यसरी मनाइयो ‘सिस्नो खोस्ने’ पर्व

फाइल फोटो

भदौ शुक्ल (उजेली पक्ष) र मनसुनको उत्तराद्र्धतिर बागलुङका रैथाने मगर समुदायले आफ्नो पुस्तैनी पर्व ‘सिस्नो खोस्ने’मा रमाए । ४ दिन मनाइने सो पर्वलाई गाउँलेले मंगलवार बिदा गरे ।


Advertisement

ताराखोला गाउँपालिका–४ स्थित तारागाउँमा हरेक २ वर्षमा सिस्नो खोस्ने पर्वको रौनक छाउँछ । 


Advertisement

शरद् ऋतुमा मनाइने भएकाले यसले पर्वमय यामको झल्को दिन्छ । स्थानीय हर्षोल्लासपूर्वक पर्वमा भाग लिन्छन् । कुलपितृको उद्धार, जगत् भलो, सुख, ऐश्वर्य प्राप्त होस् । रोगव्याध नलागोस्, अन्नबाली सप्रियोस् भन्ने कामना गर्छन् ।

पन्र्धौं शताब्दीतिर डोल्पाको ताराभोटबाट आएका मगरका पूर्वजले पर्वको चलन बसालेका बताइएको छ । तारागाउँवासी सिस्नो खोस्ने पर्वलाई पुर्खाको नासोका रुपमा पुकार्छन् ।


Advertisement

संस्कृति धान्दै आएको मगर समाज भैलो टोलीका अध्यक्ष झकबहादुर घर्तीले भदौ शुक्लपक्षको शनिवारदेखि मंगलवारसम्म पर्व मनाउने प्रचलन रहेको जानकारी दिए ।

‘कोरोना महामारीको जोखिम छल्दै यसपालि पनि भदौरेलाई निरन्तरता दियौं,’ उनले भने । गाउँपालिकामा अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ । संक्रमण घटेका कारण पनि पर्व चलाउन सहज भयो ।

‘भदोरै पर्व हाम्रो इतिहास र परम्परासँग जोडिएको छ, यो हाम्रा शाखापुर्खादेखि नै चल्दै आएको हो,’ उनले भने ।

पर्वको जगेर्नामा पुरानोदेखि नयाँ पुस्तासम्मको उत्तिकै सक्रियता छ । बर्सेनि पर्वको आयोजना र व्यवस्थापन मगर समाज भैलो टोलीले नै गर्दै आएको छ । ती समुदायका घरमा सन्तान लाभ हुँदा त्यहाँ पुगेर हर्षबढाइँ गर्ने र सोबापत सम्बन्धित परिवारले दिएको दक्षिणाबाट भैलो टोलीले आर्थिक जोहो गर्ने गरेको छ ।

‘भैलो, पुत्र बढाइँजस्ता कार्यबाट जुटेको सहयोगबाट नै पर्वहरू धान्ने काम भएको छ,’ अध्यक्ष घर्तीले भने । उनका अनुसार समाजको कोषमा झण्डै २० लाख छ । सिस्नो खोस्ने पर्व मात्र नभएर असारे मेला, माघेसंक्रान्ति, कात्तिके भुस पोल्ने मेलालगायत जात्रा र पर्वलाई पनि स्थानीयले जोगाएका छन् ।

पहिले ताराखोला गाउँपालिका–४ र ५ को साझा पर्वका रूपमा भदोरै सिस्नो खोस्ने पर्वलाई लिने गरिए पनि अहिले सिङ्गै गाउँपालिका र जिल्लाकै पहिचानसँग यो जोडिएको छ । ताराखोला गाउँपालिका–३ हिल र २ अर्गलमा पनि भदौरे जात्रा तथा कुल पूजाका अवसरमा सिस्नो खोस्ने गरेको पाइन्छ ।

पर्वलाई युवायुवतीबीच भेटघाट हुने, आत्मियता बढाउने अवसरका रुपमा पनि लिइन्छ । सिस्नो खोस्दा युवायुवतीले आँटेको पुग्ने, वैवाहिक जीवन सफल हुने र परिपक्वता पनि झल्कने विश्वास गरिन्छ । मौलिक संस्कृति र परम्पराको संरक्षणमा युवापुस्ता अग्रसर हुनुपर्ने स्थानीय पदम खत्रीले बताए ।

नेपाल माध्यमिक विद्यालयका अध्यक्ष खत्रीले भुस पोल्ने पर्वले ताराखोलालाई सांस्कृतिक चिनारी दिएको उल्लेख गरे ।

