बहसमा एमसीसी

'मूर्ख बहस नगरौं, एमसीसी नआउँदा नै हामीलाई शान्ति हुन्छ'

प्रदीप नेपाल
प्रदीप नेपाल

वामपन्थी नेता नेपाल प्रगतिशील साहित्यकार समेत हुन् ।

'मूर्ख बहस नगरौं, एमसीसी नआउँदा नै हामीलाई शान्ति हुन्छ'

अहिले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र नेपाल सरकारबीच ठूलो लडाईं चलिरहेको छ । यो काममा अमेरिकाले गलत गरेको भन्ने मेरो ठहर छ ।


Advertisement

नेपालमा एमसीसी जनताले बुझेनन् । विरोध भयो निकै दरो गरी । बुझाउने काम त एमसीसी कै हो नि ! के हो एमसीसी ? सामान्य बाटो या बिजुली सञ्जाल ? कि कुनै रणनीतिक योजना हो यो ? अमेरिकीहरूले गञ्जागोल गरेका छन्, यस विषयमा । अमेरिकी मन्त्रीहरू भन्छन् – यो हाम्रो रणनीतिक योजनाको अंग हो । दूतावास भन्छ– होइन, यो विकासको कार्यक्रम मात्र हो । 


Advertisement

यसको कार्यालय खुलिसकेको छ रे ! यत्रो आयोजनालाई लुकाउनु किन ? अनि अनेक गरेर जबरजस्ती अमेरिकाबाटै एमसीसीको हाकिम पठाएर हाम्रो देशका नेताहरूलाई धम्क्याउने काम किन गर्नु ? के अमेरिकालाई आफ्नो दूतावासमाथि विश्वास छैन ? त्यस्तो नहुनु पर्ने । फेरि अमेरिकाबाट टोली प्रमुखले के अब नेपाललाई अमरिकी सहयोग नचाहिने भो ? भनी धम्कीपूर्ण भाषामा बोल्नुको अर्थ के हो ? हामीमा त्यत्रो ठूलो अहंकार छैन । हामी सहयोग लिन्छौं । तर हामी कसैबाट पनि नेपाली संविधानलाई मिच्ने शर्तसहितको सहयोग लिँदैनौं ।

अमेरिका ठूलो छ । शक्तिशाली पनि छ । तर त्यो शक्तिशाली अमेरिकाले हामीलाई धम्क्याउन पाउँदैन । अमेरिका जति ठूलो भए पनि त्यसको र हाम्रो सम्प्रभुता ठूलोसानो वा तलमाथि छैन । चीन र भारतको च्यापमा बसेको नेपालले भारत अथवा चीनबाटै पनि यस्तो सम्झौताको प्रस्ताव आउँछ भने त्यसलाई स्वीकार्दैन ।


Advertisement

भारतसँग केही सानातिना कुरामा विवाद भैरहेको भएपनि तिमेरको संविधानभन्दा माथिको यो सम्झौतामा सही गर र यसलाई संसदबाट सर्वसम्मतिबाट पारित गर भन्यो भने पनि हामी त्यो काम गर्दैनौं । म संसद्मा छैन अहिले । तर हाम्रा सबै सांसद बिक्रीमा छैनन् । उनीहरूलाई बुझाउन नसकिने पनि होइन । एमसीसी भनेको अमेरिकाको एउटा कम्पनी हो । विकासशील देशहरूलाई हामी यसैगरी विभिन्न तरिकाले सहयोग गर्छौं । एमसीसीभित्र अर्को कुनै एजेण्डा लुकाइएको छैन भन्ने कुरो सबै अमेरिकीको मुखबाट निस्किएको भए शायद यो विवाद आउँदैन थियो होला । सरकारका चार प्रतिनिधिहरूको चार मुखले अलग–अलग कुरो निकालेर नेपाली जनता रनभुल्ल परे ।

अमेरिकी दूतावासले निकालेका प्रेस विज्ञप्तिलाई सबैखाले अमेरिकनले मानिदिएका भए, अथवा अमेरिकी सहयोग परियोजनाका बारेमा हाम्रो दूतावासले नै भन्छ भनिदिएको भए एकजना नेपालीले पनि प्रश्न उठाउने थिएनन् । दूतावास सामान्य सहयोगको कुरा गर्ने अनि दूतावासका कर्मचारीहरूलाई नियुक्ति दिने मन्त्रीचाहिँ यो सामान्य सहयोगको कुरो होइन, हाम्रो रणनीतिक योजना हो भन्ने । जब मन्त्री र दूतावासका मान्छेको कुरा जुध्छ भने मान्छेले मान्ने भनेको मन्त्रीको भनाइलाई नै हो ।

