चौथो औद्योगिक क्रान्तिको युगः निम्तिँदैछ अनुमान नै नगरिएको अवसर र जटिलता

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

मैनाली नेपाल सरकारका भूतपूर्व सचिव हुन् । 

हामी अहिले चौथो औद्योगिक क्रान्तिको युगमा पदार्पण गरिरहेका छौं । यसले मौलिक रूपमा नै मानिसको कार्यव्यवहार, सम्बन्ध संरचना र जीवनशैलीलाई बदलिरहेको छ । विगतमा अनुमान नै नगरिएको अवसर र जटिलता ल्याउँदैछ । 


Advertisement

समाजका सबै अभयव र नागरिक, नागरिक संस्था, निजी क्षेत्र सबै सरोकारवाला यो चौथो औद्योगिक क्रान्तिका अवसर लिन र चुनौती सामना गर्ने क्षमतामा तयार हुनुपर्ने दबाबमा छन् । किनकी यसअघिका औद्योगिक क्रान्तिभन्दा चौथो औद्योगिक क्रान्तिको गति, क्षेत्र र जटिलताको आयतन भिन्न छ । 


Advertisement

हुनत मानिसले जंगली अवस्था वा ढुंगेयुगबाट कृषियुगमा प्रवेश गर्दा पनि निकै खुशी र सुखी अनुभव गरेको थियो । त्यसपछि बास्प इञ्जिनको आविस्कारपछि पहिलो औद्योगिक क्रान्ति शुरू भयो ।

यसले परम्परागत हाते उत्पादन विधिलाई यान्त्रिकीकरणमा परिणत गर्‍यो । सन् १७८४ तिर विश्वमा धेरै ठूलो उपलब्धिको महशुस भयो र यसले खुशियाली पनि छायो । त्यसको एक शताब्दीपछि विद्युतीय उत्पादन प्रणाली शुरू भै अर्को उपलब्धि हासिल भयो । बास्पशक्ति विद्युतीय शक्तिबाट विस्थापित हुँदा उत्पादन संगठन कार्यकुशल हुन गई उत्पादनमा विशेषज्ञता र कम लागतमा वस्तु सेवा सम्भव बनायो ।


Advertisement

सन् १८७० बाट शुरू भएको यस विद्युतीय शक्तिको युग, जसलाई दोस्रो औद्योगिक क्रान्ति भन्दछौ । सन् १९६९ तिर आइपुग्दा विद्युतीय शक्तिको युग कम्प्युटरमा आधारित स्वचालित प्रणालीमा परिणत हुन पुग्यो, जुन तेस्रो औद्योगिक क्रान्तिको रूपमा प्रचलित भयो । हाल विश्व चौथो औद्योगिक क्रान्तिको चरणमा प्रवेश गरेको छ । यो साइबर प्रणालीमा आधारित छ र यसले औद्योगिक जनजीवनका सबै पक्षलाई अकल्पनीय रूपमा प्रभाव पार्दैछ ।

यसको प्रवृत्ति रेखीय (लिनियर) नभई बृहद (एक्सपोटेन्सियल) छ । यो परिवर्तनले उत्पादन, व्यवस्थापन र शासकीय व्यवस्थापनका सबै पक्षलाई रूपान्तरण गर्दैछ । साइबर प्रणालीको विकासले ल्याएका असीमित अवसरले चौथो क्रान्ति उथलपुथल बनाउने खालको हुनेमा कुनै शङ्का छैन । कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टिेलिजेन्स), रोबोटिक्स, आईओटी, स्वचालित सवारी साधन/यन्त्र, थ्रीडी प्रीन्टिङ, नानो प्रविधि तथा बायो प्रविधि, ऊर्जा सञ्चय, क्वान्टम कम्पुटिङ जस्ता क्षेत्रमा प्रविधिले छलाङ मार्दैछ । कतिपय क्षेत्रहरू पहिचान हुँदैछन्, जसले पूर्णतः डिजिटल विश्वको यात्रा शुरू गरेको छ । 

अन्य क्रान्ति जस्तै चौथो औद्योगिक क्रान्तिले मानिसको जीवनस्तर र आय बढाउने छ । लगातार समय तथा लागतको न्यूनीकरण र गुणस्तर वृद्धिमार्फत वस्तु सेवाको माग तथा वितरण प्रणालीले कार्यकुशलता पाउने छ । प्रविधि, अन्वेषण, विकास र उपयोगले औद्योगिक उत्पादकत्व निरन्तर बढ्नेछ । व्यापार लागत उल्लेख्य रूपमा घट्ने छ । वस्तु, सेवाको उत्पादन तथा वितरणको लागत संरचना परिवर्तनले आमसर्वसाधारण, जो तुलनात्मक रूपमा विपन्न छन्, परिवर्तनका लाभग्राही बन्नेछन् । अर्थतन्त्रमा नयाँ नया क्षेत्रको पहिचान हुनेछ, जसले आर्थिक वृद्धिलाई थप सघाउनेछ ।

