यस्ता युवा आउनुपर्छ राजनीतिमा

सुशील गौतम
सुशील गौतम

गौतम मौलिक जरोकिलो पार्टीका केन्द्रीय अध्यक्ष हुन् 

कतिपयले लामा–लामा लेख लेखेका छन्, कतिले ट्वीट मात्रै गरेर मुलुक नबन्नु पछाडिका असन्तोष प्रकट गर्ने गर्छन् । साझा चासो छ – मुलुक किन बनेन ?


Advertisement

स्वदेशमा चासो स्वाभाविक हो नै, विदेशमा रहेका नेपालीहरू आपसमा भेटघाट हुँदा नेपालकै राजनीतिक भद्रगोलको विषयमा चर्चा झनै बढी हुने गर्छ ।  


Advertisement

नेपालमा क्षमतावान नेता भएनन् भन्ने विषयमा स्वदेश/विदेश सबैतिर रहेका युवाहरूको मत्यैक्यता रहेको छ । विदेशमा बसिरहेका युवाहरूलाई सोध्ने हो भने नेपालमा राजनीतिक स्थायित्व मात्रै भए स्वदेश फर्किएर ‘केही गर्न सकिन्थ्यो’ भन्ने अधिकांशको जवाफ आउने गर्छ । 

सञ्चारमाध्यममा छाउने अधिकांश राजनीतिक दलका नेताहरू पटक–पटक सत्तामा पुगेर असफलताको ट्याग लागिसकेका छन् । एउटा दलको सरकार बनेलगत्तै त्यो सरकार गिराउन समीकरण बन्ने गरेको नेपालको विकृत राजनीतिमा केही सुधार होला कि भनेर अहिलेको संविधानको धारा १०० को उपधारा ४ मा प्रधानमन्त्री नियुक्त भएको २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने व्यवस्था गरिएको थियो तर झण्डै दुईतिहाइको सुविधाजनक मत पाएका खड्गप्रसाद ओलीले कुर्सी र जुँगाको लडाइँमा पराजित भएर सत्ताबाट सडकमा पुग्नुपर्ने अवस्था आयो । नेपालको राजनीति कतिसम्म विकृत अवस्थामा पुगिसकेको रहेछ, बुझ्न कठिन छैन । 


Advertisement

एउटा दलको सरकार बनेलगत्तै त्यो सरकार गिराउन समीकरण बन्ने गरेको नेपालको विकृत राजनीतिमा केही सुधार होला कि भनेर अहिलेको संविधानको स्थायित्व दिने वाचा गरेर ल्याइएको संविधान र स्थायित्वकै नारा दिएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको भाँडभैलोले न यो संविधानले स्थायित्व दिने सम्भावना देखिन्छ, न सत्तावृत्तमा रहेका दलका नेता भनौदाहरूले राजनीतिक स्थायित्व दिने अपेक्षा गर्न सकिन्छ ।

अहिले सत्तावृत्तमा देखिएका नेताहरूभन्दा युवाहरू राजनीतिमा आउनुपर्छ भन्ने यदाकदा चर्चा हुने गर्छ । राष्ट्रिय युवा नीति २०६६ अनुसार १६ देखि ४० वर्षका समुहलाई युवा भनिन्छ तर कतिपय मूलधारका भनिएका मिडियाले नेपाली कांग्रेस, एमाले, माओवादीका शीर्षस्थ नेतृत्व बाहेकका नेतालाई ‘युवा नेता’ भनेर लेखिदिन्छन् । जबकि राष्ट्रिय युवा नीतिको परिभाषा अनुसार हाल सत्तावृत्तमा रहेका कुनै पनि दोस्रो तहका नेतालाई समेत युवा नेता भन्न सक्ने देखिँदैन ।

तर युवा हुनु नै नेपालको राजनीतिमा देखिएको समस्याको समाधान हो त ? जैविक रूपमा कुनै पनि मानिस जन्मिएपछि एक समय त युवा हुन्छ । जैविक रूपमा युवा हुँदैमा उसमा मुलुकको राजनीति, शिक्षा, अर्थतन्त्र, धर्म संस्कृतिको क्षेत्रमा देखिएको समस्या समाधान गर्ने ल्याकत पलाउँछ त ? 

