सिर्जनशील बालबालिका नै भविष्यका आशाका किरण हुन् : राष्ट्रपति भण्डारी

फाइल फोटो

‘बालबालिका जीवन र जगत्लाई निरन्तरता दिने सृष्टिका कोपिला हुन्,’ बाल दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्, ‘सिर्जनशील बालबालिका नै भविष्यका आशाका किरण हुन् ।’


Advertisement

बालबालिकाको समग्र विकासका लागि बालमैत्री समाज निर्माण गर्न सबैलाई आग्रह गर्दै उनले बालबालिकालाई भनिन्, ‘व्यक्तित्व विकासको महत्त्वपूर्ण चरणमा रहेका बालबालिकाले अनुशासन र मेहनत गरी अतिरिक्त क्रियाकलापमा सहभागी हुन म आग्रह गर्छु ।’ उनले सिर्जनात्मक कार्यक्रममा सहभागी हुन आग्रह समेत गरिन् ।


Advertisement

बाल दिवसका अवसरमा राष्ट्रपति कार्यालयमा बालबालिकासँग भेट्न पाएकामा खुशी व्यक्त गर्दै उनले भनिन्, ‘बालबालिका भनेका भविष्यका जिम्मेवार नागरिक हुन, परिवार, विद्यालय र राष्ट्रले बालबालिका सहभागिताको विषयमा ध्यान दिनुपर्छ ।’

राष्ट्रपति भण्डारीले बालबालिकाको विकासका लागि नेपाल सरकारले संघ, प्रदेश, स्थानीय तहमा सडक बालबालिकामुक्त राष्ट्र अभियान, बाल हेल्पलाइन १०९८, बालबालिका खोजतलास केन्द्र, बाल कोष, अस्पतालमा शय्याको व्यवस्था गरेको स्मरण गराइन् । बालबालिकाको संरक्षणका लागि थप चेतनामूलक कार्यक्रम चलाउन जरुरी रहेको समेत उनको भनाइ थियो ।


Advertisement

बालबालिकाको संरक्षण गर्नका लागि कोभिड–१९ विरुद्धको खोप ल्याउनका लागि सरकारले पहल गरिरहेको र नेपाल सरकारको नीति तथा कार्यक्रममा बालबालिका प्रतिष्ठानको अवधारणा अघि सारिएको बताइन् । बाल दिवसका अवसरमा नेपाल बाल संगठनले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले सरकारले बालबालिकालाई शिक्षा, स्वास्थ्य, पोषणजस्ता कुरामा ध्यान दिएको बताइन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले चित्रकला, बालगीत, कविता र नृत्य प्रतियोगितामा विजयी विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्