राजनीतिमा भक्तिभाव कति जायज ?

  • दुर्गाप्रसाद खरेल 

Advertisement

पौराणिक कालदेखि नै नेपाली समाजमा मानिसहरूका आचरण शास्त्रहरूबाट निर्देशित हुँदै आएका छन् । शास्त्रीय मर्मअनुसार नेपाली समाज देवी–देवताको भजन गाउँदै, पुज्दै र जयजयकार गर्दै आएको छ ।


Advertisement

अध्यात्मवादमा देवताको भक्ति गर्नु, उनको गुणको बयान गर्नु र आफ्नो जीवनमा उनको गुण उतार्नु आवश्यक हुन्छ । आफ्ना इष्टदेवको पूजा आराधना, चिन्तन, मनन गरी उनको उच्च छवि मनमा राखेर भजन गर्नाले मोक्ष प्राप्त गरिन्छ भन्ने मान्यता छ ।

नेपाली समाज शास्त्र र भगवान्को शक्तिमा विश्वास गर्ने समाज भएकाले नै तर्क, मापदण्ड, विधि जस्ता वैज्ञानिक आधारमा नभई भक्त भएर शक्तिको गुणगान गर्ने चलन छ । देशको सार्वभौमसत्ता, अखण्डताको सशक्तिकरण गर्दै मुलुकलाई गरिमामय बनाउन र जनतालाई समुचित अधिकारको व्यवस्था गर्दे न्यायपूर्ण समाजको लागि राजनीति गरिन्छ तर राजनीतिमा नै विधि विधान, राजनीतिक विधि विधानबाट अनभिज्ञ, राजनीतिको मर्म, विश्वको परिवर्तन र त्यसको संकेत छेउ टुप्पो थाहा नभएका मानिस कार्यकर्ता बनेपछि, राजनीतिमा भक्ति र शक्तिको परिपाटी बस्न थालेपछि के होला ! जनतालाई जीवन यापनका न्यूनतम सु्विधा समेतको व्यवस्था गर्ने प्रयत्न गर्न छाडेर भक्त बनाउन र भजन गाउने परिपाटी भए कस्तो अवस्था होला ! हो यही अवस्था वर्तमान नेपाली राजनीतिमा विद्यमान छ । 


Advertisement

यसरी भक्ति र शक्तिमा मदमत्त भएका अन्धभक्तहरूले कुनै व्यक्तिलाई जब देवत्वकरण गर्दछन्, तिनले व्यक्तिको कमी कमजोरी र दोष नदेखी उसैको मात्र पक्ष लिएर उही मात्र सबैभन्दा जान्ने, उसैलाई आदर्श पात्र मानेर देवताको रुपमा चित्रण गर्दछन् । कसैलाई कोही भावना र संवेदनाका कारणले मन पर्न र कोही मन नपर्न सक्छ तर कसैको कुनै पक्ष मन पर्दैमा उसलाई मात्रै महान् मान्ने, भावना र समवेदना नजोडिएको पक्षलाई दानवका रूपमा लिने राजनीतिमा हास्यास्पद, अस्वाभाविक, सभ्य र प्रगतिशील समाजका लागि विनाशकारी परम्परा हो । 

कुनै एक व्यक्तिको देवत्वकरण गरेपछि उसका प्रतिद्वन्द्वीलाई दानवीकरण गर्ने प्रक्रिया चल्दछ । वास्तवमा देवत्वकरण र दानवीकरण मानिसको व्यक्तिगत दृष्टिकोण, आफू अनुसारको व्याख्याले सिर्जना गर्ने हो । एक व्यक्तिको भक्तिभाव र अर्को व्यक्तिप्रतिको घृणा नै देवत्वकरणको विशेषता हो । देवत्वकरणले अरुलाई सम्मान, सहअस्तित्व र अधिकारको कुरालाई निषेध गर्दै शक्ति विशेषको वर्चस्वका लागि कसैलाई देवता र कसैलाई दानवका रूपमा चित्रण गर्दछ । के भक्ति र अध्यात्मले राजनीति चल्छ ?

