प्रथम रिभाइभ लिजरपार्क खुला राष्ट्रिय ब्याडमिन्टन हुने [भिडियो]

रिभाइभ लिजर पार्कको स्थापनाको उपलक्ष्यमा ‘प्रथम रिभाइभ लिजरपार्क खुला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७८’ आयोजना हुने भएको छ ।


Advertisement

असोज १ देखि असोज ५ गतेसम्म आयोजना हुने च्याम्पियनसिपमा पुरुष एकल खुला र डबल, महिला एकल खुला, भेटरान्स डबल गरी ४ विधामा खुला प्रतिस्पर्धा गराइने छ ।


Advertisement

च्याम्पियनसिपमा राष्ट्रिय खेलाडीहरू, प्रदेश र जिल्ला, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी विभिन्न संघसंस्था, क्लब, पनि सहभागी गराइने छ ।

प्रतियोगितामा २०० भन्दा बढी खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।  प्रतियोगिताका सबै विधामा बिजेता, उपविजेता र तृतीय हुने टीमलाई नगद पुरस्कारसहित ट्रफी, मेडल प्रदान गरिने छ ।


Advertisement

आयोजकको लगनखेलस्थित आफ्नै कभर्ड हलमा आयोजना हुने च्याम्पियनसिपका बेला कोभिड– १९ को उच्च संक्रमणलाई ध्यानमा राखी मास्क, स्यानिटाइजर, र भौतिक दूरीका मापदण्डलाई विशेष सावधानीका साथ पालन गराइने व्यवस्था गरिने बताएको छ ।

‘हाम्रो उद्देश्य नाफा कमाउनु मात्र नभई नेपालीहरूलाई शारीरिक, मानसिक रूपमा स्वस्थ राख्नु तथा नेपाली खेलकुद क्षेत्रलाई उकास्न विभिन्न राष्ट्रियस्तरका प्रतियोगिताहरू आयोजना गर्नु र बालबालिकाहरूलाई उच्चस्तरको प्रशिक्षणको व्यवस्था गरी नेपाललाई अन्तर्राष्ट्रिय पदक दिलाउने खेलाडीहरू उत्पादन गर्नु हो,’ संस्थाका अध्यक्ष शुक्र पाख्रिनले भने, ‘निजी क्षेत्रबाट नेपाल सरकारको खेलकुद विकासको अभियानलाई सहयोग पुर्‍याउने हाम्रो मूल उद्देश्य हो ।’

प्रतियोगिताका आयोजक तथा रिभाइभ लिजर पार्कका सञ्चालक लिलाबहादुर थापाले प्रतियोगितासम्बन्धी सम्पूर्ण सूचना रिभाइभ लिजर पार्कको फेसबूक पेजमा अपडेट गरिने बताए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्