संखुवासभा हत्याकाण्ड– जब इन्सपेक्टर थापा रुन थाले तब फुत्कियो लोकबहादुरको कर्तुत !

गगन अर्याल
गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ सदस्यको हत्या गरेको आरोपमा मृतकका भतिज नाता पर्ने लोकबहादुर कार्की पक्राउ परेका छन् । प्रहरीले केही प्रमाण र साबिती बयानका आधारमा उनलाई पक्राउ गरेको हो ।


Advertisement

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रहरी नायब उपरीक्षक (डीएसपी) रुगम कुवँरको नेतृत्वमा इन्सपेक्टर मणि थापा र प्रहरी नायब निरीक्षक (सई) सूर्यभक्त श्रेष्ठ घटनास्थल भदौ २२ गते पुगेका थिए ।


Advertisement

त्यहाँ प्रदेश १ प्रहरीको टोली, संखुवासभा चैनपुरको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी लालध्वज सुवेदी पहिले नै पुगिसकेका थिए । 

सीआईबीको टोलीले घटनास्थल पुगेर लोकबहादुरको घरभन्दा माथिल्लो घरमा अनुसन्धान गर्ने अस्थायी थलो बनायो ।


Advertisement

घटनास्थलको मुचुल्का तयार पारियो । शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला चिकित्सा शिक्षा अध्ययन प्रतिष्ठान धरान पठाइयो ।

प्रहरीले घटनास्थलमा भएका सबै प्रमाण र तथ्यलाई केलायो । चोरी हो कि भन्ने शंका गरिएको थियो, तर तेजबहादुरकी श्रीमती मनमाया (कमला) कार्कीले लगाएको गहना केही शरीरमै र केही घटनास्थलमा भेटियो ।

घरमा भएको ८ लाखभन्दा धेरै पैसा पनि सुरक्षित पाइयो । हत्या भएका तेजबहादुरको २ वटा मोबाइल पनि उनकै साथमा थियो । 

यसरी हेर्दा चोरीको उद्देश्यले हत्या गरेको देखिएन । 

कोही बाहिरबाट आएको छ कि भनेर मोबाइलमा कल डिटेल्सको अनुसन्धान पनि गरियो, तर मोबाइलमा बाहिरका कसैसँग पनि सम्पर्क भएको देखिएन ।

प्रहरीले उनीहरूको कसैसँग जग्गाको साँधसिमाना विवाद छ कि भनेर पनि हेर्‍यो, तर त्यस्तो पाइएन । गाउँमा कसैसँग त्यति ठूलो दुस्मनी पनि पाइएन ।

त्यसपछिको अनुसन्धान तेजबहादुरका छिमेकी एवं नातामा भतिजा पर्ने लोकबहादुरको घरतर्फ केन्द्रित भयो । बाहिरबाट आउने कोही नदेखिएपछि नजिकैको कसैले हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान थियो ।

त्यसमा पनि लोकबहादुरको घरमा जाने बाटोमा हत्या हुनु र घरको १५/२० मिटरनजिक रगत देखिनु प्रहरीका लागि 'क्लु' थियो ।

लोकबहादुरको परिवारमा उनका अलावा शारीरिक रूपमा अशक्त वृद्ध बुवा रनबहादुर कार्की र ९ कक्षामा अध्ययनरत भाइ थिए ।

रनबहादुरले हत्या गर्न सक्ने अवस्था देखिएन । तेजबहादुरको परिवारप्रति उनमा श्रद्धाको भाव समेत पाइयो । ९ कक्षामा अध्ययनरत किशोरले एकैपटक ६ जनाको हत्या गर्नसक्ने अवस्था समेत खासै देखिएन ।

रहे, लोकबहादुर मात्रै । उनले आफूले हत्या नगरेको बताउँदै आएका थिए । तर सबैभन्दा पहिला शव देख्ने मानिस आफू भएको भन्दै उनले युट्युबरहरूलाई अन्तर्वार्ता दिइसकेका थिए ।

युट्युबमा भेटिएका अन्तर्वार्ताले प्रहरीलाई नै केही समय त भ्रममा पार्‍यो । उनको अन्तर्वार्ता हेर्दा हत्यारा भएको कुनै छनक देखिएन ।

मानिसक रोगको औषधि खाइरहेको तथ्य फेला परिसकेको थियो । तर केही तथ्यले उनीतर्फ नै इंगित गरिरहेका थिए ।