विद्यार्थी परिचयपत्र देखाउँदा छुट नपाएको भन्दै २२ लाख पर्ने गाडी नै जलाउने पनि युवा थिए । चाबहिलको पशुपति बहुमुखी क्याम्पस जलाएर गर्वका साथ बाहिर निस्किरहेको फोटो हेर्दा सबै युवा देखिन्छन् । आफूलाई पढाउने प्राध्यापकलाई कालो मोसो दलेर जुत्ताको माला लगाउने पनि युवा नै हुन् । सम्भवतः मुक्ति अधिकारीको २ हात पछाडि बाँधेर मार्ने पनि युवा नै थिए । एमाले अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा,  पुष्पकमल दाहाल, कमल थापा, बाबुराम भट्टराई लगायत अहिले सत्तावृत्तमा देखिएका नेताहरू युवा अवस्थामै राजनीतिमा प्रवेश गरेका थिए ।

एकपटक पदमा पुगेपछि छाड्दै नछाड्ने प्रवृत्तिको कारण अझै पनि कुर्सीमै छन् । आवश्यक पर्‍यो भने पार्टी नै पÞmुटाएर अर्को पार्टी बनाउँछन् तर कुर्सी छाड्दैनन् ।  

नेपालको राजनीतिमा युवाहरूको प्रवेश हुनुपर्छ तर पात्रता पुगेका युवा । युगद्रष्टा गुरुले युवाको पात्रताको सम्बन्धमा सूत्र नै बनाउनुभएको छ । शिक्षित, प्रशिक्षित र दीक्षित युवाहरू नेपालको राजनीतिमा आउनुपर्छ ।  

शिक्षितः

देश, काल, परिस्थिति बुझ्न सक्ने शिक्षा हाँसिल गरेको हुनुपर्छ । माध्यमिक तह अनिवार्य बनाइएको नेपालमा देशकै नेतृत्व गर्छु भनेर हिँड्ने व्यक्ति झनै शिक्षित हुनु आवश्यक छ । पढ्दैमा विद्वान भइँदैन, सर्टिफिकेटले मात्रै जान्ने भइँदैन भनेर कतिपयले माथापच्ची गर्ने गर्छन् । कक्षा पास गरेर सर्टिफिकेट हात परेपछि विद्वान हुन्छ भन्न खोजिएको होइन । खोज, अध्ययन र अनुसन्धानलाई निरन्तरता दिनु आवश्यक हुन्छ । तर पढ्दै नपढेको व्यक्ति चाहिँ विद्वान हुन्छ भन्नु पनि गलत हुनजान्छ ।

हरेक व्यक्ति हरेक क्षेत्रको विज्ञता हाँसिल गर्नैपर्छ भन्नु अव्यावहारिक हुन्छ त  राजनीतिमा लागेका युवा ढिलो चाँडो सांसद, मन्त्री वा प्रधानमन्त्री नै बन्न सक्छन् । अन्तर्राष्ट्रिय सम्बन्ध, वैश्विक संस्था र सफ्ट पावर सम्बन्धी पटक्कै ज्ञान नभएको व्यक्ति परराष्ट्र मन्त्री बने काम लाग्छ ? विज्ञान तथा प्रविधि मन्त्रीलाई इमेल खोल्न आउँदैन, पावरपोइन्ट चलाउन जान्दैन भने काम लाग्छ ? यी उदाहरणहरू हुन् । शिक्षित हुनुको अर्थ पदमा पुगेपछि आफूले गर्नुपर्ने कार्यहरूको पूर्व तयारी पनि हो । विद्यमान समस्या बुझेर समाधानका सम्भावना पहिल्याउन शिक्षित युवा राजनीतिमा प्रवेश गर्नु जरुरी छ । 

प्रशिक्षितः

नेपालको राजनीतिमा प्रशिक्षित युवाको ठूलो खडेरी छ । प्रशिक्षित भन्नाले व्यक्ति आफ्नो र आफ्नो परिवारको पेट पाल्न के गर्छ भन्ने हो । हलो जोते पनि बिग्रेको मोबाइल बनाए पनि, कम्प्युटर प्रोग्रमिङ गरे पनि, बाख्रापालन राखे पनि श्रम गर्ने गरेको हुनुपर्छ ।

