर्नुपर्ने समेत निवेदनमा माग गरेका थिए।

त्यसैगरी आफ्नो मुद्दा आफैंले हेर्न नहुने प्राकृतिक न्यायको सिद्धान्तबमोजिम प्रधानन्यायाधीश बाहेकको इजलासको गठनको माग गर्दै अधिवक्ता दीपकविक्रम मिश्रले समेत दर्ता गराएको रिट पनि फुँयालकै इजलासमा सुनुवाइ भएको थियो।

आफ्नै स्वार्थ जोडिने मुद्दामा प्रधानन्यायाधीशलाई बिदा बस्न लगाई कामु प्रधानन्यायाधीशको नेतृत्वमा सुनुवाई हुनुपर्ने तथा सबै न्यायाधीशलाई संवैधानिक इजलासको रोष्टरमा राख्नुपर्ने अधिवक्ता मिश्रको माग थियो ।

यससँगै संवैधानिक नियुक्तिविरुद्धका रिटमाथि भोलिबाट हुने अपेक्षा गरिएको सुनुवाइ तत्काल नहुने भएको छ ।

हेर्नुहोस्, आदेश :

अजय अनुरागी
अजय अनुरागी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्