प्रहरीले विभिन्न समयमा लोकबहादुरसँग सोधपुछ गर्‍यो । यसरी सोधपुछ गर्दा बयान बाझिन थालेपछि शंकाको घेरा अझै बलियो बन्यो ।

अब प्रहरीको ध्यान उसकै मुखबाट ओकलाउनेमा केन्द्रित भयो ।

सीआईबीका डीएसपी रुगम कुँवरले एकपटक उनलाई डराउने उद्देश्यले भने– ‘यहाँ कसले हत्या गरेको हो नासाबाट भिडियो मगाउँदै छौं । त्यसपछि सब थाहा हुन्छ ।’

यस्तो सुनेपछि लोकबहादुरले चुनौती दिए– ‘ल्याएर देखाउनुस्, देखियो भने म स्वीकार्छु ।’ त्यसपछि प्रहरीको शंकामा थप बल पुग्यो । अनुसन्धान एक खुड्किलो माथि उक्लियो ।

प्रहरीको ध्यान अझै पनि उसैले अभियोग स्वीकारोस् भन्नेमा थियो ।

निरन्तर चौथो रात पनि सोधपुछ चलिरहेको थियो । १२ बजेसम्म सोधपुछ गर्दा पनि लोकबहादुरले अभियोग स्वीकारेका थिएनन् ।

त्यसपछि डीएसपी कुवँर अब प्रहरीले जसरी पनि पत्ता लगाउँछ भन्दै सोधपुछ कक्षबाट बाहिरिए । सीआईबीका इन्सपेक्टर मणिराम थापा र लोकबहादुर मात्र त्यहाँ बाँकी रहे ।

डीएसपी कुवँर बाहिरिएपछि इन्सपेक्टर थापाले आफू पनि मानसिक रोगी भएको अभिनय शुरू गरे ।

‘म पनि डिप्रेसनको औषधी खान्छु । यस्तै हो, मलाई पनि अरूले होच्याउँछन् । त्यो देख्दा साह्रै रिस उठ्छ,’ इन्सपेक्टर थापाले भने ।

यसबीचमा उनले आँसु समेत झारेको अनुसन्धानमा संलग्न एक अधिकृतले जानकारी दिए । पटक–पटक आँसु झार्दै पीडित भएको अभिनय गरेपछि लोकबहादुरले उनीसँग आफूलाई पनि रिस उठेको र हत्या गरेको स्वीकारे ।

यो सबै घटनाक्रम डीएसपी कुँवरले बाहिर बसेर नियालिरहेका थिए ।

अनि यसैलाई आधार बनाएर प्रहरीले साबिती बयान लियो । लोकबहादुरले आफूले हत्या गरेको फेरि पनि स्वीकारे ।

कसरी र कहिले गरे त हत्या ? (लोकबहादुरले प्रहरीलाई दिएको बयानका आधारमा)

तेजबहादुर र लोकबहादुरको घर नजिकै छ । त्यसको बीचमा छ, एउटा सानो खोला । त्यो बाटो लोकबहादुरको घरमा मात्रै जान्छ ।

त्यो दिन तेजबहादुरले खेतमा काम गर्नका लागि खेताला भनेका थिए । 

उनीहरूको खेत त्यहाँबाट ३ घण्टा तल अर्थात् मादी नगरपालिका–३ मा पर्छ । त्यहाँ पुग्नका लागि बिहान ८ बजे नै हिँड्नुपर्ने थियो ।

उनी खेताला जान सम्झाउने उद्देश्यले नै लोकबहादुरको घरतर्फ गएका थिए ।​

लोकबहादुरको घरनजिकै एउटा सानो थुम्को छ । 

त्यहाँ आइपुगेका तेजबहादुरलाई देख्नेबित्तिकै झनक्क रिसाएका लोकबहादुर घरमा रहेको चिर्पट बोकेर उनलाई प्रहार गर्न अगाडि बढेछन् ।

तेजबहादुरको घरबाट लोकबहादुरको घर र त्यहाँ जाने बाटो प्रस्टै देखिन्छ र अलि जोडले बोलेको पनि सुनिन्छ ।

लोकबहादुरले पहिलोपटक चिर्पट प्रहार गर्दा तेजबहादुर जोडले चिच्याएछन्, लौन मार्‍यो लोकेले ! यसरी चिच्याएको सुनेर तेजबहादुरकी श्रीमती मनमाया (कमला) र बुहारी रञ्जना घटनास्थलमा आएछन् । 

