जोखिममा बुटवल

चुरे विनाशले उच्च जोखिममा बुटवल : धराप बन्यो ज्योतिनगर र लक्ष्मीनगर क्षेत्र

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य लुम्बिनी प्रदेशबाट रिपोर्टिङ गर्छन् ।

चुरे विनाशले उच्च जोखिममा बुटवल : धराप बन्यो ज्योतिनगर र लक्ष्मीनगर क्षेत्र

चुरेको काखमा अवस्थित बुटवल उपमहानगरपालिका वडा नम्बर ३ र ४ मा पर्ने ज्योतिनगरमा गतसाता पहिरो आयो ।


Advertisement

पहिरोले ५२ घर उच्च जोखिममा छन् भने १० घर पुरिएका छन् । ६६ भन्दा बढी घरमा लेदो भरिँदा बस्न नमिल्ने भएको छ ।


Advertisement

चुरे पहाडबाट लेदोसहितको पहिरो आउन थालेपछि ज्योतिनगर र लक्ष्मीनगरमा बस्नै नै जोखिमपूर्ण अवस्था छ । पानी पर्दा स्थानीय निदाउन छाडेका छन् । 

पहिरोपछि १२ घरपरिवार विस्थापित भए भने अरू केही उच्च जोखिममा छन् । बुटवल उपमहानगर प्रमुख, इञ्जिनियर र प्राविधिकहरू केही दिनयता पहिरो प्रभावित क्षेत्रमा निरन्तर पुगेका छन् । ज्योतिनगर, आदर्शनगर र लक्ष्मीनगरमा २०५५ साल भदौमा आएको यस्तै प्रकृतिको पहिरोले ५७ घर पुरेको थियो ।


Advertisement

त्यो बेला पहिरोपछि विभिन्न निकायले गरेको अध्ययनले ज्योतिनगर क्षेत्रमा बस्ती हटाउन र चुरे पहाडलाई असर गर्ने कुनैपनि काम गर्न नहुने निष्कर्ष निकालिएको थियो । त्यसभन्दा अगाडि पनि २०५३ मा गरिएको अर्को एक अध्ययनले बुटवल आसपासका चुरे पहाडमा प्रति वर्ष ३० मिटरका दरले भूस्खलन हुँदै गइरहेको निचोड निकालेको थियो ।  

सो अध्ययनले बुटवलनजिक टेक्नोलिक प्लेट रहेको र सो क्षेत्र प्राकृतिक भूक्षय, भूविचलन र भूकम्पको निम्ति खतरनाक हुने भनेको थियो ।

त्यसको केही वर्ष जोखिमको पूर्वतयारी गरेपनि पछिल्लो दशकमा चुरे पहाडमा पुनः अतिक्रमण र मनपरी बढ्न थाल्यो । त्यसलाई २०७२ को भूकम्पले अरू खल्बल्यायो । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यान्वयन इकाई बुटवलका प्रमुख अजय कार्की भन्छन्, ‘यो कच्चा पहाड हो, भूकम्पपछि यो पहाडमा धाँजा फाटेको रहेछ, ती धाँजाहरूमा पानी पसेपछि बग्दै आयो र बस्तीमा पस्यो ।’ 

समितिका अनुसार बस्तीसम्म पहिरो आउने गरी अतिक्रमण भएको छ । विकासका नाममा चुरेमा मनपरी गर्दा चुरे खल्बलियो र बग्न थाल्यो । 

भूगोलविद् डा.भोजराज कडरियाले मानवीय अतिक्रमणका कारण भएको विनाशले मानवीय जीवनशैली नै प्रभावित बनेको बताए ।

भूकम्पले कमजोर बनाएको पहाडमा डोजर चलाएर अतिक्रमण गर्दा पानीले खोल्दै गएको र लेदोसहितको पहिरो आएको उनको बुझाइ छ ।

समृद्धि र समस्या दुवैको स्रोत चुरे

चुरे कमजोर बनाउने खालका गतिविधिहरूमा बन्देज लगाइएको छ । यद्यपि जलवायु परिवर्तन, लुकिछिपि हुने मानवीय लापरवाही र प्राकृतिक कारणले चुरे क्षेत्र कमजोर बनिरहेको छ । 

बुटवलका लागि समृद्धि र समस्या दुवैको स्रोतका रुपमा चुरे नै रहेको छ । चुरेको हरियाली र पानीका प्राकृतिक स्रोतले बुटवलको समृद्धिमा योगदान पुर्याएको छ भने सतह क्रमशः कमजोर बन्दै जानु समस्या र चुनौतीका रूपमा बढिरहेको छ । मानवीय लापरवाही र प्रकृतिक कारणले पनि चुरे नजिकका बस्ती विपत्तिको जोखिममा छन् । 