भक्तिमा भएको अर्को कमजोरी के हो भने भक्तिमा तर्क, स्वविवेक र स्वज्ञानको कु्नै स्थान हुँदैन । आफ्नो सम्पूर्ण विवेक, ज्ञान र अस्तित्वलाई दबाएर एकजनालाई महाशक्ति मान्नु नै भक्तिभाव हो र उसैलाई संसारको महान् ज्ञानी, उद्धारकर्ता र पराक्रमी ठान्नुपर्दछ । शक्तिका रुपमा स्थापित पक्षका महत्व र दोषहरूको समीक्षा गर्नु मानव समाज र जनतालाई उबाट परेको फाइदा नोक्सान हिसाब गर्नु, उसका परिस्थितिजन्य बाध्यता, उसका कमी कमजोरी, उसका निहित स्वार्थ तर्फ ख्याल नगरी उसले गरेका हरेक कार्यलाई महान् र विकास र समृद्धिका लागि हो भनेर विश्वास गर्नु हो । उसका कमी कमजोरीहरू, अनैतिकताको वास्ता नगरी, मानवीय मूल्यको आधारमा तर्क र विवेक प्रयोग नगरी उसलाई देवता मान्नु हो । 

कसैलाई  केही दिनुलाई पनि यो शास्त्रीय धारणाले नैतिकता र कर्तव्य भन्दा पनि दान र पुण्यका रुपमा परिभाषित गर्छ । हाम्रो समाजमा ‘नैतिकता’ भन्नाले भक्तिसँग गाँसिएको नैतिकता बुझिन्छ । जहाँ नैतिकता स्वभाव गुमाएर दया र पुण्य बन्छ । एउटा निरपेक्ष नैतिकता पनि हुन्छ जसमा भक्ति भन्दा पनि मानवप्रतिको प्रेम, मर्म, संवेदना र कर्तव्य प्रमुख हुन्छ तर धार्मिक नैतिकता पुण्य आर्जन गर्न मात्र काम लाग्छ । तिर्खाएकोलाई पानी दिनु र भोकालाई भोजन पनि पुण्य आर्जन गर्नलाई दिनु हो, दयाभाव हो, दान हो । किनभने शास्त्रले परापूर्वकालदेखि हामीलाई यही सिकाएको छ । 
शास्त्र लेखिएका बेलामा सामाजिक न्यायको कुनै धारणा थिएन, शासक वर्ग वा नेतामा हुनुपर्ने गुणहरूको मापदण्ड थिएन, न कुनै अदालत थियो, न मौलिक अधिकारको धारणा थियो, न संविधान थियो, न अधिकारको अवधारणा थियो, न अन्तर्राष्ट्रिय संघ संस्थाहरूको जन्म भएको थियो, न मिडियो थियो, न विकासको अवधारणा थियो, न सुशासनको धारणा थियो, न न्यायपूर्ण समाजको मान्यता थियो, सबै कुरा पदधारीको व्यक्तिगत विवेकमा चल्थ्यो । त्यतिबेलाका राजा, मन्त्री र गाउँका मुखियाहरूलाई शासन गर्नका लागि नीति नियम र अनुशासनका कुराहरू समावेश गरेर लेखिएका कुराहरू शास्त्र बने । जुन अहिले आएर उपयोगबिहीन भएका छन् तर यहाँ भक्तिमा रमाउनेहरूलाई केही फरक परेको छैैन । ती भक्तिदर्शनका उपयोगिता निरर्थक साबित भइसकेको छ तर तिनै शास्त्रीय पद्धतिमा यहाँको राजनीति चलिरहेको देखिन्छ । भक्तहरूले वर्तमान समयमा पनि ती पौराणिक शास्त्रीय मूल्य र मान्यता अनुसार भजन गाउने कार्यलाई निरन्तरता दिइरहेका छन् ।  वर्तमान स्थापित यी सबै मानकहरू, अवधारणा र मापदण्डहरूलाई तिलाञ्जली दिई एक व्यक्तिको विवेक र इच्छालाई नै सर्वोपरि मानेर भक्ति गर्नु वर्तमानको समाज र देशको राजनीतिका लागि विडम्बनापूर्ण स्थिति हो । 