यसरी मनाइन्छ सिस्नो खोस्ने पर्व

पर्वको पहिलो दिन शनिवार गाउँका बूढापाकाले र दोस्रो दिन अविवाहित युवायुवती तथा बूढापाका मिलेर बाटो सरसफाइ गर्छन् । तेस्रो दिन सोमवार तारागाउँको सरसफाइ गरेपछि भिस्टल्ला भन्ने ठाउँमा मोही चढाउने, बाँड्ने र खाने चलन छ । 

सोही ठाउँमा पहिले लेकबाट आएका गोठालाले ठेकीमा नौनी घीउको बिर्को लगाएर मोही लिएर आउने गरेको स्थानीय बताउँछन् । सोमवार साँझबाट पूजापाठ शुरू भई मंगलवार बेलुका पर्व सकिन्छ ।

सोमवार राति ‘सितम सेउला’ र ‘बजा सल्ला’ राख्ने, वन गन्ने (गीत गाउने) काम हेम्थो (कुल) घरमा हुन्छ । राँगोको बलि पनि कुल घरकै आँगनमा दिने गरिन्छ । स्थानीय रिमबहादुर घर्तीको घरलाई गाउँलेले कुल घर मान्दै आएका छन् । 

उनका बुबा मुखिया भएकाले सोही घरलाई पछि कूल घरका रूपमा मानिएको स्थानीय रबिन घर्तीले बताए । पर्वको अन्तिम दिन मंगलवार भने पूजापाठ, बलि, सिस्नो खोस्ने काम कुलघरकै पछाडिको बारीमा हुन्छ । 

त्यहाँ देउता पुज्ने ढुंगा छ । यो वर्ष पनि ८२ वर्षीया गुरुबा जंगबहादुर राकाले त्यहाँ पूजापाठ चलाएका थिए । उनीसहित बूढापाका भएर ढ्यांग्रोको तालमा ‘रुनासुङ्गे, पुसापु, घुँयाली ...’ बोलको गीत समेत गाउँछन् । रनवन पुकार्दै गाइने उक्त गीतलाई मगर अगुवाले ‘वन गन्ने’ पनि भन्छन् । पूजा र बलि दिने ढुंगा जस्लाई गाउँलेले डम्मरु (उखुरधुम) भन्छन्, त्यसकै आडमा कुटस र अम्रिसोको लिङ्गो गाडिएको हुन्छ ।

लिङ्गोलाई स्थानीय भाषामा ‘सितम सेउला’ र ‘बजा सल्ला’ भन्ने गरिन्छ । लिङ्गोमुनि पूजा, धूपबत्ती चलिरहेको छ । गुरुबासँगै पुजारीले बीचबीचमा सगुन पिइरहेका छन् । गीतमा वन गन्दै जाँदा तोकिएको ठाउँमा रोकिएर सगुन लिने (फलाम खाने) चलन छ । गाउँका साँध सीमामा रहेका वन, बुकी, खर्क र गोठलाई गीतमार्फत सम्झिइन्छ । 

गीतलाई बूढापाकाले वाचा बाँधेका रुपमा पनि लिन्छन् । खाम भाषामा गाइने भएकाले जो कोहीलाई गीत बुझ्न कठिन पर्छ । पुर्खा, कुलपितृ र देवीदेउतालाई गीतबाटै घुमाएर कुल (हेम्थो) घरमा ल्याएर राखिन्छ । वन गन्दै जाँदा बीचतिर पुगेपछि राँगोको बलि दिने बेला हुन्छ । बलि दिँदा ढ्यांग्रोको ताल पनि फर्कन्छ ।

जिउँदो राँगोको सात करङ भाँचेपछि मुटु निकालेर कुलघरको सिरानमा चढाउने परम्परा छ । बिहान ४ बजे राँगोको बलि दिएपछि पुनः ढ्यांग्रोको तालमा गीत (वन गन्ने) शुरू हुन्छ । गीतबाट घुमाइफिराइ पितृलाई कुलघरमा ल्याएपछि दिउँसोपख सुँगुरको बलि दिने बेला हुन्छ ।

कुल घरको पछाडि बारीमा रहेको डम्मरु (उखुरधुम) ढुंगामा सुँगुरको बलि दिइन्छ । उल्टो पारेर लिङ्गोमा झुन्ड्याइएको सुँगुरको मुख काटेर रगत देउतालाई चढाउने चलन छ । पूजापाठपछि सुँगुरको मुटु पनि झिकेर लिङ्गोमाथि चढाइन्छ । गीतबाट वन गन्ने, पूजापाठ र बलि दिने काम सकिएपछि बल्ल सिस्नो खोस्ने तयारी शुरू हुन्छ ।