अहिले बुटवलका लक्ष्मीनगर, चाँदबारी, ज्योतिनगर, पारि बुटवल, बेलबास क्षेत्रमा चुरेको फेदमा रहेका बस्तीहरू उच्च जोखिममा छन् । 

उपमहानगरको एक्लो प्रयासले थेग्दैन

चुरेबाट बग्ने खोल्साहरू पहिलेदेखि नै अतिक्रमणमा परेका छन् । पानीको स्वभाविक प्रवाहलाई रोक्ने, छेक्ने, अन्तै तर्काउन खोज्ने मानवीय लापरवाही रोकिएको छैन ।

कमजोर बनिरहेको चुरेमा सानो पानी परेपनि पहिरो बग्ने अवस्था सिर्जना भएको छ । जोखिमका बस्तीहरूलाई सुरक्षित पार्ने, स्थानान्तरण गर्ने र क्षतिको न्यूनिकरणका लागि उपमहानगरको मात्रै एक्लो प्रयासले सम्भव छैन । यसका लागि तीनै तहका सरकारको साझा पहलको खाँचो रहेको प्रमुख शिवराज सुवेदीको भनाइ छ ।

प्रदेश सरकार बनेपछि चुरेको संरक्षण र भूक्षयको जोखिम न्यूनीकरणका लागि सहयोग गर्न भन्दै बुटवल उपमहानगरले तीन वर्षअघि नै मुख्यमन्त्रीलाई पत्राचार गरेको थियो ।

जोखिममा रहेको बस्तीलाई स्थानान्तरण गर्ने, त्यहाँको पहाड नै काटेर ढुंगामाटो बेच्ने र त्यहाँ आकर्षक संरचना बनाएर हरियाली क्षेत्र बढाउने जस्ता विकल्प छन् । यी विकल्पमा पनि उपमहानगरको एक्लो प्रयासले सम्भव छैन । 

पटक–पटक पहिरो, बर्सेनि बढ्दो जोखिम

चुरेको पहिरोले सबैभन्दा ठूलो क्षति बुटवलले २०५५ भदौ १९ र २० गते व्यहोरेको थियो । बुटवल ज्योतिनगर क्षेत्रमा पहिरो खसेर कैयौं घर बगाएको थियो । त्यतिबेला एक जनाको ज्यान गएको थियो । झण्डै २०० मिटरमाथिबाट पहिरो झर्दा १०१ वटा घर र १९ वटा घडेरी पुरिएका थिए ।

चुरे क्षेत्रमा मात्रै एक वर्षमा दश हजारभन्दा धेरै पहिरो जान सक्ने स्थल पहिचान भएका छन् । त्यसको कारण अत्याधिक वर्षा हो । चुरे क्षेत्रमा प्रति २४ घण्टामा ४३७ मिलिमिटरसम्म वर्षा हुने गरेको छ । जल तथा मौसम विज्ञान विभागले सन् १९८३ देखि २०१३ सम्म देशका ६ वटा केन्द्रमा गरेको अध्ययनअनुसार अत्याधिक वर्षाले चुरेमा भूस्खलनलाई बढाएको छ । जसमध्ये रूपन्देहीको बुटवललाई केन्द्र मानेर गरिएको अध्ययनले बुटवल दोस्रो बढी जोखिमपूर्ण स्थानमा रहेको देखिन्छ । 

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले तयार गरेको विवरणले बुटवल क्षेत्रमा एक वर्षमा प्रति २४ घण्टा ३० मिलिमिटर परिमाणभन्दा बढी २ पटक, २५० देखि ३०० मिलिमिटरसम्म २ पटक, १३० देखि २५० मिलिमिटरसम्म ४४ पटक, १०० देखि १३० मिलिमिटरसम्म ५५ पटक वर्षाका घटना रेकर्ड भएको देखाउँछ । वर्षाको यो क्रम भने बढ्दै गएको देखिन्छ ।  

३ सय मिलिलिटरभन्दा बढी वर्षाले सबैतिर एकैसाथ फैलिएर जाने लेदोसहितको पहिरो निम्त्याउँछ । अरू खालका वर्षाले क्रमशः ठूला पहिरोमा उल्लेख्य वृद्धि, माटो धस्सिएर बग्ने, लेदो पहिरो र कम गहिराइका स–साना पहिरा निम्त्याउने विकास समितिको विवरणमा उल्लेख छ । 

चुरे कान्छो र कमजोर पहाड

२०६७ मा संसद्को प्राकृतिक स्रोत र साधन समितिले तयार पारेको वन संरक्षण समस्या अध्ययन प्रतिवेदनमा चुरेनजिकका बस्ती जोखिममा रहेको निष्कर्ष उल्लेख छ ।

प्रतिवेदनले चुरेमा मानवबस्ती बढ्दै गएर मानवीय चाप परेकाले बस्ती स्थानान्तरणको विकल्प उपयुक्त हुने निचोड निकालेको थियो । 

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्