श्रमिकको हक अधिकारको चर्का भाषण गर्न तर आफू पटक्कै श्रम नगर्ने नेताहरू नेपालमा धेरै देखियो । जसले श्रम गर्दैन, उसलाई श्रमको महत्त्व के थाहा ? गरीबी निवारण गर्छु, समतामूलक समाज गर्छु भन्दै एनजीओ र आईएनजीओ कार्यक्रममा सहभागी भएर भत्ता पचाउनेले श्रमको सम्मान गरेको हुन्छ ? जसले आफ्नै पेट पाल्न सकेको छैन, उसले नेपालको अर्थतन्त्रको कायापलट गर्छु भनेर पत्याउने सकिँदैन । शारीरिक वा मानसिक श्रम गरेर आफ्नो र आफूमा आश्रितहरूको देखबहाल गर्ने व्यक्ति भ्रष्ट हुने सम्भावना कम हुन्छ । अपवादबाहेक प्रशिक्षित नभएकै कारण नेपालमा अन्तिम स्वास रहेसम्म कुर्सीकै लागि मरिहत्ते गरिरहेका हुन्छन् ।

राजनीतिबाहेक जीवनमा अरु गरेकै केही हुँदैन । न खेतीपाती गर्न आउँछ, न बिग्रेका सामानको मर्मत सम्भार गर्न आउँछ, न उद्यम गरेको अनुभव हुन्छ । राजनीतिबाहेक अरु बुझेकै छैन, जानेकै छैन भने उसले त्यो बाहेक अरु केही गर्दैन । अनि एकपटक सत्ताबाट बाहिरिएपछि चुप लाग्दै लाग्दैन । सत्तामा बसेकोलाई पार्टी पÞmुटाएर हुन्छ कि अरु पार्टीसँग गठबन्धन गरेर हुन्छ कि सत्ताबाट खसालेर आफू स्थापित हुन खोज्छ । 

मानसिक अथवा शारीरिक श्रम गर्दै राजनीतिमा अघि बढ्नु सजिलो कार्य भने होइन । चोक–चौतारी, कतै शोक पर्दा अथवा कसैको विवाह हुँदा जो प्रायः देखिने गर्छन्, उनै चिनिन्छन् । सम्बन्ध विस्तारदेखि संगठन निर्माणसम्म यस्ता मानिसलाई सहजता हुन्छ । विडम्बनाको कुरा, कुनै पेशा अपनाएका वा श्रम गर्ने गरेका व्यक्तिलाई यो सुविधा कम प्राप्त हुन्छ । लखरलखर हिँडिरहन नपाएको कारण जनतासँग सम्बन्ध निर्माण र संगठन विस्तार गर्न कठिन हुन्छ तर यही हो पात्रताको परीक्षण पनि ।

दैनिक ८ घण्टा काम गरेर पनि बाँकी रहेको समय संगठन विस्तार र आफ्नो क्षमताको प्रचार गर्न सक्ने युवा हो नेपालको राजनीतिमा चाहिएको । आफ्नो क्षमता विकास गर्न अध्ययन, अनुसन्धान गर्नुलाई मनोरञ्जनको रूपमा लिएका युवाले देशको मुहार फेर्ने ल्याकत राख्छन् । दाताको भत्ता पचाउन जतिखेर पनि माइतीघर मण्डलामा पुग्ने अनुहार मिडियामा पक्कै छाउँछ तर त्यो दीगो हुँदैन । 

हामीलाई चाहिएको राजनीतिज्ञ कस्तो हो त ? एउटा पेशामा दक्षता कमाएको, स्वावलम्बी युवा नेपालको राजनीतिमा आवश्यक हो कि के मुद्दा पाउँला र माइतीघर जाउँला भनेर कसैबाट उचालिएका व्यक्ति ?   