बलि दिइएको सुँगुरको साँप्रोलाई सिस्नोको मुठोभित्र बाँधिन्छ । एकाथरी ढ्यांग्रो र झ्यालीको तालमा गीत गाउँदै अघि बढ्छन् । पछिपछि सुँगुरको साँप्रो राखिएको सिस्नोको मुठो बोकेका युवाहरू हुन्छन् । समूहमा ‘आयो, आयो..’ भन्दै गीत गाउने गरिन्छ ।

बारीको पल्लोछेउ मौलिक वेशभूषामा सजिएर सिस्नो खोस्न तम्तयार युवतीहरु हुन्छन् । हातमा सिस्नो समातेका युवकहरु युवतीको छेउछाउ पुग्छन्, सिस्नोले हातमा छोइदिन्छन्, जिस्किन्छन् । युवतीहरु पनि के कम, केटा पक्षले सिस्नोमा बाँधेर ल्याएको सुँगुरको साँप्रो खोस्न होमिन्छन्, अनि शुरु हुन्छ तानातान र खोसाखोस ।

यो दृश्य निकै नै अनौठो र रोमाञ्चक देखिन्छ । कोही घोडा र सिकारीको भेषमा नाचिरहेका हुन्छन्, कोही सारङ्गी बजाउँदै हिँड्छन् । ढ्यांग्राको ताल झन्झन् जोडले बज्न थाल्छ । युवायुवतीबीच खोसाखोस र ठेलमठेल चलिरहेकै हुन्छ । अन्तिममा एक पक्षले जित्छ । युवतीले जिते युवकहरुले दण्ड तिर्नुपर्ने चलन छ । यसले जिते पनि सँुगुरको साँप्रोको मासु प्रसादका रुपमा सबै मिलेर खान्छन् । अन्तिममा कुलघरकै आँगनमा सिस्नो खोसेपछि भदौरे पर्वलाई बिदा गरिन्छ । 

मंगलवार पनि युवायुवतीबीच यसरी नै सिस्नो खोसाखोस भयो । स्थानीय यो पर्वलाई कूल र भूमिपूजाका रुपमा समेत लिन्छन् । गुरुबा रोकाले ताराभोटबाट आउँदा पुर्खाहरुले भदौरे पर्वलाई साथै लिएर आएको बताउँछन् । उनले भने, ‘यो गाउँलेको पूजा हो, गाउँलाई राम्रो होस् भनेर गरेको हो ।’

उनका अनुसार कुल (हेम्थो) घरमा बलि दिइएर आँगनमा गाडेर राखिएको राँगाको सिङ हरेक १२ वर्षमा फर्ने चलन छ । पछिल्लो पटक विक्रम संवत् २०७१ सालमा त्यहाँको सिङ फेरेर अर्को राखिएको थियो । सिङ फेर्दा पनि विशेष खाले पूजाआजा हुन्छ । सिस्नो खोस्ने पर्वसँगै, असारे, भुस पोल्ने लगायतका पर्व ताराखोलामा प्रचलित छन् ।

भनिन्छ, ३६५ दिनमा १४५ दिन ताराखोलामा मेला, पर्व चल्छन् । मगर समुदायले आफ्नै बलबुतामा पुरानो संस्कृतिलाई धान्दै आएका छन् । सयौं वर्षपहिले पाल्पाको अर्गलीबाट आएका मगरका पुर्खाहरु वडा नम्बर १ अर्गल र डोल्पाको ताराभोटबाट आएकाहरु वडा नम्बर ४ को तारागाउँमा बसोबास गरेको पाइन्छ । बाँस र खेती लगाउने ठाउँको खोजीमा आएका पूर्वजहरुले ताराखोला क्षेत्रमा खोरिया खनेर थातथलो बसाएको मगर समुदायका अगुवा बताउँछन् । स्थानीय संस्कृतिको जगेर्ना  र पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले बहुसांस्कृतिक संग्रहालयको निर्माण शुरू गरेको छ ।

‘प्राकृतिक, सांस्कृतिक र जैविक विविधतालाई समग्र विकासको सूत्रमा ढालेर ताराखोलालाई समृद्ध तुल्याउने लक्ष्य छ,’ गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले भने । – रामबहादुर थापा/रासस 

कमेन्ट गर्नुहोस्