पर्यटकको संख्या घट्यो, औसत बसाइ बढ्यो

फाइल फोटो

कोभिड–१९ महामारीले नेपाल आउने विदेशी पर्यटकको संख्या घटे पनि औसत बसाइ भने बढेको पाइएको छ ।
    
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्यांक २०२०’ अनुसार पर्यटकको औसत बसाई विगत वर्षभन्दा केही बढेर १५ दिन नाघेको छ ।


Advertisement

अघिल्ला ३ वर्षमा पर्यटकको औसत बसाई सरदर १२ दिन थियो । सन् २०१९ मा १२ दशमलव ७, सन् २०१८ मा १२ दशमलव ४ र सन् २०१७ मा १२ दशमलव ६ दिन थियो । त्यसअघि सन् २०११ र सन् २०१६ मा क्रमशः १३ दशमलव १२ र १३ दशमलव १६ दिन पर्यटकको औसत बसाई थियो ।
    
पर्यटकको बसाइ लम्बिएसँगै उनीहरूले गर्ने खर्च पनि बढेको छ । प्रतिपर्यटक खर्च विगत वर्षको तुलनामा वृद्धि भई ६५ अमेरिकी डलर पुगेको छ ।


Advertisement

अघिल्ला वर्षमा सरदर प्रतिपर्यटक ४५ डलरसम्म खर्च हुने गरेको थियो । कोभिड महामारीका कारण सन् २०२० मा अघिल्लो वर्षको तुलनामा करीब ८० प्रतिशतले पर्यटक आगमनमा कमी आएको छ । सन् २०२० को पर्यटक आगमन संख्या २ लाख ३० हजार ८५ मात्र रहेको छ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए भने सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक छ ।
    
महामारीले नराम्ररी असर पुगेको पर्यटन क्षेत्रबाट आर्जन हुने विदेशी मुद्रामा करीब ७१ प्रतिशतले कमी आई करीब २५ अर्ब रुपैयाँ आर्जन भएको छ । सन् २०२० मा १५३ टिमका ४४७ जनाले पर्वतारोहणका लागि अनुमति लिएका थिए जुन गत सालको तुलनमा ९२ प्रतिशतले कम हो ।
    
नेपालमा सन् २०२० सम्ममा द्विपक्षीय हवाई सेवा सम्झौता भएका देशको सङ्ख्या ४० पुगेको छ । अन्तर्राष्ट्रिय उडान भर्ने नेपाली वायुसेवा कम्पनीको संख्या ३ रहेको छ भने नेपाल उडान भर्ने अन्तरराष्ट्रिय वायुसेवा कम्पनीको संख्या २७ वटा पुगेको छ । 

मुलुकमा हाल एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थ छ । सन् २०२० सम्ममा आन्तरिक उडान तर्फ कूल ५४ विमानस्थल छन् । तीमध्ये ३७ विमानस्थल कालोपत्रे गरिएको छ भने सबै मौसममा नियमित उडान हुनसक्ने विमानस्थलको संख्या ३५ रहेको छ । आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० वायुसेवा कम्पनीले आन्तरिक उडान भर्दै आएका छन् । साहसिक र मनोरञ्जनात्मक उडान गर्ने कम्पनीको संख्या ८० रहेको छ ।


Advertisement

कमेन्ट गर्नुहोस्