दीक्षितः

अग्ला घर, चिल्ला सडक नै विकास हो । युरोप अमेरिकामा जे गरिन्छ त्यसको अक्कल विनाको नक्कललाई आधुनिकता भन्ने ठूलो युवा जमात छ नेपालमा । आफ्नो मातृभाषा कमजोर छ भन्दा गर्व गर्ने तर कनि–कनि भए पनि अंग्रेजी बोलेर फाइँफुट्टी छाड्ने युवाहरूको कमी छैन नेपालमा । यस किसिमको मानसिकता भएका युवाहरू माझ ‘दीक्षित हुनु’लाई राजनीतिमा लाग्न चाहने युवामा हुनुपर्ने विशेषताको रूपमा चर्चा गर्दा धेरैको नाक खुम्चिन सक्छ । युवाहरूमा यस किसिमको मानसिकता व्याप्त हुनुमा हाम्रो शिक्षा पद्धतिको दोष छ । 

कोरा पदार्थवादी चिन्तन र भौतिक विकास नै सर्वेसर्वा मान्नु विकासको एकांगी दृष्टिकोण हो । चिल्ला सडकमा बुगाती गाडी हुँइकिँदैमा विकास हुँदैन, यदि गाडीभित्र विरक्त भएका मानिस यात्रा गर्छन् भने । टेम्पुर ब्राण्डको महंगो खाट किन्ने क्षमता हुँदैमा आर्थिक विकास होइन यदि खाटमा सुत्ने व्यक्ति रातभर निन्द्रा नलागेर छटपट्टिन्छन् भने । विकास र समृद्धि त्यस्तो हुनुपर्छ जसले भौतिक सुविधा, मानसिक शान्ति र आध्यात्मिक आनन्द देओस् ।

त्यसको लागि राजनीतिमा लाग्न चाहने युवाहरू भौतिक, मानसिक र अध्यात्मिक तिनै आयामको उन्नतिको लागि प्रयत्नरत हुनुपर्छ । नेपाल वैदिक सनातन हिन्दू, बौद्ध, बोन, जैन, किरात जस्ता मौलिक धर्म संस्कृतिको उद्गम थलो हो । नेपालमा योगसाधनाका पद्धतिहरूको विविधता नेपालमा पाइन्छ । आध्यात्मिक ज्ञान र अभ्यासका पद्धतिहरू हिन्दू धर्मावलम्बी अर्कै तरिका होलान्, बौद्धको अर्कै होलान्, किराँतको अर्कै होलान्, जैनको अर्कै होलान् तर शरीर मात्रै मानिसको जीवन होइन, शरीरको प्रयोग गरेर आध्यात्मिकताको विशाल संसारको विचरण गर्न सकिन्छ भन्ने मत्यैक्यता छ । 

गौतम बुद्धले जन्मथलो यहीँ । बोन धर्म/सम्प्रदायका संस्थापक शेनराव मिवोचेले तपस्या गर्ने भूमि यहीँ (डा. निर्मलमणि अधिकारी) । बज्रयान बौद्ध मतका प्रचारक गुरु रिम्पोचेले तपस्या गरेर सर्वोच्च महामुद्रा विद्याधर सिद्धि प्राप्त गर्ने यहीँ (मोहन लामा रुम्बा) । कृष्ण द्वैपायनले वेदको संकलन गर्ने यहीँ । जैन धर्मका ऋषभदेव, मल्लिनाथ र नमिनाथको थलो यहीँ (डा. गोविन्दशरण उपाध्याय) ।

छिमेकी देशका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमै आएर तपस्या गरेको बताएका छन् भने टर्कीका प्रधानमन्त्री अह्मेत दाभुतोग्लुले नेपाललाई आध्यात्मिक केन्द्र भएको हुँदा जी२० मा सहभागी गराउनुपर्ने धारणा राखेका थिए ।

सबैको आ–आफ्नै विशेषता हुन्छ । आध्यात्मिकता नेपालको विशेषता हो । चीनले सस्तोमा सामग्री उत्पादन गरेर आर्थिक विकास गर्‍यो भन्दैमा हामी पनि चीनले जस्तै गरी प्रतिस्पर्धा गर्न थाल्यौं भने धेरै कठिन हुन जान्छ । नेपालको आफ्नो विशेषतालाई चिनेर समृद्धिको यात्रामा अघि बढ्न पनि राजनीतिमा दीक्षित युवाहरू प्रवेश गर्नु जरुरी छ ।