उद्योग व्यवसायमा प्रयोग हुने उन्नत प्रविधिले परम्परागत मूल्य शृङ्खला विस्थापित हुनेछ । पारदर्शिता बढ्ने क्रमसँगै उपभोक्ताहरू वस्तु तथा सेवाको गुणस्तर प्रक्रियामा प्रत्यक्ष सहभागी हुनेछन् । नयाँ पृष्ठपोषण प्रणाली विस्तार हुनेछ । डिजिटल प्रविधि र क्षमताका कारण उत्पादित वस्तु तथा सिर्जित सम्पत्तिको टिकाउपना बढ्नेछ । उत्पादक–उपभोक्ता–वितरकबीच अन्तरक्रियाको भर्चुअल प्लेटफार्म सिर्जना हुनेछ, जसबाट तीनै पक्ष लाभान्वित हुनेछन् । प्रविधिले साधनको दक्षता बढाई वातावरणीय अनुकूलता पनि बढाउने छ । यो स्वच्छ विकास र दिगो समृद्धिको आधार हुनेछ । 

तर प्रत्येक परिवर्तन वा क्रान्ति अवसरका माध्यम मात्र होइनन्, चुनौती र जोखिमको पनि कारक बन्ने गर्छन् । चौथो औद्योगिक क्रान्ति पनि यसको अपवाद होइन । अर्थशास्त्री एरिक ब्रिन्जोल्फसन र एण्ड्रु म्याकेफीअनुसार चौथो क्रान्तिले आर्थिक असमानता विस्तार हुनेछ । क्रान्तिको सघनता साथ असमानता पनि सोही अनुरूप गहिरिने छ ।

पूँजी सघन र स्वचालित प्रविधिका कारण श्रम बजार झण्डै विस्थापित हुनेछ । पूँजीको प्रतिफल बढ्नेछ । श्रमको प्रतिफल भने निकै घट्नेछ । परम्परागत अर्थशास्त्रले व्याख्या गरेझैँ उत्पादनमा श्रम र पूँजीको सम्बन्ध संरचना हुने छैन । क्रान्तिको सघनता बढ्दै जाँदा उत्पादन प्रणाली पूँजी सघनभन्दा पनि ज्ञान (ट्यालेण्ट) मा आधारित भएर जानेछ । यसले उच्च प्रविधि/उच्च ज्यालालाई बढावा दिँदा न्यून प्रविधि/न्यून ज्यालाको ठूलो क्षेत्र सीमान्तीकृत हुनेछ र यसले अन्ततः सामाजिक तनाव भित्र्याउने डर छ ।

डिजिटल संसारमा सामाजिक सञ्जालको प्लेटफर्मले आम उपभोक्ताहरू वस्तु तथा सेवाका विषयमा विचार/सूचना आदान प्रदान गरी आदर्श बजार बनाउन त सक्दछन्, तर यो आदर्श अवस्था सँधै रहन रहने छैन । यसले उपभोक्ताहरूमा उग्र महत्त्वाकाङ्क्षाको विस्तार गर्नेछ । साथै बजारको विभक्तीकरण पनि गर्नेछ । प्रविधिसँग अनुकूलित र अभ्यस्त हुँदैै जाँदा कतिपय मानवीय संवेदनाका पक्षहरू ओझेलमा पर्दै गई यान्त्रीकृत मानवीय स्वभाव विकास नहोला भन्न सकिन्न । मानिसका अन्तरक्रिया, सामाजिक सम्बन्ध र सहभागिताको डिजिटाइजेसनले हार्दिकता मानवीय भावनाका पक्षमाथि धावा बोल्नेछ । वैयक्तिक गोपनीयता पनि खतरामा पर्नेछ, सूचना तथा मूल्यप्रति वैयक्तिक नियन्त्रण कायम गर्न कठिन पर्नेछ । आभ्यान्तरिक मानव मूल्य पनि स्खलित हुँदै जानेछ । 