देवताहरू भए पछि दानव (राक्षस) पनि सँगै अस्तित्वमा आउँछन् । किनभने देउताले नै राक्षसहरू पैदा गर्दछन् । पाप र पुण्य, दिन र रात सँगसँगै भएजस्तो देवता र दानव पनि सँगसँगै लडाइँ गर्दछन् । देवताहरू राक्षसहरूका हातमा अमृतको घडा पार्न चाहँदैनन् । हरेक तिकडम गरेर, झुक्याएर भए पनि त्यो अमृतको घडा कसरी देवताहरूले लिन्छन् भन्ने कथा पुराण सुन्ने हरेकले सुनिसकेकै छ । देवताहरू कहिल्यै हार्दैनन् । उनीहरू पनि सही छैनन्, उनीहरू छल गर्न र अरुको अधिकार खोस्न सिपालु छन् । दानवहरू जहिल्यै पनि देवताहरूको अभीष्ट प्राप्त गर्न चाहन्छन् तर देवताहरूको छल र जालझेलका कारण जहिले पनि वञ्चित हुन्छन् । 
    दानवहरूमाथि पनि कम अभियोग छैन । उनीहरू अधिकार पाए भने दुरुपयोग गर्छन्,  देवताहरूलाई लु्टछन् र अस्तित्व धरापमा पार्छन् भनेर देवताहरू जहिलै सन्त्रस्त हुन्छन् । अनि कुनै बेला दानवहरूले आफ्नो पराक्रम र बुद्धिमत्ताका कारणले देवताहरूमाथि विजय हासिल गरेपछि देवताहरू अर्को झन ठुला ब्रह्माजी वा यस्तै महादेवजस्ता परम शक्तिशाली देवताको भजन गाउँदै शरणमा जान्छन् र मुक्तिदाता देवताले अर्को छल गरेर दानवहरूलाई परास्त गरी देवताहरूलाई संकटबाट मुक्ति दिलाउँछन् । वास्तवमा दानवलाई देवताहरूले नै त्यस्तो बनाएका हुन् । देवताहरूको एकछत्र वर्चस्व र छलबाट जब कोही आजित भएर अस्त्र उठाउँछ तब तिनलाई दानव भनेर अस्त्रबाट सम्भव नभए कपट र छलबाट दबाउने प्रयत्न गरिन्छ । यो देवताहरूको अभिन्न संस्कार हो । यसरी देवत्वकरणले दानवीकरण पनि गरिरहेको हुन्छ ।  

राजनीतिमा देव र दानवको अभीष्ट भनेको सत्ता हो । जब सत्तामा देव वा दानव पुग्छ तब छल कपट र शक्तिसंघर्ष चुलिन्छ । एकतर्फले विधानको दुहाइ व्याख्या गर्दछ भने अर्काथरीले आफ्ना भक्तलाई परिचालन गरेर सत्ताधारीलाई खसाल्न उद्यत हुन्छ । सत्ता र राजनीतिबाट विपक्षीलाई खुइल्याउन सकेन भने भजन गाउँदै अन्ततः यिनीहरू दानवरूपी प्रतिपक्षलाई स्खलित गर्न बाह्य शक्तिको शरणमा जान्छन् । अनि राज्यको अवस्थाको मतलबै नराखी कार्यकर्ताहरू भक्तको भूमिकामा जयजयकार मनाइरहेका हुन्छन् । 

भक्त र भगवान्को चर्चा यतिमै सकिँदैन । भक्तहरू जतासुकै जहाँ पनि हुन्छन् । समय समयमा राजनीतिमा नौलो देवताको प्रादुर्भाव हुन्छ । भक्तहरूले समय अनुसार भगवान् पैदा गरिहरन्छन् कुनै अमुक पात्रलाई भगवान् साबित गर्न सडकमा जयजयकार शुरू गरिहाल्छन् । भक्तहरूले कहिले कुन देवतालाई उच्च स्थानमा राख्दछन् भने कहिले कुन देवतालाई । कुनैलाई स्थान झारेर राखिदिन्छन् । कहिले दानवका रुपमा चित्रित गर्छन् । यसरी देवताहरूलाई कुन स्थानमा राख्ने भन्ने कुरा भक्तहरूका हातमा हुन्छ । देवताहरूलाई भक्तको धेरै माग हुन्छ । सौभाग्यले भक्तहरू बहुमुखी हुन्छन् । एउटा भगवान्को भक्तले अर्को भगवान् पनि पुज्न सक्छ । राजनीतिमा यस्तो अनौठो भक्तिप्रवृत्ति देखिएको छ । भक्तहरू पनि धेरै कोटिका हुन्छन् । एक खालका भक्तहरू देवताका लागि मरिमेट्छन् । उनीहरू फूल नैवेद्य लिएर चढाउन जाँदैनन् तर भगवान्का कामका मानिस हुन्छन् । इष्ट देवताको विरोध गर्ने र विधि विधान, अधिकार र कानुनका कुरा गर्नेहरूलाई तह लगाउनदेखि देवताको मानमर्दन गर्नेहरूलाई थर्काउनु, बजाउनुु त्यो तप्काका भक्तहरूको काम हो । त्यो किसिमका भक्तहरूले नै उक्त देवताको मान, इज्जत र प्रतिष्ठा कायम गर्न भूमिका खेल्दछन् । त्यस्ता भक्तलाई देवताले राज्यको ढुकुटी नाश गरेर भए पनि पोस्छन् । अर्काथरी भक्तहरू आस्थाका लागि आफ्नो भड्किएको मन शान्त पार्न मात्र आफ्नो इष्टको दर्शन गर्दछन् । उनीहरूलार्इृ लिनु दिनु केही हुँदैन । उनीहरू शक्ति आर्जन गर्न भक्त भएका होइनन् । अर्काथरी मौसमी र सौदाबाज भक्त हुन्छन् जो आफ्नो स्वार्थ सिद्ध गर्न मात्र भक्ति गरिटोपल्छन् । उनीहरू आफ्नो अभीष्ट पुरा हुने विश्वासका साथ पूजाको थालीभरि पाठो, परेवा, कुखुरा वा यस्तै नैवेद्य लिएर जान्छन् । भगवान् त्यस्ता खाले भक्तहरूलाई विशेष चाख लिन्छन् । कुनै भक्त भने झन्डारुपी फूलपातीले नै भगवान् सन्तुष्ट हुने कुरामा विश्वास गर्छन् । अघिपछि खासै नजरमा नपरेका र भगवान्ले ठेका लिनु नपरेका यो किसिमका भक्तहरू पनि देवताको शक्ति देखाउनु परेमा काम लाग्छन् । यो तीनवटा आपसमा मेल नखाने भक्तिको मापदण्ड देखिन्छ । दोस्रो र तेस्रो कोटिका भक्तहरू देवताका नजरमा खासै पर्दैनन् । 