क्रिस क्यान्योनसँग पैसा टन्न थियो । शरीर बलियो थियो । अमेरिकाका नागरिक थिए । तैपनि एन्टी–डिप्रेस्यान्टको अत्याधिक प्रयोगले बिते । यस्तै व्यथा थियो बेलायतको यामी वाइनहाउसको । कर्ट कोबेन, रबि विलियम्स, सुशान्त सिंहदेखि आलोक नेम्वाङको जस्तो जीवनस्तर पाउनु आममानिसको निम्ति सपना हो । सफलताको त्यो तहमा पुगेर पनि आन्तरिक रूपमा सुखभोग गरेका रहेनछन् । फलस्वरूप आत्महत्याको बाटो रोज्नुपर्‍यो । 

फिनल्याण्ड भौतिक सुविधा (ह्यापिनेस इन्डेक्स) मा विश्वको १ नम्बरमा परे पनि त्यहाँका मानिसहरूमा रहेको एक्लोपन र नैराश्यताले विकास र समृद्धि एकांगी दृष्टिकोणमा परिवर्तन गर्न फिनल्याण्डमै आवाज उठेको छ । विकास र समृद्धि मानिसको लागि हो । यो प्राप्त गरेपछि मानिसहरू झन् झन् आनन्दित हुनुपर्नेमा झन् झन् नैराश्यता र एक्लोपन बढ्दै जान्छ भने त्यस किसिमको विकासको ढाँचामा परिवर्तन गर्नुपर्छ ।   

भौतिक शरीर नै सर्वेसर्वा ठान्ने युवाहरू राजनीतिमा हावी भए भने पूरै समाज चरम उपभोक्तामुखी र निर्लज्ज नाफाखोरी बन्न पुग्छ । पद र प्रतिष्ठाको लालचबाट मुक्त हुन नसक्दा अहिले नेपालको राजनीतिमा जे भइरहेको छ, त्यसको निरन्तरता मात्रै हुन्छ । त्यसकारण नेपालको राजनीतिमा प्रवेश गर्ने युवाहरू दीक्षित हुनुपर्छ । आनन्दको वास्तविक अर्थ थाहा भएका त्यस्ता युवालाई वाइडबडी पनि खानैपर्ने, लाउडा पनि खानैपर्ने, सेक्युरिटी प्रेस खानैपर्ने, गोकर्ण रिसोर्ट खानैपर्ने बाध्यता रहँदैन ।

निश्चय नै युवामा जोश, जाँगर, नयाँ कुरा सिक्ने क्षमता र विज्ञान–प्रविधिका विषयमा अद्यावधिक रहनसक्ने सम्भावना बढी हुन्छ तर अहिले गतार्थ भइसकेको सैद्धान्तिक चिन्तनको घेराबाट माथि उठ्न नसकेको युवा रहेछ भने के नै उपलब्धि हुन्छ र ? युवामा नयाँ कुरा गर्ने क्षमता छ भन्ने तर राजनीतिमा आएपछि एक खालका युवा त्यही जर्मनीबाट मार्क्सवादको फोटोकपी बोकेर आउने, कोही रसियाबाट लेनिनवादको फोटोकपी बोक्ने, कोही माओवाद भन्दै चीनबाट फोटोकपी ल्याउने त कोही बहुराष्ट्रिय राज्य हुनुपर्छ भन्दै वेस्टफ्यालियाको सन्धिपत्रको फोटोकपी बोकेर आउने भयो भने यथास्थितिमा जे छ त्यही नै हुनेछ, अनुहार मात्रै फरक हो । 

पटक–पटक असफलताका ट्याग लागेका अहिलेका सत्तावृत्तमा देखिने अनुहारहरूलाई ‘राजनीतिक संहार’ नगरेसम्म पूर्णप्रतिमान परिवर्तन सम्भव छैन । त्यसको लागि शिक्षित, प्रशिक्षित र दीक्षितको पात्रता पुगेका युवाहरू राजनीतिमा आउनु आवश्यक छ ।

सुशील गौतम
सुशील गौतम

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्