प्रायः सबै परस्परविरोधी मुलुकसँग परमाणु शस्त्रअस्त्र छन् । कोसँग कति छन्, त्यो छलफलको विषय हो । परमाणु वम अमेरिकासँग छ भने उत्तर कोरियासँग पनि छ । भारतसँग छ भने पाकिस्तानसँग पनि छ । साउदी अरबसँग छ भने कतारसँग पनि छ । उहिलेको सोभियत संघले माग राखेको निशस्त्रीकरणको प्रस्तावलाई आजको रुसले नै मान्दैन, किनभने अहिलेको बेला आतंकले तह लाउने चेत भएका मानिसले दुनियाँमाथि शासन गरेको समय हो । त्यसैले अहिले बाहिर जे सुनिएको छ, भित्र त्यस्तो छैन ।

एमसीसी चीनलाई घेर्ने रणनीतिक योजना हो । त्यसो हो भने यो अमेरकीहरूको सबैभन्दा गम्भीर गल्ती हो । नेपालजस्तो मुलुकको आडमा बसेर चीनलाई हान्ने भनेको दलाई लामालाई मानसिक शान्ति दिने कामबाहेक अरू केही हुन सक्दैन । आजको तिब्बत पनि १९६० को जस्तो छैन भने चीनको प्रगतिको त हामी जस्ताले अब कुरै गर्नु पर्दैन । सुन्दा कतिलाई नमीठो लाग्ला, तर मानसिक रूपमा अमेरिका बर्बर हृदयहीन व्यापारी हो भने चीन सधैँभरी मिल्ने साथी भएको छ । अमेरिका मित्र गुमाइरहेको छ भने चीन मित्र कमाइरहेको छ । अमेरिका अस्ताँउदो घाम हो भने चीन उदाउँदो घाम भएको छ ।

मान्छे चुपो लागेर आनन्दले खाएर किन बस्न सक्दैन ? यो एउटा गम्भीर प्रश्न हो । एसियामा सिंगापुरलाई युद्ध चाहिएको छैन । त्यसै हुनाले उसले अमेरिका र उत्तर कोरियाको वार्ताको व्यवस्थापन गर्‍यो । मलाई लाग्छ, स्क्यान्डिनेभियाका सरकारहरूलाई युद्ध चाहिएको छैन । स्वीट्जरल्यान्डलाई पनि युद्ध चाहिएको छैन ।

बारम्बार पराजित हुँदा पनि, आफ्नो देशको जनधनको विनाश हुँदा पनि उसले शान्तिले बसी खाएका मुलुकलाई उभिन दिँदैन ? किन ? दुई वर्षअगाडि त्यसले हङकङमा तबाही मच्चाउने कोशिश गर्‍यो । आखिरमा पराजित भएर खुम्चिएर बस्नुपर्‍यो । मध्यपूर्वमा त्यसले बेकारमा हात हाल्यो । बीस वर्षमा पैँतीस हजार जन र सयाैँ करोडको विनाश गराएर मध्यपूर्वबाट लुरुलुरु फर्किनु पर्‍यो । अफगानिस्तान लगायतका मुलुकमा आतंककारीलाई सिध्याउने नाममा त्यहाँका देशहरूमा अमरिकाले खर्बौंको लगानी गर्‍यो । अन्तिममा तिनीहरूकै सत्तालाई नमस्कार गरेर ऊ घर फर्कियो ।

अहिलेको समयमा नेपालमा टेकेर चीनलाई कजाउनेसपना बोकेर नेपालमा उत्रिन खोजेको हो भने अमेरिकाले अकल्पनीय क्षति बेहोर्नुपर्नेछ । अमेरिकाले भियतनाममा करीब सत्तरी हजार जनाको नोक्सानी बेहार्नुपरेको थियो, सत्तरीको दशकमा । दोस्रो विश्वयुद्धमा भन्दा बढी बम खसेको थियो रे भियतनामी युद्धमा । आखिरमा भियतनामले युद्ध जित्यो । अमेरिका लुरुलुरु हवाई जहाज चढेर वाशिंगटनतिर फर्कियो । 

हाम्रो मुलुकमा ठूलो नोक्सानी होला । हामी अनाहकमा मारियौंला, तर अमेरिका पनि जिउँदै भियतनामबाट भागे जसरी भागेर जान सक्ने छैन । त्यो सुखले भाग्न पनि पाउँदैन । आफ्नै आक्रमणकारी सपनाको भूतले अमरिकालाई खानेछ ।

त्यसैले अब मूर्ख बहस नगरौं । एमसीसी आउँदा नेपाली र अमेरिकीहरूलाई सास्ती हुन्छ भने एमसीसी नआउँदा नेपाली, अमेरिकी र चिनियाँहरूलाई समेत शान्ति हुन्छ ।

प्रदीप नेपाल
प्रदीप नेपाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्