पहिला मनमाया र त्यसपछि रञ्जनालाई पनि चिर्पट प्रहार गरेको लोकबहादुरले प्रहरीसँगको बयानमा बताएका छन् ।

घरमा रहेका दुई साना बालबालिकाले यो सबै घटना देखिरहेका थिए ।

आफूलाई पनि मार्ने डरले भागेका उनीहरूलाई खेद्दै गएर खरबारीमा पुगी हत्या गरेको लोकबहादुरले स्वीकार गरेका छन् ।

त्यसपछि तेजबहादुरको घरमा फर्किएर कुँडो पकाउँदै गरेकी वृद्धालाई भित्तामा ठोक्काएर हत्या गरेको लोकबहादुरले स्वीकारेका छन् ।

त्यहाँबाट घटनास्थलमा पुगेर तेजबहादुरको शव बाटोमा फालेको र आफ्नो घर फर्किएको पनि उनले बताएका छन् ।

चिर्पट बोकेर प्रहरीको मा जाऊँ कि भन्ने सोच

हत्या गरेर घर फर्किँदै गर्दा चिर्पट नै बोकेर प्रहरीकोमा जाऊँ कि भन्ने सोच पनि आएको लोकबहादुरले बयानका क्रममा बताएका छन् ।

‘हत्या गरेपछि ३ घण्टासम्म धेरै कुरा सोचेको उसले बताएको थियो । एकपटक ऊ मैले हत्या गरेँ भन्दै प्रहरीमा जान तयार भएको समेत बताएको छ,’ डीएसपी कुवँरले लोकान्तरसँग भने, ‘प्रहरीचौकी नजिकै भएको भए तत्कालीन अवस्थामा प्रहरीकोमै जाने रहेछ भन्ने पनि देखिन्छ ।’

त्यसपछि लोकबहादुर प्रमाण नस्ट गर्ने र हत्या भएकोबारे अरूलाई बताउने तर्फ लागेको देखिन्छ । करीब ९ बजे उनले एक स्थानीयलाई ‘बडा बा’ (लोकबहादुरले तेजबहादुरलाई बडा बा भन्थे)को हत्या भएको बताएका थिए ।

यही बीचमा उनले हत्यामा प्रयोग भएको चिर्पट समेत जलाएको देखिएको छ ।

 ​तपाईं त खत्रा अनुसन्धान गर्नुहुँदोरहेछ सर !

सीआईबीका डीएसपी रुगम कुवँरले हत्या पुष्टि गर्न निरन्तर अनुसन्धान गरिरहेका थिए । त्यसक्रममा लोकबहादुरलाई कहिले फकाउँथे, कहिले थर्काउँथे ।

उनी लोकबहादुरले नै हत्या गरेको हो भनेर ठोकुवा गरिरहेका थिए ।

तर, लोकबहादुरले कुनै पनि कुरा स्वीकारेका थिएनन् । आफूलाई दोषी प्रमाणित गरेर देखाउन चुनौती दिइरहेका थिए ।

जब अन्तिममा लोकबहादुरले हत्या स्वीकारे त्यसपछि उनले डीएसपी कुँवरको प्रशंसा समेत गरेको एक अधिकृतले बताए ।

‘अन्तिममा उसले डीएसपी’सापलाई तपाईं त खत्रा अनुसन्धान गर्नुहुँदोरहेछ भनेर भन्यो,’ ती अधिकृतले भने ।

रञ्जनाको फोन गायब

मृतक तेजबहादुरकी बुहारी रञ्जना (उनको पनि हत्या भयो)ले २ वटा फोन बोक्थिन् । 

प्रहरीका अनुसार एउटा आफूसँगै थैलीमा राख्ने र अर्को फेसबूक चलाउन तथा विदेशमा रहेका श्रीमानसँग भिडियो कल गर्न प्रयोग गर्ने गरेको देखिन्छ ।

उनले घरमै राख्ने गरेको त्यो स्मार्टफोन अहिलेसम्म भेटिएको छैन ।

प्रहरीले लोकबहादुरले लगेर कतै लुकाएको वा फालेको आशंकामा उनीसँग सोधपुछ गरेको थियो, तर उनले केही बताएका छैनन् ।

‘त्यो फोन अहिलेसम्म पनि हराएको छ, फेला परेको छैन,’ डीएसपी कुँवरले भने, ‘सीडीआर हेर्दा पनि अहिलेसम्म अन भएको देखिँदैन,’ डीएसपी कुँवरले लोकान्तरसँग भने ।

गगन अर्याल
गगन अर्याल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्