चौथो औद्योगिक क्रान्तिको प्रभाव सरकार र शासन व्यवस्थामाथि पनि उल्लेख्य देखिने छ । भौतिक, डिजिटल र जैविक प्रविधिको संयोजनले शासकीय क्रियाकलापमा नागरिक सहभागिता, पृष्ठपोषण र अनुगमनका नयाँ छरिता स्वरूप देखिने छन् । यसले सार्वजनिक निकाय नागरिकमुखी र जवाफदेही बन्न थप दबाब पर्नेछ । डिजिटल पूर्वाधारका कारण सरकार पनि नागरिकमाथि निर्मित नीति, कार्यक्रम र मापदण्ड कार्यान्वयनका अतिरिक्त नागरिक आचारमाथि नियन्त्रण, निगरानी र नियमन गर्न सक्ने सामथ्र्यमा पुग्ने छ । यसले ‘एगाइल गभर्नेन्स’ सम्भव तुल्याउने छ । तर सार्वजनिक निकाय विकसित प्रविधिसँग अनुकूलित हुन नसक्दा अस्तित्वको संकटमा पर्नेछन् । शान्ति सुरक्षा र नागरिक हित संरक्षणमा चुनौती देखिने छ । 

नेपाल विपन्न मुलुक भएपनि चौथो औद्योगिक क्रान्तिको प्रवाहमा हेलिएको छ, किनकी कुनै पनि मुलुक क्रान्तिको लहरबाट चाहेर पनि अपवाद बन्न सक्तैन । औद्योगिक पूर्वाधारहरू कमजोर भएको र पर्याप्त सम्भावना भएर पनि सोको उपयोग हुन नसकेको मुलुक भएकाले चौथो औद्योगिक क्रान्तिको फाइदा नेपाली समाज र अर्थतन्त्रको पक्षमा उपयोग गर्न निकै जटिलताहरू देखिएका छन् र आउँदा दिनमा अरू देखिने छन् ।

समाज गरीबी र विपन्नताले ग्रस्त छ, डिजिटल रूपमा विभक्त छ, भर्खरै लोकतन्त्र बहाली भएकाले नागरिक संस्थाहरू शासकीय संस्कृतिमा संस्थागत हुन सकेका छैनन्, सार्वजनिक निकायहरू नागरिक पृष्ठपोषणमा अभ्यस्त भैसककेका छैनन् । उत्पादन संगठनहरू परम्परागत श्रम सघन प्रविधिमा छन् । शिक्षाले सीप र सिर्जना दिन सकेको छैन । विश्वव्यापीकृत समाज र सांस्कृतिक एकीकरणको प्रभावले पनि नेपाली समाज ग्रस्त छ । यस अवस्थामा चौथो औद्योगिक क्रान्तिले ल्याएका अवसरहरू उपयोग गर्ने कार्य जटिल हुनसक्छ । 

तर हाम्रा सामु प्रशस्त अवसर पनि छन्, जसले औद्योगिक क्रान्तिले ल्याएका अवसर उपयोग गर्न सघाउने छ । पछिल्ला दिनमा प्रविधिको सिको र उपयोग गर्ने प्रवृत्तिमा व्यापक विस्तार भएको छ । नेपाली समाजमा युवाहरूको बाहुल्यता देखिएकाले सूचना प्रविधिको उपयोग जनस्तरसम्म विस्तारित भएको छ । हाल टेलिफोन घनत्व र इन्टरनेट प्रयोगकर्ताहरू अकल्पनीय रूपमा बढ्दैछन् ।

दुर्गम बस्ती पनि ब्याण्डवीथ आबद्धतामा पुगेका छन् । यसले स्थानीय सम्भावनाको प्रयोग, वस्तु तथा सेवा उपयोग, वितरण र सामाजिक सम्बन्धको संरचना परिवर्तन गरेको छ । यसलाई औद्योगिक उत्पादन संगठनहरूमा उपयोग गर्न सकिने सम्भावना छ । डिजिटल नेपालको उद्देश्यअनुरूप कार्यक्रमहरू सञ्चालनमा ल्याउने सरकारी प्रतिबद्धता छ । यसर्थ चौथो औद्योगिक क्रान्तिबाट डराएर होइन, तयारी र क्षमता विकासबाट नै उपलब्धिहरू हात पार्न सकिन्छ । नागरिक संस्थाहरूलाई जवाफदेही, चुस्त र तत्काल प्रतिक्रिया दिने तहमा पुर्‍याउन सकिन्छ । थोरै सफलताबाट धेरै उपलब्धिहरू हाँसिल गर्ने आधार बनाउनु अहिलेको आवश्यकता हो ।

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्