वर्तमान नेपाली समाज र शासनमा नेता र कार्यकर्ताको सम्बन्ध भक्त र भगवान्जस्तो छ । भक्त र भगवान्को जयजयकार, शक्तिको लागि प्रतिस्पर्धा र सत्ताको लागि ‘ब्रह्माजी’ र ‘महादेव’को गुहार माग्ने यो पुरातन शास्त्रीय व्यवस्थामा देशको अस्मिता, स्वाभिमान, जनताका आवश्यकता र भावनामाथि चरम घात र सुशासनको भावनामाथि कुठाराघात भएको छ । भक्तलाई सुशासनसँग मतलब छैन । भुइँमान्छेहरूको अधिकारसँग कुनै मतलब छैन । देशको अस्मिता धरापमा पर्नुु/नपर्नु उसको चासो होइन, किसानको अवस्था उसलाई बुझ्नु छैन, मजदुरहरू कहाँ छटपटाइरहेका छन् त्यसको मतलब छैन । जनता र राष्ट्रका आवश्यकता शिक्षा, स्वास्थ्य र रोजगारीका सवालहरू त्यतिकै छन् । विकासको दरिलो जग राख्ने बारेमा कसैको ध्यान गएको छैन । जनता निराशाको भुमरीमा छन् । देश असफल हुने अवस्थामा पुगिसक्यो । पार्टीका कार्यकर्तालाई चाहिँ भक्तको भूमिकामा रमाएर आफ्नै भगवान्को जयजयकार गर्नु छ । जसको फलस्वरूप देशमा कु्शासन मौलाइरहेको छ । उसलाई त देश एउटा मन्दिरको प्राङ्गण हो जस्तो लाग्छ । भगवान्लाई भक्तको चाहना पूरा गर्न र भक्तको संख्या गन्न नै धमाधम छ ।

सुशासनका तमाम आवश्यकता र मानकहरूलाई तिलाञ्जली दिएर नेताको विवेक र इच्छामा निर्भर राजनीतिको पक्षपोषण गर्ने हराइसकेको अभ्यास र परम्परा रहेकैले नेपाली राजनीतिमा एउटा योग्य राजनेताको अभाव खड्किरहेको छ । जनताका तमाम माग र देश विकासका सवाल ओझेलमा पारेर नेताका स्वार्थ र दलगत अन्तद्र्वन्द्वले जनतामा विद्रोहको भाव पलाउँदै गएको स्पष्ट देखिन थालेको छ । विपक्षीलाई दावनीकरण गर्ने एउटा अन्त्यहीन कुचक्रमा भक्त कार्यकर्ताहरू संलग्न भएका छन् । कसका कुरा ठिक र को बेठीक, कुन पक्ष सत्य र कुन पक्ष असत्य, मूल्यको कसीमा तौलने भन्दा पनि देवताको भजन गाउनेको संख्या हेर्दै देवताको मान बढाउने अनौठो होडबाजी चलेको छ ।

कमेन्ट गर्नुहोस्